१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar बेबारिसे अवस्थामा तीन नाल भरुवा बन्दुक फेला News Polar कालीगण्डकीमा जलसतह कम भएसंगै विद्युत् उत्पादन सुरु गर्ने तयारी News Polar घाँसीकुवामा पहिरो खस्दा पृथ्वीराजमार्गमा यातायात सेवा प्रभावित News Polar वर्षा सहितको हिमपातले हुम्लाको जनजीवन प्रभावित News Polar एसियाली खेलकुदः आज टेनिस र एथलेटिक्सतर्फ नेपालको प्रतिस्पर्धा News Polar कालीगण्डकी नदीको बहाव हेर्दा.. News Polar बिपी कोइराला क्यान्सर अस्पताल : एक वर्षमा दुई लाख बढीलाई सेवा News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar कागतीदेखि ड्रागन फ्रुटसम्मः तीन युवाको आँटले बाँझाखेतमा फुल्यो सपना News Polar जलवायु न्यायको आवाजलाई अन्तरराष्ट्रिय मञ्चमा प्रभावकारी रूपमा प्रस्तुत गरिनेछः वनमन्त्री चौधरी News Polar प्राकृतिक विपत्तिबीच पोखराले दियो पर्यटन क्षेत्र खुला रहेको सन्देश News Polar पृथ्वी राजमार्गका विभिन्न स्थानको पहिरो हटाउने काम तीव्र News Polar मेची भन्सारः दुई अर्ब ८३ करोड राजस्व सङ्कलन News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar छ वर्षमा दुईपटक आगलागी, दोभानवासीको फेरि बिचल्ली News Polar बाढीपहिरोले धवलागिरि क्षेत्रमा सडक सञ्जाल विच्छेद News Polar चोलेन्द्र प्रकरण: आज सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने News Polar बागलुङमा पहिरोमा १० जनाको मृत्यु, एक बेपत्ता News Polar टेक्सासको अस्टिनमा भव्य रूपमा इन्द्रजात्रा मनाइयो-फोटो फिचर News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै

एक जना अनमीको भरमा प्रसूति सेवा

एक जना अनमीको भरमा प्रसूति सेवा
अ अ+ अ-

सिरहा। सिरहाको नरहा गाउँपालिका–४ वर्छवामा रहेको प्रसूतिगृह (बर्थिङ सेन्टर) कर्मचारी अभावका कारण जोखिमपूर्ण अवस्थामा सञ्चालन भइरहेको छ । संवेदनशील स्वास्थ्य सेवा प्रवाह गर्नुपर्ने यस संस्थामा हाल एक जना अनमी मात्रै छन् ।

सामान्यतया एउटा व्यवस्थित प्रसूतिगृह सञ्चालनका लागि कम्तीमा दुई जना स्टाफ नर्स, एक जना स्वास्थ्य सहायक (एचए) र एक जना कार्यालय सहयोगी आवश्यक पर्छ । तर, यहाँ छैटौँ तहकी अनमी टीकादेवी ढुङ्गेलले एक्लै चौबिसै घण्टा सेवा दिनुपर्ने बाध्यता छ ।

भौतिक पूर्वाधारमा कमी नभए पनि पर्याप्त दक्ष जनशक्ति नहुँदा प्रसूतिगृहमा सेवाग्राहीको सङ्ख्या निकै न्यून छ । चालु आर्थिक वर्षको नौ महिनामा यहाँ केवल १९ जनाले मात्र सुत्केरी सेवा लिएका छन् । तीमध्ये ११ जना स्थानीय ‘सदाय’ समुदायका विपन्न महिला हुन्, जो अन्यत्र जान आर्थिक वा भौगोलिक रूपमा असमर्थ थिए ।

वर्छवा स्वास्थ्यचौकीका प्रमुख महेशकुमार रजक स्वास्थ्यकर्मी अभावले रातको समयमा निकै चुनौती हुने बताउनुहुन्छ । उहाँले भन्नुभयो, “दिउँसो कार्यालय समयमा त हामी अन्य कर्मचारी पनि हुन्छौँ, केही सहज हुन्छ । तर सुत्केरी गराउन प्रायः राति आउँछन्, जुन बेला एक जनाको भरमा सम्भव नै हुँदैन । कहिलेकाहीँ उहाँ (अनमी) पनि बिदामा बसेको बेला त संस्था नै खाली हुने अवस्था छ ।”

वर्षौँदेखि सेवा दिइरनुभएकी अनमी टीकादेवी ढुङ्गेलले पनि एक्लै काम गर्दाको सकस सुनाउँदै भन्नुभयो, “दिउँसो त्यति समस्या हुँदैन, तर रातको समयमा एक्लै सुत्केरी गराउनुपर्दा डर र जोखिम दुवै हुन्छ । कोही नभएपछि बिरामीको सेवाका लागि जे–जति सकिन्छ, गरिरहेकै छु ।”

प्रसूतिगृहमा कर्मचारी अभाव देखाइरहँदा नरहा गाउँपालिकाले भने स्वास्थ्यका प्राविधिक कर्मचारीलाई प्रशासनिक काममा खटाएको छ । स्वास्थ्यतर्फका सिनियर अहेव अरुणकुमार सिंहलाई जिन्सी शाखा प्रमुखको जिम्मेवारी दिइएको छ भने अर्का कर्मचारी बैजनाथ साहलाई ५ नम्बर वडाको सचिव बनाइएको छ ।

यतिमात्र होइन, अन्य तीन जना स्वास्थ्यकर्मीलाई कुनै ठोस जिम्मेवारी नदिई स्वास्थ्य शाखामा ‘काज’मा राखिएको छ । यस सम्बन्धमा प्रमुख प्रशासकीय अधिकृत आदित्यकुमार कर्ण भने जनशक्ति अभावलाई नै मुख्य कारण भएको बताउनुभयो । उहाँले भन्नुभयो, “हामीसँग स्वास्थ्यतर्फका कर्मचारी कम भएकैले त्यहाँ थप जनशक्ति पठाउन नसकिएको हो । हामी व्यवस्था मिलाउँदैछौँ, चाँडै थप जनशक्ति पठाउने प्रयास गर्नेछौँ ।”

प्रशासनिक पहुँच र राजनीतिक खिचातानीका कारण दक्ष स्वास्थ्यकर्मीलाई उनीहरूको कार्यक्षेत्रभन्दा बाहिर राख्दा दुर्गमका महिलाहरू सुरक्षित मातृत्वको अधिकारबाट वञ्चित भइरहेको स्थानीयको गुनासो छ । स्थानीय सकलदेव यावदले भन्नुभयो, “पालिकाले पहुँचवाला स्वास्थ्यकर्मीलाई वडा र जिन्सी शाखामा आराम गराएर राखेको छ, तर हामीजस्ता गरिबका छोरीबुहारी सुत्केरी व्यथाले छट्पटाउँदा एउटा अनमीको भर पर्नुपर्छ । यो त सिधासिधा हाम्रो स्वास्थ्यमाथि खेलवाड हो ।”

एक्लो अनमीको भरमा चल्ने यस्तो सेवाले कुनै पनि बेला दुर्घटना निम्त्याउन सक्ने जोखिम देखिएको स्थानीय बताउँछन् । उनीहरूले तत्काल स्वास्थ्यकर्मीको व्यवस्थापन गरी प्रसूतिगृहलाई पूर्ण क्षमतामा चलाउन माग गरेका छन् । रासस