२० भाद्र २०८३, शनिबार
,
Latest
भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित अँध्यारो सुरुङभित्रको ‘हेलो… हेलो…’ र जीवनको खोजी भोटेकोशी बाढीः रसुवागढी हाइड्रोको छैठौँ तलामा पुग्यो उद्धार टोली, लेदो पन्छाएर खोजी जारी मनास्लु आरोहणका लागि ३४८ जनाले लिए अनुमति, १५ करोड राजस्व संकलन टिमुरेस्थित नेपाल–चीन सीमामा राष्ट्रिय झण्डा पुनःस्थापित गरियो ‘मानव बेचबिखनविरुद्ध अभियानमा सबैको ऐक्यबद्धता आवश्यक छ’-मन्त्री वादी भोटेकोशी बाढी : जलवायु अन्यायको प्रत्यक्ष प्रमाण, नेपालले खोज्नुपर्छ क्षतिपूर्ति पीडामा रहेका मानिसहरुमाथि अनावश्यक टिप्पणी गर्ने, हियाउने र थप पीडा दिन खोज्नेहरू अपराधी हुन् खुलामञ्चमा गौरा पर्व, सुदूरपश्चिम र कर्णालीका युवा सहभागी नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन
तपाईं के खोज्दै हुनुहुन्छ ?

दुई पाडीबाट आचार्यले थालेको भैँसीपालन व्यावसायिकतातर्फ



अ+ अ-

गण्डकी। आजभन्दा सात वर्षअघि पोखरा महानगरपालिका–३३ भरतपोखरीका रमेश आचार्यले दुई पाडीबाट सुरु गर्नुुभएको भैँसीपालनले यतिखेर व्यावसायिक रूप लिएको छ ।

समाजमा कृषिप्रतिको नकारात्मक सोच कायमै रहेका समयमा स्नातकोत्तरसम्मको अध्ययन गर्नुुभएका उहाँले भरतपोखरीस्थित सुरौदीको तिखेढुङ्गामा दुई पाडी पाल्न सुरु गर्नुभएको थियो ।

आचार्यलाई तत्कालीन समयमा आफ्नै छिमेकी, इष्टमित्रसमेतले के गरेको होला भनेर होच्याउँथे, कुरा काट्ने गर्थे । तर समय बदलिएको छ, त्यसबेला होच्याउने र खिस्सीट्युँरी गर्नेहरू अहिले भने उहाँको फस्टाइरहेको भैँसीपालनसहितको व्यावसायिक कृषि कर्म देखेर लोभिएका छन् ।

भैँसीपालनले व्यावसायिक रूप लिँदा आचार्य आफैँ आफ्नो पेसाप्रति गौरवान्वित हुनुहन्छ । पाडी पाल्न सुरु गर्दा तिखेढुङ्गामा केवल झाडीमात्र रहेको र त्यसलाई फाँडेर पाल टाँगेर बसेको उहाँले अनुुभव सुनाउनुुभयो ।

“वरपर जङ्गलको बीचमा पाल टाँगेर मैले यो व्यवसाय सुुुरु गरेको हुँ”, आचार्यले भन्नुुभयो, “पछि गोठ तथा धन्सार बनाएर त्यसलाई व्यवस्थित गर्दै लगेँ, अहिले गोठमा ३० भैँसी छन् ।”

पछिल्ला समयमा हरेक वर्ष लैनो भैँसी बेच्ने गरेको आचार्यले बताउनुभयो । उहाँले अघिल्लो वर्ष १८ लैनो भैँसी बेच्नुभयो । भैँसी बिक्री गर्न समस्या छैन । सामान्यतः एउटा लैनो भैँसी रु एक लाखसम्ममा बिक्री हुने गरेको छ । स्नातक तहसम्मको अध्ययन गर्नुभएका आचार्य आफ्नो १० वर्षको शिक्षण पेसा, तीन वर्षको वैदेशिक रोजगारीसँगै विद्युत् प्राविधिकसमेतको अनुभव सगाल्दै अहिले पूर्ण रूपमा व्यावसायिक कृषिमा लाग्नुभएको छ ।

विसं २०७८ मा तिखेढुङ्गा बागमारा पशुपालन तथा कृषि फार्म दर्ता गरी व्यावसायिक कृषि कर्ममा लाग्नुभएका आचार्यले भैँसीपालनसँगै व्यावसायिक रूपमा तरबुजाखेतीसहित तरकारी, फलफूल तथा विभिन्न कृषिजन्य उत्पादन गर्दै आउनुभएको छ । फार्ममा उहाँले हाल मकैखेती, तरबुजा, काँक्रो, लसुन, प्याजलगायत गरिरहनुभएको छ ।

आचार्यले सुरुमा २०७६ सालमा साना किसानबाट रु तीन लाख ऋण लिएर व्यावसायिक कृषि थालेकामा पछि फार्म दर्ता भएपश्चात कृषि विकास बैंकबाट ऋण लिएर आफ्नो व्यावसायिक यात्रा सुरु गर्नुुभएको हो ।

व्यावसायिक कृषिमा नयाँनयाँ प्रयोग गर्न रुचाउने आचार्यले सुरुमा १५–२० बोट तरबुजाखेती परीक्षणका रुपमा गर्नुभयो । अर्को वर्ष दुई रोपनी क्षेत्रफलमा थप्नुभयो ।

राम्रो उत्पादन दिएपछि अघिल्लो वर्ष करिब ३५ रोपनी क्षेत्रफलमा संयुुक्त रूपमा उक्त खेती गर्नुुभयो । श्रीमती धनलक्ष्मी तथा स्नातक तहमा अध्ययनरत छोराछोरीको साथले आचार्य आफ्नो कृषिकर्मप्रति उत्साहित हुनुुहुन्छ । सुरौदी खोलाको बाढीले बर्सेनि कटान भइरहेकाले नियन्त्रणसँगै यहाँको पानीलाई सिँचाइका लागि उपयोग गरिनुुपर्ने उहाँ बताउनुुहुन्छ ।

खोलामा पक्की पुल तथा बाटो व्यवस्थित नहुँदा दूध बजारसम्म पुर्याउन नसकिएको आचार्यले दुःखेसो गर्नुुभयो । बाँदरको समस्या सुरौदीमा पनि उस्तै छ । फार्ममा उत्पादित कृषिजन्य वस्तु भरतपोखरीमा नै खपत हुने गरेको आचार्यको भनाइ छ । सुरौदीसम्मको बाटो थप व्यवस्थित गर्नुका साथै टुनिखोलामा पुल बन्न सके उत्पादित वस्तु पोखरा तथा तनहुँको दुलेगौँडा पुर्याउन सहज हुने उहाँले बताउनुभयो ।

सुरौदी खोला क्षेत्रमा पानीको स्रोत भएर पनि त्यसलाई व्यवस्थित गर्न नसक्दा सिँचाइको असुविधा भोग्नुपरेको आचार्य बताउनुहुन्छ । व्यवस्थित गर्न सकेमात्रै पनि यहाँ उपलब्ध पानीको स्रोतलाई उत्पादनसँग जोड्न सकिने उहाँले बताउनुभयो ।

सुरौदी खोलाको कटान नियन्त्रण हुन नसक्दा उब्जाउयोग्य जमिन बर्सेनि बगरमा परिणत हुँदै जाँदा जलाधार क्षेत्रका स्थानीयवासी समस्यामा परेको आचार्यको भनाइ छ । रासस