२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
स्थलमार्गबाट नेपाल आउने पर्यटकको व्यवस्थापनमा प्रदेश सरकारसँग समन्वय गरिने कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप सकियाे गुरुङमाथिको छानबिन, समितिले बुझायो प्रधानमन्त्रीलाई प्रतिवेदन वर्तमान सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास हामीलाई छैनः कुलमान घिसिङ अत्यावश्यकबाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो: कुलमान घिसिङ सम्पत्ति छानबिन आयोगः ४० देखि ५० हजारले विवरण भर्ने अपेक्षा त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने लागुऔषधसहित ३१ जना पक्राउ अब नयाँको विकल्प फेरि पनि पुरानो हुन सक्दैन, नयाँको विकल्प नयाँ नै हुन्छः अध्यक्ष घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘जितगढी किल्लालाई विश्वसम्पदा सूचीमा सूचीकृत गर्न पहल गर्छौं’



अ+ अ-

लुम्बिनी। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले ऐतिहासिक जितगढी किल्लालाई विश्वसम्पदा सूचीमा सूचीकृत गर्न प्रदेश सरकारले पहल गर्ने बताउनुभएको छ ।

बुटवलस्थित जितगढी उत्सव २०८२ को आज उद्घाटन गर्दै उहाँले सङ्घीय सरकारसँग समन्वय गरेर जितगढी किल्लाको राष्ट्रिय गौरवको विषयलाई अन्तरराष्ट्रिय मान्यता दिलाउन प्रयास गरिने बताउनुभएको हो ।

कर्णेल उजिरसिंहलाई राष्ट्रिय सपुतका रूपमा नामाकरण गर्नका लागि पनि सङ्घीय सरकारसँग पहल गरिने भन्दै मुख्यमन्त्री आचार्यले वीर सपुतको त्याग र बलिदानीलाई कहिल्यै बिर्सन नहुने बताउनुभयो । “नयाँ पुस्तालाई वीरताको गाथा सुनाउन र इतिहासप्रति गर्व गर्ने वातावरण निर्माण गर्न आवश्यक छ”, उहाँले भन्नुभयो, “राष्ट्रप्रति देखाइएको समर्पणको भावनालाई उच्च सम्मान गर्न जरूरी छ । त्यो त्याग र समर्पणलाई कहिल्यै भुल्न सक्दैनौँ ।”

मुख्यमन्त्री आचार्यले अङ्ग्रेज सेनालाई हराउन सफल भएको गौरवमय इतिहास सबैले बुझ्नुपर्ने बताउनुभयो । आत्मविश्वासकै कारण नेपाली फौजले अङ्ग्रेज फौजलाई पराजित गर्न सफल भएको उल्लेख गर्दै उहाँले उतिबेलाका योद्धाहरूले जोगाएको स्वाभिमानका कारण आज हामी यहाँ पुगेको उल्लेख गर्नुभयो ।

बुटवललाई आर्थिक राजधानी बनाउने प्रदेश सरकारको योजनालाई दृढताका साथ कार्यान्वयन गरिने बताउँदै मुख्यमन्त्री आचार्यले स्थानीय सरकारसँग साझेदारी गर्दै बुटवलको उन्नति र समृद्धिका निम्ति बनाइएका योजना प्रभावकारी रूपमा कार्यान्वयन गरिने स्पष्ट पार्नुभयो ।

नेपाली फौजले अङ्ग्रेज सेनालाई हराएको दिनको स्मरणमा जितगढीमा उत्सव मनाइएको हो । नेपाल–अङ्ग्रेज युद्धका बेला जितगढीमा नेपाली फौजले अङ्ग्रेज फौजलाई हराएको ऐतिहासिक तथ्य छ ।

यस किल्लामा कर्णेल उजिरसिंह थापाको नेतृत्वमा नेपाली फौजले विसं १८७२ वैशाख ७ गते अङ्ग्रेज फौजमाथि ऐतिहासिक विजय हासिल गरेको इतिहास छ । तत्कालीन पाल्पाका सेन राजाले अङ्ग्रेज फौजविरुद्ध युद्ध गरेका थिए । कर्णेल थापाको नेतृत्वमा रहेको फौजले नुवाकोटको डाँडाबाट सुरुङ बनाएर बुटवलको तिनाउ नदी छेउमा गढी निर्माण गरेको बताइन्छ । त्यही फौजले विसं १८७१ देखि पटकपटकको आक्रमण सामना गर्दै अन्ततः विसं १८७२ वैशाख ७ गते विजय हासिल गरेको इतिहास छ ।

अङ्ग्रेज सेनालाई पराजित गरेपछि उक्त गढीको नाम जितगढी रहन गएको हो । तत्कालीन समयमा नुवाकोट गढी, सिमरन गढीलगायत नेपालका सात स्थानमा अङ्ग्रेजविरुद्ध युद्ध भएका थिए ।

यहाँ सोही खुसीयालीमा बुटवल उपमहानगरपालिकाले प्रत्येक वर्ष जितगढी उत्सव मनाउँदै आएको छ । उत्सवको अवसरमा विभिन्न सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको छ ।