४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar घाइते यादवको शरीरबाट गोली निकालियो News Polar भारतीय सीमा हुँदै महिला शोषणको घटनामा छानबिन अघि बढ्यो News Polar चिमखोला–घ्याँसीखर्क सडक अवरुद्ध News Polar एमाले केन्द्रीय सचिवालय बैठक च्यासलमा सुरु News Polar जटिल प्रसूति समस्या भएका दुई महिलाको रसुवाबाट हवाई उद्धार News Polar अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि News Polar एमाले पुनःगठन कार्यदलको एकीकृत प्रतिवेदन तयार गरिँदै News Polar मधेसमा आत्महत्याका घटना बढ्दै News Polar विराजभक्त श्रेष्ठले लिए रास्वपा सचिवालय सदस्यको शपथ News Polar प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान News Polar ‘ग्रे जोन’ रिपोर्टमा नाम जोडिएकाले जनतालाई स्पष्ट जवाफ दिनुपर्छ : महेश बस्नेत News Polar एमाले कार्यदलको प्रतिवेदनमा अध्यक्षको राजीनामा र नेतृत्वबाट हटाउने विषय छैन–सचिव बस्नेत News Polar एमाले कार्यदलको सर्वसम्मत प्रतिवेदन तयार, नेतृत्व पुनर्गठनको विषय समावेश छैन News Polar सञ्चारकर्मीमाथि ओलीको आक्रोश : ‘माइक ल्याएर मुखमा नघोच्नुस्’ News Polar इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर News Polar बाढी प्रभावितलाई चिनियाँ सहयोग News Polar नेपाली आईटी कम्पनीलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्दै नास–आईटीको स्वीट्जरल्यान्डमा टेक रोडशो News Polar ‘सरकारले वातावरण बनाइदिए समयमै काम गर्न सकिन्छ–पूर्वाधार विकासलाई राज्यले गम्भीरतापूर्वक लिनुपर्छ’ News Polar ‘मधेसलाई द्वन्द्वको मैदान बन्न दिँदैनौँ, समाज जोड्न मेची–महाकाली पदयात्रा गर्छु’- सांसद सिंह News Polar भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटिए

पाशुपतक्षेत्र किन जाने ?

पाशुपतक्षेत्र भूगोलमात्र होइन भाव पनि हो

पाशुपतक्षेत्र किन जाने ?
file
अ+ अ-

पशुपति रहने, व्यापक हुने , भूगोललाई पाशुपतक्षेत्र भनिन्छ । भगवतः पशुपतेः क्षेत्त्रे….भनी पशुपतिको भस्मेश्वरशिवलिङ्गमा पाशुपत क्षेत्रको उल्लेख पाइन्छ । काठमाडौँउपत्यकालाई मन्दिरैमन्दिरको शहर भनिन्छ ।

उपत्यकाभित्र देवी, गणेश, विष्णु, बुद्ध, कृष्ण, भैरव आदिका मन्दिरहरू प्रशस्त देखिए पनि शिवालय अत्यधिक भेटिन्छन् । यसैले नेपालमा शिवत्व चिन्तन गर्न, बुझ्न सहज र साधना गर्न हुन्छ । महादेवको निवास भएकाले यसलाई शिवपुरी, शिवनगरी, माहेश्वरपुर अर्थात् महादेवको शहर भनियो । वेद , उपनिषद्, आरण्यक, पुराण, इतिहास आदिमा पशुपतिको चर्चा पाइन्छन् । पाशुपतक्षेत्रमा रावण, विभीषण, प्रद्युम्न आदिले शिवको उपासना, ध्यान गरेको जानकारी पशुपतिपुराणमा छ ।

यहीँ मृगरूपमा शङ्करले वाग्वतीका पश्चिमतर्फ आई ज्योतिर्मयलिङ्गका रूपमा विराजमान हुनुभयो । द्वापरयुगमा बाणासुरले वाग्वतीको प्रवाहलाई रोकेर जलमय बनाइदिएपछि पशुपतिको ज्योतिर्लिङ्ग गुप्त भयो । त्यस स्थानमा तीस हजार वर्षसम्म नागराज वासुकिले तपस्या गरे । श्रीकृष्णका छोरा प्रद्युम्नले बाणासुरलाई मारिदिए ।

जलमग्न उपत्यकालाई श्रीकृष्णले चक्रद्वारा पहाडलाई काटेर पानीको मुहान खोलिदिएपछि बिस्तारै बस्तीहरू बस्न र बाक्लिन थाले । कालान्तरमा यहाँ पापीहरू बढ्न थालेर संरक्षण र पूजनको अभावमा हरिणेश्वर पशुपतिको लिङ्गविग्रह विभिन्न लता, फूल, झार आदिले ढाकियो । शङ्क्रको आज्ञाअनुसार ब्रम्हा र विष्णुले ती पापीहरूलाई नाश गरी श्रीपशुपतिको पञ्चमुखी लिङ्गविग्रह स्थापना भयो ।

पशुपतिकै कृपाले यसलाई पाशुपतक्षेत्रका नामले चिनिन थाल्यो । पशुपतिको मूर्ति एवं मन्दिर समयक्रमअनुसार कहिले उत्कर्षमा पुगेको, कहिले युग परिवर्तनसँगै अगम्य बनेको र पुनः प्रादुर्भाव भएको देखिन्छ ।

नेपालमा वैद्यनाथक्षेत्र, मुक्तिनाथक्षेत्र, पाशुपतक्षेत्र, लुम्बिनीक्षेत्र, रुरुक्षेत्र, वराहक्षेत्रआदि मुख्य क्षेत्रहरू छन् । यीमध्ये पाशुपतक्षेत्रको महŒव अझ महनीय छ । वाग्वतीको किनारमा प्यागोडाशैलीमा रहेको शिवालयभित्र पशुपतिको पञ्चमुखी मूर्ति विग्रह छ । कारणब्रé (पशुपति) वा पशुपतिमन्दिरको स्वामित्वमा रहेको भूमिलाई पाशुपतक्षेत्र भनिन्छ, जसले पशुपतिको गरिमा र ओज बोकेर बसेको छ ।

लिङ्गपुराणले शिवलिङ्गबाट चारैतर्फको आधा कोशलाई शिवक्षेत्र मान्दछ । स्वस्थ मानिसले एक घण्टामा पार गर्ने दुरीलाई एक कोश भनिन्छ । समयअनुसार पाशुपतक्षेत्रको भौगोलिक परिधि साँघुरो र फराकिलो भएको देखिन्छ । पूर्वमा कोशी, पश्चिममा कालीगण्डकी, उत्तरमा गोसाइँकुण्डसम्मको भूभागलाई पाशुपतक्षेत्र मान्ने शास्त्रीय आधारहरू पनि छन् ।

वि. सं. २०३५ मा पाशुपतक्षेत्रको सीमाङ्कनसहितको नक्सांकन भई वि. सं. २०४३ फाल्गुनको राजपत्रमा उल्लेख गरिएको करिब २६४ हेक्टर क्षेत्रफलको भूभागलाई पाशुपतक्षेत्र भनिन्छ । पशुपतिका नाममा अर्पित भूमि यतिमात्र भए पनि पशुपतिको ऊर्जाले त्योभन्दा कैयौँ गुणा परसम्म प्रभाव पारिरहेको छ । पशुपतिको ऊर्जाले आरक्षण, संरक्षणमात्र दिएको छैन मृतात्माको उद्धारसमेत भएको छ । पशुपति एवं ब्रéनालनजिक मृत्यु भएमा मुक्ति हुने विश्वास गरिन्छ ।

प्राणं परिहरेद्यस्तु मम दक्षिणभागतः ।
प्रभावात् क्षेत्रभक्तस्य नरकं नाधि गच्छति ।
–पशुपतिपुराण (१७।१९)

अर्थात् “मेरो (पशुपतिको) दक्षिणतर्फ जसले देह त्याग गर्ला, त्यसलाई यो क्षेत्रको प्रभावले गर्दा नरक जानुपर्दैन ।” पाशुपतक्षेत्रमा विभिन्न देवीदेवताका साथै महादेवको बास हुन्छ, जो कालका पनि काल अर्थात् महाकाल हुन् । मृतात्माले शरीर छोड्नेबित्तिकै देवीदेवताको दर्शन पाउँछ जसले पूर्वजन्मका पाप एवं यस जन्मका कुकर्म नष्ट हुन्छ । तीर्थस्थल र धामको ऊर्जाले पापक्षय हुने विश्वासमा जीवनको उत्तरार्धमा शैवक्षेत्रमा देहत्याग गर्थे । पशुपतिको दर्शन जीवनमा जसले गर्दैन, त्यो मानिस सबै असल कर्मबाट बञ्चित हुन्छ, सधैँ पशुको जन्म लिएर पृथ्वीमा घुमिरहन्छ ।

भानुभक्त आचार्य आफ्ना हजुरबुबा श्रीकृष्ण आचार्यको अन्तिम अवस्थामा बनारस बसेका थिए । हजुरबाको मृत्युपछि नेपाल फर्किएको वर्णन पाइन्छ । शिवसँग सम्बन्धित देवता वा तीर्थले मृतकलाई मुक्ति दिन्छ । दाहसंस्कार पनि शिवालयनजिकै गरिन्छ । पाशुपतक्षेत्रको ऊर्जाले मृतकलाई स्वतः निर्भीक र आनन्दित तुल्याउँछ । शवलाई शिवको चरणमा छोड्न पाउनु सौभाग्य हो जसले मुक्ति मिल्छ ।

एकपटकमात्र पञ्चमुखी पशुपतिलाई नमस्कार गर्दा सबै प्रकारका पापदेखि मुक्त भई पुण्य प्राप्त गरी पशुयोनिबाट छुट्कारा पाउँछन् । पशुपतिको मन्दिर अन्यत्र स्थान र देशमा पनि बन्न सक्ला तर यहाँको ऊर्जा, इतिहास, वैभवलाई कसैले किन्न, निर्माण गर्न र लैजान सक्दैन । अन्य स्थानको पशुपतिमन्दिर अग्लो, महङ्गो र झिलिमिली हुन सक्ला, यात्रुहरूको घुइँचो बढ्ला तर नेपालको पशुपतिले जस्तो कल्याण अरूले गर्न सक्दैनन् ।

पशुपति हुन वाग्वती, मृगस्थली, कैलाश, गौरीघाटको उपस्थित अनेकौँ घाट, तीर्थस्थल, देवीदेवताको निवास एवं पञ्चमुख शिवलिङ्क हुनुपर्छ । पशुपतिको महत्व नेपालभूमिले मात्र बोकेको छ, बुझेको छ । जुन स्थानले पशुपतिको सुगन्ध, गरिमा र ओज बोकेर बसेको छ त्यसलाई पाशुपतक्षेत्र भनिन्छ ।

जायन्ते च म्रियन्ते च क्षेत्रे पाशुपते वरे ।
ब्रम्हादिलोकमोक्तारः शिवेन सह मोदिनः ।।
–हिमवत्खण्ड (७१।१४)

अर्थात् “पाशुपतक्षेत्रमा जन्मियो वा म¥यो भने ब्रम्ह आदि लोकमा पुग्छन् र शिवका साथमा आनन्दसँग बस्न पाउँछन् ।” देवपत्तनभित्र जन्मिएमात्र पशुपतिको भण्डारीका दावेदार मानिने हुँदा यहाँका गर्भवतीलाई सुत्केरी गराउन पाशुपतक्षेत्रबाहिर नलैजाने परम्परा छ । जन्मस्थानले मानिसको चेतना र चिन्तनमा प्रभाव पार्दछ । देवस्थलबाट सकारात्मक ऊर्जा आउँछ, हृदय पवित्र बन्छ, मन श्रद्धाले भरिन्छ, दिलमा आँट र चिन्तनमा दृढता हुन्छ ।

बधशाला र फूलबारी दुवै धर्तीका भाग हुन् तर त्यहाँको वातावरणले फरक सोच सिर्जना गर्दछ । मासुपसल र मूर्तिपसलबाट आउने तरङ्गभिन्न हुन्छ । मर्नेबेलामा वेद, गीता, विष्णुसहस्रनामलगायतका पाठ सुनाउँदै भगवान्को नाम उच्चारण गर्न र सम्झन लगाउँछन् । मृत्युको समयमा जस्तो भाव आउँछ अर्को जन्म त्यस्तै हुन्छ । यहीकारण जीवनको अन्तिम क्षणमा तीर्थस्थलमा राख्ने, तीर्थस्थलको जल खान दिने, शरीरमा छर्कने, शिरानीमा राखिदिने गरिन्छ । मर्न लागेको मानिसलाई ईश्वर स्मरण गराउनुपर्छ, जीवनका नाता भूलाउनुपर्छ । “मलाई चिन्नुभयो ?” भनेर सोध्नुहुँदैन । भवसागर पार हुन लागेकालाई नश्वर लोकको याद गराउनुहुँदैन ।

वाग्वती सरितां श्रेष्ठा यत्र यत्रागवगाभते ।
भवस्तत्र फलं दद्याद् राजसूयाश्वमेधयोः ।।
–वराहपुराण (२१३।६७)

अर्थात् “नदीहरूमा श्रेष्ठ वाग्वतीमा जहाँजहाँ स्नान गरे पनि शङ्क्र भगवान्ले राजसूय र अश्वमेध यज्ञको फल प्रदान गर्नुहुन्छ ।” नेपालका विभिन्न राजामहाराजाहरूले आफूलाई पशुपतिका सेवक भन्न पाउँदा गौरव गर्थे । अंशुवर्मा, नरेन्द्रदेव र शिवदेव द्वितीयले ‘भगवत्पशुपतिभट्टारकपादानुगृहीतः’ अर्थात् पशुपतिको पाउको अनुग्रह हुन पाउनुमा गर्व गरेका थिए । अंशुवर्माले आफ्नो दरबारको नाम महादेवको निवासस्थल कैलाश अर्थात् ‘कैलाशकूटभवन’ राखेका थिए ।

तात्कालिक शिलालेखको शीर्षभागमा नन्दी पाइन्छ । ‘पशुपति’ नामाड्ढित अनेक प्रकारका मुद्राहरू प्रयोगमा थिए । राजा राघवदेवले पशुपतिसंवत्सर, शिवदेव (वि.संं. ११५५–११८३) ले ‘श्रीशिव’ अड्ढित शिवाड्ढ नामको सुनको सुकी (२५ पैसा) प्रचलित गराए । श्री ५ पृथ्वीनारायण शाहले पशुपतिमा दर्शनार्थीलाई पुग्न सहज होस् भनी धोबीखोलामा पुल निर्माण गरे । पशुपतिलाई पञ्चामृतले स्नान गराउन गूठी राखिदिए । प्रजातन्त्रको पुनस्र्थापनापछि पाशुपतक्षेत्र पार्टीका कार्यकर्ताहरूको भर्तीकेन्द्रको रूपमा रूपान्तरण हुँदै गयो ।

योगी नरहरिनाथ, डा.स्वामी प्रपन्नाचार्य, षडानन महाराज, गलेश्वर बाबालगायतका नेपाली सन्तलाई लत्याउँदै वनकालीबगैँचालाई तात्कालिक सदस्यसचिवले विदेशी वैष्णव महन्तको नाममा भेट चढाए । मृदुभाषी एवं पशुपतिका जानकार उहाँले शैवक्षेत्रमा वैष्णव घुसाउँदै नन्दीविनाको शिवलिङ्कहरू राखी मुर्दाघारीमा परिणत गरिदिनुभयो ।

देवीमन्दिरमा गरेको भावकल छिटो पुरा हुन्छ किन कि देवी भनेकी आमा हुन्, प्रकृति हुन् । क्षेत्रको ऊर्जाले भावकल र सिद्धि छिटो प्राप्त हुन्छ । नेपालआमाले मृगस्थली, धु्रवस्थली, कैशाल, विभिन्न कुण्ड, वाग्वती आदि दिएर पशुपतिलाई स्वागत गरिन् । अनेकौँ देवीदेवताका मूर्ति र मन्दिरले पशुपतिको महिमालाई उजागर गरे ।

साधुसन्तको आश्रम, साधना र उपासनाले पुण्यस्थल भयो । भक्तजनहरूको पूजा, पाठ र धार्मिक अनुष्ठानले देवस्थल बनेको छ । वैदिक परम्पराको केन्द्र र नेपालको शान भएकाले पाशुपतक्षेत्रको कणकणसँग आस्तिकहरुको आत्मा जोडिएको छ, साधकहरुको श्वास मिलेको छ । जहाँ पशुपतिको चिन्तन गरिन्छ त्यो पाशुपतक्षेत्र हो ।

हरेक मानवले आफ्नो हृदयमा पशुपतिलाई राखेर मनलाई शिवमय र शरीरलाई पाशुपतक्षेत्र बनाउनुपर्छ । पाशुपतक्षेत्र भूगोलमात्र होइन भाव पनि हो । पशुपतिका नाममा अर्पण गरिएका भाव एवं भौतिक स्वरूपको समग्रतालाई पाशुपतक्षेत्र भनिन्छ । शैवक्षेत्रका नेपालीले शरीर, चिन्तन र बुद्धिलाई पाशुपतक्षेत्र बनाउनुपर्छ । आत्मालाई पशुपतिमा रूपान्तरण गर्न सकेमात्र जीवन सार्थक हुन्छ र देवभूमि नेपालमा जन्मनुको अर्थ रहन्छ ।