'आगामी चार महिनासम्म करिब एक लाख ४८ हजारमा कोरोना संक्रमण पुष्टि हुने'

  

काठमाडौं । नेपालमा आगामी चार महिनासम्म करिब एक लाख ४८ हजारमा कोरोना संक्रमण पुष्टि हुने अनुमान गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले अबको चार महिनामा करिब एक लाख ४८ हजारमा संक्रमण पुष्टि हुनसक्ने बताएका हुन् । 

शनिबार  काठमाडौंमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा मन्त्री ढकालले सुरूमा सरकारले नेपालको कुल जनसंख्याको दुई प्रतिशतमा पिसिआर परीक्षण गर्ने नीति ल्याएपनि संक्रमण नियन्त्रणमा आउन नसक्दा अहिलेसम्म १६ लाख ५० हजार जनाको परीक्षण भइसकेको बताए। 

सरकारले मुलुकमा भएका स्वास्थ्य संरचनाहरूको यथार्थभित्र रहेर अधिकतम काम गरिराखेको मन्त्री ढकालले दाबी गरेका छन्। 

त्यस्तै, मन्त्री ढकालले कुल सक्रिय संक्रमितहरूमध्ये ८० प्रतिशत होम आइसोलेसनमा बस्नुले नै नागरिकको बुझाइमा परिवर्तन आएको स्पष्ट हुने बताए। 

सरकारले अस्पतालहरूमा अक्सिजन सहितका बेडहरूको व्यवस्थापन गर्ने, औषधीको आपूर्ति सहज बनाउने सम्बन्धमा युद्धस्तरमा काम गरिराखेको समेत बताए।