अक्षय कुमारले फिल्मको नाम फेरे, अब “लक्ष्मी बम” होइन, “लक्ष्मी” मात्र

  

मुम्बईः नामको विषयलाई लिएर विवाद भएपछि अक्षय कुमारले आफ्नो नयाँ हिन्दी कथानक चलचित्र “लक्ष्मी बम” को नाम फेरेका छन् । अब यस फिल्मको नाम “लक्ष्मी” मात्र रहने छ ।

फिल्मको पुरानो नामलाई लिएर हिन्दु सेना, राजपुत सेना सहित धेरै मानिसले आपत्ति जनाएका थिए । फिल्मको नाम परिवर्तन गरेसँगै फिल्म निर्माताले नयाँ पोस्टर पनि जारी गरेका छन् ।

विवाद थप बढ्ने देखिएपछि नाम परिवर्तन

फिल्म “लक्ष्मी बम” नाम राख्दा हिन्दु भावनामाथि ठेस पुग्ने भन्दै विरोध भइरहेको थियो । फिल्म रिलिज हुनै लाग्दा फिल्मको नामलाई लिएर बबाल मच्चिने देखेपछि फिल्मका निर्माताहरु नाम बदल्न बाध्य भएका हुन् । सार्वजनिक नयाँ पोस्टरमा कियारा आडवाणी अरेन्ज लुगामा देखिएकी छिन् । उनको पछिल्तिर तिलक, सिन्दुर लगाएर अक्षय कुमार देखिएका छन् । अक्षय कुमारले आउँदो दीपावलीलाई समेत जोडेर एउटा ट्वीट गरेका छन् जसमा उनले हर घरमा आउँदैछिन् लक्ष्मी ।

यो फिल्म आगामी नोभेम्बर ९ अर्थात् कात्तिक २४ गते रिलिज हुँदैछ । फिल्मको ट्रेलर भने “लक्ष्मी बम”कै नाममा सार्वजनिक भइसकेको छ ।  

तमिल फिल्मको रिमेक हो लक्ष्मी

यो फिल्म डिज्ने प्लस हटस्टारबाट रिलिज हुँदैछ । यो फिल्म तमिल फिल्म मुनी २ः कन्चनाको रिमेक हो जसलाई राघव लरेन्सले नै निर्देशन गरेका थिए ।
(स्रोतः टाइम्स अफ इन्डिया)