आइपिएलमा अर्को ड्रामा, सनराइजर्स सुपर ओभरमा पराजित

  

अबुधाबीः इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आइतबारको पहिलो खेलमा सनराइजर्स हैदराबाद नाटकीय रुपमा सुपर ओभरमा पराजित भएको छ ।

सनराइजर्स र कोलकाता नाइट राइडर्स (केकेआर) बीचको खेल फेरि “टाई” भएपछि सुपर ओभरमा गएको थियो । सुपर ओभर पनि रोमाञ्चपूर्ण बनेको थियो ।

सुपर ओभरमा पहिलो ब्याटिङ गर्न उत्रेको सनराइजर्सका लागि कप्तान डेभिड वार्नर र जोनी बेयरस्टो क्रिजमा आएका थिए । तर केकेआरका लागि लकी फर्गुसनले पहिलो बलमै वार्नरलाई ० रनमै पेभिलियन फर्काए ।

त्यसपछि ब्याटिङमा अब्दुल समाद आए, तर उनी पनि व्यक्तिगत २ रन जोडर फर्गुसनकै बलमा आउट भए ।

त्यसपछि जितका लागि ३ रनको चुनौती पाएको केकेआरले ४ बलमा लक्ष्य पूरा गरेर खेल जित्यो । यो जितसँगै केकेआरले ९ खेलबाट १० अंक जोड्दै अंक तालिकाको चौथो स्थानमा रहेको छ ।
 

कसरी भयो टाई ?

टस हारेर ब्याटिङको निम्तो पाएको केकेआरले ५ विकेट गुमाएर १६३ रनको मध्यम स्कोर खडा गरेको थियो । केकेआरका लागि शुभमन गिलले ३६, राहुल त्रिपाठीले २३, नितिश रानाले २९, आन्द्रे रसेलले ९, इओन मोर्गनले ३४, दिनेश कार्थिकले २९ रन बनाएका थिए ।

जितका लागि १६४ रनको लक्ष पछ्याएको सनराइजर्सले २० ओभरमा १६३ रन नै बनाएको थियो । कप्तान डेभिड वार्नरले ४७ रन बनाएका थिए । जितका लागि अन्तिम बलमा २ रन चाहिए पनि उनले १ रन मात्र बनाएका थिए । एजेन्सी

अंक तालिका