जुन पार्टीको टाउको ठूलो छ त्यो पार्टी सुक्न थाल्यो भनेर बुझ्न थाले हुन्छ – बरिष्ठ नेता नेपाल

  

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा गत जेठ महिना देखि पेचिलो रुपमा बढ्दै गएको विवाद भदौ २५ सम्म आइपुग्दा भने शान्त अवस्थामा पुगेको छ । खसगरी प्रधानमन्त्री समेत रहनुभएका पार्टी अध्यक्ष केपी शर्मा ओली विरुद्ध अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष एक भएपछि विवाद चुलिदै गएको थियो । वरिष्ठ नेता नेपालले एक व्यक्ति एक पदको अवधारणामा जानुपर्ने अडान लिइरहनुभयो । यो बीचमा पार्टीमा फुट हुने संकेतहरु पनि देखा परे । तर पछिल्लो समय केही विषयमा समझदारी बनेपछि भने पार्टी फुटको दुर्घटनाबाट जोगिएको छ । यिनै विषयमा केन्द्रीत रहेर न्यूज एजेन्सी नेपालले नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालसँग कुराकानी गरेको छ । 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटीले लामो समयदेखिको विवाद समाधान गरेको छ । तर पनि विभिन्न नेताहरुका अभिव्यक्तिबाट अझै पूर्ण रुपमा समाधान भएको भन्ने देखिँदैन । के अझैपनि विमेल रहेको अवस्था हो ?


सधैँभरी हाम्रो प्रयास पार्टीलाई ट्रयाकमा ल्याउने, अगाडि बढाउने, गति प्रदान गर्ने र अधिकतम उद्देश्यलाई साकार पार्न अधिकतम उत्पत्ति हासिल गर्ने त्यो नै हाम्रो प्रयत्न हुनुपर्दछ । नभए संगठन नामको चिजको अर्थ र औचित्य रहँदैन । पार्टी नामको चिजको अर्थ र औचित्य रहँदैन । त्यसैले हामीले केही धेरै छलफल बहसपछि एउटा सहमतिको बुँदा अगाडि सारेका छौं । सहमतिका बुँदाहरु भित्र पनि कतिपय कुरामा अझै ज्यादै जोड दिनका लागि मैले पनि १७ बुँदा भनौं वा ६१ बुँदा भनौं त्यसलाई पनि मैले प्रस्तुत गरेको छु । जसले गर्दा केही कुराहरुमा ध्यान जान सकोस । पार्टीका कमरेडहरुले, स्थायी कमिटीका सदस्यहरुले लिखित रुपमा वा मौखिक रुपमा आफ्ना कुराहरु वा सुझावहरु राख्नुभएको छ । ती सबै चिजलाई सचिवालयका सदस्य कमरेडहरुले पनि राख्नुभएको छ । त्यो सबै चिजहरुलाई ध्यानमा राखेर पार्टी अवश्य पनि अगाडि बढ्नुपर्छ । त्यो बाहेक कुनै विकल्प अर्को छैन । 

तपाईले राखेका विषयहरुलाई सुझाव भन्ने की फरक मत भन्ने ?
सुझाव भनौं, त्यो फरकम मत होइन । छलफल बहस भइसकेपछि कसैको सहमति छैन भन्यो भने फरक मत हुन्छ । त्यहाँ फरक मत राख्नुपर्ने कुनै चिज छैन । पार्टीको सिद्धान्तसँग र पार्टीको विधानसँग मेल खाने कुराहरु नै छ । त्यस अनुरुपकै कुराहरु छन् । पार्टीको सिद्धान्तसँग पनि, पार्टीको राजनीतिसँग पनि, पार्टीको विचारसँग पनि, पार्टीको विधानसँग पनि र पार्टीले अगाडि सारेका मूल्य र मान्यताहरुसँग पनि मेल खान्छ भने त्यसमा कसैले आपत्ति गर्नुपर्ने कुरा मलाई लाग्दैन । 

असार १० गते बालुवाटार छिर्दै गर्दा जुन बिमति थियो भदौ २५ गते बाहिर निस्कँदा ती अब निमिट्यान्न भएका हुन् ?
अब निमिट्यान्न पार्नुपर्छ भन्ने मान्यताबाट अगाडि बढेका हौं । 

अहिले देखिएको नीतिमा समस्या हो की नियतमा हो ?
नीतिमा समस्या होइन । नीतिलाई आत्मसात गर्ने कुरामा, बिचारलाई आत्मसात गर्ने कुरामा र विचारलाई तदनुकूल व्यवहारमा लागू गर्ने कुरामा देखा परेका समस्या हुन् । 

अब अहिले जुन सहमतिको दस्तावेज बनेको छ त्यसलाई अक्षरशः पालना गरेर जानुपर्ने हो ?
सहमतिको दस्तावेज भनिएको छ । पार्टीको स्थायी कमिटीले पारित गरेको छ । त्यो मैले सबै पढ्न पाएको छैन । हामीले पाएकोमा मैले केही टिप्पणीहरु गरें । सबैका सुझाव त्यहाँ समेटिए वा समेटिएनन मैले हिजोमात्रै प्रिन्टआउट कपी पाएको छु । अब त्यसलाई मैले सबै पढ्नुपर्नेछ । त्यो पढिसकेपछि मात्रै त्यसबारेमा अन्तिम राय बन्नेछ । अहिले के भन्न सकिन्छ भने त्यहि अनुसारले आएको होला भन्ने ठानेर त्यसलाई मैले सकारात्मक रुपमा लिएको छु ।

अहिले नेताहरुको जिम्मेवारी लगायतका विविध कुराहरु पनि आएका छन् । जिम्मेवारी बाँडफाँड बरिष्ठ नेताहरुदेखि तलसम्म यहाँले केही सोच्नुभएको छ ? जसबाट कार्यकर्ताहरुको उचित व्यवस्थापन होस् ?

जिम्मेवारीको बारेमा त मेरो धारणा स्पष्ट छ । जस्तो पोलिटव्युरो बनाउनुपर्यो भने पहिले त मान्छेलाई संगठित गर्नुपर्यो । संगठित गरेपछि बल्ल जिम्मेवारी दिन प¥यो । संगठित नै गर्नुभएको छैन भने के जिम्मा दिनुहुन्छ ? त्यसलाई कमिटीमा आवद्ध गर्नुपर्यो । सदस्यता दिने कुरा संगठित होइन । त्यसलाई संगठनमा आबद्ध गर्ने कुरालाई नै संगठित भनिन्छ । अनि संगठन भइसकेपछि कामको जिम्मेवारी हुन्छ । अनि मात्र उसको कामको जिम्मेवारी तय हुन्छ र त्यसको ब्याख्याहरु गरिनेछ । 

जहाँसम्म कुरा के छ भने पोलिटब्युरो बनाउनुप¥यो के कसरी बनाउने ? जसरी केन्द्रीय कमिटीको गठन भएको थियो त्यसरी नै गर्ने हो  । केन्द्रीय कमिटीको गठन कसरी गरिएको थियो भने विद्यमान केन्द्रीय कमिटीका सदस्यहरु यथावत नयाँ केन्द्रीय कमिटीमा बस्ने । मान्यता के थियो भने पुरानो केन्द्रीय कमिटीको संख्याको आकार ठूलो छ भने संख्या घटाउँदाखेरी वरिष्ठहरुले प्राथमिकता पाउने । पूर्व एमालेमा समस्या भएन किनभने २ सयको संख्या थियो । अनि हाम्रो गर्दा २ सय ४२ हुन पुग्यो । भनेपछि २ सय यथावत रहने भए । पूर्व माओबादी भित्र के भयो भन्दा संख्या निकै ठूलो थियो । त्यो ठूलो संख्याबाट छाँटेर ल्याउनुपर्ने भयो । २ सय पूर्व एमालेको राख्यौं भने २ सय उता दिऔं र बाँकी ४१ जना थपेर ६० र ४० प्रतिशतको मोटामोटी रेसियो (अनुपात) तय गरौं भनेर तय भएको थियो । त्यसअनुसार २ सय उहाँहरुले छानेर ल्याउनुभयो, त्यसमा हामीलाई जानकारी हुने कुरा भएन । किनभने एकीकृत भइसकेपछि बल्ल कार्यकर्ताहरुको जानकारी हुन्छ र उनीहरुको बारेमा उचित मूल्याङ्कन भयो भएन भन्ने कुरामा हामी सबैको ध्यान जान सक्दछ । मेरो ध्यान कहाँ जाने भयो भन्दा पूर्व एमालेमा जाने भयो । त्यसो हुँदा हाम्रो २ सयको यथावत भयो । ४१ वटा गर्दाखेरी कतिपय मिले कतिपय मिलेन तरपनि एउटा अवस्थामा हामीले मिल्यौं ।

अब त्यसपछिको अवस्थामा पोलिटव्युरो कसरी गर्ने भन्दा यस अघिका पोलिटव्युरोमा जो सदस्य भइआएका छन् । नवौं महाधिवेशनबाट जितेका र महाधिवेशनपछि पोलिटव्युरो सदस्य नभएका तर विगतमा निर्वाचित भएकाहरुको संख्या कति छ त्यो हेरौं । त्यो संख्या भन्दा बढी नै संख्या चाहिन्छ होला । जस्तो मानिलिउँ ४ सय ४१ जनाको केन्द्रीय कमिटी छ र त्यसको एक तिहाई १ सय ३७ हुन्छ भने अथवा १ सय ३८ हुन्छ भने त्यो १ सय ३८ मा दुवैतिर हिसाब गरौं र त्यसपछि पूर्व एमाले तर्फ यति संख्या राख्ने र पूर्व माओबादीतर्फ यति संख्या राख्ने भन्ने हुन्छ । एकीकरण नभएसम्म त्यो संख्यामा जानुप¥यो । एकीकरण भइसकेपछि भाग लगाउने भन्ने हुँदैन । एकीकरण भइसकेपछि एउटै पार्टी भयो । 

त्यसो भए एकीकरणको अन्तिम रुप एकीकृत महाधिवेशन नै हो ?
होइन त्यो महाधिवेशन भनेको के हो भन्दा त्यतिबेला एकीकृत पार्टी भइसक्यो । एकीकृत पार्टीको महाधिवेशन हो त्यो । अब नेकपा भनेपछि एकीकृत पार्टी हो । त्यहाँ अब कुनै किसिमको भेदभाव भन्ने कुरा आउँदैन । अब सबै समान भए । अब यहाँ रेसियोको कुरा आउँदैन । त्यसो भएको हुनाले पोलिटव्युरोको साथमा पुरानाहरुको हक स्वतः हुने भयो । नयाँको हकमा पनि मापदण्ड तय गर्ने । कति पटक केन्द्रीय कमिटीको सदस्य भए । सबैभन्दा बढी सदस्य भएको छ उसले पहिलो प्राथमिकता पाउने । दुईचोटी भएकोले दोस्रो प्राथमिकता पाउने । या पाहिलो चोटी भएकाहरु मध्येबाट पनि पुरानो इतिहासलाई हेरिकन र त्यसको मूल्याङ्कन गरेर तय गर्ने भएपछि विवाद साँघुरिने भयो । मानिलिउँ १०० गर्नुछ भने ९० प्रतिशतमा विवाद भएन १० प्रतिशतको बारेमा क्लियर मापदण्ड बनाउँदै गर्न सकिन्छ । 

समस्या समाधान गर्ने तगरिकामा वैज्ञानिक विधि अपनाउनुपर्यो नि । त्यो वैज्ञानिक विधिको पक्षमा म छु । वैज्ञानिक तरिका अपनाइसकेपछि मान्छेलाई चित्त बुझ्छ । यो पार्टीको हकमा पनि लागू हुन्छ र राज्यको हकमा पनि लागू हुन्छ । राज्यको हकमा जब अन्तरवार्ता लिइन्छ तब मनोगत गरिन्छ । अन्तरवार्तामा पनि मनोगत गर्नका लागि प्रणाली विकास भइसकेको छ । अब्जेक्टिभ प्रश्न सोध्ने र त्यसको जवाफ के आयो भन्ने कुरा कम्प्युटरले क्लियर गरिदिन्छ । मनोगत हुँदैन । हामीकोमा मनोगत राख्ने बानी पनि रहने गरेको छ । कुनै पनि व्यक्ति कसरी आएको छ त्यो इम्प्रेसनको पक्ष पनि हुन्छ, त्यो त दिनु पनि पर्छ । तर त्यो न्यूनतम दिनुपर्छ । किनभने उसले पनि काखा र पाखा गर्न सक्दछ । मेरो नजिक वा टाढा ठान्न सक्दछ । त्यसो भएको हुनाले यसलाई पनि संसारमा अपनाइएका वैज्ञानिक विधि त्यो हामी पनि अपनाऔं । यो राज्यको हकमा पनि म भन्दैछु । राज्यलाई पनि चलाउने कम्युनिष्ट पार्टी त झन ज्यादा बैज्ञानिक तरिकाले अगाडि बढ्नुप¥यो । जब हामी आफ्नो आचरणमा ठिक भयौं भने समाजलाई राम्रो स्थापित गर्नसक्छौं । जब हामी पार्टी ठिक ढंगले सञ्चालन गर्न सक्यौं भने राज्य पनि राम्ररी सञ्चालन गर्नसक्छ । अनि पार्टी भित्र न्याय दिन सक्यो भने मात्रै राज्यलाई न्याय दिन सक्छ । अनि मात्रै राज्यमा रहेका सबै नागरिकहरुले यो महसुस गर्छन की म माथि अन्याय हुनेछैन मैले न्याय पाउने छु र अन्यायको अन्त्य हुनेछ भन्ने हुन्छ । 

त्यसैले मैले पोलिटब्युरोको कुरा गरे, त्यसैगरी अरु निकायको कुरा पनि त्यही ढंगले गर्दछ । विगतमा भएका त्रुटिहरु सच्याउनुपर्दछ । विगतमा सदस्य नभएका व्यक्तिलाई बनाइएको छ प्रदेशको समितिको सदस्य । मापदण्ड पुग्दै नपुग्ने मान्छेलाई बनाइएको छ । सिनियर मान्छेलाई हटाइएको छ प्रदेश कमिटीको हकमा र जिल्ला कमिटीको हकमा त्यस्तो देखिएको छ । यसबाहेक पार्टी सदस्यतालाई पनि अपडेट गर्नुप¥यो । दुईवटा पुराना पार्टीको सदस्यतालाई पनि एकीकरण गर्नुपर्यो । दुईवटैलाई नवीकरण गर्नुपर्यो । त्यसबाहेक पार्टीका सम्पत्तिहरु छन् कार्यालयहरु छन् । संसदीय दल छ । दललाई मिलाउनु पर्यो । दलका सदस्यहरु एउटै ठाउँमा आउनुपर्यो । अहिले अलग अलग दुइवटा दलमा जाने गरेको छ । हिजो भएको खर्चको हिसाबकिताब लिनुपर्यो ।

त्यसो भए पार्टी भावनात्मक रुपमा अझै एक हुन नसकेको हो ? 
भावनात्मक रुपमा त एक गर्दै जानुपर्छ । त्यसको निम्ति माथिबाट नै प्रयत्न गर्दै जानुपर्छ । अनि कमिटी प्रणालीमा आवद्ध हुने बित्तिकै भइहाल्छ । पूर्व दुईवटै पार्टीले पहिलो चोटी एकता गरेर आएका होइनन् । यसमा पनि पूर्व एमालेको कुरा गर्नुहुन्छ भने एकताको हिसाब गर्दै जानुपर्छ कतिवटा समूहलाई गरियो तपाईहरु पनि खोज्नुहोला । दर्जनौं सानासाना समूहहरुसँग एकतावद्ध हुँदै र गर्दै आएका छौं । एकतावद्ध भएको पार्टीभित्र पनि विभाजन भएर फेरि त्यसलाई पनि मिलाएर अगाडि बढेका छौं । त्यसैले यसका निम्ति धेरै लामो अभ्यास भइसकेको हुनाले हामीले अब एउटा निचोड निकालेर अगाडि बढ्नुपर्ने कुरा मात्रै हो । समस्या छैन त्यसो हुनाले ‘जहाँ चाहा त्यहाँ राहा’ इच्छा हुनुपर्यो । उपाय निस्किन्छ । 

अस्तिको बैठकबाट सरकार सञ्चालनमा पार्टीले सहयोग गर्ने अथवा सरकारले पार्टीसँग निरन्तर परामर्श गर्ने भन्ने छ । जिम्मेवारी हेरफेरको कुरा पनि आएको छ । मुख्य मन्त्री अथवा मन्त्रिमण्डल हेरफेरको विषयमा यहाँको टिप्पणी के छ ?

अब त गर्नुपर्यो नि । एक व्यक्ति एक जिम्मेवारी भन्ने कुरा त तलसम्म लागू गर्नुपर्यो । नभए उहि व्यक्ति मेयर छ र उही व्यक्ति त्यहाँको प्रमुख छ । उसलाई कामको जिम्मेवारी दिइएको छ, अनि उसको कामको अनुगमन गर्ने ठाउँमा पनि आफैँं बसेको छ । अनुगमन पनि आफैँं गर्दैछ, लागू पनि आफैँं गर्दैछ । त्यसमा चेक एण्ड ब्यालेन्सको सिस्टममा  जाने हो । कम्युनिष्ट पार्टी भित्र पनि चेक एण्ड ब्यालेन्सको सिस्टम हुनुपर्दछ । पार्टीमा दुईवटा अध्यक्ष भएको हुनाले सजिलो भयो । नभए दुईवटा जिम्मेवारी दिनुपर्ने स्थिति बन्छ । किनभने एउटा पार्टीमा एउटा अध्यक्ष हुने भएको हुनाले प्रायः त्यस्तो अवस्थामा अर्कोलाई जिम्मा दिने गर्छौं । त्यही गरेका पनि छौं विगतमा । २०५१ सालमा हामीले उपमहासचिव पदको सिर्जना गरेर संगठन चलाउने कामको जिम्मा दिएका थियौं । अहिले त माथिको हकमा त्यस्तो समस्या भएन । तल पनि कार्यकर्ताहरु धेरै छन् । समस्या त छैन, मान्छेहरु नहुँदा पो सबै जिम्मेवारी एउटै मान्छेलाई दिउँ भन्ने हुन्थ्यो । अब त यहाँ यतिधेरै नेताहरु हुनुहुन्छ कि यति धेरै अनुभव प्राप्त भएका व्यक्तिहरु हुनुहुन्छ कि यहाँ जिम्मेवारी दिने मान्छेको अभाव छैन ।

अस्तिको निर्णय अनुसार कार्यकारी अध्यक्षको जिम्मा पुष्पकमल दाहाललाई दिइसकेपछि एक व्यक्ति एक पदको सुरुवात भएको भन्न सकिन्छ हो ?
एक व्यक्ति एक प्रमुख जिम्मेवारीको कुरामा मोटामोटी भन्न सकिन्छ । माथि केन्द्रमा लागू भएको मान्नुपर्छ ।

त्यसो भए त्यही आधारमा मन्त्रिमण्डल देखि लिएर प्रदेश हुँदै तल्लो इकाई सबैमा त्यही पद्धति अवलम्बन हुन्छ ? 
त्यो हुनुपर्छ जस्तो कुनै एउटै व्यक्ति कुनै मन्त्रालयको मन्त्री छ उसैलाई पार्टीको विभागको प्रमुख बनाइसकेपछि उसमाथि अनुगमन हुने कसरी ? उसको कामको निगरानी गर्ने कसरी ? उसलाई दिने सुझाव कसरी ? किनभने उ आफैँ छ त्यहाँ । उसको मानसिकता कस्तो हुन्छ भने मैले राम्रो गरेको छु । राम्रोबाट सुरु गर्छ । अरु व्यक्ति सबै पूर्वाग्राही त हुँदैनन नि अरुले पाउने बित्तिकै नराम्रो गरेको छ बाट सुरु त गर्दैन । त्यस्तो उद्देश्य छ कोही मान्छेको भने त्यो व्यक्तिगत कमजोरी हुन्छ । किनभने नकारात्मक सोचबाट मात्रै चल्न हुँदैन । व्यक्तिमा रहेका राम्रा कुराहरुलाई पहिले हेर्नुपर्छ । गरिएका राम्रा कुरालाई पहिले ध्यानमा राख्नुपर्छ । हुन गएका कमी कमजोरीहरु पनि मित्रतापूर्ण ढंगले मित्रवत तरिकाले देखाउनु पर्छ, सुधार्ने उद्देश्यका साथ तर ध्वस्त पार्ने उद्देश्यले होइन, बदनाम गर्ने उद्देश्यले होइन । सुधार्ने उद्देश्यका साथ आफ्नो कुराहरु बताउनु सक्नुपर्छ । 

अस्तिको बैठकबाट महाधिवेशनको मिति तय गर्नुभएको छ । निर्धारित समयमा महाधिवेशन हुने सम्भावना कत्तिको देख्नुहुन्छ ? 
अस्ति मात्रै मिति तय गरेको होइन । पहिल्यै तय गरेका हौं । पहिले नै हामीले महाधिवेशन चैतमा गर्ने तय गरेका हौं । त्यो भन्दा पहिले २०७६ को अन्त्यमा गर्ने कि भन्ने कुरा थियो । २०७६ को अन्त्यमा गर्न नसकेपछि २०७७ को अन्त्यमा लगेको हो । त्यसो भएको हुनाले यो मिति अहिले तय गरेको होइन् । यो मितिमा फेरि जोड दिइएको छ । त्यसको निम्ति हाम्रो सबै योजनाहरु बन्छ । कार्ययोजनाहरु मोटामोटी रुपमा बनेका पनि छन् । संगठन विभागलाई कामको जिम्मा दिइएको पनि छ । संगठन विभागको काम नै मुख्य काम हुन्छ । त्यसमध्ये पहिलो कुरा भनेको सदस्यता सम्बन्धि समस्या नै सबैभन्दा ठूलो समस्या हो । दोस्रो भनेको विभिन्न तहका कमिटीहरुको अधिवेसन गर्ने वा नेतृत्को चयन गर्ने कुरा हुनेछ । तेस्रो दस्तावेजको तयारी गर्ने कुरा हुनेछ । दस्तावेज गर्दा राजनीतिक प्रतिवेदनमा गहन छलफल र बहस होला । समाजवादको नेपाली मोडल के हुन सक्दछ भन्ने दस्तावेज पनि तयार हुनसक्ला । विधानमा कस्तो बन्दोबस्त गर्ने, कतिवटा पद राख्ने, के कति वटा तह राख्ने, संख्या वा आकार कति गर्ने । 

४ सय ४१ जना केन्द्रीय कमिटी जम्बो बनाउन हुँदैन भन्ने सबैलाई लागेको पनि छ । त्यो व्यवहारिक पनि हुँदैन । हाम्रो देशमा गर्नुपर्यो भनेपनि हलमा पनि ती मान्छे अटदैनन् । यो कोरोना नहुँदाखेरी पनि अटदैनन् । अब चीन जस्तो देशमा बिसाल पार्टीको केन्द्रीय कमिटीको संख्या २ सय छ । त्यहाँ पार्टी सदस्यको संख्या ९ करोड छ । हाम्रो सिंगो देशको जनसंख्या भनेको ३ करोड हो । हाम्रो पार्टी सदस्यमा हामीले अनुमान गरिरहेको ८ लाख हो । ८ लाखमा रेसियो निकाल्ने हो भने कति कम हुन्छ । भारतकै पार्टीको हेर्ने हो भने केन्द्रीय कमिटी कत्रो छ र ? पोलिटव्यरो कत्रो छ र ? ता की पार्टी सदस्यता संख्या नेपालमा भन्दा ठूलो छ त्यहाँ । त्यस्तो अवस्थामा हामीले संख्यालाई घटाउनै पर्छ । 

जुन पार्टीको टाउको ठूलो छ त्यो पार्टी सुक्न थाल्यो भनेर बुझ्न थालेहुन्छ । टाउको ठूलो भूडि ठूलो भयो भने त्यो मान्छे रोगि हो भनेर बुझ्नुभएहुन्छ । जसको जिउ पातलो छ टाउको पनि ठिक्क छ, दिमाग सफा छ, र खुट्टा बलियो छ भने त्यसले जस्तोसुकै जिम्मेवारी बहन गर्न सक्छ । चुनौतीको सामना गर्नसक्छ । पार्टीको हकमा पनि त्यही लागू हुन्छ । पार्टीका दुईवटै खुट्टा र हात दह्रो हुनुपर्यो, जिउ सिलिम हुनुपर्यो, कमिटीहरु सिलिम हुनुपर्यो । एकदम क्षमतावान मान्छेहरु आउनुप¥यो । तल जनताको बिचमा फैलिन पर्यो । घर बनाउँदा तलको जगलाई बलियो बनाइसकेपछि भूइचालो गएपनि त्यसले सामना गर्छ त्यस्तै यो पार्टीको जग बलियो बनाउने हिसाबले हामी जनुपर्दछ । 

आन्दोलनलाई पार्टीलाई नयाँ उचाईमा नयाँ चरणमा पुर्याउने हो । पार्टी बाँच्नु छ आन्दोलनबाट । आन्दोलन गर्न सकेन भने, संघर्षमा उत्रिन सकेन भने, जनतासँग गासिन सकेन भने, जनताको दुःखको साथी हुन सकेन भने र जनताको पिरमर्काको बेलामा सहयोगी हुँदैन भने त्यो पार्टी जनताको लोकप्रिय पार्टी हुन सक्दैन । यो एकातिर पार्टी संगठनको क्रियाशिलताको अवश्यकता पर्छ भने पार्टीले जिम्मेवारी प्राप्त गरेको ठाउँको परिणाम राम्रो गर्न सक्नुपर्दछ । के जनताले पत्याएर विश्वास गरेर जिम्मेवारी प्रदान गरेका छन् ? त्यो जिम्मेवारीलाई योग्यताका साथ, क्षमताका साथ कार्यकुशलताका साथ, स्वच्छताका साथ, निस्पक्षताका साथ र छिटो छरितो रुपमा परिणाममुखी हिसाबबाट, परिणाम दिने हिसाबका साथ गर्नुसक्यो भने जनताको मन जित्न सक्छ । विश्वास जित्न सक्दछ र पार्टीलाई नयाँ उचाइमा पु¥याउन सकिन्छ । 

दुई अध्यक्षतात्मक व्यवस्था महाधिवेशन सम्म मात्रै हो की एकल अध्यक्षमा जाने निश्चित भइसकेको छ ? 
अब त्यो हामीले छलफल गर्नै बाँकी छ । त्यसमा हामी प्रवेश गरेका छैनौं । हामी उपाध्यक्ष राख्ने कि नराख्ने, राख्ने हो भने कतिवटा राख्ने, महासचिवको के हुन्छ, उपमहासचिव राख्ने कि नराख्ने, सचिवको के गर्ने, त्यस्तै स्थायी कमिटी कत्रो बनाउने, सचिवालय राख्ने की नराख्ने, केन्द्रीय कमिटीको आकार कत्रो गर्ने, प्रदेश कमिटीको आकार कत्रो गर्ने, प्रदेश भित्रका कमिटीहरु कत्रो बनाउँदै जाने, जिल्ला कमिटीको आकार कत्रो बनाउने, जनवर्गिय संगठनको संख्या पार्टीले निर्देशन दिएर हुन सक्दछ, पार्टीको विभागहरुको संख्या कत्रो बनाउने, कतिवटा विभागहरु राख्ने सबै बिधानले तय गर्ने स्थिति रहन्छ । भनेपछि यो सबै कुराको निम्ति हामीले महाधिवेशनको बेलामा विधानको बारेमा छलफल गरेर टुंगो लगाउँछौं । 

महाधिवेशनमा यहाँको नेतृत्वमा दावी रहने चर्चा पनि चलेको छ नी ? 
अब यो सबै आइसकेको छैन । त्यसो हुनाले म नेतृत्वमा दावी गर्ने की नगर्ने यो पिरलो म मा छैन । मेरो के हुने हो, बर्बाद पो हुने भो म त्यस्तो कदको मन्छो होइन । कामको आवस्यकताले मैले कहाँ जिम्मेवारी पाउने हुँ वा पार्टी कार्यकर्ताहरुले मलाई कुन हिसाबले भन्ने हुन त्यसको आधारमा र नेतृत्वको बिचमा कस्तो सहमति हुन्छ त्यसको आधारमा टुंगो लाग्छ । 

पूर्व एमाले हुँदा अथवा पूर्व माओवादी हुँदा विशेष गरी कम्युनिष्ट पार्टीमा दुईवटा नेता मिलेर अर्कोलाई चेपुवामा पारिन्छ भन्ने कुराको गुनासो आउने गथ्र्यो । अहिलेको नेकमा पनि त्यस्तै अवस्था हो ?

त्यस्तो हुँदै आएको छ र ? छैन । त्यस्तो भएको छैन । त्यस्तो हुँदै आएको छैन । किनभने हामी हिजो चेपुवामा पार्ने तरिकाले हामी कहिले पनि गइराखेका छैनौं । हामीहरु सबैका योग्यता क्षमताहरु के छन् किनभने कम्युनिटी प्रणालीमा गइसकेपछि समस्या हुँदैन । त्यहिं छलफल हुन्छ व्यक्तिको बारेमा कमी कमजोरी छन भने आलोचना त्यहिं हुन्छ । कमजोरी सुधार्नका लागि आत्मआलोचना पनि त्यहिं हुन्छ । आपसमा कुनै अन्तरविरोध छन् भने ती पनि बसेर छलफल गर्न सकिन्छ । तर हामी सबैभन्दा बढी के कुरामा विश्वास गर्छौं भने सामूहिकतामा विश्वास गर्छौं । हामी कमिटी प्रणालीमा विश्वास गर्छौं । हामी कम्युनिष्ट आचरणमा विश्वास गर्छौं । कम्युनिष्ट तौरतरिकामा विश्वास गर्छौं । कम्युनिष्ट तौरतरिका भनेको वैज्ञानिक तौरतरिका हो । जनतासँग जोडिने तौरतरिका हो । जनताको मन र विश्वास जित्ने तौरतरिका हो । 

हाम्रो पहिलो ध्यान जहिले पनि देशभक्तिको भावना हुन्छ । हामी नेपाली हौं । यो नेपाली स्वाभिमानको भावना सबैभन्दा बढी यो समाजमा कुनै पार्टीले बोकेको छ भने त्यो कम्युनिष्ट पार्टीले मात्रै बोकेको छ । त्यस हुनाले कम्युनिष्ट पार्टीको देशभक्तिको, पार्टीका कार्यकर्ताको देशभक्ति माथि कसैले पनि प्रश्न खडा गर्दैन, बरु आशा, अपेक्षा र विश्वास गरिरहेका हुन्छन् । 

कम्युनिष्ट पार्टीले जनतालाई केन्द्र विन्दुमा राख्दछ । जुन कम्युनिष्ट पार्टीलेजनतालाई केन्द्रविन्दुमा राख्यो, जसले जनताको मन जित्यो, विश्वास जित्यो, जनतामा पनि गरिब निमुखा, असहाय, अन्याय, अत्याचार थिचोमिचोमा परेकाहरु, विभेदमा परेकाहरुको पक्षमा छ र आमजनताको जीवनलाई परिवर्तन गर्ने समाजलाई रुपान्तरण गर्ने हुन्छ । त्यस्तै सिंगो समाजलाई कस्तो संस्कारयुक्त बनाउने । समाजलाई सबै हिसाबले संस्कारको पक्ष संस्कृतिको पक्ष, बानिब्यहोराको पक्ष, आर्थिक जीवनको पक्ष, त्सपछि मान्छेलाई उसको योग्यता क्षमता अनुसार परिचालन गर्ने पक्ष पनि छ । उसको व्यक्तित्व विकास गर्नका लागि के गर्न सकिन्छ, आर्थिक समस्यालाई समाधान गर्न के गर्न सकिन्छ, सिंगो देशलाई समृद्ध बनाउन के गर्न सकिन्छ र त्यसमा पनि कस्तो किसिमको नागरिक तयार गर्ने ? यस अर्थमा राज्यले केही जिम्मा बोकेको हुन्छ । शिक्षाको, स्वास्थ्यको र मान्छेको जनजीविकाको र रोजगारीको यो तीनवटै दायित्व राज्यले बोक्नुपर्नेहुन्छ । त्यस्तै प्रत्येक व्यक्तिमा रहेको खुबी र अन्तरनिहित क्षमताको विकास गर्ने कुरालाई जोड दिइन्छ ।
 
यी सबै काम गर्नका लागि हामीले हाम्रो देशको अर्थतन्त्रलाई समाजवादको दिशामा अर्थात सामाजिक न्यायको दिशामा या वैज्ञानिक वितरण प्रणाली अवलम्बन गर्ने दिशामा अगाडि बढनुपर्दछ र समग्रतामा राष्ट्रिय पूँजीको  विकास गर्ने हो । हामी यस्ता कुनैपनि पूँजीहरु जो देशको अर्थतन्त्रलाई खाने लुटने काम गर्दछ चाहे त्यसलाई दालाल पूँजी भन्नुहोस या त्यो विदेशी पूँजीको नाउँमा नेपाललाई लुटन आउने कुराहरु जो हामी अस्वीकार गछों । तर देशको हित र कल्याणको निम्ति विदेशी पूँजीलाई पनि स्वागत गछौं । पूँजी कसैले लगाइसकेपछि मुनाफा चाहन्छ तर मुनाफाको नाउँमा लुट मच्चाउन दिने पक्षमा छैनौं ।

स्वाभाविक मुनाफाको बीचमा रहेको फरकलाई बुझिकन राज्यले पनि लाभ प्राप्त गर्ने र आम रुपमा जनताले लाभ प्राप्त गर्ने यो दुईवटालाई सुनश्चित गरेर देशको स्वाभिमानमा आँच नपुग्नेगरी, मर्यादामा कुनै आँच नपुग्नेगरी हामी सबैलाई उचित ढंगले सम्मान पनि गर्छौं । त्यही अनुसारको विदेश नीति पनि अवलम्बन गर्छौं । त्यो विदेश नीति नेपालको सन्दर्भमा एकदम रणनैतिक ठाउँमा छ यो नेपाल, त्यसैले नेपाल कुनैको पनि खेमामा सामेल हुँदैन । कसैको पनि प्रभावमा परेर पक्षमा जाँदैन । कुनै एउटाको चस्माबाट अर्कोलाई हेर्दैन । एउटाको आँखाबाट अर्कोलाई हेर्दैन । नेपाललाई पनि कसैले अरुको आँखाबाट नहेरिदिउन सिधै आफ्नो आँखाले नेपाललाई हेरुन् । नेपालको भण्डै चार देखि पाँच हजार वर्षको पुरानो इतिहास छ, गौरवशाली इतिहास छ, कहिले पनि उपनिवेश नभएको गौरवगाथाले भरिएको यो इतिहास छ । यो इतिहासको गौरवगाथालाई बोकेर लिएर जाने, अगाडि बढाएर लैजाने अभिभारा हाम्रो काँधमा आएको हुनाले कम्युनिष्ट पार्टीले बाहेक नेपालको राजनीतिमा अरु कुनै पार्टीबाट हुन्छ भन्ने मलाई विश्वास छैन । त्यसैले कम्युनिष्ट पार्टीका हामी नेताहरु गम्भीर बनौं, जिम्मेवार बनौं र सिंगै पार्टी पङ्तिलाई प्रफुल्ल बनाएर जनताको मन पनि प्रफुल्ल हुने अवस्था सिर्जना गरेर अगाडि बढौं ।