पहिला जनता रुँदा नसुन्ने नेता पहिरो खसेपछि घटनास्थल पुग्न किन हतारिने ?

  

जनताले यसअघि गरेका अलाप विलापहरु सुनिदिएको भए कैयौँको ज्यान त बच्थ्यो


काठमाडौँ । करिब महिना दिनअघि सिन्धुपाल्चोकको लिदीमा ठूलो पहिरो गयो । एउटा गाउँ नै सखाप भयो, ४० भन्दा बढी गाउँलेको ज्यान गयो । त्यसपछि आउन थाले बाँचेका गाउँलेका कथा व्यथा । यथार्त राजधानीले त्यतिबेला जान्न पायो जतिबेला बाँचेका गाउँलेले बलिन्द्र धारा आँशु झार्दै भने– हाम्रो बस्तीमाथिको जमिनमा धाँजा फाटेको थियो, भौगर्भिक विशेषज्ञहरुले त्यहाँ बस्नु हुदैन भन्दै बस्ती अन्यत्रै सार्नु भनेका थिए । त्यसपछि हामी स्थानीयदेखि प्रदेश सरकारहुँदै केन्द्र सम्म नै पुग्यौँ, हामी कुन नेतासँग रोएनौँ र ? तर अहँ कसैले हाम्रो आवाज सुनिदिएनन् । 
 
वास्तवमा भूकम्पपछि त्यो बस्ती बडो जोखिममा रहेछ । नागरिकमात्र होइन लिदीमा पर्ने नगरपालिकाका वडा अध्यक्ष पनि रोए । उनले पनि आफ्नो पहललाई कसैले सहयोग नदिएकोले त्यत्रो गाउँ नै सार्ने क्षमता आफूसँग नभएको दुखेसो गरे । यो सुन्दा लाग्थ्यो हामी मर्दैछौँ बचाइदिनुपरो भनेर नागरिकले गरेको विलापलाई राज्यले नसुनेकै लाग्यो । 

अनि दुई दिनअघिको सिन्धुपाल्चोककाे पहिरो पीडितको हालत पनि त्यस्तै रहेछ । त्यहाँका नागरिक पनि आफ्नो गाउँ बस्ती चिरिएको र त्यहाँ बस्नु खतरापूर्ण छ भनेर भूकम्पविद्हरुले भनेको कुरा दोहोराएका छन् । उनीहरु पनि तीनै तहका सरकारको दैलो वर्षैँदेखि चाहारेका रहेछन् । सभामुख अग्नि सापकोटासँग त उनीहरु जिल्लाको आफ्नै जनप्रतिनिधिसँग पटकौँ पटक आएर सहयोगको बिन्तीभाउ गरेका रहेछन् । तर अहँ, उनीहरुको आशु कसैले पुछिदिएन, आवाज सुनिदिएन । आखिर नहुनुपर्ने त्यस्तो भवितव्य भयो र लिदीमैजस्तो विपत्तीले त्यति धेरै नागरिकको ज्यान लियो । दुई गाउँ नै बाढीले लग्यो । दर्जनौँ मानिसको ज्यान गयो, सयौँको विचल्ली भयो । 

तर बडो लाजलाग्दो त यहाँ के छ भने नागरिक जिउँदो छँदा आफ्ना घरमै आएर त्यसरी रुवाबासी गर्नेलाई नहेर्ने नेताहरु पहिरोले उनीहरुलाई नै लगेपछि भने उद्धारको नाउँमा पहिरो खस्नासाथै घटनास्थलमा जाने नाटक मञ्चन गर्दैछन् । सभामुख अग्नि सापकोटाले दुई पटक नै त्यस्तै गरे । अस्ति पछिल्लो पटक त उनी राति पहिरो खसेको भोलिपल्ट बिहानै सिन्धुपाल्चोक तिर लागे । अनि काठमाडौँका अनलाइनहरुमा ‘सभामुुख सापकोटा सडकमार्गबाटै सिन्धुपाल्चोकको पहिरोको घटनास्थलमा जाँदै’ भनेर पनि प्रचार गराए । यो समाचार कुनै राजा महाराजा या सामन्तले गराउने प्रचारको शैलीमा थियो । उनी आफ्नो निर्वाचन क्षेत्रमा जाँदा सडकमार्गबाटै गए भनेर प्रचार गराउने विषय नै होइन, यस्तो त राजामहाराजाहरुले गर्दथे । जनताका र त्यो पनि उनीहरुकै भाषामा गरिब, दुखी र तल्लो बर्गका नागरिकको उद्धारका लागि राजनीति गरिएको भनिएकाहरु गडीघोडासहित हिँड्दा पनि सडकमार्गबाट गए भनेर प्रचार गर्नुको औचित्य के हुन्छ ? अनि अर्को कुरा जनताले हामीलाई जीउ ज्यानको खतरा छ भनेर हारगुहार गर्दा नसुन्ने नेता त्यो बिचल्ली देख्न को भन्दा को चाँडो पुग्ने भन्दै बडो दौड प्रतियोगिता जस्तो किन त्यहाँ पुग्ने ?

अघिल्लो पटक उनी र सिन्धुपाल्चोकको लिदीको पहिला पुग्ने भन्ने प्रतिश्पर्धामा त्यहाँ पुगे । अहिले यसरी गाउँको यस्तो बिचल्ली भएको बेलामा उनीहरु यसरी त्यहाँ पुग्नुभन्दा त जनताले यसअघि गरेका अलाप विलापहरु सुनिदिएको भए कैयौँको ज्यान त बच्थ्यो । पहिरो त उनीहरुले रोक्न सक्ने कुरा भएन, प्राकृतिक विपद भयो तर जनताको ज्यान त जोगिनथ्यो ।