ककपिटमा क्याप्टेनको झगडा ! क्र्युमेम्बरले बिमान नियन्त्रणमा लिएपछि.......

  

काठमाडौँ । करिब ८ लाख भारवहन क्षमता लिएर कानूनभन्दा माथि उडेको बिमान बल्लतल्ल दुर्घटना हुनबाट जोगिएको छ । बिमानको उडान सुरु गर्नुभन्दा अघिदेखि नै एक आपसमा झगडा गरिरहेका क्याप नाइन र क्याप्टेनले अनियन्त्रित रुपमा बिमान उडाउँदा पटकपटक टर्बोलेन्समा पारेर  यात्रुहरुको सात्तो गएको छ । गन्तव्य नै टुङ्गो नभएको उडान कहाँ कसरी अवतरण हुन्छ भन्ने तय नभएका कारण बिमान पुरै अनियन्त्रित बनेको छ । 

उडान सुरु हुनुभन्दा अघि क्रू मेम्बरलाई निर्देशन दिने क्रमदेखि नै एक अर्काप्रति आरोप प्रत्यारोपमा उत्रिएका पाइलटहरु पटक्कै गम्भीर देखिँदैनन् । बिमान परिचारिकाहरुलाई आज त नानीहरु निकै चम्किला  भएर आएछन् नि, समय हुन लागि सक्यो, रमाईलो गरौँ कि ब्रिफिङ सुरु गरौँ भन्दै प्रस्तुत भएका क्याप्टेनलाई अर्का क्याप नाइन पिके बिहालले कडा जवाफ फर्काउँछन् । उनी भन्छन्– त्यै रमाइलो गर्दागर्दै अघिल्लो जहाज पनि सिध्याउनु भयो, यो पनि जिन्दगीभर ग्राउन्डेड हुने खतरा बढ्यो । निश्चित रुपमा ब्रिफिङ सुरु पनि गरिहाल्नु पर्छ अन्त्य पनि गरिहाल्नु पर्छ भन्ने मेरो ठम्याई छ । बिमान परिचालिकाले बिमानको गन्तव्य कहा हो ? भनी जिज्ञासा राख्दा क्याप्टेन ओलीले सबै प्यासेन्जरलाई थाहा भएकै कुरा हो हाम्रो डेस्टिनेशन भनेको समाजवाद हो भन्दै निर्देशन दिन्छन् । तर अर्का क्याप नाइनले प्रतिवाद गर्दै  समाजवाद नभै उडान सोझै साम्यवादतिर जाने जानकारी गराएपछि बिमान परिचारिकाहरु पुरै अन्योलमा पर्छन् ।

 

उनीहरु भन्छन्– कहिले समाजवाद भनेका छन् कहिले साम्यबाद भनेका छन् । यो वादैवादले बर्बाद बनायो भन्दै बिमान अपहरणको अवस्था बारे पनि जिज्ञासा राख्छन् । क्याप्टेन ओलीले क्याप नाईन पिकेप्रति लक्षित गर्दै जहाज हाईज्याक हुने सम्भावना भए पो हाईज्याक हुने हाईज्याक गर्ने मान्छे नै यहीँ हुनुहुन्छ भन्दै खिसिट्यूउरी गर्छन् । तर उनको भनाईलाई पिकेले मानेको हाइज्याकर हो भन्ने नेपाली प्यासेन्जरले बुझिसकेको भन्दै सिङ्गै जहाज एक्लै हाइज्याक गरेर एक्लै उडान गर्न खोज्दै हुनुहुन्छ । मुख सम्हालेर बोल्नुस् भनेर औंलो उठाउँछन् । एक आपसमा झगडामा उत्रिएका पाइलटहरुको व्यवहारले परिचालिकाहरु दिक्क हुन्छन् । 

त्यही बेला क्याप्टेन ओलीले क्याप नाइन पिकेलाई थर्काउदै तपाईं मुख सम्हालेर बोल्नुस धेरै फाईंफुट्टि नलगाउनुस्, चाहिएको छैन हामीलाई हाइज्याक कोर्स भन्दै प्रतिवाद गर्छन् । तर पिकेले तपाईंजस्तो दक्षिणको छिमेकीलाई भारी परिसकेको मान्छे चढीसकेपछि मने यो जहाजले टेक अफ नै गर्न नसक्ला कि भन्ने सम्भावना रह्यो भन्दै बिमानलाई छिमेकीले हेर्ने दृष्टिकोण बताउँछन् । उनको कुरालाई पटक्कै चित्त नबुझाएका क्याप्टेनले ओलीले  धेरै ठुलो स्वर नगर्नुस्, १० हजार प्यासेन्जर बराबरीको भारी एक्लै बोकेर हिँड्नु भएको छ भन्दै सशस्त्र युद्धको भारी फेरि सम्झाउँछन् । तर उनको जबाफमा पिकले मने सक्नेले बोक्ने त होनि भन्दै हसिमजाकमा उडाउँछन् । क्याप्टेन ओलीले पुनः  एकुरेट भन्नु त कति छ लोड भन्दा बिमान परिचालिकाले भन्छिन्– हजुरहरुको दुई गुटको गरेर जम्माजम्मी ८ लाख रहेको छ । ए आठ लाख मात्र रहेको छ भनेर क्याप्टेन भन्दा नभन्दै क्याप नाईनले धेरै त तपाइँकै मान्छे होलान् मेरो मान्छे त कहाँ छिर्न दिनुभएको छ ?  एक लाख घटाउनु उहाँका मान्छे मेरा मान्छे हाल्नुपर्छ । नत्र जहाजै टेक अफ लिन नसक्ने खतरा हुन्छ भन्दै चेतावनी दिन्छन् । उनको चेतावनीलाई चुनौती दिँदै क्याप्टेनले भन्छन्– सम्हालिएर बोल्नुस, घरी यसो गरेको छ घरी, उसो गरेको छ । पेटमा चुर्ना परेको छ कि क्या हो ? भन्दै स्वास्थ्यमा नै समस्या रहेका संकेत गर्छन् । तर क्याप नाइन त्यस कुरालाई गम्भीरतापूर्वक नलिइकन गीत संगीततिर लाग्छन् । उनी भन्छन्– सम्हालिन त मन लाग्छ नि, सम्हालिन्छ कहिले यो मन, कहिले अतालिन्छ यो मन, तर कहिलेकाहीँ तपाईको व्यहोरा देखेपछि मने कहाँबाट चिलाउँछ कहाँबाट चिलाउँछ भन्दै ठट्टा गर्छन् । 

फेरि मुल विषयतिर प्रवेश गरेको ब्रिफिङमा क्याप्टेन केपीले चासो राख्छन् आजका हाम्रो अन्तरदेशीय डेस्टिनेशन कहाँ हो ? उनको  जवाफमा  पिकले खै कहाँ हो कहाँ ? तपाई जस्तो अल्टर क्याप्टेनले  जहाजको नेतृत्व लियो भने जहाज जहाँ पनि जान सक्छ भन्ने शंका गर्दै भन्छन्– सो क्याबिन सेफ फ्लाईट एण्ड गुड ल्याण्डिङ तर यस्तो अन ह्याप्पी मान्छे अगाडी भएपछि ह्याप्पी कसरी हुन्छ ? थाहा छैन । आई वीस ह्याप्पी ल्याण्डिङ भन्दै आफूले कमाण्ड सम्हाल्ने संकेत गर्छन् । तर उनको कुरालाई क्याप्टेन केपीले जहाज उड्नुभन्दा अगाडी बाह्र सत्ताईस कुरा सुन्नुप¥यो, न आत्तिनु होला म सम्हालिएर लैजान्छु  भन्दै आश्वस्त तुल्याउने प्रयास गर्छन् । केही समयको अन्तरालमा बिमानमा प्रवेश गरेका दुई क्याप नाईन र क्याप्टेनलाई बिमान परिचारिकाले स्वागत गर्छिन् । तर उनीहरुलाई बिमान समयमा नै उड्छ भन्ने कुरामा पुरै शंका छ । त्यसै क्रममा बिमान भित्र प्रवेश गर्ने क्रममा क्याप नाईनले जनवादी शैलीमा अभिवादन  गर्दै सात्तो त गाको छैन नी ढुक्क हुनु केही नहुँदासम्म केही हुँदैन भन्दै परिचारिकालाई ढुक्क हुन आग्रह गर्छन् । 

यसैक्रममा क्याप्टेन केपी पनि बिमानमा प्रवेश गर्छन् । परिचारिकाले नमस्ते क्याप्टेन भन्दै गर्दा शंकालु दृटिकोणले सोध्छन् – हेलो, त्यो छिरिसक्यो ? परिचारिकाले यात्रुहरुलाई भन्छिन्– अबको केही समयपछि हामी उड्दैछौँ भनेकै एक घण्टा हुन लागिसक्यो । यसैबीच ककपिटबाट आवाज आउँछ पिकेको लेडिज एण्ड जेन्टलम्यान एण्ड ब्युटिफुल क्याबिन क्रू वेलकम द बोर्ड, दिस ईज २०७७  एण्ड दिस ईज क्याप्टेन पि के बिहाल स्पिकिङ । उनले बोली पूरा गर्न नपाउँदै क्याप्टेन केपीले थर्काउँछन्ः हु सेड यू आर क्याप्टेन ? यो जहाजको क्याप्टेन त म हुँ, यू आर वन्ली क्याप नाईन । जवाफमा पिकेले भन्छन्– मने क्याप १० हो कि क्याप नाईन हो, त्यो म माथि पुगेपछि पाइन देखाउँछु । जहाँ पनि हेप्ने कुरा नगर्नुस्, तपाई र म दुबैलाई क्पाप्टेन भनेर पठाएको होइन ?  २०७५ साल जेठ तीन गतेको स्मरण गर्छन् । तर क्याप्टेन केपीले भन्छन्ः  त्यही त ठूलो दशा भयो यहाँ, कम्पनीले जेसुकै गरे पनि तपाईको हैसियत क्याप नाईनभन्दा माथि जाने खालको छैन । धेरै क्या क्या गर्नुभयो भने तपाईले भनेभन्दा अन्तै जहाज मोडिदिन्छु, अनि थाहा पाउनु हुन्छ भन्दै चेतावनी दिन्छन् । यति ठूलो जहाल मोड्ने कुरा त खुट्टि देखेर नै पत्याइयो, माइक अन छ पछाडी सुनिरहेका छन्, अफ गरेर बोल्नुस् भन्दै कहाँ के बोल्ने हो विचार गर्नुस् भन्दै बढी नबोल्न सचेत गराउँछन् ।

 

यसैबीच बिमान परिचारिकाले दुई क्याप्टेनको किचलोले गर्दा यो उडान ढिला हुन गएकोमा हामी तपाईहरुलाई क्षमा गर्दछौँ । याद रहोस् सत्ताको यो उडानका क्षमा लिने होइन दिने गरिन्छ भन्दै निरीह यात्रुलाई निरास बनाउँछिन् । यसैबीच उडानको तरखर हुँदै गर्दा क्याप्टेन केपीले  क्याप नाईन पिकेलाई बेल्ट बाँध्नुस् फेरि अध्यक्षबाट पनि चिप्लिनु होला, बेल्ट बाँध्दा अलि होस पु¥याएर बान्नुस, झुक्किएर फेरि घाँटीमा बाध्नु होला भन्दै पद खतरामा रहेको संकेत गर्छन् । उनको यो भनाइलाई पिकेले भन्छन्– सके त घाँटीमै बाँध्ने इच्छा थियो तर मेरोमा होइन तपाईको घाँटीमा । कति अप्ठारो हुँदो रहेछ बाँधिएर बस्नलाई । १२,१३ वर्ष स्वतन्त्र भएर हिँडियो, यो बेल्ट सेल्टमा कति गा¥हो हुँदो रहेछ भन्दै आफ्नो मैमत्ता देखाउँछन् । 

उनको यो भनाईलाई केपीले क्याप्टेनले त्यसलाई स्वतन्त्रता भनिदैन छाडा भएको भनिन्छ भन्दै उडाइदिन्छन् । बिमानको उडान ढिलो भएका कारण  परिचारिकालाई यात्रुले वाइनको माग गर्दछन् । परिचारिकाले  हामीसँग होली वाइन र भोलि वाइन छ, कुन दिउँ भन्दै गर्दा यात्रुले होली वाइन र भोलि वाइन भैहाल्यो, पर्सी वाइन खाउँला भन्दै वाइन नखाने निष्कर्षमा पुग्छन्  । यसैबीच ककपिटबाट आवाज आउँछ क्याबिन क्रू रेडी फर टेक अफ । यसपछि परिचारिकाले यात्रुहरुलाई जानकारी गराउँदै भन्छिन्ः अब भने बिमान उड्ने कुराको विश्वास दिलाउन चाहान्छु, तर यो मेरो चाहना मात्र हो । उडान सुरु गर्न लागेकाहरु सुरुमै अलमलमा पर्छन् क्याप नाईनले भन्छन्– हे क्याप्टेन साब पहिला जहाज स्टार्ट त गर्नुस्, स्टार्ट नै नगरी जहाज कसरी टेक अफ हुन्छ ? यसरी त टेक गफमात्र हुन्छ । यस्ता त क्याप्टेन भन्दै खिसिटिउरी गर्छन् । बिमान स्टार्ट हुँदै गर्दा पानी जहाजको जस्तो आवाज आएपछि अलमलमा परेका क्याप्टेनले सोध्छन्– होइन क्या हो इञ्जिनबाट त पानी जहाजको आवाज पो आउन थाल्यो त । गलत बटन थिचेको भन्दै क्याप नाईन भन्छन्ः स्टार्ट बटन थिच्नुपर्ने तपाईले ओम्नी बटन थिच्नु भयो । हे बाबा फेरि तपाईले यतीको बटन थिच्नुभयो । तपाईले जुन पायो त्यही बटन थिच्न थालेपछि पानी जहाजको मात्र होइन कुनै बेला झ्याउँकिरीको आवाज पनि आउने खतरा भयो भन्दै ओम्नीको यतिको झटारो हान्न पछि पर्दैनन् । 

तर क्याप्टेन केपीले ईश्वर पोखरेलले बदमासी गरेको भन्दै भन्छन्ः अस्ति ईश्वरबाबु ककपिटमा आउनुभयो, जहाँ पायो त्यहीँ बटन नथिच्नु भनेको जुठो हातले जुन पायो त्यही बटन थिच्नुभएछ । सबै बटनहरु कामै नलाग्ने भएछ भन्दै गुनासो गर्छन् । उनको कुरामा चित्त बुझाएका पिके भने केटाकेटी आए पिलेन चलाए ईन्जिनको सत्यानास । जस्तो बाबु त्यस्तै छोरा त होनि भन्दै खाने मामिलामा एकै भएको ठहर गर्छन् । गलफतिकाबीच क्पाप्टेन केपीले भन्छन्– धेरै फाईफुट्टि नलगाउनुस् म ५ बर्षको लागि क्याप्टेन भएको हुँ । अब हामी अगाडि बढौँ । त्यति बेलासम्म बिमान उडानका लागि टावरको अनुमति आएको हुँदैन  । टावरको आदेश कुर्न भन्दै गर्दा क्पाप्टेन केपीले धम्कीपूर्ण शैलीमा भन्छन्– हेर्नुस क्याप नाईन साब यो जहाज टावरको आदेशले होइन, पावरको आदेशले चल्ने हो । तपाईं डराउनु भयो कि क्या हो भन्दै अनुहार तिर हेर्छन् । पिकेले होइन भन्दै गर्दा केपीले सोध्छन्– पहिला उडाउनु भएको थियो र होइन भनेको भन्दै जवाफमा पिके भन्छन्– उडाउने कुरा भनेको होइन डराउने कुरा पहिलो पटक होइन भनेको भन्दै बिगतको गल्तिलाई सम्झन्छन् ।  

यसैबीच ककपिटबाट आवाज आउँछ– यात्रु महानुभावहरु अहिले हामी दुई तिहाइको पावरले उडिरहेका छौँ । कोरोनको कुहिरो र सीमानाको हुण्डरीले जहाज हल्लाउन सक्छ, दायाँबायाँ समातेर बस्नु होला । सँगै रहेका पिके भन्छन् पाइलटको घमण्डले पनि जहाज टर्बुलेन्समा पर्ने खतरा भएका कारण कृपया सिटको बेल्ट राम्ररी बाध्नु होला । यात्रुहरु आत्तिएको देखेर परिचारिकाले भन्छिन्– कृपया ध्यान भए दिनु होला ककपिटमा क्याप्टेनहरुको जुँगाको लडाईं चलिरहेका कारण बिमान हल्लिरहेको छ । यसैबीच क्पाप नाइनले माने हामी अहिले कति अल्टिच्यूड छ चेक गरुम भन्दै गर्दा क्पाप्टेन केपीले थर्काउछन् र भन्छन्– किन चलाउनु भएको त्यहाँ ? पाँच वर्षका लागि उडेको जहाज हो, यो कानूनभन्दा माथि उडिरहेको छ । किन चेक गर्नुप¥यो ? उनको यो जवाफलाई उनी युद्धकालसँग तुलना गर्दै भन्छन्– ओहो यो त हाम्रो जनयुद्ध बेलाको जनसरकारको कानुनजस्तो माथिमाथि उडिरहेको रहेछ । रमाइलो देखिइरहेको छ । यसैबीच अनियन्त्रित बिमान चीनको छेवैमा पुग्छ । त्यसबेला क्पाप्टेन केपी भन्छन् – ओहो यो त हामी चाइनाको ल्हासा पो आइपुगेछौँ । यो कुराले क्याप नाइन त्रसित हुन्छन् । दक्षिण जान तयार गरेको बिमान उत्तरतिर पुग्यो भनेर । उनी सोध्छन्– कसले भनेको ल्हासा आइपुगेको भनेर ? जवाफमा केपी भन्छन्, मैले भनेको सुन्नु भएन ? कथंकदाचित तपाईको हातमा यो जहाज चलाउने पालो आएछ भने चाइनाको यो ल्हासा नयाँ नक्सामा समेट्नु होला । पिके आत्तिदै भन्छन्– मने तपाईले के गर्न खोजेको हो ? हेपेको को कि मलाई प्यासेन्जरलाई तर्साएको हो ? मने पहिला त हाम्रो फ्लाईटको डेस्टिनेशन पहिला पुँजीवादबाट समाजवाद हुँदै साम्यवाद जाने हो नि । तर  जवाफमा केपी भन्छन्– मैले अघि नै भनेको होइन हाम्रो डेस्टिनेशन समाजवाद हो भनेर ? 

यसैबीच बिमानमा ईन्धन सकिएको संकेत आउँछ । पिके भन्छन्– मने प्लेन उड्न पाएको छैन, इन्धन पनि सकियो, पुँजीवादतिर फर्काउनुहोस् इन्धन हाल्नुपर्छ । उनको यो कुरालाई केपीले अस्वीकार गर्दै भन्छन्– हेर्नुस यो जहाज ईन्धनले चल्ने होईन चीनधनले चल्ने हो । यसैबीच बिमान कालो बादलभित्र प्रबेश गर्छ । त्यसबेला पिके भन्छन्– मने जहाँ पायो त्यहाँ नथिच्नुस न । जहाज हल्लेर प्यासेन्जर आत्तिइसके । कहिले एमसीसीको बटन थिचेको छ, कहिले अयोध्याको बटन थिचेको छ ।  बेला न कुबेल ठाउँ न कुठाउँ बटन थिचेको छ । जुन पायो त्यही बटन थिच्दा मने तपाई त जानुहुन्छ हाम्रो बिमान पनि खतरामा पर्ने स्थिति भयो भन्दै अत्तालिन्छन् । तर केपी ढुक्क हुँदै भन्छन्– कस्तो डराउनु भएको तपाई ? ढुक्क हुनुस् पाँच बर्षसम्म मजाले यो जहाज चल्छ । पिकेलाई यो कुरा मन पर्दैन र भन्छन्– मने पाँच वर्ष उड्छ । अनि मेरो पालामा दुर्घटना हुने खतरा बढ्यो, तपाईं फकाई हाल्नुस त तुरुन्तै । 

उनको कुरा केपी सुन्दै सुन्दैनन् । धेरै फाईफुट्टी लगाइरहनु हुन्छ, कति पढ्नु भएको छ भनि च्यालेन्ज गर्छन् । पिके भन्छन्– तैँले चाहिँ कति पढेको छ भनेर भन्न त मन लागेको थियो तर म भन्दिन । तर पढाईमा तपाईको र मेरो स्कूलिङ एउटै हो । जनयुद्ध बिषयमा मास्र्टस् डिग्री गरेको छु । सहिदको विषयमा पिएचडी नै गरेको छु । तपाईभन्दा कम नम्बर आएको भनेको सत्ता चलाउने बिषयमा मात्र हो । धेरै फुर्ति नगर्नु होस  भन्दै आफनो बैयक्तिक योग्यता सुनाउछन् । उनको कुरालाई केपीले स्वादिलो जबाफ फर्काउछन् र भन्छन्– धेरै पढेर त तपाईँ क्याप नाईन हुनुभएको छ । नत्र क्याप्टेन भैहाल्नु हुन्थो नी । यसैबीच फेरि  क्याप्टेनले अर्को बटम थिच्न पुग्छन् । पिके सचेत गराउँदै भन्छन्– फेरि किन त्यो रामको बटम थिच्नु भएको ? कस्तो बम्पिङ गरेको हत्तेरिका  अब भने केपी क्याप्टेन पनि डराउन थाल्छन् र भन्छन्– अहिले त मलाई पनि डर लाग्न थाल्यो । हुनत म डराएको त छैन है, मेरी आमा । डर त मलाई फिटिक्कै लाग्र्दैन । यो जहाज पनि त निकै पुरानो भैसक्यो नी  क्याप्टेन बेद उप्रेतिको म्युजियममा लगेर राख्नुपर्ने बेला भैसक्यो । त्यै पनि चलाई राखिएको छ । डराउन त नडराउनु होस, तलझरे पनि जमिनमा झर्ने नै हो, सडकतिर लगेर खसालुँला । 

आत्तिएका पिके भन्छन् सडकमा खसे त ठिकै छ जंगलमा खसे के गर्नु हुन्छ ? म त जंगल छाडेर आएको कस्तो डर लागिरहेको छ । भन्दै सुख सुविधा त्याग्नुपर्ने चिन्ता व्यक्त गर्छन् । त्यसैबेला केपी भन्छन्– जंगलको विज्ञ त तपाई नै हो नि । तपाईले उतारी हाल्नु हुन्छ नि, बरु पानीमा खसे के गर्ने होला भनि प्रश्न गर्छन् । उनको जवाफका पिके भन्छन्ः पानीमा झरे तपाई पनि त पानी जहाज एक्सपोर्ट होनि त्यहाँ निकाल्नु हुन्छ नि । अहिले बाच्न गा¥हो भयो, ओहो । डरै डरकाबीच केपी भन्छन्– अब धेरै नडराउँ माथि केहीसँग ठोकिने होइन । कुन बटन थिच्दा के हुँदो रहेछ एक पटक ट्राई हानु न त । गम्भीर अवस्थामा रहेको बिमान र क्याप्टेनको पारा देखेर पिके भन्छन्– ट्राई मात्र होइन मान्छे नै मार्ने सम्भावना रह्यो त ।

ओ हो कस्तो बम्पिङ गरेको त । तपाईको हातमा किरा परेको छ कि क्या हो किन जहाँ पायो त्यही थिच्नु हुन्छ ? क्याप्टेन भने नडराएको अभिनय गर्दै मलाई त रमाइलै भैरहेको छ ।  दशैँमा पिङ खेलेजस्तो भैरहेको छ । चचहुई सरररररररररररररररर... भन्दै कराउँछन् । पिकेको भने सात्तो गएको छ र भन्छन्– हुउउउउउउउउउउउउउउउउउ.. । अति भएपछि बिमान परिचारिका रिसाउँदै ककपिटमा प्रवेश गरेर हात जोड्दै आग्रह गर्छिन्– कति हल्लाउनु भएको क्या । हेर्नुस् हजुरबुबा पुस्ताका तपाई क्याप्टेनहरुले  नाति पुस्ताका प्यासेन्जरहरुलाई नत सकुसल उडान भर्न सक्नुहुन्छ नत सकुसल नै अवतरण गराउन सक्नुहुन्छ । त्यसैले कुनै अनर्थ हुनुभन्दा अघि नै स्वइच्छाले हामी युवा पुस्तालाई हस्तान्तरण गर्नुस प्लिज भन्दै  बिमान नियन्त्रणमा लिएर सकुसल रुपमा अगष्ट ४ गते राति ८ बजे अवतरण गराउँछन् । क्याबिन क्रू फेसिलिटेड द ल्याण्डिङ ।  (मनोज गजुरेलको गाइजात्रा प्रहसन २०७७ को प्रस्तुतिबाट)