कथा : सुरक्षा

  

उषा शेरचन

उमेरमै बिधवा भएकी हुन् उनी । तर एकल प्रयासले नै सुखमय संसार निर्माण गरेकी थिइन् । छोरालाई राम्रोसँग पढाई लेखाई राम्रो अफिसमा माथिल्लो दर्जामा जागिर खान सक्ने बनाएकी थिइन् । सँगै काम गर्ने सहकर्मीसँग प्रेम बसेपछि छोराको इच्छा मुताबिक उनले धुनधानसँग बिहे पनि गरिदिइन् । उनी जातभातमा विश्वास गर्दैन थिइन् । जातभात आदिबाट मुक्त हुनुपर्छ भन्दै नातेदारहरूको बिरोधका बाबजुद पनि उनले आफ्नो छोराले रोजेकै केटीलाई बुहारीको रुपमा घर भित्र्याएकी थिइन् । जातभात नमिलाई विधवा आमाले आफ्नो इच्छा मुताबिक गरिन् भनेर आफन्तहरू निकै रिसाएका थिए ।

“जिन्दगी बिताउने त उनीहरुले नै हो । आफूले रोजेको मान्छे पाउदा उनीहरु खुसी हुन्छन् त्यसमा मैले किन बाधा पार्नु ?” उनको तर्क हुन्थ्यो । “यस्तो असल र राम्रो जागिरे केटाले जातकै र जस्तो भन्यो उस्तै केटी पाउँथ्यो । हामीले त शुसिल र पढालेखा छोरीहरू पनि ख्याल गरिसकेका थियौं ।” गुनासाका पोकाहरू खोलि रहन्थे आफन्त । तर उनले भने एक कानले सुन्थिन् र अर्को कानले उडाइदिन्थिन् । उनका लागि छोराको खुसी नै सर्वोपरि थियो । आमाछोरा बीच अगाध माया थियो । पुरानो घर बहालमा दिएर उनीहरू हाउजिङको नयाँघरमा सरेका थिए । छोराबुहारी दुबैको कमाई राम्रो भएकोले घरको किस्ता पनि समयभित्र तिरी सकेका थिए । छोराबुहारी दुबै काममा जाने हुँदा घरमा नातिनी उनका लागि समय कटाउने रमाइलो बहाना थियो । जीवन सङ्लो र सान्त हिउँदे नदी जस्तै सललल बगिरहेको थियो ।

त्यस दिनको छोराको बोलीले उनलाई एक्कासी झस्कायो । उसले भनेको यति थियोः “आमा हामी अफिसमा जान्छौँ । हजुरकी बुहारी भरे आफैंले ड्राइभ गरेर फर्किन्छिन् । तर म चाहि फर्किन्न ?” ( छोराको मुखबाट फुत्केको बाक्यले उनलाई किन झस्कायो? आफैलाई थाहा छैन । तर उनीभित्र अनौठो विरानोपन सल्बलाउन थाल्यो । छोराले अरू बेला पनि यसै गरी भनेरै जान्थ्यो । हरेक सानातीना कुरा सेयर गर्ने उसको बानी आमालाई खुब मन पथ्यो । बीस बर्षमा त उनी विधवा भइसकेकी थिइन् । अठार बर्षमै पहिलो सन्तानको सुखभोग मिलेको थियो । तर लामो समय रहेन खुसी । एक मात्र खुसी भन्नु त्यही छोरा । दुःखका बीच पनि बेस्सरी माया दिएर हुर्काको छोरो । त्यही भएर छोराले बोलेको हरेक कुरा उनको लागि बिशेष अर्थ राख्थे । )

“कस्तो अपशकुनको कुरा गरेको छोरा ?”

छोराले पनि आमाको मुखमा हेर्दै हाँसेर “हरे, हाम्री आमै पनि अचम्मैकि छिन् । मैले के त्यस्तो अपशकुन शब्द बोलेँ र ?”

“कुन्नि त के बोल्यौँ ? फेरि त्यही अपशकुन शब्द दोहोर्‍याउन्न म ।”

“ए बुहारी मात्रै फर्किन्छे म फर्किन्न भन्यो भनेर झस्कनु भएको हो आमा ? मैले जिन्दगीभर फर्किन्न भनेझैं गरेर मलिनो अनुहार बनाउनु भयो त आमाले त ।”

( छोराले यसो भन्दा मुख थुन्नपुगेकि थिइन् उनी । छोराले अफिसको कामले एक दुई दिनका लागि अफिसकै गाडीमा काठमाडौं बाहिर जान लागेको कुरा बुझाए र श्रीमतीलाई सरसामान तयार पारिदिन पनि सुझाए । )

अनि आमाको खुट्टामा ढोग्दै नातिनीसँग राम्रोसँग बस्नु है आमा, म पर्सि मात्रै फर्किन्छु भनी छोरीलाई चुमेर बिदा भएको थियो ऊ । सबै कुरा ठिक हुदा पनि आमाको मन थिरमा रहेन दिनभर। किन ? उनैलाई थाहा थिएन । खाली छट्पटी जस्तो केही सलबल गरिबस्यो उनीभित्र ।

बुहारी समयमै घर पसिन् । फ्रेस भएर किचनतिर छिर्न लागेकी मात्र थिइन्, उनको मोबाइल बज्यो । त्यस कलले बोकी ल्याएको थियो अप्रत्याशित खबर । र त्यही खबरले एकपटक फेरि विगत बल्झाइदियो आमाको । एउटै नियतिको डोरीले कसिए दुई महिला । सासु र बुहारीको जीवन एउटै भयो ।

कार दुर्घटनामा परी छोरा बितेको खबरले त्यस घरमा सन्नाटा छायो ।

आज शनिबार ।

बुहारी भान्सामा उनलाई नै मनपर्ने खाना बनाउन लागेकी छिन्। शनिबार जहिल्यैसुकै भान्सामा बुहारी आफैं पस्छिन। उनैलाई मनपर्ने तरकारी पकाउने सोचमा हुन्छिन् र खुबै ध्यान पनि दिन्छिन् । बुहारीको हातमात्रै मीठो नभइ माया समेत राखेर पकाउछिन् । छोराको अभाव बाहेक छोरा गएदेखि आज पर्यन्त उनलाई कुनै पनि कुरामा कमी हुन दिएकी छैनन् । उनको माइतमा पनि आमाबाबु दुबै खसिसके । दाजुभाइ त छन् । दाजुभाइ भाउजू बुहारीको त उखानै छ नि “आमाबाबु पूरा माइती, दाजुभाइ आधामाइती र भदाभदै छैन माइती ।” बुहारीलाई पनि सासुआमा र छोरीको साथ पाए केही चाहिन्न । उनले बुहारीको मात्रै नभइ छोराको कर्तव्यसम्म पनि पुरै निभाएकी छिन् । त्यसैले छोरीलाई भन्दा बढी माया गर्छिन् उनी बुहारीलाई ।

तर आज उनको मन अलिक बिथोलिएको छ ।

टोलछिमेकले अनेक कुरा गर्छन् आजकल । बुहारीका बारे आफन्तले कुरा सुनाएर हैरान पारेको छ । उनलाई खास फरक नपरे पनि एकतमासको कुराले मनमा उथलपुथल उम्रेको छ । अचेल त्यही पिरलोले उनको मन अँध्यारिदै छ । मनभित्र कुनै गहिरो चिन्ताले डेरा जमाएको छ ।

खाना पाकेपछि डानइनिङमा राम्रोसँग सजाइन बुहारीले ।

“नातिनी र हजुरआमाको ग्रह पनि कति मिलेको? दुवैलाई दुबै भए भो, म पनि चाहिन्न हगि?”

“नाइँ म अहिले नखाने मामु । मलाई भोक लागेको छैन । बरू कार्टुन हेरेर बस्छु नि मामु । म पछि खान्छु ।” आमा देख्ने बित्तिकैको छोरीको घुक्र्याई ।

“हुन्नहुन्न नानू मैले मेरी छोरी र आमाको लागि भनेर मन पर्ने खाना बनाएको छु । अनि झन् नखाने भन्ने ।”

टिभी बन्द गर्दै छोरीलाई मायाले मुसारिन् । छोरी पनि आमाको घाँटीमा मालाझैँ झुन्डिदै लाडे पल्टिएर आमालाई चुम्न थालिन् । आमाछोरीबीचको मायालाई मायालु आँखाले हेरिन उनले र खाना खानको लागि हात धुन गइन् ।

“मलाई त्यति खान मन छैन बुहारी अलिकति मात्रै पस्क । खासै भोक पनि लागेको छैन ।”

“किन नि भोक नलागेको ? बिहान पनि केही खानुभएको छैन एककप चिया बाहेक ! नास्ता नखाने बरू खाना नै खाने भन्ने ? अनि मैले झन् हजुरलाई जेजे मनपर्छ त्यही पकाएको छु ? होइन अचेल हजुर निन्याउँरो मुख लगाएको देख्छु जतिखेर पनि ! हजुरलाई सन्चो छैन कि क्या हो?”

“होइन सन्चै छु ।”

“मुखले सन्चैछु भनेर के गर्नु? अनुहार चालढाल सबैले सन्चो नभएको कुरा देखाको छ । हजुर यस्तो त हुनुहुन्थेन । यो दुईचार दिन देखि मैले नोटिस गरेकी छु । खाना खाउँ पहिला अनि नानी दिउँसो सुतेपछि हामी कुरा गरौंला ।”

बुहारीको मन राख्नकै लागि जुठो हालिन मात्रै र उठेर चुठ्न गइन ।

“अब म यी काम सकेर आउछुँ । अनि सासुबुहारी मज्जाले कुरा गरौंला ।”

केही नभनी नातिनीलाई बोकिन् र लगिन् सुताउन । केहीबेरपछि नातिनी निदाइन । आज त अलि सबेरै उठेकी र चकचक बढी गरेर थाकेकी थिइन होली । फुसुक्क निदाई । नातिनीलाई सजिलो गरि सुताइन र नातिनीलाई निधारमा चुमिन अनि पुनः डाइनिङमा आइन् ।

त्यतिन्जेल बुहारीले पनि सबै काम सकेर टावलले हात पुछ्दै बस्न आइन् डाइनिङ मैँ ।

“ल आमा आज हजुरको मनमा जेजे छ सबै भन्नुस् । हजुर उदास हुनुको कारण के ? सबै सबै खुलस्त भन्नुस् !”

“मैले मेरो जीवनमा जे भोगेँ तिमीले भोग्नु नपरोस् भन्ने चाहन्छु । किनभने मैले तिमीलाई मेरी छोरीलाई भन्दा बढी माया गर्छु । तर यो दुनियाँ त्यस्तो छैन बुहारी ।”

“दुनियाँसँग मेरो के लेना देना ? मेरो दुनियाँ भनेको हजुर र हजुरकी प्राण प्यारी नातिनी मात्रै हुन् ।”

मनभित्र उकुसमुमुस भएकाले रोक्न खोज्दा खोज्दै फुस्किहाल्यो, “तिम्रो अफिसको नयाँ साथी नि ?”

(थोरै तरङ्गित भइन् बुहारी । तर सम्हालिदै कुरो अघि बढाइन्। )

“ ए उ त मेरो अलि बिशेष साथी हो । उसले मलाई प्रेम गर्छ आमा र म पनि प्रेम गर्छु । तर अन्यथा नलिनु होला । म हजुर र हजुरकी नातिनीप्रतिको माया र कर्तव्य पालनमा केही कमी हुन दिन्न । कि मैले आफ्नो कर्तव्य गरेकी छैन र आमा ?”

(एकलहर केही विरानोपन फैलिन्छ सासुको अनुहारमा । फेरि एकै छिनमा बिलाइजान्छ ।)

“छौ बुहारी छौँ । अझै बढी गरेकी छ्यौँ । तर कुरा तिमी र म बीचको नभइ यो समाजको हो । तिमी मेरो कुरा किन बुझ्दैनौ बुहारी ? यो टोल समाज अनि इष्टमित्रले तिम्रो चरित्रलाई लिएर नानाथरी कुरा काट्छन् । त्यसरी कुरा काटेको सुनेपछि मेरो मन छियाछिया हुन्छ ।”

“जसले हजुरलाई कान भर्न आउँछन् नि आमा ती सबैको नजर नकारात्मक छ मप्रति । उनीहरु मौका छोपेर म नजिक आउन खोज्छन् । सके छुन पनि चाहन्छन् । टाढाको के कुरा आमा? यिनै नाता कुटुम्वभित्रैकोले गीद्धे आँखा लाउँछन् । अनि उनीहरुले चाहेको नहुदा अर्थात् उनीहरूले मनमानी छुन नपाउँदा यसरी मेरो कुरा काट्छन् ।”

“हो त्यसैले त अब तिमीले यसलाई गम्भिर भएर सोच्नु पर्छ । यदि तिमी प्रेममा छौ भने बरु विवाह गर उसैसँग । तिमीलाई मबाट केही छेकबार हुन्न । टाढाकोसँग त तिमी लडौँला पनि तर हामी नजिकैकाबाट तिमीले आफूलाई बचाउँछौ कसरी ? तिम्रो अगाडि सिङ्गै जिन्दगी बाँकी छ । मेरा सासुससुराले त मेरो पुनः बिवाहका लागि सोच्दा पनि पापलाग्ने हिसाबले लिने हुँदा गरिदिने सवाल पनि भएन तर तिम्रो लागि त म छु नि । यो दुनियाँ यस्तो छ बुहारी एकल महिलालाई यहाँ सुखले बाँच्न दिँदैन । यहाँ जताततै गीद्धहरू झुम्मिरहेका हुन्छन् । तिमीलाई ठुँगी ठुँगी मार्छन् । छोरीको जस्तै गरी म तिम्रो बिहे धुमधामले गरिदिन्छु । ”

बुहारी अवाक हुन्छिन् । सन्नाटा छरिन्छ उनीहरु बीच केही क्षण। सासुको आफूप्रतिको यो हदको माया उनले सायद कल्पेकी थिइनन् । अघिल्लो पुस्ताकी सासु भित्रको चेतनाले उनी कायल भएकी छिन् । तर उनको सोचाई फरक छ ।

“ मलाई बिहे नै गर्नु छैन आमा ।”

“मैले तिम्रै भलाइको लागि भन्दैछु । मैले जे भोगे त्यही कुरा तिमीले भोग्नु नपरोस् भन्ने चाहान्छु । तिमी अफिसका केटा साथीहरुसँग हिडेको देखेपछि तिम्रो अनेक कुरा काट्छन् । म सुन्न सक्दिनँ बुहारी । त्यसले मलाई कति चिन्ता लाग्छ र कति पीडा हुन्छ तिमीले अनुमान लगाउन सक्तैनौँ ?”

“हेर्नुस् आमा मेरा पनि केही भावनात्मक र जैविक आवश्यकता हुन्छन् । साथीभाइको साथ र माया गर्ने मान्छेको आवश्यकता त पर्छ नै । हामी दुई बीच आपसी समझदारीमा हामीले विवाह नगरि साथ दिने योजना बनाएका छौँ । त्यसमा तपाईंको नातागोता भनाउँदाहरू, टोलछिमेकीहरूले के भन्छन् ? त्यो सोचेर टाउको दुखाउनु हुन्न । खासमा हजुरलाई जसजसले यस्तो कुरा सुनाउँछन् नि आमा, तिनीहरू नै आफ्नो वासना पूर्ति गर्न चाहन्छन् । हामीजस्तो एकल महिलाका लागि साथमा उभिने मान्छे पाउन गार्हो हुन्छ तर हामीलाई वासनाका शिकार बनाउनका लागि भने हजारौं लाइनमा हुन्छन् ।”

“म त झन् बिस बर्षमा विधवा भएकी । के मेरो इच्छा थिएन होला बुहारी? के मेरो सपनाहरू थिएनन् ? लोग्नेमान्छेले बनाएको दुनियाँमा हामी स्वास्नीमान्छेको लागि स्वतन्त्रता एक हदसम्म मात्रै ठिक हुन्छ । मैले जे भोगे तिमीले भोग्नु नपरोस् भन्ने चाहन्छु । तरुनी उमेरमै लोग्ने गुमाउँनु पीडा कस्तो हुन्छ ? भनेर मैले बुझेको छु । तर मैले कहिल्यै आफ्नो मर्यादा नाघिन। मैले घर परिवारमा आँच आउने काम कहिल्यै गरिन । तर अहिले आएर तिम्रो बारेमा अनाप सनाप कुरा गर्छन् । जब तिम्रो चरित्रको बारेमा छिमेकी र नातेदारले कुरा गर्छन् तब मलाई एकदमै दुःख लाग्छ । जब तिमीहरू एक अर्कालाई साँच्चै माया गछौ भने यसरी नहिँड । बरु विवाह गर । अरूले कुरा काट्ने बाटो नराख । विवाह गरेपछि तिमी सुरक्षित हुन्छौं । हामीलाई रहनु त छ फेरि पनि यही समाजमा नै आखिर । ”

“सुरक्षाको कुरा नि आमा, महिलालाई सुरक्षित रहन पुरुषकै साहारा लिनु पर्छ भन्ने म मान्दिन । रह्यो समाजको कुरा, मैले हजुरलाई अघि नै भनी हालेँ नि एकल महिलालाई जहिल्यैसुकै यौनहिंसा गर्न छुट छ भनेर सोच्छ यो समाज । चाहे विधवा होस् , वा डोभोर्सि वा सिङ्गल आमा । एकल महिलाप्रति सहानुभूति होइन वासनाको आँखाले हेर्छन् सबै । उनीहरू एकल महिला भनेको सजिलै प्राप्त गर्न सकिने बस्तु भनेर सोच्छन् आमा । तर म त्यसो हुन दिने छैन । म आफ्नो र यो परिवारको देखभाल आफैं गर्छु । सम्बन्धमा रहे पनि विवाह भने कदापि गर्दिन आमा ।”

“त्यो त हो । तिमी आँटी छौँ । तिमीले माया पनि मलाई आफ्नो आमा भन्दा बढी गर्छौ । व्यक्तिगत रुपमा म पनि चाहन्न तिमी विवाह गरेर म देखि टाढा होऊ तर लामो जीवनमा के होला? भन्ने पीर लाग्छ ।”

“यहाँ महिला र पुरुषलाई लागि लगाएको छुट्टाछुट्टै साँध र सिमाना म भत्काउन चाहन्छु आमा । म हजुरको छोरा र बुहारी दुबैको कर्तव्य पुरा गर्न चाहन्छु । म सम्बन्धमा रहे पनि बिवाह गरेर भाग्ने पक्षमा भने छैन । हजुर स्वयं महिला भएको कारणले हजुरलाई थाहै छ त हामीलाई जुन केटा भेटे पनि आफ्नो वासनाको ज्वाला मेटौँ भन्ने हुन्छ त आमा? आफ्नो मनले रुचेकाले बाहेक अन्यको स्पर्श हामीलाई मनपर्छ त आमा? तपाईं आफैं भन्नस् । लोग्नेमान्छे र स्वास्नीमान्छेमा यस्ता धेरै फरक छन् । उनीहरूलाई मात्रै स्वास्नीमान्छे भए पुग्ने ? प्रिय र अप्रिय स्पर्श भन्ने नै नहुने तिनका खातामा । हामीलाई भने बेस्सरी फरक पार्ने । हजुरको छोराको निधनपछि नजिकका आफन्तहरूको व्यवहारले निकै हैरान परेकी थिएँ । र यसैबीच मेरै अफिसको सहकर्मी आफ्नो वासनाका लागि नभइ मेरा लागि अनि मेरै पक्षमा उभिन थाले । बिस्तारै हामीबीच गाढा सम्बन्ध कायम भएकाले सबैलाई जलन भएको हो । त्यसैले हजुरको कान यसरी भरेर हामी दुई आमाछोरीजस्तै सासूबुहारी बीच फाटो ल्याउने प्रयत्न गर्दैछन् । मान्छेको जात अर्काको घरमा आगो झोँसेर हात सेकाउन आउँछन् । तपाई बलियो हुनुस् । मेरो साथमा सतिसाल भएर उभिनुस् । मलाई फिक्री भनेकै तपाईं र तपाईंकी नातिनी हो । मेरालागि यी दुईभन्दा महत्त्वपूर्ण व्यक्ति संसारमै छैनन् का्ेही ।”