कोरोनाको कहरले खोस्यो मिथिलामा राखीको रौनक

  

गोपाल बराल   
महोत्तरी, १५ साउन (रासस) : साउन शुक्लपक्ष शुरु हुनासाथै महोत्तरीसहितका मिथिला क्षेत्रमा बढ्ने राखी (रक्षाबन्धन) पर्वको चहलपहल यसपटक भने देखिएको छैन । कोविड–१९ को महाव्याधीको त्रासले अझै राम्ररी सार्वजनिक यातायात सञ्चालनमा आएका छैनन् र यसले गर्दा सीमा क्षेत्रको (नेपाल–भारत) आउजाउ पनि सहज छैन । सिनेमा घरहरु सञ्चालनमा आएका छैनन् भने घरचोकमा पनि राखीको रौनक देखिएको छैन । त्यसैले पनि आगामी सोमबार पर्ने राखी पर्वको चहलपहलमा यहाँ कमी आएको हो ।    

मिथिलामा साउन पूर्णिका दिन मनाइने यो पर्वको तयारी साउन शुक्लपक्ष लाग्नासाथै शुरु हुन्थ्यो । सिनेमा घरमा लगातार गुञ्जिने ‘राखी’ पर्व विशेषका गीत, हाटबजार एवं जताततै बढ्ने चहलपहल, बाहिर भएका दाजुभाइ आउने गरेकाले यस समय दिदीबहिनीको चर्चाको विषय पनि यही हुने गर्दथ्यो । त्यसैगरी रङ्गीचङ्गी राखी (विभिन्न रङका धागोमा कलात्मक बनाइएका डोरा) सजाइएका पसलले बढाउने चहलपहल नदेखिएपछि यस वर्षको राखी पर्व मुखैमा आउँदासम्म पनि चाडपर्वको कुनै भान नै नभएको यहाँका सर्वसाधारण बताउँछन् ।    
    
 “पर्व आउन त अब केही दिन मात्र बाँकी छ”, यसअघिका साउन शुक्लपक्षको रमझम सम्झँदै महोत्तरीको भङ्गाहा नगरपालिका–४ रामनगरकी बन्दना साहले भन्नुभयो, “यसपटक न बजारमा चहलपहल, न दाजुभाइ राखी बाँध्न आउने टुङ्गो”, यस्तो निरश राखी पर्व पहिलोपटक अनुभूति गरिरहेको २९ वर्षीया बन्दनाको भनाइ छ । मिथिलामा यही आउने सोमबार मनाइने राखी पर्वको यहाँ कुनै चहलपहल नै देखिएको छैन ।    
    
 मिथिलाका फुटपाथे पसल हुन् या ठूल व्यापारिक प्रतिष्ठान तथा चलचित्र घर सबै ठाउँमा दिदीबहिनी र दाजुभाइबीच गाढा प्रेम दर्शाउने गीतका धुन लगातार बजिरहेपछि तिनैले राखी पर्वको सूचना दिन्थे र रौनक थपिदिन्थे । जताततै पर्वको रमझम र तयारीले सम्पूर्ण मिथिला क्षेत्र नै राखीमय देखिने विगतको सम्झनाले यसपटक दिदीबहिनी र दाजुभाइ दुवैको मन कुड्याएको छ । यतिबेला पर्वको रमझम उत्कर्षमा हुने बेला कोरोनाको त्रासले दाजुभाइसँगको मिलनका गीतका ठाउँमा यसपालि विरहका धुनले मन अमिल्याएको दिदीबहिनी बताउँछन् ।    
     
 “खै राखीका गीत यस वर्ष कतै पनि गुञ्जिएको सुनिँदैन, दाजुभाइ घर फर्किने कुनै ठेगान नै भएन”, भारतको मुम्बइमा काम गरिरहेका दाजु यसपालि पर्वमा आउन नपाउने खबरले भक्कानिएकी बर्दिवास नगरपालिका–९ पशुपतिनगरकी कक्षा–१२ मा अध्ययनरत युवती राधिका महतोले गहभरि आँशु पार्दै प्रश्न गर्नुभयो, “अब कहिले बस चल्छन् र दाजु आउन पाउनु होला ?”    
    
 मिथिलामा साउन शुक्लपक्षभरि नै दाजुभाइको सौर्य बखान गरिएका माङ्गलिक गीतको मिठो धुन गुञ्जने परम्परा यसपालि कोरोना त्रासले खोसेको छ । प्रत्येक गाउँनगर बस्तीका हाटबजारमा रङ्गीचङ्गी रक्षाबन्धन (साउन शुक्ल पूर्णिमाका दिन दिदीबहिनीले दाजुभाइलाई हातमा बाँधिदिने कलात्मक ढङ्गले बनाइएको धागोको डोरा) छान्न निस्कने दिदीबहिनीको चहलपहल पनि यसपालि खासै देखिँदैन । साउन शुक्लपक्ष लाग्नासाथ किशोरी र नवयौवना सखी–सहेलीको राखी तयारीको भेटघाट र चहलपहल खासै नदेखिएपछि पर्व आएको छनक नै नपाइएको आम मैथिल नागरिकहरु बताउँछन् ।    
    
 “दाजुभाइ को–कता छन्, उनीहरुको खोजी गर्नु र आफ्ना दाजुभाइका नाडीमा सुहाउने राखी खोज्नु पर्व विशेषमा अहिलेको तयारी हुनपर्ने हो”, महोत्तरीकै भङ्गाहा नगरपालिका–५ माइती आएकी हरिप्रिया महतोले भन्नुभयो, “नजिक घर (छिमेकको धनुषा जिल्लामा पर्ने गाउँ) थियो र म त माइत आएँ, भारत कमाउन गएका दाजु आउनु भएन, दाजुसँग फोनमा कुरा गरेर नै यसपालि चित्त बुझाउनुपर्ने भयो ।” महामारीको व्याधिले काममा टाढा गएका दाजुभाइसँग यस वर्ष पर्वमा भेट नहुने भएपछि फोनमै कुरा गरेर चित्त बुझाउनु परेको धेरैजसो दिदीबहिनीको गुनासो छ । यद्यपि नजिक घर भएका विवाहित चेलीहरु घर वरपर नै रहेका माइतीगाउँ नजिकका दाजुभाइलाई सम्झेर राखीको निम्ता भने दिँदैछन् ।    
    
 मिथिलामा दिदीबहिनीले दाजुभाइलाई राखी बाँध्न आउने निम्ता दिने चलन छ । विवाहित दिदीबहिनीले आफ्नो र दाजुभाइको अनुकूलताअनुसार माइती पुग्ने वा आफ्नै घरमा चाड मनाउने टुङ्गो गर्छन् । अविवाहित दिदीबहिनी र दाजुभाइको भने सँगै घर भएपछि यो समस्या रहँदैन ।    
    
 मिथिला क्षेत्रमा दाजुभाइ तथा दिदीबहिनीबीच प्रेम, समर्पण र आपसी सम्बन्ध कहिल्यै नटुट्ने प्रतिबद्धता जनाइने यो पर्व यस क्षेत्रको ठूलो सांस्कृतिक पर्व रहेको मिथिला लोकसंस्कृतिका ज्ञाता बताउँछन् । चेलीहरु राखी बाँधी दिएपछि दाजुभाइलाई ख्वाइने मिष्ठान्न परिकारबारे पहिलेदेखि नै योजना बनाउने गर्छन् । यसैगरी दाजुभाइ पनि पर्वमा दिदीबहिनीसँग राखी बाँध्ने प्रयोजनका लागि केही दिन पहिलेदेखि नै आ–आफ्नो कामबाट समय मिलाउने गर्छन् ।    
    
 कोरोना त्रासले घरबाट टाढा या विदेशमा रहेका दाजुभाइ दिदीबहिनीबीच यसपाली भेट हुने सम्भावना कम भएको छ । यद्यपि पछिल्लो चरणमा बन्दाबन्दी हटेपछि भने नजिक रहेका दिदीबहिनी र दाजुभाइ भेटको सानो अवसर जुटेको देखिन्छ । तर पनि कोरोना भाइरसको प्रकोप प्रदेश नं २ मा पछिल्लो समयमा झन् बढ्दै गएकोले ढुक्कसँग हिँडडुल गर्न भने पाइएको छैन । पर्व नजिकिँदै गर्दा राखीको कारोवार गर्ने व्यापारीहरुको गुनासो पनि बढ्दो नै छ । सार्वजनिक यातायात सञ्चालन नहुनु र गाउँ समाजमा कोरोना सङ्क्रमणको त्रास कायम नै रहनुले यसपालि राखीको कारोवारमा पनि मन्दी छाएको यहाँका स्थानीय व्यापारी बताउँछन् ।    
    
 अघि सत्ययुगमा तीनैलोक (स्वर्ग, मत्र्य र पाताल) को अधिपति रहेका दानवराज बलिलाई उनका बहिनी गङ्गा र यमुनाले युद्धमा जानुअघि विजयको कामना गर्दै हातमा रक्षा बन्धन (रक्षाकवच) बाँधिदिएका र सो युद्धमा बलिको जित भएको सम्झनामा प्रत्येक वर्षको साउन पूर्णिमाका दिन दिदीबहिनीले आफ्ना दाजुभाइको सौर्य वृद्धिको कामना गर्दै राखी बाँधिदिने परम्परा बसेको मिथिला क्षेत्रमा जनविश्वास छ । पर्व विशेषमा यसअघि केही मनमुटाव रहे भए पनि दिदीबहिनीले निम्ता गरेपछि दाजुभाइ राखी बाँध्न पुग्ने गर्नुले चेलीहरु र माइती पक्षबीच सम्बन्ध सुधारमा समेत पर्वको विशिष्ठ भूमिका हुने गरेको महोत्तरीको मटिहानीस्थित याज्ञबल्क्य लक्ष्मीनारायण विद्यापिठका मैथिली भाषा साहित्यका उपप्राध्यापक मनोज झा बताउनुहुन्छ ।    
    
 पर्व विशेषमा दिदीबहिनी नहुने पुरुष र दाजुभाइ नहुने मिथिलानीहरुले नजिकका नाता खोजेर राखी बाँध्ने, बँधाउने परम्पराले यो सांस्कृतिक पर्वको महत्व झनै बढेको आम मिथिलावासी बताउँछन् । पर्वमा दाजुभाइ भेट हुन नसक्ने टुङ्गो भएपछि आफ्ना दाजुभाइलाई खाममा राखी राखेर हुलाकमार्फत पठाउने पुरानो चलन अझै देखिँदैछ । यसपालि कोरोना भाइरसको त्रासले यसमा अझ वृद्धि भएको यहाँका चेली बताउँछन् । पर्वमा दिदीबहिनीले राखी बाँधिदिएर मिष्ठान्न परिकार खान दिएपछि दाजुभाइले वस्त्र आभूषण र नगद दक्षिणास्वरुप चेलीलाई दिने मैथिल परम्परा छ ।    
    
 पर्वमा ब्राह्मण पुरोहितले शास्त्रोक्त बिधिबाट अभिमन्त्रित डोरा यजमानलाई बाँधिदिने परम्परा भए पनि मिथिलाको मुख्य आकर्षण भने दिदीबहिनी र दाजुभाइबीचकै हो । विगतमा मिथिला क्षेत्रका रैथाने बासिन्दामा मात्र प्रचलनमा रहेको यो पर्व आपसी सांस्कृतिक घुलमिलले अब हिन्दू धर्मावलम्बी पर्वते समुदाय मात्र नभई इस्लाम धर्मावलम्बीभित्र पनि बाक्लै प्रचलनमा आएको छ । पर्वते समुदायका चेली र इस्लाम धर्मावलम्बी दिदीबहिनी पनि आपूmले दाजुभाइ मानेकाहरुलाई राखी बाँधिदिने गर्छन् ।    
    
 पछिल्ला दिनहरुमा पर्व हिन्दू धर्मावलम्बीको भएपनि समाजमा हुने देखासिकी र आकर्षणले महोत्तरी जिल्लाका ईस्लाम धर्मावलम्बी युवाले हिन्दू महिलालाई दिदीबहिनी बनाएर र ईस्लाम धर्मावलम्वी चेलीहरुले हिन्दू युवालाई दाजुभाइ बनाएर राखी बाँध्ने प्रचलन पनि बढ्दै गएको देखिएको छ । यसले पनि यो पर्व मिथिला क्षेत्रको साझापर्व बनेको देखिन्छ । विगत वर्षका झँै यसपाली महामारीको त्रासले खुला वातावरण नभए पनि नजिक रहेका चेली र दाजुभाइले भने पर्वको तयारी अघि बढाएका छन् ।    
    
 मिथिला लोक संस्कृतिको अभिन्न अङ्ग बनेको राखीमात्र होइन यसपालि कोभिड–१९ महामारीको त्रासले थुप्रै चाडपर्व खुम्चिएर मनाउनुपरेको छ । एक साता पहिले मात्र नवविवाहिता मिथिलानी (मिथिलाका नारी) ले कोभिड–१९ को महाव्याधिभित्रै १३ दिने पर्व सम्पन्न गरे । त्यसैगरी उल्लासका साथ मनाइने बुद्ध पूर्णिमा, जुडशितल र साउने सङ्क्रान्तिलगायतका हिन्दू बौद्ध परम्पराका पर्व मात्र नभएर इस्लाम धर्मावलम्बीले पनि आफ्नो एकमहिने रमजान रोजा (व्रत) र ईदपर्व यसै त्रासबीच घरघरै नमाज पढेर मनाएका थिए ।    
    
 भारतसँग खुला सीमा भएको हुँदा मिथिला भूभाग पर्ने प्रदेश नं २ भित्रका सबै जिल्ला कोभिड सङ्क्रमणको उच्च जोखिममा नै देखिएका छन् । महोत्तरीमा नै पिसीआर परीक्षणबाट सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या बुधबार साँझसम्म ८५९ छ । जसमध्ये १३ बुधबार नै थपिएका हुन् । पछिल्लोपटक नेपाली सेनाको परिकौलीस्थित रणभीम गणका १० तथा जलेश्वरस्थित एक माध्यमिक विद्यालयका प्रधानाध्यापकसहित १३ जनामा सङ्क्रमण पुष्टि भएको जनस्वास्थ्य कार्यालय महोत्तरीले जनाएको छ । बन्दाबन्दी हटे पनि कोरोना भाइरस सङ्क्रमण कायम नै रहेको हुँदा चाडपर्व पनि भीडभाडमा नगई संयमसाथ मनाउन चिकित्सक र स्वास्थ्यकर्मीको सुझाव छ ।    
–––