काेराेनाकाे जाेखिम माेल्दै रातो मच्छिन्द्रनाथको रथारोहण

  

राताे मच्छिन्द्रनाथकाे रथाराेहण (तस्वीरः न्यूज एजेन्सी नेपाल)

ललितपुरः शनिबार ‘वर्षा र सहकाल’का देवता रातो मच्छिन्द्रनाथको रथारोहण गराइएको छ ।

आज शनिबार नागपञ्चमीका दिन दिउँसो सवा १२ बजेको शुभसाइतमा मच्छिन्द्रनाथलाई रथमा विराजमान गराईएको हो । काठमाडौं उपत्यकाको सबैभन्दा लामो रथजात्राका रुपमा रहेको मच्छिन्द्रनाथको रथारोहण वैशाख शुक्ल प्रतिपदाका दिन गरिने भएपनि यो वर्ष कोभिड—१९ का कारण केही समय ढिला भएको हो ।

रातो मच्छिन्द्रनाथका मुख्य पुजारी कमलराज बज्राचार्यले वैशाख १२ गते रथारोहण गर्नुपर्नेभएपनि कोरोनाका कारण यो वर्ष सम्भव नभएको बताउनुभयो । असार २४ गते साइत हेरेर रथारोहण गराउने यसअघि निर्णय भएपनि कोभिड—१९ संक्रमणको जोखिम कम नभएका कारण अनिश्चित बनेको थियो ।

लिच्छवीकालदेखि निरन्तर चल्दै आएको जात्रामा रथारोहणको अन्तिम साइज आज परेकाले आज नै रथारोहण गरिएको उहाँले बताउनुभयो । रथारोहण गरिएपनि रथ कहिले तान्ने भन्ने निर्णय भने नभएको उहाँले बताउनुभयो ।

जात्रामा २० जनाभन्दा बढीलाई सहभागि नगराइने निर्णय भएपनि उल्लेख्य सहभागिता रहेको थियो । पाटनको तः बहामा रहेको सत्तलमा राखिएको रातो मछिन्द्रनाथलाई खटमा राखेर नगर परिक्रमा गराउँदै पुल्चोकमा बनाइएको रथमा बिराजमान गराइएको हो ।

केही झलकहरू