उषा शेरचनको कविता : म तिमीलाई खुला आकाश दिन्छु

  

आँखीझ्यालबाट हेरेर
यो सीमित संसार
अँध्यारो कुवाभित्र रुङेर
यो सानो संसार

कुँजिरहेछु म
छट्पटाईरहेछु म
निस्सासिरहेछु म

छोरी !
तिमीलाई अव
यो आँखीझ्यालबाट देखिने
सीमित संसार मात्रै हेरेर बस
कदापि भन्दिनँ म
यो सानो कुवाभित्रको
भ्याकुता मात्रै बनेर बाँच
कदापि भन्दिनँ म

लत्याउ
पर्खालभित्रका हैकमी आदेशहरु
फुकाल
बुँलाकि र कल्लीहरु
छिनाल
सदियौँदेखि
बाँधिराखेका
यी पावन्दीका दाम्लाहरु
खोल
युगौँदेखि
थुनिराखेका
यी पिँजडाका ढोकाहरु
र,
स्वतन्त्र भएर उड
उन्मुक्त भएर उड

अचानो बन्न अस्विकार गर्दै
खुकुरीको धार आफैँ बन्नू तिमी
गलत इतिहास मेटाउँदै
नयाँ इतिहास आफैँ रच्नू तिमी

सधैँभरि कुरीतिको
कालकोठरीमा
दविएर बस्न अभिशप्त
तिम्रा इच्छा र आकांक्षाका
गुलावी फूल सिउरेर

सधैँभरि समाजको
बलिबेदीमा चढ्न अभिशप्त
तिम्रा सपना र चाहनाका
इन्देणी माला पहिरेर

मैले उघार्न नसकेको क्षितिज
उघार्न जाउ तिमी
मैले हेर्न नपाएको संसार
हेर्न जाउ तिमी
मैले छुन नभ्याएको आकाश
छुन जाउ तिमी

उठ छोरी, उठ.....
म तिमीलाई सुनौलोे बिहानी दिन्छु !

उड छोरी, उड....
म तिमीलाई खुला आकाश दिन्छु !!
म तिमीलाई खुला आकाश दिन्छु !!!