जीवन–आभा

  

तिमी आयौ –
पहाड बोल्यो, जंगल सुसायो
बादल गर्जयो, झरी बर्षियो, खोला बग्यो
ताल तरंगित भयो, चराहरु चिर्विर गर्न थाले
जुनकीरीहरु चम्किन थाले,
विरुवामा पालुवा लाग्यो, फूल फुल्यो
चारैतिर सुवास फैलियो...

तिमी आयौ –
खेतका गराहरु, बारीका कान्लाहरु
ढुंगा र चट्टानका काखहरु
जंगलका खोल्साहरुमा डुल्यौँ, घुम्यौँ
प्रकृतिको काखमा
मनका सुन्दर छायाँहरु
जीवनको रंग पोख्दै डुलिरहे....

तिमी आयौ –
म जीवन सोच्दै–खोज्दै हिँडिरहेथेँ
तिमी स्वयम् जीवनको परिभाषा बन्यौ
समयको गर्भमा रहेको सम्बन्ध प्रस्फुटित भयो
युगौँदेखि भौँतारिइरहेको जीवन
तिम्रै आगमनमा पुलकित बन्यो....

तिमी आयौ –
जीवन सरल र सुन्दर बन्यो
जिजीविषाले डोर्याइरह्यो
सँगै जीवनको अर्थ खोज्नुको आनन्द
कोही त छ भन्ने भावले कल्पिएर बस्नुको उमंग
मृत्युलाई पनि पार गरेर जाने आत्मविश्वास
सबै पुनःर्जागृत भए....

तिमी गयौ –
म रहेँ मसँगै
तिमी पनि रह्यौ मसँगै
पुनःर्मिलनको आशामा
ओभाइरहेछन् आँखाहरु
पर क्षितिजमा सुर्य चम्किरहेछ
रातो आभामा जीवन मुस्काइरहेछ
तिम्रो आगमनको आशामा
जीवन प्रवाह बगिरहेछ ....

-प्रदिप ढकाल