आर्द्र असार

  

झ्यालबाहिर झमझम झरिरहेथ्यो झरि
आकाशको आँखाबाट असार
त्यसरी नै नरोकिइ खस्दैथियो
जसरी बाक्लो बादल बर्षाउँदै थियो 
मनभित्र पानी दरङरङ गरेर
कहिल्यै नरोकिएला झैं ।

रहर थियो बाहिर गएर रुझुँ,
पखालुँ मायाको मयल मजाले माडेर
भित्रै भिजिसकेपछि भनें, भैगो
अब क्लोथलाइनमा टाँगुला अतीतलाई, 
अनि पट्याएर राखुँला यादहरु 
उपहारका रुमालसंगै ।

बाहिर ओतमा चरा जोडी ठुङ्गाठुङ्ग गर्दै थिए ।
गुडलक, उनी सँधै भन्थिन जोडी चरा देखेर
भित्र म स्मृतीबाट आफै अलग्गिन खोज्दै थिएँ 
नसक्नु, के यो गुडलक थियो ?

उर्वर बन्दै छन् खेतका गह्रा सिंचिदै,
संवेदनाका अवशेष संगालेर मन बाँझो हुँदैछ 
बिस्तारै, बिश्वासको रजोनिवृत्तिसंगै ।
मथिङ्गलको बेचैनी र वर्षाको सङ्गीत बीच 
एक्लो म छु, रातलाई मेरो अनिंद्रा छ ।
असार अनौठोसित आर्द्र छ ।