दार्चुलाको छाङरु गाउँको कथा- बन्द ढोका, सुनसान बस्ती र बाँझोबारी

  

  
नारायण ढुङ्गाना   
दार्चुला (रासस) : ‘फोहर मलाई’, ‘फोहर जथाभावी नफालौँ’, ‘डस्ट विनको प्रयोग गरौँ,’ चोकचोकमा सरसफाइसम्बन्धी सन्देशमूलक ‘साइन बोर्ड’हरु लहरै देखिन्छन् । भुइँ, बाटो र बस्ती सबै सफा छ । गाउँ आकर्षक र सुन्दर छ । चारैतिर सेताम्मे हिमालको पर्खाल छ । दिउँसो घाम छिप्पिएसँगै सेतो हिमाल चम्किन्छ र गाउँतिर फर्किएर हाँस्छ । अनि यसै त सुन्दर यो गाउँलाई झनै आकर्षक र उज्यालो बनाइदिन्छ ।    
    
आकाश खुलेपछि हिमाली वातावरण अझ उज्यालिएर आउँछ । त्यसपछि त्यही मौसम सुहाउँदो गरी चिटिक्क पारेर बनाइएका घर ठाउँ ठाउँमा थुपुप्क मिलेर बसेझैँ देखिन्छन् । पत्रे ढुङ्गामा सेतो माटोको जडानले बनेको घरको गाह्रो, सुदूरपश्चिमको शैलीमा कँुदिएका काठका बान्की परेका दलिन, झ्याल र ढोकाले सजिसजाउ देखिन्छन् घरहरु । कतै जस्ता, कतै काठ त कतै ढुङ्गाले नै मोडेको छानो माथिबाट हेर्दा रङ्गीन बुटाझैँ आकर्षक देखिन्छ ।    

 

ढुङ्गाको छपनीको आँगनसँगै चौकुना जोडिएका साना साना तर हिँड्न सजिलो हुनेगरी बनाइएका गल्ली छन् । चारैतिर हिउँले ढाकिएको पहाडले थप सिङ्गारिदिएको दार्चुला जिल्लाको हिमाली क्षेत्र व्याँस गाउँपालिका–१ को छाङ्रु बस्ती । कतिपय घर आधुनिक शैलीका भए पनि अधिकांशले स्थानीयतालाई नै रुचाएको देखिन्छ । त्यसैले घर निर्माणका लागि स्थानीय उत्पादन नै प्रयोग गरेका छन् । कुनै घरमा बार्दली निकालेर रङरोगनले टिलिक्क पारिएको छ । बुट्टेदार काठका झ्याल र ढोकामा काठकै चम्किलो रङ सुहाएको देखिएको छ ।    
    
फूलका गुच्छा बाँधिएझैँ मिलेर बसेको बाक्लो बस्तीभित्र बनाइएका गोरेटो बाटो भने भित्रभित्रै मानिस हराउलाझैँ निकै घुमाउरा छन् । करिब ५०० मिटर तल रहेको गागामा पनि उस्तै छन् घर । गागामा जितबहादुर बोहराले बनाएको घर त्यस गाउँकै नमूना मानिन्छ । रिसोर्टजस्तै मन लगाएर बनाइएको घरमा पुग्ने जो पनि लोभिन्छ । त्यही घरमा उहाँले पछिल्लो समय होटल पनि सञ्चालन गर्नुभएको थियो ।    
    
बस्ती र घर जति सुन्दर र चेतनशील देखिन्छ मानिसको बसाइँको अभावले त्यति नै सुनसान छ छाङ्रु । यहाँको ११५ घरधुरीका मानिस सदरमुकाम खलङ्गा र त्यस आसपासमा बसाइँ सरेका छन् । गाउँले नफर्किंदा त्यति सुन्दर गाउँमा चहलपहल शून्य छ । हरेक घरका ढोकामा ताल्चा झुन्डिएका छन् । खिया लागेर पछि नखुल्ला भनेर होला सायद ताल्चाको माथिबाट प्लास्टिकले मोडिएको देखिन्छ ।    
    
घरका चेपमा दाउराको चाङ सजिएको छ । घरका खुला झ्यालबाट मानिस छिर्न नसकोस् भनेर दाउराले टम्म पारिएको छ । आ–आफ्नो घर बारीलाई दाउराले बारेर छुट्याइएको छ । कतिपयको बारीमा कलकलाउँदो लसुनले पोटी हालेको देखिन्छ । तर धेरैको बारी बाँझै छ । स्याउका बिरुवामा फूल खेल्न थालेको छ । कतै नयाँ बिरुवा हेरचाहको कमीले सुक्न पनि थालेको देखिन्छ ।    
    
यति सुन्दर बस्तीमा विकास र आयआर्जनका कार्यक्रम सञ्चालन भएको कुरा यहाँ टाँसिएका साइन बोर्डबाट प्रष्ट हुन्छ । बोर्डमा ब्याँस ऋषि सामुदायिक संस्थाले गरेका गतिविधि प्रष्टसँग उल्लेख छ । उक्त बस्तीका समुदाय गलैँचा बुन्ने, होटल व्यवसाय, आरन व्यवसाय, जडीबुटी सङ्कलन, मौसमी व्यापारका कार्यक्रम सञ्चालन भएको प्राप्त विवरणबाट थाहा हुन्छ । हिमाली क्षेत्र भए पनि छाङ्रुको बस्ती अन्य बस्तीको तुलनामा विकसित छ ।    
    
तर ६ महिना बाक्लो हिउँ पर्ने भएकाले उनीहरु बेँसी झर्छन् । ६ महिनामात्रै गाउँमा बस्छन् । यसपालि गत असोजमा बँेसी झरेका उनीहरु अहिलेसम्म फर्केका छैनन् । सुनसान गाउँमा एकजना चाउरे तामाङको परिवार बाध्यताबस बस्ने गरेको छ । एउटा घरमा काम गर्न बसेकाले अन्त कतै जाने ठाउँ नपाएर गाउँमै बस्नुपरेको चाउरेले बताउनुभयो । बेँसी झरेका कोही फर्किएर आएका छैनन्, म मात्रै गाउँमा, उहाँले भन्नुभयो । उहाँका अनुसार फापर, गहुँलगायत गाउँमा हुने अन्नबाली अहिले हराभरा भइसक्नुपर्ने थियो । तर त्यो बारी घाँसे चौरजस्तो बाँझो छ । उहाँ बेलाबेलामा जङ्गलमा च्याउ खोज्न जानुहुन्छ । एक्लैले खेती गर्न सक्ने कुरा पनि भएन ।    
    
भारत र चीनको सीमा जोडिने व्याँस गाउँपालिका–१ छाङ्रुमा ११५ घरधुरी छन् । त्यस्तै तिङ्करमा ६९ घरधुरी छन् । यहाँको जनसङ्ख्या एक हजार २२० छ । मानिस घर फर्कन नपाउँदा खेती लाग्ने ठाउँ बाँझो छ । अघिपछि भारतबाट रासन ल्याइन्थ्यो अहिले लकडाउनले गर्दा जान पनि दिइँदैन । पुलमा बार लगाएर राखिएको छ । त्यसकारण उनीहरुलाई रासनको समेत समस्या छ । अहिले बाली लगाउन नपाएपछि भोलि के खाने ? भोकमरी लाग्ने हो कि भन्ने चिन्ताले गाउँलेलाई छोएको छ ।    
    
विश्वव्यापी महामारीका रुपमा फैलिएको रोग कोभिड–१९ का कारण मुलुक बन्दाबन्दी भएको दुई महिना पुग्न लाग्यो । बन्दाबन्दीले विश्व प्रभावित छ । यो समयमा धेरैजसो मानिस आफ्नै घरमा बस्न बाध्य छन् । बाहिर रहेका धेरै मानिस घर फर्किसकेका छन् । तर दार्चुला जिल्लाको विकट हिमाली क्षेत्रका मानिस भने त्यही बन्दाबन्दीका कारण घर फर्कन पाएका छैनन् । उनीहरु फर्किन नपाएको बाटोको समस्याले हो ।    
    
नेपालबाट जान सडक छैन । हिँडेर जान सकिँदैन । सबै आउजाउ हुने भारतको बाटो लकडाउनका कारण बन्द छ । दार्चुला सदरमुकाम खलङ्गाबाट भारतको धार्चुला हुँदै आउने बाटोमा भारतले प्रवेश निषेध गरेको छ । भारतले बाटो प्रयोग गर्न नदिँदा बँेसी झरेका स्थानीयवासी त्यही अलपत्र परेका छन् ।    
    
अघिपछि हो भने उनीहरु चैतमै गाउँ फर्कन्थे । तर यसपालि बन्दाबन्दीले रोकिएका छन् । हिँडेर जान चार÷पाँच दिन लाग्छ । त्यही पनि गोरेटो बाटो राम्रो नहुँदा ठूलो जोखिम हुने गर्छ । बाटो नभएकाले कोही आएका छैनन्, त्यही भएर हाम्रो गाउँँ अहिलेसम्म सुनसान छ, यहाँ सशस्त्र प्रहरीको विओपी राख्ने क्रममा सेनाको हेलिकप्टरबाटै गाउँ फर्किएकी स्थानीय सुधा बोहराले भन्नुभयो । उहाँ थप्नुहुन्छ, सरकार हामीलाई बाटो देऊ अरु केही चाहिँदैन, हाम्रो सीमा रक्षा गर्न हामी आफैँ सक्षम छौँ । अहिलेसम्म यो क्षेत्रको रक्षा गर्ने यही गाउँका मानिस हुन् । यहाँको तिङ्कर खोलापारि नै नेपाली बस्ती भएकाले पल्लो काली नदीबाट भारतीय प्रवेश गर्न पाएका छैनन् । जुन यही बस्तीका कारण उनीहरु रोकिनुपरेको थियो ।    
    
स्थानीय द्रौपदी आयतवाल जसोतसो गरेर गोरेटोबाट छिचोलेर पाँच दिनमा छाङ्रु आइपुग्नुभएको छ । उहाँ गत पुस २५ मा भारतको बाटो हुँदै जानुभएको थियो । तर बन्द खुल्ने छाँट नदेखेपछि हिम्मत गरेरै हिँडेर आएको उहाँले बताउनुभयो । चैतमा आउनुपर्नेमा उहाँ आउन सक्नुभएन । वैशाख पहिलो साता गाउँले सबै बस्तीमा आइपुग्थे । तर यसपालि जेठ लाग्दा पनि फर्कन पाएका छैनन् ।    
    
स्थानीयवासीले सदरमुकाम खलङ्गामा घर जान पाऊँ भन्दै केहीदिनअघि प्रदर्शन गरेका थिए । प्रमुख जिल्ला अधिकारीलाई भेटेरै घर फर्कने वातावरण मिलाइदिन अनुरोध गरेका थिए । उनीहरुले सडक तत्काल बनाउनसमेत माग गरेका छन् । दार्चुलाका प्रमखु जिल्ला अधिकारी यदुनाथ पौडेल स्थानीयवासीको माग जायज भए पनि अहिलेको अवस्थामा केही गर्न नसक्ने बताउनुहुन्छ । भारतले बाटो नै सिल गरेकाले जाने अवस्था नै नरहेको उहाँले बताउनुभयो ।  सरकारले यहाँको ८६ किलोमिटर सडक नेपाली सेनालाई बनाउन दिने हालै निर्णय गरेको छ । त्यो सडक बनेपछि मात्रै स्थानीयवासीका लागि सहज हुनेछ ।    
    
झुगु–झुमा पनि सीमामै अलपत्र    

यहाँ मान्छेमात्र होइन, चौँरी खच्चर, झुगु–झुमासमेत बस्ती फर्कन पाएको छैन । सबै नेपालको सीमापारि भारतमा अड्किएर बसेको छ । आउने प्रयास गर्छ तर भारतले लगाएको बार तगारो बनिदिएको छ । नदी तर्न खोज्छ, पस्न सक्दैन । यत्रतत्रबाट बाटो खोजेर भौँतारिएको छ चौँरीह। गत बिहीबार ती चौँरी यत्रतत्रबाट घर जाने बाटो खोज्दै थिए । चौँरी मानिससँग गत असोज कात्तिकमै बँेसी झरेको थियो । स्थानीय द्रौपदी आयतवाल भन्नुहुन्छ, मेरो झुगु–झुमा सब पारि छ, भारतीयले बार लगाएको छ, आउनै दिँदैन, नदीबाट आउन सक्दैन, उहाँले दुखेसो पोख्नुभयो ।    
मान्छेसँगै चोरी पनि फर्कने समय हो । गर्मी बढ्न थालेकाले चौँरी आफैँ गाउँ फर्केको हो । तर बीचैमा (भारतीय भूमि) मा अलपत्र परेको छ । भारतीयले लगाएको तारमा अड्किएर धेरै चाँैरी घाइते भएको स्थानीयवासी धौलासिंह बोहराले बताउनुभयो । गाईलाई मात्रै छाड्दिए पनि आफ्नो घरमा आएर त बस्थ्यो, उहाँले गुनासो गर्दै भन्नुभयो, यसमा स्थानीय तहले छलफल गरेर निकास निकालिदिए हुन्थ्यो । भारतमा जताततै गाई छन् कुनै आधा बाटोमा आउँदै छन्, मालिक छैन, कहाँ गयो कता गयो, कति त हरायो पत्तै छैन, बोहराले थप्नुभयो ।    
    
यसपालि नेपाल सरकारले सशस्त्र प्रहरी राखेपछि गाउँलेमा एक खालको खुशी छाएको छ । गत वैशाख ३१ गते यहाँ सीमा रक्षाका लागि २५ जनाको सशस्त्र प्रहरीको टोली पु¥याइएको छ । उनीहरुले सीमाको नियमित गस्ती पनि थालिसकेका छन् ।