एउटै लयमा घन्काऔं राष्ट्रवादी स्वर

  

श्रीराम न्यौपाने । राष्ट्र, जाति, वर्ग, समुदाय र तिनले अपनाउने सांस्कृतिक, सामाजिक, आर्थिक तथा व्यावहारिक जीवनशैलीबाट निर्मित सीमित भूगोलभित्रको असीमित संरचना हो । यो नागरिकको अस्तित्व र प्रतिष्ठासँग प्रत्यक्ष रूपमा जोडिएको हुन्छ । राष्ट्र र नागरिकको घनिष्टताभित्र स्वाभिमान नामको सन्तान हुर्किएको हुन्छ । त्यही हो राष्ट्रवाद अर्थात् राष्ट्रको सम्पूर्णता आफ्ना अवयवहरूमा सिञ्चित गर्नु राष्ट्रवाद हो ।

राष्ट्रवादलाई दुनियाले स्वार्थप्रेरित भई वा निस्वार्थ भावले उपयोगमा ल्याउँदै आएको छ । राजनीतिमा यो सत्ताको भ¥याङ बनेको देखिन्छ भने अर्थ वा वाणिज्य क्षेत्रमा कमाउको पुलिन्दा । त्यसैगरी वैदेशिक सम्बन्धमा यो लेनदेनको सौदाबाजी हो । कसैले भोको, खोक्रो वा नक्कली भनी राष्ट्रवादलाई हल्का रूपमा दर्ज गरेको पनि सुनिन्छ । वास्तवमा यसलाई उन्नतिको आधारशीला भन्नुपर्छ । नागरिकको पवित्र अन्तर्मनबाट जागृत हुने अनि समर्पणको भावले अनुमोदित रहने अनि मानवको अस्तित्व रक्षामा लाग्ने राष्ट्रवाद विश्व प्रसिद्ध महान् चिन्तन हो ।

ब्रह्माण्ड, विश्व र राष्ट्र शक्ति सन्तुलनमा अस्तित्ववान छन् । ब्रह्माण्डीय ग्रहहरूको सन्तुलित चक्र करोडौं वर्षदेखि निरन्तर सञ्चालित छ । पूँजीवादी–समाजवादी, आर्य–मुस्लिम–इसाई, प्राकृतिक स्रोतसाधन आदि तत्वहरूले पृथ्वीभित्रका शक्तिहरूलाई नियन्त्रणमा राख्दै आएका छन् । त्यसैले भिन्न जाति, धर्म, सम्प्रदाय, भाषा, वर्ग आदिलाई एकीकृत गरी समन्वयात्मक सन्तुलन कायम गर्न राष्ट्रवाद नै बलियो आधार बन्नेको देखिन्छ । यसका सामु जस्तोसुकै द्वन्द्व, अविश्वास, स्वार्थ अनि रणनीतिले शिर झुकाउनै पर्दछ । राष्ट्रियताको सवालमा राष्ट्रिय शक्तिहरूको एउटै मत भए दुस्मनहरू अवश्य परास्त हुन्छन् । राष्ट्र रहेमात्र व्यक्तिका महत्वकाङ्क्षाहरू जीवित रहन्छन् ।

मानिसहरू पूर्वाग्रही भएर राष्ट्रियताका सवालहरू र त्यसमा संलग्न व्यक्ति वा प्रवृत्तिको आलोचना गर्न पुग्छन् । कुनै नेतृत्वले विदेशीसामु घुँडा टेक्यो वा असमान सन्धि ग¥यो वा द्वेध चरित्र देखायो वा देश र जनतालाई ढाट्यो भन्ने टीकाटिप्पणी सुनिन्छन् । वास्तवमा जननिर्वाचितहरू वा जनताको मत चाहनेहरू यस्तो गद्दार हुनै सक्दैनन् । लोकप्रियता, कानून र प्रतिष्ठाको हेक्का नराख्ने शासक त तानाशाह मात्र हुन्छ । हिटलर, पोलपोट जस्ता शासकले राष्ट्र र विश्वलाई ध्वस्त पार्न खोजे । कतिपय देशहरूमा राष्ट्रघातीहरू सत्ताच्यूत भएका, मुद्धा लागेका र फाँसीमा झुण्ड्याइएका छन् । तिनीहरू राष्ट्रवादी बन्न सकेनन् किनकि सत्तामोहका अन्धा ती आफ्ना नागरिकसामु राष्ट्रवादी देखिन सकेनन् । अर्थात् तिनले आफ्नै जनतालाई अराष्ट्रिय तत्व, विदेशी दलाल अनि राष्ट्रघाती सम्झिए र सत्ताको दुरूपयोग गरे ।

नेपाली जनतामा राष्ट्रवाद थियो । पुर्खाहरूले शक्तिराष्ट्रहरूको बीचमा सानो देशलाई पनि स्वाधीन राखे । राजतन्त्रले राष्ट्रिय अखण्डतालाई केही हदसम्म जीवित राख्न खोज्यो । विश्वयुद्धहरूपछि शक्तिराष्ट्रहरू केही अनुशासित देखिए । रणनीतिक युद्ध सुरु भयो । नेपाली शाषकहरू अब भयरहित वा निश्चिन्त देखिए । आफ्नो सीमाना, देशवासी र सेवाप्रति आँखा चिम्लिए । देशको नक्सा अद्यावधिक भएन । परिणामतः पूर्व इलामदेखि तराई हुँदै पश्चिमका महेशपुर, सुस्ता अनि दार्चुलाको व्यास गाउँपालिकाको १ नम्बर वडाका कालापानी, लिम्पियाधुरा र लिपुलेकसम्मको ७१ स्थानको ६०६ वर्ग कि.मि. नेपाली भूमि भारतद्वारा अतिक्रमित भयो । सीमाविद् बुद्धिनारायण श्रेष्ठले १९५० को सन्धिका दसै बुँदाहरु कार्यान्वयन नभएको दुःखद् अवस्थाको स्मरण गर्दछन् ।  नेपालमा शासक र तन्त्र फेरियो तर सीमा सुरक्षा र राज्यको उपस्थिति हरायो । यतिमात्र होइन आयातमुखी, पराधीन अनि भिखारी प्रवृत्ति हुर्कियो । खानपान, जीवनशैली अनि कर्ममा नेपाल स्खलित हुँदै गयो । आज नेपाली शासकहरूमा राष्ट्रवाद औपचारिकतामा सीमित बन्न पुगेको छ ।

राष्ट्र त नागरिकको कल्पित स्वर्गभूमि हो । यसको सुख र समृद्धि हाम्रो जीवनसँग टाँसिएको हुन्छ । अहिले आफ्नो भूमि हडपिँदा नेपालीको मन रोएको छ । यतिबेला नेपाली आफ्नोे अङ्ग काटिएको ठानेका छन् । एकातिर नेपालीभित्रको लाचारी, कायरता र लापरवाहलाई गिज्याएको छ भने अर्कातिर छिमेकीको नियतको सक्कली चरित्रको परिचय दिएको छ । सन्धिका विधिविधान मिचेर छिमेकी देशमाथिको अतिक्रमण गर्नु राष्ट्रवाद होइन । यसले नाकाबन्दीपछिको केही सुघ्रिएको दुई देशबीचको सम्बन्ध चिसिने खतरा बढाउँछ । दुवैतिर आआफ्ना नागरिक, नातासम्बन्ध, कारोबार अनि आवतजावतको क्रम चलिरहेको छ । यस्तो सुमधुरतालाई भत्काउँदा राष्ट्रघात ठहरिन्छ । त्यसैले तुरुन्त द्विपक्षीय वा चीनसमेतको त्रिपक्षीय वार्ता गरी सीमाविन्दु निर्धारण गर्नुमा भारतीय राष्ट्रवाद प्रतिबिम्बित हुन्छ । युद्ध वा अदालत होइन कुटनीतिक वार्ताबाट समस्याको समाधान खोज्नु नेपाली राष्ट्रवाद हुने छ ।

राष्ट्रवादले राष्ट्रलाई अस्तित्ववान तुल्याउने हुँदा नागरिकलाई यसबारे दीक्षित तुल्याउनु आवश्यक छ । मानिसहरू नबुझेर वा निदाएको बाहाना गर्दै राष्ट्रवादी स्वरलाई हाँसोमा उडाउने वा गम्भीर रूपमा नलिने गरिएको पाइन्छ । सत्तापक्ष होस् वा प्रतिपक्षले संसद वा सञ्चार जगतमा राष्ट्रवादका सवालमा तर्कसङ्गत आलोचनात्मक अनि आक्रामक अभिव्यक्ति दिन सक्छ । यो पद वा शक्तिको व्यापार वा मोलतोल हो भन्ने ठान्नु सङ्कीर्ण चिन्तन हो । नेपालका सन्दर्भमा हेर्दा पृथ्वीनारायण, भीमसेन, जङ्गबहादुर, महेन्द्र, वी.पी. आदि नेतृत्वले गरेको काम राष्ट्रघाती होइन । सबैले एकै उचाइमा अवश्य योगदान दिएनन् होला तर उनीहरूमा राष्ट्रवाद थिएन भन्नु पक्षपाती ठहरिन्छ । 

विगतका शाषकभन्दा वर्तमान सरकार जनमुखी, सबल अनि क्रान्तिकारी छ भन्ने विश्वासका कारण अहिले नेपाली जनता सीमाअतिक्रमण विरुद्ध आँटिलो कदम चालोस् भन्ने चाहन्छन् । यसअघि सन्धि पुनरावलोकन र अन्य समस्यालाई वार्ताबाट टुङ्ग्याउन परराष्ट्र विज्ञ समुह पनि गठन गरेको छ । वार्तामा बस्न गरेको नेपाली अनुरोधलाई बेवास्ता गरी विवाद टुङ्ग्याउनुको सट्टा एकतर्फी बाटो बनाउनु हेपाहा प्रवृत्तिको ज्वलन्त उदाहरण हो । सरकारले यसको विरोध गरी भारतीय सरकार र नेपाल स्थित दुताबासलाई लिखित जानकारी नै दिएको छ । बैशाख ३१ गते लिपुलेकबाट आठ कि.मि. वरको छाङ्रुमा सशस्त्रको सुरक्षा पोस्ट राखिसकेको छ । वार्ताका लागि दवाव दिन राष्ट्रिय शक्तिबीच सर्वदलीय भेला पनि सम्पन्न गरिसकेको छ । यसैकारण आजका यी गतिविधि, काम र लिएको अडानमाथि आशावादी हुनैपर्छ । 

अन्त्यमा सीमामात्र होइन अर्थतन्त्र, संस्कृति र जीवनशैलीमा हुन थालेको अतिक्रमणका विरुद्ध सङ्घर्ष गरी आत्मनिर्भर र मौलिक स्वरूपमा नेपाललाई फर्काउनुपर्छ । सरकारले यसको नेतृत्व गर्नुपर्छ भने राष्ट्रिय शक्ति एकमतले साथ दिनुपर्छ । यस दिशामा नेपाली राष्ट्रवादी स्वर एउटै लयमा घन्कनुपर्छ ।