कविता – पिजडाभित्रको स्वतन्त्रता ।

  

आशाको थुन्सेसँगै थिलथिलो जिन्दगी बोकेर

उक्लिरहेछन् लरखराउँदै मेरा एकजोर खुट्टाहरू

सुस्केरा हाल्दै तिर्खाएरै हो जिन्दगीले

अञ्जुली थापी पिइरहेछन्

एकजोर आँखाबाट बगेका ती गरिबीहरू ।

 

देश भत्काउँदा माटोमा भेटिनू पर्थ्यो

शहीदका आहुतिका टाउकाहरू

काटिएका शहीदका हजारौँ हातहरू

एकचौथाई अपयव चुँडिदा आमाको

सुनिनुपर्थ्यो छातीमा अँगालेर रूईरहेकी

लिपुलेक

लिम्पियाधुरा

र कालापानीका हाँक र क्रन्दनहरू

भेटिनू पर्थ्यो एउटा सत्यनिष्ठा हली

जसले अघाएका एकजोर गोरु नारेर जोतिरहेका

तराई

पहाड् र हिमालहरू ।

 

अझै भेटिनू पर्थ्यो

मजेत्रो च्यातिएझैँ च्यातिएका नेपाल आमाकी सीमाहरू

दशरथ चन्द

धर्मभक्त माथेमा

गंगालाल श्रेष्ठ

र शुक्रराज शास्त्रीहरूसँगै बेपत्ता पारिएका शहीदहरू

अझै खोजिनू पर्थ्यो

आफ्नै देशमा हराएका मदन भण्डारीहरू

लेखिनू पर्थ्यो राष्ट्रवादका कविताहरू

शहीदका रगतका कलमहरूले

गाइनू पर्थ्यो अझै जिबन शर्माका गीतहरू ।

 

तर अहँ,

ब्युँझदै छकोटी आँखाले देखेका सपनाहरू

गर्ल्याम्मै ढले यसरी

जसरी ढले मेरा देशका भीमसेनस्तम्भ

तै पनि होंचो भएन र ढलेन कहिल्यै

मेरो सगरमाथाको त्यो अग्लो स्वाभिमान

ननिभ्यो कहिल्यै मभित्रको देशप्रेमको दियो

नहरायो कहिल्यै मभित्र देश सिउने सियो

अझै म बाँचिरहेछु यसरी

जसरी बाँचिरहेछन् निसासिएर

मुढाले थिचिएका पहेंला निरीह दूबोहरूझैँ ।  

 

ए कानहरू हो १

किन सुन्दैनौ हँ ?

चिहानबाट आएका शहीदहरूका आवाजहरू

ए आँखाहरू हो १

किन देख्दैनौ हँ ?

शहीदहरूका छातीका आलो घाउबाट

बगेका रगतका अरुण र कर्णालीहरू

ए बरफहरू हो !

किन पोल्दैन हँ ?

तिमीहरूका छाती

मेरोझैं स्वाभिमानको आगोले ?

 

उन्मुक्त नभएरै हो बहिरा पर्खालहरूमा

हिर्काइरहेछु म आक्रोशका हतोडाहरूले

हिंजो पनि रेटिएकै हुन् न्यायका घाँटीहरू

आज मेरो पालो रेटिने

तर रेटिने छैनन् कहिल्यै मभित्रको देशप्रेम

हो, निभाइने छ घाम झ्याप्पै म निभेपछि ।

 

साँच्चै भनुँ,

आफ्नै देशमाथिको खुला आकाश पनि

मलाई पिजडाजस्तै लाग्छ

पिजडाभित्रको 

स्वतन्त्रता पनि के को स्वतन्त्रता हो र ?

 

राजबाबु श्रेष्ठ 'सागर'

महोत्तरी, गौशाला न.पा. १