कस्तो हुनेछ कोरोनापछिको सामाजिक परिवेश ?

  

प्रभा पन्थी

चीनको हुवेइ प्रान्तको वुहानमा सन् २०१९ को अन्त्यतिर देखिएको नोवेल कोरोना भाइरस (कोभिड–१९) ले विश्व महामारीको रुप लिएसँगै भाइरस संक्रमण रोक्न गरेको बन्दाबन्दीले गर्दा अहिले सारा विश्व नै ठप्प प्रायः छ । आजका दिनसम्म विश्वभर कोरोना भाइरसबाट झण्डै ३५ लाख व्यक्ति संक्रमित भएका छन् भने २ लाख ३० हजार भन्दा धेरैको ज्यान गइसकेको छ । नेपालमा भने सरकारले सुरुमै पूर्ण लकडाउन गरी विदेशबाट नेपाल आउने र नेपालभित्रको आन्तरिक आवागमनलाई बन्द गरेको हुनाले कोरोना भाइरसका कारण अझैसम्म कसैको ज्यान गएको छैन । तर यस रोगको संक्रमण दर भने दिनानुदिन बढ्दो रहेको छ । यो लेख तयार गर्दासम्म नेपालमा पनि कोरोना संक्रमितको संख्या ५७ पुगिसकेको छ । अब यो रोगले लिने ज्यानको संख्या भन्दा पनि विश्व अर्थतन्त्रमा पार्ने बहुआयामिक तथा दिगो प्रभाव र विश्व जगतमा आउनसक्ने साँस्कृतिक, सामाजिक, आर्थिक तथा राजनैतिक परिवर्तनका चर्चा चल्न थालेका छन् । 

आर्थिक मन्दी र यसको प्रभाव

कोरोना भाइरसको प्रकोपलाई नियन्त्रण गर्न अहिले विश्वका अधिकांश देशहरुले पूर्ण बन्दाबन्दीको घोषणा गरेका छन् । यसले गर्दा सम्पूर्ण आर्थिक गतिविधिहरु ठप्प प्रायः छन् । यसले विश्वको अर्थतन्त्र पुनः एकपटक मन्दीमा जाने र जनजीवनमा भयानक जटिलता ल्याउने अनुमानहरु आएका छन् । हुनत अहिले विश्वमा देखिएको यस महामारीका कारण हाम्रो अर्थतन्त्रमा कस्तो असर पर्छ भन्ने त अझै पूर्ण आँकलन गर्न बाँकी नै छ । अहिले त हामीले प्रारम्भिक अनुमान मात्र गर्ने हो । यो अवस्था कहिलेसम्म रहने हो त्यसपछि मात्र यसको पूर्ण विवरण आउला । तर हाम्रो अर्थतन्त्र मुख्यतः रेमिट्यान्स, पर्यटन, निर्यात व्यापार तथा कच्चा पदार्थको आयातमा निर्भर उद्योगमा निहित रहेकाले हाम्रो आफ्नो भन्दा पनि हामी अन्तर्राष्ट्रिय परिस्थितिमा बढी निर्भर रहेका छौं । त्यसैले बाहिरको परिस्थिति कस्तो बन्दै जान्छ । त्यसले हाम्रो अर्थतन्त्र कस्तो हुन्छ भन्ने कुराको विश्लेषण गर्न सकिन्छ । तर अहिलेसम्मको स्थितिलाई हेर्ने हो भने नेपाली अर्थतन्त्रमा मात्र होइन विश्वको अर्थतन्त्रमा नै यसको निकै ठूलो असर पर्ने देखिन्छ । 

अन्तर्राष्ट्रिय मुद्रा कोषले अप्रिल २०२० मा सार्वजनिक गरेको वल्ड इकोनोमिक आउटलुक अनुसार कोरोनाको विश्वव्यापी महामारीका कारण सन् २०२० मा विश्व अर्थतन्त्र ३.० प्रतिशतले संकुचन आउने प्रक्षेपण गरेको छ । हालै मात्र केन्द्रीय तथ्याङ्क विभागले नेपालको आर्थिक वृद्धिदर २.२७ प्रतिशत हुने अनुमान गरेको छ । यो निकै प्रारम्भिक प्रक्षेपण मात्र हो । कोरोनाको असर बढ्दै गएमा र बन्दाबन्दीको समय लम्बिँदै गएमा यो दर अझ तल झर्ने निश्चित छ । 

यी संस्थाहरुले गरेको यो निकै प्रारम्भिक प्रक्षेपण मात्र हो । कोरोनाको असर बढ्दै गएमा र लकडाउनको समय लम्बिदै गएमा यो दर अझ तल झर्ने निश्चित छ । विश्वको अर्थतन्त्रको झण्डै ४० प्रतिशत शेयर युरोप र अमेरिकाको छ । उनीहरुको आर्थिक अवस्था विकराल बनेको छ । इटाली एक महिना भन्दा लामो समयदेखि बन्दाबन्दीमा छ । अमेरिकाका धेरै राज्यहरु पनि बन्दाबन्दीमा छन् । चीनले हालै मात्र महिनौको बन्दाबन्दीपछि आन्तरिकरुपमा आफूलाई खुल्ला गरेको छ । त्यसैले त्यो सबैको असर कस्तो रहन्छ भन्ने कुरा सबै विश्लेषण गर्नुपर्ने हुन्छ । धेरै होटल र हवाई कम्पनीहरुले आफ्ना कर्मचारीमा भारी कटौति गरिसकेका छन् । 

नेपाल विगत एक महिनाभन्दा लामो समयदेखि पूर्णरुपमा बन्दाबन्दीको अवस्थामा छ । विकास निर्माणका कामहरु सबै ठप्प छन् । उद्योग, व्यवसाय र कलकारखानाहरु बन्द छन् । रेमिट्यान्सको आप्रवाह घट्दो छ । स्वदेश तथा विदेशमा रहेका नेपाली श्रमिकहरु आफ्नो रोजगारीबाट विमुख हुँदैछन् । अहिलेसम्मकै मात्र अवस्थालाई हेर्दा पनि यो कोरोना महामारीका कारण विश्वमा लाखौं मानिसको ज्यान जाँदै छ । करोडौं मानिसले आफ्नो रोजगारी गुमाउँदै छन् । अरबौं मानिस भोकमरी र खाद्यसंकटमा पर्दै छन् । र, विश्व अर्थतन्त्र पुनः एकपटक दीर्घकालीन रुपमा थला पर्दै छ । 

बदलिँदो सामाजिक परिवेश

कोरोनाको प्रकोपसँगै अहिले अधिकांश नेपाली श्रमिकहरु स्वदेश फर्कन चाहन्छन् भने भारत लगायत शहरी क्षेत्रमा बसोबास गर्दै आएका विद्यार्थी तथा श्रमिकहरु आफ्नो गाउँ फर्किएका छन् र अरु बाँकी पनि आफ्नो घर फर्किने अवसरको पर्खाइमा छन् । विदेशबाट स्वदेश तथा स्वदेशका शहरबाट आफ्नै गाउँघर फर्कनेहरुको घुइचो नै चलेको छ । यी मानिसहरु कहिलेसम्म गाउँमा यसरी बस्ने हुन् यो अहिले नै यकिन गर्न सकिने अवस्था छैन । तर विश्व स्वास्थ्य संगठन लगायत विभिन्न राष्ट्रहरुले गरेका अध्ययन र अनुसन्धानहरुले छिटो सफलता प्राप्त गरेपनि कोरोनाको औषधी वा भ्याक्सिन बन्न अझै पाँच÷छ महिना लाग्ने बताइएको छ । यसले अहिलेको हाम्रो सामाजिक परिवेश कम्तिमा पनि छ महिनादेखि एक वर्ष अहिलेकै अवस्थाबाट गुज्रने निश्चित प्रायः छ । 

विश्वमा आउने ठूलाठूला घटना-दुर्घटना, युद्ध तथा महामारीले विश्वकै सामाजिक परिवेशमा आमूल परिवर्तन ल्याउने गरेका छन् । ती घटना पछि विश्व सामाजिक परिवेशमा नयाँ संस्कार, मान्यता र व्यवहारहरु प्रचलनमा आउने स्वाभाविक प्रकृया नै हो । कोरोना भाइरससँगै पनि धेरै नयाँ नयाँ सामाजिक परिवेशहरु विकास भएका छन् । मानिस–मानिसबीचको संसर्गबाट एकअर्कामा सर्ने हुनाले अहिले मानिसहरु एकअर्काबाट टाढा रहेका छन् । उनीहरुको सामाजिक व्यवहारमा पूर्णतः परिवर्तन आएको छ । मानिहरु भेट्दा हात मिलाउने, अंगालो हाल्ने, चुम्बन गर्ने जस्ता व्यवहारहरु पूर्णरुपमा बन्द गरिएको छ भने सामाजिक दुरि कायम राखी नमस्कार गर्ने तथा मास्क तथा अन्य व्यक्तिगत सुरक्षा उपकरणहरु लगाएर बस्ने जस्ता सामाजिक संस्कारहरु विकास भएका छन् । अहिले मानिसहरु भेला हुने रमाइलो गर्ने भन्दा पनि सामाजिक दुरिकायम हुने गरि सोसल मिडिया, मोबाइल तथा अन्य माध्यमबाट एकआपसमा सम्पर्कमा रहने गरेका छन् । यी मध्ये धेरै नयाँ मान्यताले माहामारीको बेलामा मात्र होइन माहामारी पछि पनि निरन्तरता पाउने छन् । यसले हाम्रो सामाजिक मूल्य र मान्यतामा नयाँ व्यवहार ल्याउने छ ।

चुनौति र परिवर्तनको अवसर

भनिन्छ हरेक चुनौति एउटा महत्वपूर्ण अवसर पनि हो । त्यसैले यो माहामारीलाई पनि एउटा अवसरको रुपमा लिन सकिन्छ । विश्वका विकसित र सभ्य भनिने देशहरु अहिले कोरोना माहामारीका कारण थलाथला परेका छन् । सारा संसारलाई राज गरेको अमेरिका र आदिम सभ्यताको धरोहर भनिने इटालीलगायत धेरै युरोपेली देशहरु अहिलेको माहामारीबाट सबैभन्दा धेरै पीडित छन् । यसले उनीहरुको भौतिक विकास, सामाजिक आचरण र आदर्शलाई चुनौति नै दिएको छ र हामीलाई एकपटक एकाग्र भएर सोच्न बाध्य पारेको छ,  के यी देश र यस्तै हो हाम्रो विकासको आदर्श मोडल ? विकसित देशमा भएको अहिलेको हताहत र उनीहरुको भौतिक विकास, जीवनशैली, खानपिन र रहनसहनमा केही तादम्यता छ ?

अवश्य पनि विकसित भनिने देशको अहिलेको भौतिक विकास, जीवनशैली, खानपिन र रहनसहन अहिले त्यहाँ भएको ठूलो मानवीय क्षतिको एक प्रमुख कारक हो । शहरीया बसोबास, आफ्नो शरीरको ख्याल नराखी पैसाको पछाडि दौड्ने र पैसा नै सबथोक ठान्ने पुँजीवादी सोँच, बोयलर कुखुराजस्तो जीवनशैली सबै यसका कारक हुन् । आपसमा भेट्दा अंगालो हाल्ने, चुम्बन गर्ने तथा एकआपसमा जुठो नबार्ने उनीहरुको सामाजिक संस्कार रोग संक्रमणको प्रमुख कारण बन्यो भने उनीहरुको एैयासी जीवनशैली र रोग प्रतिरोधात्मक क्षमताको हस गराउने जंकफुड भनिने अस्वस्थकर खानपिनको व्यवहार हताहतको प्रमुख कारक बन्यो । 

त्यस्तै विकसित देशमा नागरिक स्वतन्त्रताको नाममा राज्यले माहामारीको नियन्त्रण र रोकथामका लागि लगाएको लकडाउनको निर्देशन पालना नहुनु र नागरिकहरु स्वतन्त्रताको नाममा छाडा भएर सडकमा निस्कनु पनि रोग संक्रमण र हताहतीको अर्को कारण रहन गयो । यसको विपरित विकासोन्मुख तथा गरिब भनिने देशमा नागरिकहरु राज्यको निर्देशन पालना गर्दै पूर्णरुपमा अनुशासित रहनाले रोग संक्रमण बढ्न पाएन ।  

यसरी सर्सर्ति हेर्दा अहिलेको माहामारीले पूर्वीय जीवनशैली र सभ्यतालाई प्रश्रय दिँदा आफ्नो देश र जनतालाई संरक्षण गर्न सकिने पाठ सिकाएको छ । पूर्वीय सभ्यतामा व्यवहारमा रहेका गाउँले जीवन, कृषिमा निर्भर अर्थतन्त्र, श्रम र उत्पादनसँग जोडिएको जीवनशैली, स्वस्थ, ताजा र स्वच्छ आहारविहारले मानिसलाई भौतिक रुपमा स्वस्थ र बलियोमात्र बनाउँदैन उसको रोग प्रतिरोगी क्षमता र आत्मबल समेत उच्च राख्ने गरेको तथ्य हालसम्म देशमा देखिएको कोरोना संक्रमण र निको भई घर फर्किएका व्यक्तिहरुबाट प्रष्ट हुन्छ । यो माहामारीले एकपटक हाम्रो पूर्वीय सभ्यता र जीवनशैलीलाई पुनःउत्थानको उपर्युक्त अवसर पनि प्रदान गरेको हो कि ?