सर्वदलीय सरकार वा संयन्त्र जरुरी छैन, काँग्रेसलाई अहिल्यै सत्ता चाहिएको छैन – डा मीनेन्द्र रिजाल

  

नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं सांसद डा मीनेन्द्र रिजालले वर्तमान केपी ओली नेतृत्वकै सरकारलाई काम गर्न दिनुपर्ने बताएका छन् । नेपाली काँग्रेसका केही नेताले सर्वदलीय सरकार गठन हुनुपर्ने र नेकपाको सत्तारुढ नेताहरुले नै कोरोना भाइरससँग सम्बन्धित विषयलाई सम्बोधन गर्न सर्वदलीय वा सर्वपक्षीय संयन्त्र वा समिति बनाउन गरिएको आग्रहप्रति नेता रिजालले विमती राखेका छन् ।

कोरोनाको संक्रमण रोक्न सरकारले चालेका कदमहरुलाई प्रमुख प्रतिपक्षी दलको नेताको हिसाबले कस्तो देख्नु भएको छ ?

मुलुकलाई लकडाउनमा राखिएको धेरै दिन बितिसकेकाले अब टिप्पणी गरिराख्नु पर्ने केही छैन । पहिले शुरुमा सरकारले असाध्यै ढिलो गरेको थियो । ढिलो नगरौं भनेर मैले पनि तातो लगाएँ, सबैतिर फोन गरें । यसो नगरौं अप्ठ्यारो पर्छ भनेर सबैतिर भनेको थिएँ । एसइइको जाँच पनि गर्ने, पर्यटन वर्षका कार्यक्रम जारी राख्ने भनिएको थियो । यी कामहरु रोक्न काँग्रेसले दबाब पनि दिनु परेको थियो । अहिले लामै समयदेखि लकडाउन छ, तैपनि आम नागरिकलाई हामीले अभ्यस्त बनाउन सकेका छैनौं । केही ठाउँमा प्रभावकारी हुन नसकेको देखिन्छ ।

मैले शुरुदेखि नै भन्दै आएको थिएँ । यो भाइरसको संक्रमण चाँडै फैलिन्छ । मैले एउटा प्रयोगका बारेमा पनि सुनाएको थिएँ । एकबाट तीन, तीनबाट नौ, नौबाट २७, २७ बाट ८१, ८१ बाट २४३ हुन्छ भनेको थिएँ । पहिलो, यो गुणनफलको रुपमा फैलिन्छ । दोस्रो, हामीले खासै चर्चा नगरेको तर पहिलो छ दिनसम्म बिरामीले कुनै लक्षण नै थाहा पाउँदैन । हाम्रो समाजमा व्याप्त सोच के छ भने म बिरामी नै छैन, मलाई केही भएकै छैन, स्वस्थ छु । अर्को, सय जना बिरामीमध्ये ३० जनालाई एउटा पनि लक्षण नदेखिकन, बिरामी छु भन्ने थाहा समेत नपाइकन ठीक भइसकेको हुन्छ । अर्को ५० प्रतिशतलाई सामान्य रुघाखोकी लाग्छ । अर्थात् १०० मा २० जना मात्र अस्पताल पुग्नुपर्ने अवस्था हुन्छ । त्यसैले आफूलाई थाहा नभइकन अरुलाई सार्ने खतरा रहेकाले यसबारेको जनचेतना फैल्याउन जरुरी छ ।

मैले कोरोनाको यस तथ्यका बारेमा धेरैलाई भनें, केही नलागेर सामाजिक संजालमा पनि लेखें । त्यसैले यो चेतना फैलाउने काम गर्नु पर्छ । यो काम सँगसँगै गरियो भनेमात्र लकडाउन अलिकति प्रभावकारी हुन्छ । नत्र त लकडाउनका कतिपय कमीकमजोरी त हामी सबैले देखेकै छौं ।

अब सरकारले चाल्नुपर्ने कदम के देख्नुहुन्छ ?

अहिले एक्लो सरकार छैन । केन्द्रमा मात्र सरकार छैन । हामी संघीय मुलुक हौं । देशभर ७५३ वटा गाउँपालिका, नगरपालिका छन्, ६७४३ वटा वडामा सरकार छन् । यी सरकारले चेतनामूलक कार्यहरुलाई तिब्र बनाउनु पर्दछ । दोस्रो, संक्रमण फैलिएको अवस्थामा त्यसको व्यवस्थापन कसरी गर्ने भन्ने ठूलो चुनौती छ । संक्रमित मानिसहरु चाँडोभन्दा चाँडो पत्ता लगाउन के गर्ने ? हामीसँग रहेका स्वास्थ्य उपकरणले शरीरमा एन्टीबडी मात्र छ कि शरीरमा संक्रमण पनि छ भन्ने छुट्याउनु पर्ने हुन्छ । तर हामीसँग भएका उपकरणले ढिलो नतिजा दिइरहेका छन्, र मानिसले थाहा नपाइकन अरुलाई संक्रमित गरिरहेका हुन्छौं । त्यसैले यतिका दिन भइसक्यो, ढिलो भयो । सस्तो उपकरणका बारेमा घोटाला भयो भनेर त्यत्रो ठूलो चर्चा भयो । स्वास्थ्य उपकरण जति उपलब्ध गराउनुपर्ने त्यति सरकारले गर्न सकेको छैन । केन्द्रको सरकारले उपकरण ल्याउने, नीति बनाउने, लजिस्टिकको जिम्मा लिने र तलको सरकारलाई ती कामहरु कार्यान्वयन गर्न मद्दत गर्ने हो । नत्र भने हामीलाई अझ कठिनाई हुन्छ ।

साथै, स्वास्थ्यकर्मीहरु, सुरक्षाकर्मीहरु, सरसफाईमा काम गर्नेहरु सबैलाई प्रोटेक्टिभ सामग्री (पिपिई) चाहिन्छ । यी सबै काम गर्न सकिएको छैन । यति लामो लकडाउन गर्ने भनेपछि अत्यावश्यक सामग्रीको आपूर्ति गर्ने स्पष्ट र सुरक्षित योजना सरकारसँग हुनु पर्दछ । सरकार यसतर्फ जति तयार हुनुपर्ने त्यति भएको देखिएन । हामीले सानो गल्ती गर्दा इटाली, न्यूयोर्कमा जस्तो परिस्थिति उत्पन्न हुन सक्दछ जहाँ धेरै चिकित्सक र स्वास्थ्यकर्मीको ज्यान गयो ।
तेस्रो, संक्रमण फैलिएन भने ठीकै भयो, तर संक्रमण फैलियो भने उपचारका लागि १०० मा २० जना मानिस अस्पतालमा भर्ना हुनु पर्दछ । अझ, तीमध्ये १० जनालाई भेन्टिलेटर पनि चाहिने हुन सक्छ । विकसित मुलुकमा त यसको अभाव छ भने नेपालमा यो पर्याप्त हुने अवस्था नै छैन । त्यसैले यो अवस्थामा पुग्नै नदिने कार्यहरुमा ढिलाई भयो भने अप्ठ्यारो परिस्थिति उत्पन्न हुन्छ । त्यसैले सरकारले सक्रिय (प्रोएक्टिभ) भएर, सरकारको सबैभन्दा माथिको तहको मान्छेले नै ढाढस दिएर यो कहरबाट उम्कन सक्छौं भन्नेतर्फ आत्मविश्वास जगाउनु पर्छ ।

माथिल्लो तहको सरकारबाट काम हुन्न, हामी अहिले प्रतिपक्षमा छौं, तर सरकारमा नै भएपनि हामीले सक्ने थिएनौं । हामी शौभाग्यशाली छौं, घरगाउँसम्म पुगेको सरकार हामीसँग अहिले छ । जनप्रतिनिधिहरु हुनुहुन्छ, सबै पार्टीको त्यहाँ प्रतिनिधित्व छ । त्यो तहमा सबैलाई प्रयोग गरौं । उहाँहरुले नै घरगाउँमा सूचना पु–याउन सक्नुहुन्छ, लकडाउन प्रभावकारी छ छैन भन्ने भन्न सक्नु हुन्छ । उहाँहरुले नै बाहिरबाट कोही आएको छ छैन भन्ने भन्न सक्नुहुन्छ ।

हामीले अहिले गर्ने भनेकै संक्रमणको विस्तारमा जतिसक्दो ढिलाई गर्ने हो । यसो गर्दा अन्य देशका स्रोतसाधन नेपालमा ल्याउन सक्ने सम्भावना बढ्छ ।

सरकारका तर्फबाट अघि सारिएका राहतका प्याकेजप्रति यहाँको धारणा के छ ?

तत्काल राहतको कार्यलाई प्रभावकारी बनाउन र अनुगमनको कार्यमा स्थानीय सरकारहरुलाई नै बढी जिम्मेवार बनाउनु जरुरी छ । अर्कोतर्फ, अर्थतन्त्रको रिकभरीको कुरा पनि छ । आज नै अर्थतन्त्र तल परिसकेको छ, उद्योग धन्धा बन्द छ । दैनिक रोजगारीमा काम गर्नेहरुलाई साँझबिहान के खाने भन्ने समस्या छ । हेरौं न, पर्यटन क्षेत्र अस्तव्यस्त भयो । पर्यटक तत्काल आउन सक्ने अवस्था हुन्न । अर्को सिजनसम्ममा पर्यटन क्षेत्रमा कस्तो तयारी गर्न सकिएला ? पर्यटन क्षेत्रमा रहेका मानिसलाई त्यही पेशामा टिकाइराख्न कस्ता योजना अघि सार्नुपर्ला, सरकारले समयमै सोच्नु पर्छ । अर्को, हाम्रो कूल राष्ट्रिय आम्दानीको झण्डै २० प्रतिशत अर्थात कूल गार्हस्थ्य उत्पादनको झण्डै २५ प्रतिशत विप्रेषणबाट आउँछ । खाडी क्षेत्रबाट यो आम्दानीमा कमी आउने देखिन्छ । यो आम्दानीमा कमी आउनासाथ आयात घट्छ, भन्सार कम हुन्छ, राजश्व कम उठ्छ । त्यसैले हामीले बलियो रिकभरीको प्याकेज ल्याउनु पर्दछ । हामीसँग असंगठित क्षेत्रमा काम गर्ने मानिस बढी भएकाले उनीहरुलाई प्रत्यक्ष सम्बोधन गर्नेतर्फ ध्यान जानु पर्दछ ।

तेस्रो, अब हामीले नीतिगत सुधार गर्नु पर्दछ । यो समय हामीलाई अवसर पनि हो । स्वास्थ्य, शिक्षा, कृषि र पूर्वाधार निर्माणका क्षेत्रमा व्यापक सुधार गर्न सकिन्छ । हामीसँग रहेको साधन, जनशक्तिलाई पूर्वाधारका क्षेत्रमा काममा लगाउन सकिए राम्रो ।

सन् १९३० को दशकको व्यापक मन्दीले विश्वमा नयाँ परिस्थिति सिर्जना गरेको कुरा पनि यहाँ स्मरण गरौं । अमेरिकामा फ्रान्कलिन डी रुजभेल्टले न्यू डिल योजना अघि सारे । आर्थिक कठिनाईसँग जुधेका युरोपेली मुलुकमध्ये जर्मनीमा हिटलर जन्मियो, इटालीमा मुसोलिनी जन्मियो, स्पेनमा फ्रान्को जन्मायो । यस्तो परिस्थितिमा देखिने हो, शासकहरुको ध्यान चुनौतीबाट अवसरमा जाने हुन्छ कि त्यसको ठीक विपरीत हुन्छ ?

अहिले सर्वदलीय सरकार वा सर्वदलीय, सर्वपक्षीय संयन्त्रको आवश्यकता छ ?

कसले के भने मलाई थाहा छैन, भनेको होइन भन्ने पनि आएको छ । मेरो व्यक्तिगत धारणा । पहिलो कुरा, सरकार यही हो, यही सरकारले काम गर्ने हो । नेपाली काँग्रेसलाई अघिल्लो चुनावमा जनताले विपक्षमा बस्नका लागि म्यान्डेट दिएका हुन् । हामीले बलियो, सशक्त प्रतिपक्षको रुपमा काम गर्यौं भने पार्टी पनि पुनर्जागृत हुनेछ, पार्टीलाई बलियो बनाउन सक्छौं, र आउने दिनमा जनताले हामीलाई सत्तामा पु–याउने छन् । त्यसैले जनताको हातबाट, जनताको मतबाट सत्तामा पुग्ने हो । सत्तामा जान अहिल्यै हतारो गर्नुपर्ने देख्दिनँ । अब सत्तारुढ पार्टीकै बीचमा पनि के संयन्त्र बनाउने भन्ने बारेमा कुरा भएको सुन्दैछु । हामीमा यो संयन्त्र बनाउने, समिति बनाउने, बैठक गर्ने, छलफल गर्ने काम धेरै हुन्छ । यतातर्फ भन्दा सरकार छ, सरकारलाई जे सहयोग चाहिन्छ हामी सहयोग गर्न तयार छौं, हामी कसैले पनि सहयोग गरौं । सरकारले त्यो सहयोग गर्ने वातावरण निर्माण गरोस् । सरकारमाथि पनि कडा, बलियो दबाब दिनेगरी आलोचना पनि गरौं ।

स्वास्थ्य उपकरण खरिद गर्ने विषयमा छानबिन हुन्छ । बदमासी गर्ने मान्छेहरुले भोलि यसको मूल्य चुकाउनु पर्ने हुन्छ । तर आज देशमा कोरोनाको कहरबाट बाहिर निस्कौं । अहिले पनि जुनजुन एजेन्सीहरु जस्तै अख्तियारले काम गर्नु पर्ने हो गरुन् । जहाँ तलमाथि हुन्छ, त्यहाँ बलियो दबाब दिने, जहाँ अहिले सच्याउनु पर्ने सच्याउने, जहाँ पछि दण्डित गर्नु पर्ने त्यहाँ पछि दण्डित गर्ने हो । तर अहिले सरकारले काम गरोस् । तर सरकार भनेको एउटा मात्र सरकार छैन । सातवटा प्रदेशमा सरकार छ, ७७ जिल्लामा छ ।

अहिले सम्पूर्ण नेपालीको अभिभावक प्रधानमन्त्री हो । मेरो आग्रह छ, तपाईं अलि बढी शालीन हुनुहोस् । प्रतिरक्षा भन्दा पनि प्रोएक्टिभ भएर काम गर्नुहोस् । सहयोगको भावना राख्नुहोस् । त्यसले मद्दत गर्दछ । यहाँ कसैको घमण्ड पूरा गर्ने बेला होइन, जनतालाई जोगाउने बेला छ । (नेपाल टेलिभिजनका लागि बबिन शर्माले मंगलबार लिएको अन्तर्वार्ताको सम्पादित अंश)