घरखेतमात्र बगाएन, जीवन समेत खोस्यो: सुस्ताबासी

  

काठमाडौं । आधा शताब्दी भयो, सुस्तामा बस्ती बसेको । ०२२ सालमा आइपुगेका पाँच सयभन्दा बढी परिवारले सुस्ताको घना जंगललाई आवाद गराए । युगौँदेखिको बाँझो भूमिलाई तिनै परिवारले ऊर्वर बनाए । बालीनाली लगाएर हराभरा पारे । सुस्तामा आइपुग्ने पहिलो पुस्ताले निर्जन भूमिमा समाज बसायो । त्यसयताका चार पुस्ताले सम्पूर्ण जीवन सुस्तामै बिताएर यसलाई एउटा जीवन्त बस्ती बनाउन मिहिनेत गरिरहे । तर, यो नयाँ बस्तीको जीवनकथामा अनेक हन्डर ठक्करहरू जोडिएका छन् ।

आजसम्म आइपुग्दा यो सीमान्त बस्ती आफैँमा सास्तीको अर्को नाम भएको छ । नारायणी नदीमा गण्डक बाँध बनेपछि साँधमा अवस्थित यो भूमिका बासिन्दाले अनेकपटक अनेक दुःख झेलिरहेका छन् । ०२२ सालमा राजा महेन्द्रले बस्ती बसाउने भएपछि विभिन्न ठाउँबाट फरक–फरक रहनसहन भएका परिवारहरू सुस्ता आइपुगेका थिए । किशोर गुरुङले बसाइँ आइपुगेका ती पाँच सय परिवारको नेतृत्व गरेका थिए । उनकै नेतृत्वमा सुस्ताको जंगल क्षेत्रलाई आवाद गरिएको थियो । यहाँ आइपुग्नेमध्ये भूपू–सैनिकहरूको संख्या उल्लेख्य थियो ।

विभिन्न जातजाति, धर्म, संस्कृतिका मानिसलाई सरकारी तवरबाटै जग्गा उपलब्ध गराइएको थियो । सरकार चाहन्थ्यो– साँधछेउ बस्ती बसाएर देशको सीमारक्षा हुन्छ । यहाँ आइपुग्नेहरूलाई पनि लागेको थियो– सुस्ता आवादीले उनीहरूको जिन्दगीका अप्ठ्याराहरूलाई सहज बनाइदिनेछ । तराईकै आदिवासी थारू, पहाडीमूलका दलित तथा जनजातिलगायतको समुदाय मिश्रित ढंगले यहाँ बसोबास गर्न थालेको थियो । बस्ती बसेसँगै सुनसान सुस्तामा मान्छेहरूको चहलपहल र आउजाउ बढ्दै गयो ।

०२२ सालमा आफ्नो परिवारसँगै नवलपरासीको पक्लिहवाबाट ११ वर्षको उमेरमा सुस्ता आइपुगेका बुद्धु खटिक भन्छन्, ‘यहाँ कस्तो रमाइलो हुन्थ्यो । घरैघर थिए । बजार थियो । सुस्ता त सहरैजस्तो पो थियो  ’ गाउँमै निम्न माध्यमिक तहसम्म पढाइ हुन्थ्यो । चिठी आदान–प्रदान गर्न हुलाक कार्यालय थियो । जनताको जिउधनको सुरक्षा गर्न प्रहरी पनि राखिएको थियो । प्रशासनिक र राजनीतिक इकाइका रूपमा सुस्ता गाउँ पञ्चायत थियो । ठूलो हाटबजार लाग्थ्यो । मान्छेहरू आफ्नो उब्जनी लगेर त्यहीँ बेच्थे र आवश्यक सामान किन्थे ।

भारतीय नागरिकहरूसमेत बजार भर्न सुस्ता आउने गरेको अनुभव सुनाउँछन्, खटिक । भन्छन्, ‘उनीहरू आफ्नो सामान पनि बेच्न ल्याउँथे । यहाँ हाम्रा गाउँलेले बेच्न राखेका सामानहरू किन्थे ।’ ०२२ सालदेखि नै सुस्तामा बस्दै आएका रामज्ञा मुसहरलाई पनि भारतीय नागरिक आफ्नो गाउँकै बजारमा किनमेल गर्न आउने गरेको सम्झना छ । ‘म दुई वर्षको हुँदा बुवाआमासँग यहाँ आएको हुँ, नवलपरासीको पक्लिहवाबाट ।

सानै भएकाले सुरुका वर्षहरूको याद छैन, तर पछिसम्म उनीहरू बजारमा आउने गरेको सम्झन्छु,’ उनी भन्छन्, ‘धान, मकै, गहुँ, तरकारी, नुन, मसलाहरू किनबेच हुन्थ्यो ।’ सुस्ता गाउँ पञ्चायतमा नौवटा वडा थिए । ०३१ सालमा यहाँका स्थानीयलाई सरकारले लालपुर्जा दिएको थियो । हुन त ०२७ सालमै लालपुर्जा दिने भनेर नापी कर्मचारी पुगेका थिए । तर, नापी विभागका कर्मचारीलाई भारतीय पुलिस प्रशासनले पक्राउ ग(यो र बेतिया जेलमा हालिदियो । १ वर्षपछि नेपाल–भारतको ‘को–अपरेसन’ मिटिङ बस्यो र ०२९ सालमा सुस्ताको जग्गा नापी भयो ।

सुस्ता गाउँ अघिल्तिरको नारायणी नदीको बहाव अहिलेजस्तो थिएन । मान्छे तर्न सक्थे, डुंगाको आवश्यकता नै पर्दैनथ्यो । मुसहर भन्छन्, ‘हाम्रो बुवाले खोला तरेरै गाईवस्तु चराउन ल्याउनुहुन्थ्यो रे । अहिलेको नारायणीमा साना–साना २ वटा भँगाला थिए रे । हुन त नारायणी नदी पछिसम्म पनि सानै थियो । बिस्तार–बिस्तार बढेर अहिले अथाहा भयो ।’ नारायणी नदीको किनारामा ठूलो गौचरन थियो । स्थानीयहरू सबैले गाईवस्तु पाल्थे र चराउनलाई नारायणी नदी किनारको गौचरन लैजान्थे । मुसहर भन्छन्, ‘अहिले हामी बसिरहेको ठाउँ पहिला गौचरन थियो । मान्छेहरू पहिला बस्ने गरेको नम्बरी जग्गा त अहिले भारतले अतिक्रमण गरिसकेको छ । केही त नदीले पनि काट्यो ।’

डुंगामा पार गर्न अहिले झन्डै आधा घन्टा लाग्ने नारायणी त्यतिवेला एकदमै सानो खोलो थियो । गण्डक ब्यारेज बनेपछि नारायणीले सुस्तालाई पीडा दिए पनि सुस्तावासी आत्तिएका थिएनन् । गाउँमा थोरबहुत सेवासुविधा उपलब्ध थियो । दुःखसुख साट्न मान्छेहरू थिए । ०३४ मा नारायणीमा उर्लिएको बाढीले सुस्ताको खुसी बगायो । ९ वडामा फैलिएको सुस्ता सोत्तर भयो । मुसहर ती दिन सम्झिन्छन्, ‘खेतको मकै घरमा ल्याउँदै थियौँ । ठूलो पानी पर्यो । एकैछिनमा बाढी उर्लिएर आयो । हामी त घरको छानोमा चढेर बाँच्यौँ । बाढी कम भएपछि डुंगा चढेर ठाँडीघाट गयौँ ।’

नारायणीको बाढीले मुसहर परिवारका ६० वटा त गाइगोरु नै बगायो । २५ वटा बाख्रा थिए, ती पनि लग्यो । घर र खेतभरि थुपारिएको मकै पनि खोलाले बगायो । मुसहर परिवारको मात्र हैन, बाढीले सारा गाउँलेको जायजेथा नै बगायो । सुस्ताका बासिन्दा खोलावारिको नेपाल आए । सरकारले रासन, लत्ताकपडा दियो । बाढीपीडितहरूले नजिकैको केउलानी, पर्सैया, ठटियातिर जंगल फाँडे । जग्गा पाइने आशाले दिनरात नभनी बाढीपीडितले जंगल फँडानी गरे । तर, नागरिकता हुनेले मात्रै जग्गा पाए । नहुनेको बसोबास बिचल्ली भयो । जग्गा नपाउनेहरू पुनः सुस्ता फर्किन बाध्य भए ।

मुसहर भन्छन्, ‘सुरुमा हामी ३५ घर फर्किएका थियौँ । अहिले त बढेर २६६ घर पुगिसकेका छौँ ।’ पुरानो चहलपहलसहितको सुस्ता सखाप बनिसकेको थियो । उब्जाउ जग्गा बालुवाले ढाकेको थियो । त्यहीँ मान्छेहरूले सानातिना झुप्रा बनाए । तरकारी उब्जाए । पहिलाजस्तो उब्जनी हुँदैनथ्यो । उब्जिएको तरकारी बेच्न उनीहरू भारतका बजार जान थाले ।सुस्तामा बिस्तारै बिस्तारै मान्छेहरू थपिन थाले । पहिलाजस्तो नभए पनि एउटा गाउँ तयार भयो । ०३६ सालको चुनावअघि सुस्तालाई त्रिवेणीमा लगेर गाभियो । सुस्तालाई ४ नम्बर बनाएर त्रिवेणी–सुस्ता गाउँ पञ्चायत निर्माण गरियो ।

पहिलेका सेवासुविधाहरू केही पनि भएनन्, सुस्तासँग । न बजार थियो, न पुलिस । बस्, चकमन्न ठाउँ थियो । त्यसपछिका दिनहरूमा सुस्ताका जनता लामो समयसम्म कहिले बाढी, कहिले भारत त कहिले आफ्नै राज्यबाट पीडित बनिरहे । यो गाउँलाई ०३४ सालपछि पनि बाढीले तनाब दिन छाडेन । सानातिना बाढी गाउँमा पसिरह्यो । खटिक भन्छन्, ‘बाढी त सधैँ पसिरह्यो, तर उठिबासचाहिँ लगाएन ।’०६० चैत्रपछि यो बस्तीले एसएसबीको हैरानी सहनुपर्यो । किनकि, भारतले सुस्ता छेउछाउ एसएसबी खटायो । एसएसबीले दिएको पीडा यहाँका बासिन्दाले निरन्तर सहनुपर्यो ।

एसएसबीले घर–घरमा आएर गाली गथ्र्यो, थर्काउँथ्यो । मुसहर भन्छन्, ‘इन्डियामा आएर किन बसेको भन्दै एसएसबीले घरमै आएर गाली गथ्र्यो । मुख छाडेर मनपरि बोल्थ्यो । हाम्रो गाउँका धेरैले कुटाइसमेत खाएका छन् ।’महिलाहरूलाई हातपात गरेको मुसहरले धेरैपटक देखेका छन् । उनको छोराले पनि एसएसबीको कुटाइ खानुपरेको थियो । ‘बजार गएका वेला मेरो छोरालाई निलडाम रहने गरी कुटेको थियो । आफ्नै जग्गामा हिँड्दासमेत पिटाइ खाइन्थ्यो,’ उनले भने ।

०६२ मा एसएसबीले उखुबारीमै आगो लगाइदिएको घटनाले अहिले पनि सुस्तावासीको मन कुँडिएर आउँछ । ठूलो भूमिमा लगाइएको उखुबारीमा एसएसबीले आगो लगाइदिएको थियो । सुस्ता संघर्ष समितिका अध्यक्ष भन्छन्, ‘मान्छेले कति हैरानी गरेर उखु रोपे, त्यसैबाट आएको कमाइले खानुपथ्र्यो । तर, कलिलै उखुमा उनीहरूले आगो झोसिदिए र सोत्तर बनाइदिए ।’ सुस्तावासीका घरमा आउनु, थर्काउनु भारतीय एसएसबीका लागि सामान्य थियो । आफ्नै भूमिमा घर बनाउँदासमेत एसएसबीले थर्काउने गरेको छ । ४ वर्षअघिको घटना हो, स्थानीय रवीन्द्र जैसवाल आफ्नो जग्गामा घर बनाउँदै थिए ।

भारतीय एसएसबी आएर थर्कायो, ‘विवादित भूमिमा किन घर बनाइस् । जति बनाएको छ, अब भत्का ।’ यस्ता गालीगलौज सुस्तावासीले एसएसबीबाट धेरै नै सुन्नुपरेको विगत सुनाउँछन्, उनी । भन्छन्, ‘हाम्रो आफ्नै भूमिमा जानसमेत एसएसबीको अनुमति लिनुपर्छ ।’ नेपालकै भूमिमा बनाएको कल्भर्टका बारेमा ०७५ भदौमा सुस्तामा एसएसबी र सुस्तावासीबीच ठूलो विवाद भयो । एसएसबीले कल्भर्ट बनाउन बन्द नगरे गोलीले उडाइदिने समेत धम्की दिए । जैसवालले भने, ‘मलाई त उनीहरूले गोलीले उडाइदिने भने ।

तर, मरे पनि कल्भर्ट बनाइछाड्ने बतायौँ हामीले । जहाँ कल्भर्ट बनायौँ त्यो खोला विवादित जग्गा हैन । बरु त्यो नेपालकै भूमि हो । हाम्रो भूमि मिच्दै आउने अनि विवादित भूमि हो भन्ने ?’ ४० हजार ९ सय ८० हेक्टरमा फैलिएको पुरानो सुस्ता अहिले ७ हजार हेक्टरमा मात्रै सीमित भएको छ । अहिले सुस्ताको गाउँबाट १७ किलोमिटर दक्षिणसम्म थियो सुस्ताको सिमाना । तर, अहिले डेढ किलोमिटर परसम्म पनि बाँकी छैन । गुरुङ भन्छन्, ‘अहिले त सीमा स्तम्भ छैन, जंगेपिलर छैन । त्यो बनाउनुपर्छ । हाम्रो माग यही हो ।’

नेपालीकै भूमि भए पनि १९ हजार ९ सय ८० हेक्टर भारतले अतिक्रमण गरिसकेको छ । सुस्तामा ०६३ कात्तिकबाट सेना बस्न थालेपछि भने एसएसबीको ज्यादती कम भएको अनुभव छ, स्थानीयहरूको । नयाँ पत्रिका