नागरिक शिक्षा – News Polar

प्रजातन्त्रमा कस्तो चाहिन्छ नागरिक शिक्षा ?
काठमाडौँ, १७ (रासस): संसारमा धेरैजसो देशहरु प्रजातान्त्रिक शासन प्रणालीका छन् र केही देशहरु प्रजातन्त्रबाहेकका शासन प्रणालीमा छन् । ती देशहरुमा या त एकदलीय शासन छ या त सैनिक शासन छ या त निरङ्कुश राजतन्त्र छ ।

सबै देशहरु आजभोलि आफ्नो शासन प्रणालीलाई जनताका पक्षमा रहेको दाबी गर्दछन् र त्यो नै स्वतन्त्र राज्यको विशेषता हो लोकतान्त्रिक शासन प्रणालीलाई नै नमुना र आदर्श शासन प्रणाली हो भन्छन् । यसले के स्पष्ट पार्छ भने लोकतान्त्रिक शासन प्रणालीको आवश्यकता र स्वीकारोक्ति सबैलाई छ तर आफ्ना आफ्ना स्वार्थका लागि शासकहरुले अप्रजातान्त्रिक व्यवस्था थोपर्छन् र भन्छन् यो नै व्यवस्था प्रजातान्त्रिक हो ।

भिन्न–भिन्न राजनीतिक व्यवस्था भएका देशहरुमा नागरिक शिक्षाको अर्थ र क्षेत्र पनि फरक–फरक हुनसक्छ । खुला राजनीतिक र प्रजातान्त्रिक व्यवस्था भएका देशहरुमा जुन–जुन जानकारीहरुलाई नागरिक शिक्षाको आवश्यक तत्व मानिन्छ, ती तत्वहरु निरङ्कुश शासन प्रणालीमा बर्जित गरिएको हुनसक्छ । बहुलवादी समाज र बहुदलीय व्यवस्था भएको देशमा प्रजातन्त्रका आवश्यक तत्वहरु, राजनीतिक दलहरुको अधिकार, काम कर्तव्य र विधिको शासन नागरिक शिक्षाको अङ्ग हुनसक्छ भने निरङ्कुश वा एकदलीय वा निर्दलीय शासन प्रणाली भएका देशहरुमा त्यस्तो शिक्षामाथि प्रतिबन्ध लागेको हुनसक्छ ।

प्रजातन्त्र वा लोकतन्त्र भएका देशमा नागरिक शिक्षाले स्वशासन, सुशासन र नागरिकले आधारभूत तर जान्नै पर्ने कुराहरु भनेर बुझिन्छ । नागरिकहरुले आफ्नो पहिचान थाहा पाउने र आफ्नै शासनका लागि सक्रिय रुपमा भाग लिन दिइने शिक्षा भएकाले नै नागरिक शिक्षा नाम दिइएको हो ।

प्रजातान्त्रिक बहुलवादी समाजमा प्रत्येक नागरिक सक्रिय सदस्यको रुपमा हुन्छ । प्रजातान्त्रिक समाजमा प्रत्येक नागरिक आफनो अधिकार र कर्तव्यमा सजग हुनुपर्छ । त्यस्तो सजगता सदस्यको सक्रिय सहभागिताले मात्र सम्भव छ । नागरिकको सक्रिय सहभागिताले मात्र नागरिकमा समालोचनात्मक चेत पलाएको हुन्छ । नागरिक शिक्षा भनेको नागरिकलाई दिइने त्यस्तो शिक्षा हो जसले नागरिकलाई असल बन्न सघाउँछ । यसले हरेक नागरिकलाई आपसमा मिलेर बस्न सिकाउँछ, हामी सबैलाई एउटै समाजका सदस्यहरु हौँ भनेर सिकाउँछ र विश्व नै एउटा परिवार हो भन्ने शिक्षा प्रदान गर्दछ ।

हाम्रो पूर्वीय मान्यतामा सम्पूर्ण पृथ्वीलाई नै एउटै परिवार हो भनिन्छ– वसुधैव कुटुम्बकम् । राज्य र समाजका प्रत्येक कार्यमा नागरिकको सक्रिय सहभागिताको चेतना दिन्छ । हाम्रो प्रत्येक दायित्व बहनमा आफनो व्यक्तिगत स्वार्थ झल्किनुहुँदैन । सबैको हितमा बढी ध्यान दिनुपर्छ भन्ने शिक्षा नागरिक शिक्षाले दिनुपर्छ ।

नागरिक शिक्षाले घरपरिवारमा गर्नुपर्ने कर्तव्य, समाजमा बहन गर्नुपर्ने दायित्व, सडकमा या यात्रामा गर्नुपर्ने कर्तव्य, बजारमा जाँदा पसलमा, पैसाको कारोबार गर्न बैंकमा जाँदा बैंकमा वा एटिएयम बुथमा पालना गर्नुपर्ने कर्तव्य, विद्यालय तथा क्याम्पसमा पूरा गर्नुपर्ने कर्तव्य, एकजना नागरिकले अन्य समाजका सदस्यहरुसँग गर्नुपर्ने व्यवहारको ज्ञान दिएको हुन्छ । समाजमा अपाङ्गता भएका व्यक्तिहरु हुन्छन, ज्येष्ठ नागरिकहरु हुन्छन्, अशक्त व्यक्तिहरु हुन्छन्, तिनीहरुसँग गर्ने व्यवहार सभ्य र सहयोगी हुनुपर्छ । आफूभन्दा सानालाई माया गर्ने र सहयोग गर्ने बानी हुनुपर्छ ।

घरपरिवारमा आफूभन्दा मान्य, आफूसरहका र आफूभन्दा साना व्यक्तिहरु पनि हुन्छन् । सबैलाई श्रद्धाभाव राख्ने र माया गर्ने बानी बसाउनुपर्छ । देशमा भएको शासन व्यवस्थाको बारेमा जान्नुपर्छ । कुनै पनि नागरिकले मलाई प्रचलित कानुन थाहा छैन भन्न पाइँदैन । राज्यको संविधान, प्रचलित कानुन, नियम थाहा हुनुपर्छ । आफ्नो अधिकारको बारेमा पनि सचेत हुनुपर्छ । देशको राष्ट्रियताप्रति सम्मान गर्ने र देशको सुरक्षामा सदैव चनाखो हुनुपर्छ ।

त्यसैले एउटा असल नागरिक हुन नागरिकले थाहा पाउनु जरुरी छ–नागरिक शिक्षा किन आवश्यक छ ?, नागरिकका लागि प्रजातन्त्र र मानव अधिकार किन आवश्यक छ र ती किन एकअर्काका लागि अभिन्न अङ्गहरु हुन् ?, राज्यद्वारा, समाजमा र परिवारमा, विद्यालयमा, क्याम्पस वा विश्वविद्यालयहरुमा सामाजिक न्याय कसरी प्राप्त हुन्छ ? कस्तो सामाजिक न्यायको अभ्यास गरिएको छ ? भन्ने प्रश्नहरुको जवाफ पाउन सकिन्छ । त्यस्तै कानुनी राज्यको सम्मान कसरी हुनसक्छ ? विधिको शासनमा कसरी कानुनको पालना गरिन्छ ?, राज्य र सरकार कसरी सञ्चालन भइरहेका छन् ?, मुलुकको इतिहास, भूगोल र राजनीतिक विकासक्रम कस्तो रह्यो ? अहिले कुन अवस्थामा छ ?, विश्व परिवेशमा आफ्नो अवस्था कस्तो छ ?, देशको सामाजिक, आर्थिक तथा सांस्कृतिक अवस्था कस्तो छ ? भन्नेलगायतका प्रश्नहरुका बारेमा पनि नागरिक शिक्षाबाट जानकारी पाउन सकिन्छ ।

नागरिकको पहिलो पाठशाला घरपरिवार

कुनै पनि नागरिकको सामािजक चालचलन र जीवनका लागि आवश्यक सीप भनेर सिकाइने नागरिक शिक्षाको पहिलो पाठशाला घर परिवार हो । त्यही समानता, सद्भाव र मिलेर बस्ने शिक्षाको प्रारम्भ हुन्छ, त्यसैले जीवनको पहिलो गुरु आमालाई मानिन्छ । त्यसपछि सामाजिक व्यवहारका बारेमा किनभने समाज जीवनको अर्को पाठशाला हो ।यसलाई विद्यालय भनेर औपचारिक मान्यता दिएका छौँ, त्यो विद्यालय आफैँ जीवनको पहिलो औपचारिक पाठशाला हो जसले समाजमा के गर्नुपर्छ, कसरी सीप सिक्ने र बाँच्न सक्ने भन्ने हुन्छ । समस्यासँग जुधेर समाधान गर्दै अरुको हित गर्न सकिन्छ र आफू जीवन सहज बनाउन सकिन्छ भन्नेकुरा विभिन्न विज्ञ र अनुभवी गुरुहरुबाट जान्न सकिन्छ ।

नागरिक शिक्षाको महत्व

हरेक नयाँ पुस्ता नयाँ नागरिक भएकाले उनीहरुलाई उनीहरुको व्यक्तिगत र सार्वजनिक आवश्यकताका बारेमा जानकारी दिनु आवश्यक छ । व्यक्तिगत तथा सार्वजनिक जीवनका आवश्यक गुणहरुको सिकाइ निरन्तर प्रक्रिया हो । प्रजातन्त्र खुला तथा स्वतन्त्र समाजको परिणाम भएकाले यस्तो समाजको प्रभावकारितामा नै लोकतन्त्रका आदर्शहरु सफल हुनेछन् । यसका लागि प्रत्येक नागरिकमा लोकतन्त्रका आधारभूत मूल्य र मान्यताहरुप्रति स्पष्ट प्रतिबद्धता आवश्यक पर्दछ । त्यसैले हरेक नागरिकमा प्रजातन्त्रका आदर्शका वारेमा आधारभूत ज्ञान आवश्यक हुनै पर्दछ । प्रजातन्त्र शासन पद्धतिमात्र होइन, त्यो त एउटा सहनशील संस्कृति र विधिको शासन पनि हो भन्ने कुरामा जोड दिने शिक्षाको आवश्यकता पर्दछ । प्रजातान्त्रिक चेतना नभएको खुला र स्वतन्त्र समाज अराजक भीड हुनजान्छ ।

विभिन्न जाति, भाषा, धर्म र संस्कृति भएको बहुलवादी समाजमा नागरिक शिक्षाको झन बढी महत्व हुन्छ । नागरिक शिक्षाको अभावमा विभिन्न जात, वर्ग र समूहको बीचमा असहिष्णुताको वातावरण सिर्जना हुनसक्छ र जातिगत, धर्मगत र भाषागत विवादले सामाजिक विवाद र आपसमा झगडा हुनसक्छ । नागरिक शिक्षा प्राप्त नागरिकले मात्र सामूहिक हितका बारेमा जानेको हुन्छ र त्यस्ता व्यक्तिले मात्र व्यक्तिको अधिकार र समूहको अधिकार अभ्यासमा योगदान दिनसक्छ । नागरिक शिक्षाको सही जानकारीले मात्र परिवार, समुदाय, समाज, गाउँ, जिल्ला, राष्ट्र र अन्तरराष्ट्रियमा समेत सकारात्मक प्रभाव पर्छ । नागरिक शिक्षाका अङ्गहरुमा मुख्यगरी निम्न तथ्यहरु पर्दछन्ः

नागरिक ज्ञान: आफ्नो देशको भूगोल, इतिहास, संविधान, संविधानमा भएका नागरिक अधिकारहरु—आधारभूत मौलिक हकहरु—जसलाई व्यक्तिको र समूहको अधिकारको रुपमा लिइन्छ, तिनको विस्तृत जानकारी आवश्यक छ । प्रजातन्त्र, मानव अधिकार, अभिव्यक्ति स्वतन्त्रता, आर्थिक—सामाजिक, राजनीतिक तथा सांस्कृतिक अधिकारहरुका बारेमा राष्ट्रिय तथा अन्तरराष्ट्रिय प्रावधानका बारेमा ज्ञान आवश्यक छ । अधिकारका वारेमा जानकारी राख्दा नागरिकका कर्तव्यहरु पनि सँगसँगै आउँछन् ।

राष्ट्रिय र अन्तर्राष्ट्रिय सम्बन्धका बारेमा जानकारी आवश्यक छ । कतिपय यस्ता विषयहरु हुन्छन्, जसलाई अन्तरराष्ट्रिय क्षेत्रमा समेत मान्यता र सम्मान गरिएको हुन्छ । जस्तो कि नेपालको बारेमा जान्नैपर्ने कुराभित्र पर्दछ—संसारको सर्वोच्च शिखर नेपालको सगरमाथा, भगवान बुद्धको जन्मस्थल लुम्बिनी, संसारका हिन्दूहरुका आराध्यदेव पशुपतिनाथ, माता जानकीको जन्मस्थान जनकपुर र नेपालका अन्य विश्वमा प्रख्यात विषयका सम्बन्धमा ज्ञान राख्नु आवश्यक छ । ती आफू बसेको देशका बारेमा गौरवशाली कुराहरु हुन् जसमा नागरिकले गौरव गर्नसक्छ । अरुलाई त्यसबारेमा व्याख्या गर्नसक्छ । मुलुकको शिक्षामा नागरिक शिक्षालाई एकीकृत रुपमा समाहित गर्नुपर्छ, अपरिहार्य रुपमा नागरिक शिक्षालाई नागरिक समक्ष पु¥याउनुपर्छ । यसले नागरिकलाई जानकारीसहित सचेत बनाउँछ र आफ्ना बारेमा, समाजका बारेमा, राष्ट्रका बारेमा सकारात्मक र समालोचनात्मक सोचाइको विकास गर्दै असल नागरिक बनाउन मद्दत गर्दछ ।

नागरिक सीप: त्यसबेला मात्र नागरिक आफ्ना अधिकार र कर्तव्यप्रति सचेत हुन्छ जुनबेलामा नागरिक आफैँमा निर्णय गर्ने क्षमता राख्छ । त्यसका लागि उसले आफनो परिवेशको सम्पूर्ण जानकारी पाउनुपर्छ । आफनो परिवेशका बारेमा किन यस्तो भयो र अब के हुनुपर्छ भन्ने आलोचनात्मक सोच तयार गर्नसक्ने नागरिकले मात्र ठीकलाई ठीक र बेठीकलाई बठीक भन्न सक्छ । आफनो, समाज र देशका लागि आपसमा अन्तक्र्रिया गरेर निर्णय गर्नसक्ने सीपयुक्त नागरिकको आवश्यकता पर्छ । त्यस्तो सीप नागरिकले हासिल गर्नुपर्छ । आफनो, परिवार, समाज र राष्ट्रका बारेमा एउटा नागरिकमा आलोचनात्मक सोचाइको सीप आवश्यक पर्दछ । बाँच्नका लागि आवश्यक सीपको पनि जरुरत पर्दछ । आफनो बलबुतामा बाँच्ने सीप भनेको स्वाभिमानको पक्ष हो । प्रत्येक नागरिकमा एकअर्कासँग गर्ने व्यवहार र देशको राजनीतिक व्यवस्थाका वारेमा निर्णय लिनसक्ने क्षमता हुनुपर्छ । निर्वाचनमा कसलाई मत दिए आफ्नो देशको र समाजको हित हुन्छ भन्ने निर्णय गर्नसक्ने क्षमता पनि नागरिकको सीप हो ।

नागरिक दायित्व : अधिकारसँगै कर्तव्यको पनि प्रसङ्ग स्वतः आउँछ । अधिकार भनेको नागरिक भएबापत राज्यबाट पाउने विशेष सुविधा हो । त्यस्तो सुविधा प्राप्त गर्न नागरिक कर्तव्य पूरा गरेको हुनुपर्छ । जस्तो कि कर तिर्नेले मात्र राज्यको सामाजिक सुरक्षाको सुविधा पाएको हुन्छ । बिमाको रकम तिर्नेले मात्र बिमाको सुविधा पाएको हुन्छ । पानीको, बिजुलीको, फोनको कर तिर्नेलाई मात्र ती चिजहरुको उपयोग गर्न पाउने हक हुन्छ । प्राप्त अधिकारले जुन परिणाम दिएको हुन्छ, त्यसको कार्यान्वयनमा नागरिकको कर्तव्यको सकारात्मक प्रयोगको आवश्यकता हुन्छ । व्यक्तिगत तथा सामूहिक जीवन पद्धतिका साथै मानव मर्यादाको सम्मान गर्ने, नागरिकका गतिविधिहरुमा अर्थपूर्ण र प्रभावकारी तरिकाले सहभागी हुने, प्रजातन्त्रको स्वस्थ विकास गर्ने, जैविक, सामाजिक, वातावरणीय, सांस्कृतिक, भाषिक तथा धार्मिक बहुलताको सम्मान गर्ने आदि दायित्व नागरिकमा रहेको हुन्छ । नागरिक शिक्षामा नागरिक दायित्व वा कर्तव्यलाई नागरिक शिक्षाको एउटा प्रमुख अ¬ङ्गको रुपमा लिइन्छ ।

चरित्र निर्माणः चरित्र निर्माण गर्नु नागरिक शिक्षाको प्रमुख कर्तव्य हो । असल नागरिकले मात्र प्रजातान्त्रिक व्यवस्थालाई सहज तरिकाले अभ्यास गर्नसक्छ । नागरिकलाई चरित्रवान बनाउने शिक्षा नै भएकाले चरित्र निर्माण एउटा अङ्गको रुपमा मानिन्छ । अनुशासित र सचेत नागरिकले मात्र आफनो, परिवारको, समाजको र राष्ट्रको विकास गर्नसक्छ । असल चरित्र भएको नागरिकले मात्र समाजलाई डो¥याउन सक्छ । त्यसैले असल चरित्र निर्माणका लागि नागरिक शिक्षाको आवश्यकता परेको हो । चरित्र निर्माणले नागरिक कर्तव्य पूरा गर्नका लागि नागरिकलाई उत्प्रेरित गर्छ । असल चरित्र भनेको सत्यप्रतिको सम्मान हो । आफूप्रति, परिवारप्रति, समाजप्रति र आफनो परिवेशप्रतिको सकारात्मक सोचाइ निर्माण गर्नु नै चरित्र निर्माण हो । सबै मानवप्रति समान व्यवहार गर्ने क्षमता विकास गर्नु नै चरित्र निर्माण हो । असल चरित्र बिनाको मानिस त समाजका लागि काम नलाग्ने वस्तुजस्तै हुन्छ ।

नागरिक कर्तव्य

एउटा नागरिकले आफू उत्पादनशील भएर राज्यलाई योगदान दिनसक्छ । नागरिक नै त हो उत्पादनशील, उद्यमशील, व्यवसायी हुने, उद्योगपति हुने, श्रमिक भएर उत्पादन गर्न सहयोग गर्ने, कलाकार हुने, साहित्यकार हुन, शिक्षक, प्राध्यापक, प्रहरी, सेना, निजामती सेवाका कर्मचारी, चिकित्सक, इन्जिनियर, सेवाप्रदायक तथा कृषक भएर सबैको सेवा गर्ने । अरुको दुःखमा दुःख नै सम्झेर सबैको सेवा गर्नु र आफूले जानेको कुरा अरुलाई सिकाएर असल नागरिकको कर्तव्य पूरा गर्न सकिन्छ । यसरी सकारात्मक सोच र सहयोगले पनि राज्यलाई योगदान पुग्नसक्छ । प्रजातान्त्रिक समाजमा प्रत्येक नागरिकले आफना कर्तव्यहरु पूरा गर्नुपर्छ । हामीले स्थानीय, प्रादेशिक तथा सङ्घीय व्यवस्थापिकाका लागि आफना प्रतिनिधि निर्वाचित गर्छौं । तिनीहरुले कानुन बनाउँछन । हामीले ती कानुनहरुका बारेमा जान्नैपर्छ । ती कानुनको के असर पर्छ भन्ने जान्नैपर्छ र ती कानुनहरु मान्नुुपर्छ । पदमा रहेकाहरुको कामको र उत्तरदायित्वको आधारमा आदर र सम्मान गर्नुपर्छ । सरकारलाई कर तिर्ने दिन तोकिएको छ भने त्यो बेलासम्म कर चुक्ता गर्नुपर्छ किनभने त्यही कर जम्मा भएर मुलुकको ढुकुटी बन्छ जसबाट जनताका आवश्यकताका लागि खर्च गरिन्छ । मौलिहकहरु अभ्यासका लागि आवश्यक रकम त्यहीँबाट खर्च गर्नुपर्छ किनभने सामाजिक न्यायका लागि समान व्यवहार गर्न पनि सरकारसंग आम्दानी हुनैपर्छ, त्यो आम्दानीको स्रोत भनेको भन्सार कर, आय कर, घरजग्गा कर र मालपोत नै हो ।

देशको संविधान र कानुनको बारेमा जानकारी राख्नैपर्छ किनभने मलाई कानुन थाहा छैन भनेर कानुनले छुट दिँदैन । प्रजातान्त्रिक प्रक्रिया, उदार समाज र समुदायको हितका विषयमा जानकारी राख्नुपर्छ । आफ्नो स्थानीय समुदायका काममा सहभागी हुनुपर्छ । देशको पक्षमा अडिग भएर लाग्नुपर्छ । देशद्रोह ठूलो अपराध हो, आफ्नो देशप्रेम र राष्ट्रियताप्रति सधैँ गर्व गर्नुपर्छ । एउटा देशद्रोही दुईपटक मर्छ, एकपटक देशप्रति गद्दारी गरेको दिन अनि अर्कोपटक साँच्चै काल आएको दिन । ‘जननी जन्मभूमिश्चः स्वर्गदपि गरीयसी’ अर्थात् जननी र जन्मभूमि स्वर्गभन्दा पनि प्यारा हुन्छन्, महत्वपूर्ण हुन्छन् र श्रद्धेय हुन्छन् ।

एउटा नागरिक र राज्यका बीचमा कसिएको सम्बन्ध भनेकै राष्ट्रप्रेम हो, राष्ट्रियता हो र राष्ट्रको माया हो । राष्ट्र भनेको भौगोलिक सीमा भएको विभिन्न संस्कृति, जातजाति र भाषाको संगम स्थल हो । यो सार्वभौमसत्ता सम्पन्न हुन्छ, यसमा जनताले चुनेको सरकार हुन्छ, यो आफ्नो भोगचलन गरिएको भूमिलाई आफ्नै देश भनेर आवागमन गर्न स्वतन्त्र हुन्छ र खासमा त्यहाँ जनता हुन्छन् । त्यसैले आधुनिक परिभाषामा राष्ट्र वास्तवमा भूमिसहितको जनता हो । भूमि मात्रले राष्ट्रको अर्थलाई सङ्कुचित बनाउँछ । उपयुक्त तथ्यहरु र तर्कहरुले नागरिक शिक्षा विद्यालयदेखि विश्वविद्यालयहरुसम्म पनि एकीकृत शिक्षाको रुपमा दिनु नै राज्यको कर्तव्य हो र ती शिक्षालाई ग्रहण गरी अभ्यासमा ल्याउनु नै नागरिक कर्तव्य हो ।रासस