११ आश्विन २०८१, शुक्रबार
,
Latest
नेपाल बहराइनसँग पराजित शनिबार बिहानसम्म त्रिभुवन विमानस्थलबाट हुने सबै आन्तरिक उडान स्थगित कुलेखानी ड्यामको तटीय क्षेत्र डुबानको जोखिममा, स्थानीयलाई उच्च सतर्कतामा रहन अपिल दुई महिनामा झण्डै सात अर्बको स्मार्टफोन आयात राष्ट्रसङ्घको महासभामा यसपटक नेपाल सुनिने र देखिने गरी प्रस्तुत हुन सफल भएको छः मुख्य सल्लाहकार… वन ऐन, नियमावली र निर्देशिकाहरु परिमार्जन गरी संघीय संरचना अनुकुल बनाउनुपर्नेमा जोड बाह्र घण्टायता देशैभर मध्यमदेखि भारी वर्षा, सतर्कता अपनाउन आग्रह बार अध्यक्षको आरोपः प्रधानन्यायाधीशले लेनदेनको आधारमा सर्वोच्चमा न्यायाधीश नियुक्तिको सिफारिस गरे कृषि कर्ममा रमाउँदै टेम्केमैयुङका युवा सडक सुरक्षा र महंगी नियन्त्रणमा ध्यान दिन सरकारलाई एमालेको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

विगतका जस्तै चुनावी एजेण्डा, नागरिकको आशा अधुरा



अ+ अ-

काठमाडौँ । आसन्न स्थानीय तह निर्वाचनका लागि काठमाडौँ महानगरपालिकाका उम्मेदवारहरूले अहिले पनि विगतमा जस्तै चर्चामा ल्याइएका विषयलाई चुनावी एजेण्डा बनाएका छन् ।

देशको केन्द्रीय राजधानी भएकाले पनि कामपामा धेरै ‘विकासे–मुद्दा’ छन् । विगतका निर्वाचनमा पनि मुख्य एजेण्डा बनाइएका फोहर व्यवस्थापन, स्वच्छ खानेपानी, सार्वजनिक शौचालय निर्माण, व्यवस्थित सार्वजनिक यातायातजस्ता विषय यसपटकको निर्वाचनमा पनि उम्मेदवारको प्रमुख एजेण्डाबाट बाहिरिएको देखिएन ।

अहिले उम्मेदवारहरू भोट माग्नका लागि मतदाताको घरदैलोसम्म जान भ्याइनभ्याई देखिन्छन् । यसरी उम्मेदवार मतदाताको घरदैलो गइरहँदा विगत १२ दिनदेखि सडक किनारामा थुपारिएको फोहरको डङ्गुरले भने उनीहरुलाई गिज्याइरहेको भान हुन्छ ।

काठमाडौँका १८ स्थानीय तहको फोहरको अन्तिम व्यवस्थापनस्थल सिसडोलसम्म जाने पासाङल्हामु राजमार्गका स्थानीयको अवरोधका कारण काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापन कार्य १२ दिनदेखि रोकिएको छ । पासाङल्हामु राजमार्ग मर्मतको जिम्मा पाएको निर्माण व्यवासायीद्वारा पटक–पटक काम रोकिँदा त्यसको प्रत्यक्ष असर भने काठमाडौँ उपत्यकाका नागरिकले भोग्नुपरेको छ ।

कामपाको अहिलेका प्रमुख विद्यासुन्दर शाक्य र उपप्रमुख हरिप्रभा खड्गीले पनि प्रमुख मुद्दाका रूपमा फोहर व्यवस्थापनलाई नै लिएका थिए तर व्यवस्थापनको समाधान नै भएन थप समस्या चुलिइरहेएको छ । यो लामो समयदेखिको समस्या हो । यसको दीर्घकालीन समाधानका लागि भने कसैको पनि खासै पहल भएको पाइँदैन । गत फागुन र चैतमा पनि ३२ दिन फोहर अन्तिम व्यवस्थापनस्थलसम्म पुग्न सकेको थिएन ।

कामपा–१७ को यशोदा शर्मा हरेक पटकको निर्वाचनमा चुनावी नारा बनको काठमाडौँको फोहर व्यवस्थापन कार्यको दीर्घकालीन समाधान नहुनाले नागरिकले निकै समस्या भोग्नुपरेको गुनासो गर्नुहुन्छ । विगतका जस्तै आगामी दिनमा पनि उक्त समस्या समाधानार्थ उपाय नखोज्ने हो भने आगामी वर्षहरूमा विकराल समस्या आउने शर्मा बताउनुहन्छ ।

“कामपामा बाक्लो बस्ती छ, त्यसमाथि हप्तौँसम्म फोहरको व्यवस्थापन हुन नसक्नु र पटक–पटक यही नै चुनावी नाराको रूपमा आउनु जनताको समस्यामा जनप्रतिनिधिले झुटको खेती गरिरहेको प्रष्ट हुन्छ”, शर्माले भन्नुभयो ।

कामपाको अर्को मूल समस्या खानेपानीको हो । नियमितरूपमा पानी अझै पनि आउँदैन । अन्यत्रबाट ट्याङ्करमा ल्याइएको पानी खानु नगरवासीको दैनिकी हो । त्यतिमात्रै होइन बाहिर निस्कँदा सार्वजनिक स्थानमा बटुवाका लागि खानेपानीको व्यवस्था पनि कामपाले गर्न सकेको छैन । प्रत्येक पटकको चुनावी नारा बनेको खानेपानी, बिजुली, सहज सार्वजनिक यातायात, फोहर व्यवस्थापनजस्ता विषय कामपाको न्यूनतम मापदण्डभित्र पर्दछ ।

कामपामा शौचालाय निर्माणको विषय पनि नारामै सीमित रहेको देखिन्छ । सामान्यतया महानगरपालिकामा कम्तीमा ५०० मिटरदेखि एक किलोमिटरको दूरीमा एक सार्वजनिक शौचालय निर्माण गर्नुपर्ने अन्तर्राष्ट्रिय मापदण्ड छ । हाल कामपामा अव्यवस्थितरूपमा सञ्चालन भएको ६० सार्वजनिक शौचालय छन् । यसअघिको जनप्रतिनिधि आउनुअघि नै कामपामा सार्वजनिक शौचालय थप्ने विषय चर्चामा थियो तर वर्षौँ बितिसक्दासम्म न नयाँ थप्न सकिएको छ, न त भएकालाई व्यवस्थापनको काम ।

यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि कमपाको प्रमुखमा ५५ जना र ३० को उपप्रमुखमा उम्मेदवारी परेको छ । प्रमुख पदका लागि कामपामा सत्ता गठबन्धनबाट सिर्जना सिंह रहनुभएको छ भने नेकपा (एमाले) बाट केशव स्थापित चुनावी मैदानमा हुनुहुन्छ । यस्तै कामपाकै उपप्रमुख पदका लागि सत्ता गठबन्धनबाट उपप्रमुखमा नेकपा (एकीकृत समाजवादी) का रामेश्वर श्रेष्ठको उम्मेदवारी छ भने एमालेबाट सुनिता डङ्गोलको उम्मेदवारी छ । सबै उम्मेदवारको मुख्य एजेण्डामा यसअघिका प्रमुख र उपप्रमुखको भन्दा खासै फरक देखिदैन ।

गठबन्धनको तर्फबाट कामपाको प्रमुखमा आफ्नो उम्मेदवारी दिनुभएको सिंहले सार्वजनिक स्थानमा निःशुल्क खानेपानी, स्वच्छ सफा र दिगो पर्यावरणलाई आफ्नो चुनावी एजेण्डा बनाउनुभएको छ । त्यसैगरी गठबन्धनकै तर्फबाट उपप्रमुखको उम्मेदवार श्रेष्ठले हाल काठमाडौँमा मुख्य समस्यामा रहेको फोहरलाई वैज्ञानिकरूपमा समाधान गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।

त्यस्तै एमालेको तर्फबाट प्रमुखका उम्मेदवार केशव स्थापति र उपप्रमुख सुनिता डङ्गोलले पनि सुरक्षित सहर, शिक्षा र सामाजिक सुरक्षा, स्वच्छ सफा पर्यावरण, संस्कृति र सम्पदाको संरक्षणजस्ता विषयलाई चुनावी नारा बनाएका छन् । निर्वाचनको समयमा पटक–पटक नागरिकको समस्यालाई नाराका रूपमा लिने र निर्वाचनपछि ती विषय ओझेलमा पर्ने गरेका कारण अहिले नागरिक राजनीतिक दलको प्रतिबद्धतालाई ‘झुटा आश्वासन’को सङ्ज्ञा दिने गरेको पाइन्छ ।

कामपा–१८ का राजु कपालीले यसअघिका स्थानीय निर्वाचनमा पनि उम्मेदावारहरूले यस्तै किसिमको झुटा वाचा गरेकाले अहिलेको निर्वाचनमा मतदान गर्नका लागि आफू त्यति धेरै उत्साहित नभएको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “उम्मेदवारले आ–आफ्ना वाचा पूरा गरेभने म जस्तै सबै नागरिक उत्साहित बन्नेछन् ।” रासस