• ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
  •   Unicode
Logo
Latest
★   निर्वाचनअघिको गठबन्धन गलत हुँदो रहेछः महामन्त्री शर्मा ★   तीन हप्ताको अल्टिमेटम दिँदै केसीले दिए सत्याग्रह बस्ने धम्की ★   महिन्द्र राय यादवको आरोपः बाबुरामलाई राष्ट्रपति दिएको भए १५ दिनमा पार्टी एकता हुन्थ्यो ★   ओलीप्रति माधव नेपालको टिप्पणीः अरुलाई चुनौति दिने काम नगरौँ ★   नेपालले हङकङलाई दियो १४० रनको लक्ष्य ★   चिमखोलामा टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते ★   शिक्षाध्यक्ष प्रा डा खड्ग केसीलाई सम्मान ★   भुर्तेल लगातार दोस्रो खेलमा डक आउट ★   गण्डकीमा मन्त्री चुमानलाई आर्थिक र मनाङेलाई भौतिक मन्त्रालयको जिम्मेवारी ★   एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकमा पेस भएको ६ प्रतिवेदनमा के–के छ ? (पूर्णपाठ)

भरतपुरमा केन्द्रित स्थानीय निर्वाचन



काठमाडाैं । आजबाट गन्दा स्थानीय तह निर्वाचन अब हप्ता दिनमा झरेको छ । अबको आठ दिनमा अर्थात् आगामी बैशाख ३० गते नै स्थानीय तहको निर्वाचन हुन लागेको छ । देश निर्वाचनमय भएको छ र बाह्य तथा आन्तरिक वातावरण पनि निर्वाचनमा केन्द्रित हुन पुगेको छ । तर यसो हेर्दा चुनाव अन्यत्र भन्दा पनि भरतपुरमा मात्र आएको हो कि भन्नेजस्तो देखिँदैछ । भरतपुर महानगरमा निर्वाचनको माहोल हेर्दा देशमा अन्यत्रको चुनावी तयारी कुनै सरगर्मी पो होइन कि भन्ने देखिन्छ ।

आज भरतपुर महानगरपालिकालाई नै केद्रित गरेर चुनावी सभा हुँदैछ । त्यसका लागि नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा नै त्यहाँ पुगेका छन् । उनी हिजै भरतपुर पुगेर बास बासेका छन् । साथै सत्तारुढ गठबन्धनका नेताहरु माओवादी अध्यक्ष प्रचण्ड र नेकपा एसका अध्यक्ष माधव कुमार नेपाल पनि त्यहाँ पुगिसकेका छन् । आज सत्तारुढ गठबन्धनले भरतपुर महानगरपालिकामा आमसभा गर्दैछ ।

यहाँ माओवादी अध्यक्ष प्रचण्डपुत्री रेणु दाहाल मेयरमा उम्मेदवार भएकी छिन् । त्यसैले पनि भरतपुर महानगरको मेयर पदको निर्वाचन अरुतिरको भन्दा बढी गह्रुँगो हुँदैछ । सत्तारुढ गठबन्धनका तर्फबाट रेनु साझा उम्मेदवार भएपनि यहाँ कांग्रेसका पुराना नेता जगन्नाथ पौडेलले विद्रोह गरी मेयरमा उम्मेदवारी दिएका छन् । जित्ने निश्चित नभए पनि गठबन्धनकी उम्मेदवार रेणुलाई हराउन पौडेलले भूमिका खेल्न सक्छन् जसका कारण सत्तारुढ गठबन्धनलाई भरतपुरको चुनाव नै फलामको च्युरा बन्दै गएको छ ।

कांग्रेसबाट विद्रोही उम्मेदवारी दिएका जगन्नाथ पौडेललाई मनाउन अनेक प्रयास गरे पनि उनले उम्मेदवारी फिर्ता लिन मानेनन् । उनको उम्मेदवारी फिर्ता गराउन पार्टी सभापति एवं प्रधानमन्त्री देउवाले निकै प्रयास गरे । प्रचण्ड पौडेलको घरसम्मै पुगे । गृहमन्त्री बालकृष्ण खाँड र राज्यमन्त्री उमेश श्रेष्ठले पनि निकै प्रयत्न गरे । तर पनि उनले उम्मेदवारी फिर्ता लिएनन् । बरु उनलाई चितवनका धेरै कांग्रेसीजनले साथ दिएका छन् । साथ दिएका मात्र होइन, जित्ने दाबी पनि गरेका छन् ।

अहिले मुख्यतः तीन उम्मेदवारबीच चितवनमा घम्साघम्सी जारी छ । नेकपा एमालेले विजय सुवेदीलाई उम्मेदवार बनाएको छ र उनलाई राप्रपाले सघाएको छ । त्यसैले उनी निकै शसक्त उम्मेदवार मानिन्छन् । रेणु दाहालले गत निर्वाचनमा पनि नेपाली कांग्रेसको समर्थनमा मेयर पदमा विजयी भए पनि यस बीचमा उनले चितवनमा राम्रै काम गरेर स्थानीयमाझ आफूलाई स्थापित गरेको मानिदैछ । अहिले कांग्रेसको पूर्ण समर्थन नभए पनि उनी सशक्त उम्मेदवार हुन् । अर्कातिर जगन्नाथ पौडेलको स्थिति के हो भन्ने स्पष्ट भइसकेको छैन । जित्ने सम्भावना नभए पनि रेणु दाहाललाई हराउन उनको भूमिका हुन सक्ने आकलन छ ।