• १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
  •   Unicode
Logo

रुखको सेपमुनि हुर्कंदै गरेको भूइँकटहर



काठमाडौ । स्थानीय तह निर्वाचन आउन अब ९ दिन मात्र बाँकी छ । त्यसैले यतिखेर देश निर्वाचनमय भएको छ । स्थानीय तह भनेका जनताका गाउँ घरका सरकार हुन् । त्यसैले यिनलाई स्थानीय सरकार पनि भन्ने गरिएको छ ।

कोरोना महामारीका समयमा यी स्थानीय तहले निर्वाह गरेको भूमिकाले पनि यी तहलाई स्थानीय सरकार भन्दा हुने देखिन्छ । पछिल्लो समयमा स्थानीय तहहरुको बढ्दो प्रभाव र भूमिकाका कारण पनि यतिखेरको निर्वाचन थप पेचिलो बन्दै गएको छ ।

देशको समग्र निर्वाचन क्षेत्रको भन्दा धेरै पेचिलो छ भरतपुरको निर्वाचन । जहाँ प्रमुखमा माओवादी पार्टीले उम्मेदवार उठाएको छ र उम्मेदवार छिन् पार्टी अध्यक्ष प्रचण्डकी छोरी रेणु दाहाल । अनि समर्थन गर्ने पार्टी नेपाली कांग्रेस ।

यो निर्वाचन कसरी आफ्नो पक्षमा पार्ने भन्ने अनेक तिकडमहरुका बाबजुद यस वर्षको निर्वाचनमा पनि कांग्रेसको प्रजातान्त्रिक इतिहास चुक्ने त होइन भन्ने त्रास कांग्रेसीजनमा छ । किनभने अघिल्लो निर्वाचनमा पनि कांग्रेसले नै मतपत्र च्यात्नेसम्मका हर्कत गरेर रेणुलाई नै जिताएको थियो ।

अहिले बागी उठेका छन् कांग्रेसबाट जगन्नाथ पौडेल । पौडेल कांग्रेसका पुराना नेता । जो विपी कोइराला चितवन जाँदा स्वागत गर्न पुग्दथे । ती नेतालाई चितवनका कांग्रेसीजनले आड भरोसा दिएका छन् । नदिउन् पनि किन ? स्थानीय चुनाव आओस् कि संसदको रुखमा भोट हाउल्न पाउँदैनन् यहाँका कांग्रेसी कार्यकर्ताहरु । अहिले पनि त्यस्तै भयो । त्यसैले कांग्रेसीजनलाई जगन्नाथ साथ बनेका छन् ।

यता कांग्रेसले उनलाई कारबाही गरेको छ । लाग्छ जगन्नाथ हजुरबा पुस्ताका नेता हुन् र अहिलेका कांग्रेसका महामन्त्रीद्धय गगन थापा र विश्वप्रकाश नाती । उनीहरुले जगन्नाथलाई कारबाही गर्दा हात काम्यो कि कामेन होला ? नेपालको पुरानो प्रजातान्त्रिक पार्टी नेपाली कांग्रेसमा अहिले आएर यस्तो अवस्था देखिएको छ । चुनावैपिच्छे कांग्रेसले रुखमा भोट हाल्न नपाउने, माओवादीलाई भोट दिनुपर्ने । आफ्नै पार्टीलाई मत दिन पाउँ भन्ने माग गर्ने जगन्नाथ जस्ता नेता कार्यकर्ताहरु कारबाहीमा पर्ने । के यो सत्ता प्राप्तिबाहेक अरु के कारणले भएको होला ?

फेरि अर्काे परिस्थिति यस्तो बनिदियो कि बागी उठेका जगन्नाथलाई सम्झाउनका लागि उमेश श्रेष्ठहरु घरघरमा जानुपर्ने अवस्था आयो । जगन्नाथ र उमेश कांग्रेस पार्टीमा लागेको इतिहास कति छ ? यसको मूल्यांकन पनि चितवनका कांग्रेसीजनले गरिरहेकै छन् । आज बालकृष्ण खाँड र उमेशहरु जगन्नाथको घरमै पुगेर प्रजातन्त्र, नेपाली कांग्रेस र सत्ताका बारेमा सम्झाइ बुझाइ गर्नुपर्ने अवस्था आयो । लाग्छ यस्तै कारणहरुले कांग्रेसको सेपमा भूइँकटर उम्रिन खोजेको हो ।

पार्टीले कारबाही गरेपछि स्वतन्त्र उम्मेदबारको हैसियत पाएका जगन्नाथको चुनाव चिह्न हो भूइँकटहर । तर यहाँका कांग्रेसीजनहरुका लागि भूइँकटहर नै रुख हो । किनभने चुनावैपिच्छे हसिया हथौँडामा मत हाल्दा उनीहरु वाकदिक भएका छन् । त्यसैले रुखै पाए पनि उनीहरुले यसलाई अब रुखकै मान्यतामा राखेका छन् र भन्दैछन्– रुखको सेपै भए पनि भूइँकटहर हुर्कंदैछ भूइँकटहर ।

सत्तारुढ गठबन्धनले भोलि चितवनमा चुनावी सभा गर्दैछ । सायद आचार संहिताको उल्लंघन हुदैन भने पार्टी सभापति शेरबहादुर देउवा पनि त्यहाँ जान्छन् नै होला । अनि गठबन्धनभित्रका कांग्रेसी नेताहरु भन्दैछन्– यहाँ आएर देउवाले जगन्नाथलाई गाली गरे भने सबै कांग्रेसीजन बिच्किने छन् । त्यो खतराबाट देउवा कसरी टाढा बस्न सक्लान् भन्ने त बालुवाटारले नै जानोस् तर चितवनमा कांग्रेसका कार्यकर्तालाई कुनै पनि कांग्रेस नेताले अनादार गर्नुका कुनै तुक छैन । किनभने उनीहरुले यहाँका कांग्रेसलाई कांग्रेस हुनै दिएका छैनन् ।

अघिल्लो चुनावको हर्कतले कांग्रेसको प्रजातान्त्रिक इतिहास र चरित्रमा कालो धब्बा लगाइदिएको छ । नागरिक स्वतन्त्रता, आवधिक निर्वाचनसहितको लोकतान्त्रिक व्यवस्थाका लागि राणादेखि राजा ज्ञानेन्द्रसम्मको लडाइँको नेतृत्व गरेको कांग्रेसले चुनावमा मतपत्र च्यात्ने काम गरेर जुन बदनाम कमायो त्यसैले आज यो पार्टी यो हालतमा पुगेको छ ।

यसपालि पनि रुखको सेपमा भूइँकटहरहरुलाई हुर्किन नदिन आगामी दिनमा हुनसक्ने कामको आँकलनले नै पनि अहिले नै चितवन मात्र नभएर देशैभरका कांग्रेसीजनले जिब्रो टोक्न थालिसकेका छन् । यसपालि कांग्रेस पार्टीको लोकतान्त्रिक सिद्धान्तमा कुनै घुन पुत्ला नलागोस भन्ने कांग्रेसीजनको विनय कतै विलय नगराइयोस् भन्ने चाहन्छन् उनीहरु ।