• १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
  •   Unicode
Logo
Latest
★   उत्तरपुस्तिका हराएको विषयमा छानबिन गर्न उच्चस्तरीय समिति गठन ★   शिक्षा मन्त्रालयका बीस कर्मचारीलाई स्पष्टीकरण ★   मन्त्रिपरिषद्को बैठक: सचिव पदमा लम्सालको बढुवा,चैते धानको मूल्य निर्धारण  ★   नेपालको पर्यटकीय सम्भावनालाई विश्वमा प्रचार गर्नसके चार गुणा पर्यटक आउँछन्: सांसद राणा ★   इलाम २ मा रास्वपाका उम्मेदवार मिलन लिम्बू ★   एमडीएमएस खरिदमा अनियमितता गरेको अभियोगमा २० जनाबिरुद्ध मुद्दा दर्ता ★   कर्णाली नदीमा हाम फालेर बेपत्ता भएका युवक मृत फेला ★   सवारी दुर्घटनाबाट दैनिक ७ जनाको मृत्यु हुने प्रहरीको तथ्यांक ★   सादा पोशाकमा जनशक्ति परिचालन नगर्न गृहको निर्देशन ★   चीनमा आँधीको चेतावनी

इच्छाशक्तिले कमाएको नाम र दाम



विराटनगर । इच्छाशक्ति भएमा नाम र दाम दुवै आर्जन गर्न सकिने उदाहरण प्रस्तुत गर्नुभएको छ सुनसरी देवानगञ्ज गाउँपालिकाका किसान रामवृक्ष मेहताले । निजी लगानीका बीउबिजन उत्पादन तथा प्रशोधन केन्द्र स्थापना गरेर लाखौँ आम्दानी गर्न उहाँ सफल हुनुभएको छ । विगतमा लागत धेरै लागेको र आर्जन थोरै गर्न सकिए पनि व्यवसायमा दिएको निरन्तरताले अहिले अपेक्षित लाभ लिइरहनु भएको छ ।

देवानगञ्ज गाउँपालिका–२ निवासी मेहताले सुरुमा रु एक करोडभन्दा बढी लागत लगाएर बीउ प्रशोधन केन्द्र स्थापना गर्नुभयो । यसका लागि पालिकाले रु चार लाख र कृषि ज्ञान केन्द्र सुनसरीले रु आठ लाख सहयोग गरेको उहाँले जानकारी दिनुभयो । सानैदेखि कृषि पेशामा समर्पित मेहताले रु २० लाखमा बीउ प्रशोधन मेसिन खरिद गर्नुभएको छ ।

उहाँले गएको वर्षमा प्रशोधित १६० मेट्रिक टन धानको बीउ बिक्री गर्नुभयो । मसिनो धान प्रतिकेजी रु १०० र अन्य धान प्रतिकेजी रु ५५ देखि ६० सम्म बिक्री गर्नुभएको हो । बीउ वृद्धिका लागि स्थानीय किसानका गहुँका लागि ६० हेक्टर र धानका लागि ८० हेक्टर जग्गा उपयोग गर्दै आउनुभएको छ । बजार मूल्यभन्दा २० प्रतिशत बढी मूल्य दिएर बीउ वृद्धिका लागि किसानलाई प्रोत्साहन गर्दै उत्पादनका लागि खेत उपभोग गरिरहेको पाइएको छ ।

यस वर्ष मेहताले धान १२५ मेट्रिक टन र गहुँ १२५ मेट्रिक टन बीउ उत्पादन गर्ने लक्ष्य लिनुभएको छ । उहाँले यसमा मात्र सीमित नरहेर अग्र्यानिक मल पनि उत्पादन गरिरहनुभएको छ । अग्र्यानिक मलका लागि आवश्यकताअनुसार भैँसी र गाईवस्तु पनि पाल्नुभएको छ । गोबर, घाँसपातलाई कुहाएर बनाउने अग्र्यानिक मलको गुणस्तर जाँच तथा प्रमाण्ीकरणका लागि पहिलो वर्ष नार्क नामक संस्थालाई रु चार लाख भुक्तानी गरेको र त्यसपछि वर्षेनी रु छ हजार मल जाँच गरेको शुल्क तिर्ने गरेको प्रशोधन सञ्चालक मेहताले बताउनुभयो ।

उहाँले भन्नुभयो, “अग्र्यानिक मल उत्पादन गर्दा रासायनिक मल विस्थानपन हुने र रासायनिक मल प्रयोग गर्दा उत्पादन लागत बढ्दै जाने र मुनाफा कम हुने भएकाले यस क्षेत्रका किसान अग्र्यानिक मलतर्फ रुचि बढेको पाइएको छ ।”

प्रतिकेजी रु २० दरले बिक्री हुने अग्र्यानिक मल गएको वर्षमा ६० मेट्रिक टन बिक्री भएको छ । यस वर्ष अग्र्यानिक मल उत्पादन वृद्धि गर्ने सोच र उद्देश्य रहेको मेहताको भनाइ छ । परिवार सबै मिलेर गरिरहेको यस कामका लागि उहाँले एक कृषि अधिकृत र एक जना जेटिएलाई जागिर पनि दिनुभएको छ । दैनिक १५ जनालाई प्रत्यक्षरूपमा रोजगारी दिँदै आउनुभएका कृषक मेहताले जिल्लास्तरबाट राष्ट्रपति पुरस्कार र बीउबिजन उत्कृष्ट राष्ट्रिय पुरस्कार पाउनुभएको छ, खर्च काटेर वर्षमा रु ३० लाख आम्दानी गर्छु, भन्नुभयो ।

यही आम्दानीबाट उहाँले एक छोरा आनन्दलाई एमबिबीएस उत्तीर्ण गराएर एमडीमा भर्ना गर्नुभएको छ भने एक छोरी अम्बिका बिएससी नर्स र अर्की छोरी आरती बिएससी एजीसम्मको शिक्षा दिनुभएको छ । उहाँले यस अतिरिक्त दुई बिघा पाँच कठ्ठा जग्गामा तरकारी खेती गर्नुभएको छ । बजारको समस्या नभएको बताउने कृषक मेहताको तरकारी खेतीमा पर्वल, करेला, भिण्डी, खुर्सानी, काँक्रा अहिले बेजोडले फलेको देख्न पाइन्छ । व्यापारीले खेती भएकै ठाउँमा तरकारी खरिद गर्ने गरेकाले कहीँकतै भौतारिनु नपरेकामा खुसी व्यक्त गर्नुभयो ।

आनन्द सिड्स एण्ड अग्र्यानिक फर्टिलाइजर नाम दिएको आफ्ना कारखानाबाट प्रभावित भई उहाँकै सहोदर भाइ उमेशकुमार मेहताले पनि अग्र्यानिक मल उत्पादन सुरु गर्नुभएको छ । गएको वर्षमा उहाँले १० मेट्रिक टन अग्र्यानिक मल बिक्री गर्नुभएको थियो भने यस वर्ष उत्पादन बढाउने दिशातर्फ अग्रसर देखिनुभएको छ । उहाँले १० वटा गाई पाल्नुभएको छ भने दैनिक १५ लिटर प्रतिलिटर रु ५० कार दरले दूध पनि बेच्दै आउनुभएको छ । आफ्नो पेशामा समर्पित मेहताका श्रीमती अनिता भारतीले दिनरात नभनी श्रीमान्को काममा सघाउँदै आउनुभएको छ ।

प्रदेश नं १ का कृषि मन्त्रालयका सचिव मेघनाथ तिमिल्सेनाले निरीक्षण एवं अनुगमन गर्दै आफ्नै सीप, ज्ञान र क्षमता प्रयोग गरेर कृषि क्षेत्रमा गरेको योगदानको कदर गर्दै प्रदेश सरकार कृषिलाई प्राथमिकतामा राखेकाले कृषकको मागलाई सक्दो सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कृषि ज्ञान केन्द्र सुनसरी मोरङ सम्पर्क कार्यालय विराटनगरका प्रमुख रामदेव सिंहले किसानले गरेको मेहेनतबाट नै राष्ट्र निर्माण हुने भएकाले कृषि उत्पादन बजार बिचौलियाको हातमा पर्न नहुने भन्दै श्रम, सीप र लागत लगाउने किसानले बाली उत्पादनबाट उचित लाभ लिनुपर्नेमा जोड दिनुभयो ।  रासस