• ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
  •   Unicode
Logo
Latest
★   महालेखापरीक्षकमा तोयम राया नियुक्त ★   डा अञ्जान शाक्य राष्ट्रिय सभा सदस्यमा नियुक्त ★   बर्दिबासमा एक अर्ब १० करोडको लागतमा पाँच तारे होटल ‘रामिणी’ बन्ने  ★   कोशी प्रदेशसभाको विशेष अधिवेशन ★   उच्चशिक्षा अध्ययनमा एसएचई अष्ट्रेलियाको सुरुवात, गुणस्तरीय शिक्षाको प्रतिबद्धता ★   भारतमा उच्च शिक्षाका लागि जाने विद्यार्थीलाई ग्लोबल आइएमई बैंकले शैक्षिक कर्जा प्रदान गर्नेे ★   पोखरामा माइक्रो बस र जीप ठोक्किँदा आठ चिनियाँ घाइते ★   विद्युत् उत्पादनको केन्द्र बन्दै ताप्लेजुङ ★   २९औँ वन्यजन्तु सप्ताह : बूढीराप्ती सरसफाइ ★   एकीकृत घुम्ती सेवाप्रति स्थानीयमा उत्साह

दश लाख बढी काठमाडौँ उपत्यकाबाट बाहिरिए



काठमाडौँ, २१ असोज –

बडादसैँ मनाउने सिलसिलामा सडकमार्गद्वारा करिब १० लाख मानिस काठमाडौँ उपत्यकाबाट बाहिरिसकेका छन् । यही असोज १ देखि असोज २० गतेसम्म १० लाख १७ हजार मानिस दसैँ मनाउने सन्दर्भमा उपत्यका बाहिर हिँडेको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख केशव अधिकारीले बताउनुभयो । हाल दैनिक थानकोट नाकाबाट मात्रै दैनिक एक हजार आठ सय सार्वजनिक यातायात सेवाका बस यात्रु लिएर गुडेको महाशाखाले जनाएको छ ।

त्यस्तै चोभार, नुवाकोट र साँगाभन्ज्याङबाट समेत गरी दैनिक तीन हजार सार्वजनिक यातायातका साधन उपत्यकाबाट यात्रु लिएर बाहिरिने गरेको पनि महाशाखा प्रमुख अधिकारीले बताउनुभयो । दसैँका मुख्य दिन फूलपाती, अष्टमी र नवमीका दिनमा एक लाख ६७ हजार यात्रुले विशेषगरी घर जान टिकट अग्रिम सुरक्षित गरिसकेका छन् ।

मुख्य चाडबाडका मुखमा हुने यात्रालाई भरपर्दो, सुरक्षित र सहज तुल्याउन महाशाखाले नाकामा बढी यात्रु राख्ने, दोहोरो टिकट काट्ने तथा यात्रुलाई असुविधा हुने खालका क्रियाकलाप रोक्न कडा निगरानी गरेको छ । त्यसका लागि नागरिक ट्राफिक प्रहरीले उपत्यकाका एक दर्जन स्थानमा नागरिक सहायता कक्ष स्थापना गरी यात्रुको हितका लागि काम गर्दैआएको जनाइएको छ । यात्रुले असुविधा भोग्नुपरेका उजुरी दैनिक ५० को हाराहारीमा आउने गरेको र उजुरीअनुसार कारबाहीको प्रक्रिया पनि जारी रहेको बताइएको छ ।

यसैबीच असोज महिनाको सुरुदेखि हालसम्म दिउँसो मादक पदार्थ सेवन गरी सवारी चलाउने ९४ चालकलाई सार्वजनिक अपराधसम्बन्धी मुद्दा चलाइएको पनि ट्राफिक प्रहरीले जनाएको छ । दसैँको चहलपहलसँगै काठमाडौंका मुख्य स्थलमा मानिसको चहलपल र किनमेलको घुइँचो बढेका कारण ‘ट्राफिक जाम’ बढेको छ । ‘सपिङ मल’, ‘डिपार्टमेन्टल स्टोर’ तथा ‘फुटपाथ’मा समेत सामानको किनबेचको क्रम बढेकाले पनि राजधानीमा केही दिनयता यातायात सवारीको चापका कारण सर्वसाधारणले कठिनाइ भोग्नुपरेको छ ।