• १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
  •   Unicode
Logo
Latest
★   एमडीएमएस खरिद प्रकरण: दूरसञ्चार प्राधिकरणका २० जनाविरुद्ध मुद्दा दायर ★   प्रतिस्पर्धाको अभावले अष्ट्रेलियाको जीवनस्तर तथा उत्पादकत्वमा गिरावट: रिपोर्ट ★   नेप्से परिसूचकमा सामान्य अङ्कको वृद्धि ★   हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान ★   स्वरोजगार महिलालाई उपमहानगरको सम्मान ★   राष्ट्रपति रनिङ सिल्डका लागि राष्ट्रपतिलाई निमन्त्रणा ★   निराशा चिर्ने र भरोसा जगाउने चुनौती छ: प्रधानमन्त्री ★   सर्लाहीबाट १० निरीक्षक निष्काशित, एक परीक्षार्थीले हिरासतबाटै परीक्षा दिए ★   यशराजको आगामी फिल्ममा विशेष लुकमा देखिदै बबी देओल ★   चार्जिङ स्टेशनमा लगानी बढाउन लगानी कर्ताहरुलाई कुलमानको आह्वान

अहिले हाम्रो बहुमतलाई कसैले रोक्नै सक्दैन-प्रचण्ड( विशेष अन्तर्वार्ता)



एकीकृत नेकपा (माओवादी) का अध्यक्ष प्रचण्डले आफ्नो पार्टीले मंसिर ४ गतेको चुनावमा पूर्ण बहुमत ल्याएर स्थिर सरकार र संविधान निर्माणको नेतृत्व गर्ने बताउनुभएको छ । अध्यक्ष प्रचण्डले चुनावमा एमाओवादीले प्रत्यक्षतर्फ एक सय पचास सिटसम्म ल्याउने आँकलन गर्दै समानुपातिकमा पनि धेरै राम्रो अवस्था हुने स्पष्ट पार्नुभएको छ । उहाँले आफ्नो पार्टीले पूर्ण बहुमत ल्याएर एक वर्षभित्रमै नयाँ संविधान जारी गर्ने प्रतिवद्धता पनि गर्नुभएको छ ।
कृष्ण सेन समाचार सेवाका लागि गोविन्द आचार्य, विष्णु सापकोटा र सूर्यकिरण शर्मासँग विशेष अन्तर्वार्ता दिंदै अध्यक्ष प्रचण्डले भन्नुभएको छ– “अहिले हाम्रा प्रतिद्वन्द्वीहरुले एक खालले हार स्वीकार गरिसकेको स्थिति छ । मैले थाहा पाएसम्म अन्तराष्ट्रिय शक्तिहरुका आ–आफ्ना बिश्लेषणहरु पनि एमाओवादी सबैभन्दा ठूलो पार्टी हुनबाट कसैले रोक्न सक्दैन भन्ने निश्कर्षमा पुगेको देखिन्छ । मैले बुझेसम्म अहिले हाम्रो बहुमतलाई कसैले रोक्नै सक्दैन ।” चुनावपछि स्थिर सरकार र जनपक्षीय संविधान निर्माणको नेतृत्व एमाओवादीले गर्ने बताँउदै अध्यक्ष प्रचण्डले भन्नुभएको छ – “यसपटक नेपाली जनताले राजनीतिक स्थिरताको निम्ति र आर्थिक समृद्धिका साथै संविधान निर्माणको कामको नेतृत्वका लागि पनि एकीकृत माओवादीलाई पूर्ण बहुमत दिन्छन् भन्ने हाम्रो विश्वास छ । हामीले बहुमतबाट सरकार बनाइसकेपछि हाम्रो ध्यान एकातिर संविधान निर्माण गर्नेमा हुन्छ भने अर्कोतिर आर्थिक समृद्धितिर हुन्छ । हामीले उत्पादन, विकास र निर्माणलाई अभियानको रुपमा लैजाने निर्णय गरिसकेका छौं ।”  अध्यक्ष प्रचण्डसँगको विशेष अन्तर्वार्ताको पूर्ण पाठ यसप्रकार छ–

अब मंसिर ४ गते चुनाव त सुनिश्चित भयो हैन त ?
हो अब त सुनिश्चित मात्र होइन धेरै अगाडि बढी नै सक्यो ।

एमाओवादी के कस्ता एजेण्डा लिएर चुनावमा जाँदैछ ?
हाम्रा पार्टी एकीकृत ने.क.पा (माओवादी)का एजेण्डा पहिलेदेखि नै प्रष्टै छन् । त्यसकारण नेपाली जनताले हाम्रा एजेण्डा बुझेकै स्थिति छ । हामीले राजनीतिकरुपले तत्कालको दृष्टिले पहिचानसहितको संघीय लोकतान्त्रिक गणतन्त्र बनाउने कुरा पहिलेदेखि नै राखेका छौं । अर्को समावेशी, समानुपातिक लोकतन्त्रको कुरालाई हामीले त्यतिकै गम्भीरतापूर्वक उठाएका छौं । त्यसैगरी समाजिक न्यायसहितको आर्थिक समृद्धिको मुद्धालाई पनि हामीले हेटौंडा महाधिवेशनदेखि र पार्टीको अहिलेको घोषणापत्रमा पनि गम्भीररुपले उठाएका छौं । त्यसैगरी राष्ट्रिय सुरक्षा र स्वाधिनताका कुरामा हामीले प्रगतिशील राष्ट्रवादलाई बिशेष जोड दिएका छौं र त्यस बिषयलाई पनि उठाएका छौं । यसकारण हाम्रा एजेण्डाहरु आर्थिक, राजनीतिक, सामाजिक, सांस्कृतिक सबै दृष्टिले स्पष्ट छन् । अहिलेको नेपालको परिदृष्यमा हाम्रो पार्टी मात्र त्यस्तो पार्टी हो, जसले ठूलो बलिदानबाट यी एजेण्डाहरु स्थापित गरेको छ । यसलाई जनताले राम्रोसँग आत्मसात् पनि गरेका छन् ।

यी एजेण्डाहरुसहितको घोषणापत्र आउन ढिलाई भएन र ?
हामीले उम्मेद्वारहरुको कुरा टुङ्गाइसकेका छौं । घोषणापत्र पनि तयार भइसकेको छ, त्यसलाई केही परिमार्जन गर्न मात्र बाँकी छ । तर अरु पार्टीको जस्तो हाम्रो स्थिति होइन । हाम्रो घोषणापत्र यसै पनि पहिलेदेखि नै जनतामा स्पष्ट छ । त्यसकारण दुई दिन ढिलो र छिटोले कुनै अर्थ राख्दैन । संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समावेशीता, सामाजिक न्याय, बिशेषाधिकार जस्ता मुद्धाहरु उत्पीडित जाति, क्षेत्र, लिङ्गका मुद्धा माओवादीका मुद्धा हुन् र त्यसका निम्ति लडिरहेको छ भन्ने कुरा जनताले बुझेकै छन् तैपनि हामीले २÷४ दिन भित्रै घोषणापत्र बाहिर ल्याउँदैछौं ।

घोषणापत्रमा थप केही नयाँ कुराहरु पनि आउछन् कि ?
सामाजिक जीवनका सबै क्षेत्रमा अहिले जुन गतिरोध देखा परिरहेको छ, त्यो गतिरोधलाई तोड्नका निम्ति आवश्यक सबै मुद्दाहरुलाई हामीले घोषणापत्रमा उठाउने छौं । गणतन्त्र नेपालको पहिलो सरकारको नेतृत्व गर्दा जुन नीति कार्यक्रम हामीले प्रस्तुत गरेका थियौ र बजेटमार्फत् हामीले १० बर्षको, २० बर्षको र ४० बर्षको निम्ति जस्तो आर्थिक बिकासको परियोजना दिएका थियौं, घोषणापत्रमा त्यो खाकालाई प्रष्ट राख्ने छौं । उत्पीडित तथा पिछडिएका क्षेत्रहरुको निम्ति उत्पीडित जाति, जनजाति, दलित, महिला, मुस्लिम, मधेशी लगायत सबैका निम्ति बिशेषाधिकार सहितका प्याकेज राख्ने छौं । समग्रमा भन्नुपर्दा नेपाली समाजको आमूल रुपान्तरण गरेर लैजानको निम्ति आवश्यक पर्ने व्यावहारिक कार्यक्रम घोषणापत्रमा प्रस्तुत गर्छौ ।

अहिले अध्यक्षको नेतृत्वमा पार्टीको मुख्य टीम चुनावमा खडा भएको छ, यसरी मुख्य नेतृत्व चुनावमा जाँदा पार्टीको आन्तरिक संगठन कमजोर हुँदैन ?
नेतृत्वको मुख्य टीम चुनावमा नजाने हो भने संगठन पनि परिचालन हुँदैन । किनकी अहिलेको राजनीतिक कार्यनीति नै संविधानसभामार्फत् जनपक्षीय संविधान बनाउने भनिसकेपछि मुख्य नेतृत्व त्यसमा सम्लग्न भएन भने संगठन पनि परिचालन हुँदैन । यसकारण संगठन परिचालन र जनपरिचालनको दृष्टिकोणले पनि हाम्रो कार्यनीतिको मूल मुद्दा नै जनपक्षीय संविधान बनाउने भइसकेपछि त्यसैमा केन्द्रित हुनु पथ्र्यो । यसैले नेतृत्वको टीमलाई चुनावमा केन्द्रित गरेका छौं । हामीलाई के विश्वास छ र के देखिसकेका छौं भने, यसले आम जनतामा एउटा नयाँ विश्वास पैदा भएको छ । नेतृत्वको मूल टिम चुनावमा जाँदा एउटा नयाँ उभार र लहर सृष्टि भएको छ । त्यसकारण यो नीति हाम्रो राजनीतिक कार्यनीतिसँग सम्बन्धित प्रश्न हो र त्योसँग यसको तादाम्यता छ ।

उम्मेद्वार चयनमा पार्टीको तलबाट आएको सिफारिस अनुसार भएनन् भन्दै विभिन्न संचार माध्यमले आलोचना गरेका छन् । साथै कतिपय स्थानमा बागी पनि उठेका छन्, यसवारेमा भन्नुहुन्छ ?
हामीले उम्मेद्वारी चयन गर्दा तलबाट आएका ९० प्रतिशत शिफारिसलाई नै आधार मानेर निर्णय गरेका छौं । त्यसकारण तलको सिफारिसलाई ध्यान दिएनौ भन्नेखालका प्रचार बिल्कुलै गलत छन् । कतिपय केन्द्रीय आवश्यकतालाई हेरेर केन्द्रबाट पनि निर्णय नभएका होइनन् । त्यो नितान्त सीमित ठाउँमा मात्र भएको छ । जहाँसम्म बागीको कुरा छ, हिजोसम्म करिब करिब सबैले फिर्ता लिएका छन् । बागीको त्यत्रो समस्या हामीकहाँ छैन ।

बागी उठेकालाई कारबाहीको साटो समानुपातिकमा राखेर फिर्ता लिन लगाइयो भन्ने आरोप छ नि ?
त्यो कुरा गलत हो । समानुपातिक दिने भन्ने कुरा सत्य होइन । धेरैजसो फिर्ता लिने समझदारी भएर नै कमरेडहरुले फिर्ता लिनुभएको छ । कतिपय कमरेडहरु विषय स्पष्ट हुनका लागि केन्द्रीय कार्यालयमा आएर स्पष्ट भएर जानुभयो । कतिपय ब्यूरो, राज्य र जिल्ला कार्यालयबाट नै स्पष्ट भएर जानुभएको छ ।

बागी भएकाले फिर्ता नगरे पार्टीले कारबाही गर्छ ?
हो, कारवाही गर्छ । पार्टी पद्दति तोडेर जानेलाई हामी सहन सक्दैनौं ।

मुलुक चुनावमा होमिइसकेको छ, तर वैद्य समूहले चुनाव बहिस्कार भनेको छ । के वैद्यहरुको बहिस्कारले चुनावलाई प्रभाव पार्ला ?
वैद्यहरुको बहिस्कार बेमौसमी, मनोगत र अवस्तुवादी छ भन्ने कुरा त्यसको जनतामा खास असर नपरेवाट प्रष्ट भइसकेको छ । अस्ति मनोनयन गर्ने दिनको परिदृष्य मात्रै हेयौ भने पनि जनता निर्वाचनको निम्ति बडो उत्साहका साथ सहभागी हुन चाहिरहेका छन् । यो संविधानसभाको निर्वाचन हो, जो माओवादी पार्टीले जनयुद्धमा निकै ठूलो त्याग गरेर प्राप्त भएको हो । त्यसकारण वैद्यजीहरुले बहिस्कार गर्नु यो भन्दा अवस्तुवादी र मनोगत अरु केही हुनै सक्दैन । यो उहाँहरुले चुनाव बहिस्कार गर्नुभएको होइन, जनताबाट नै आफूहरु बहिस्कृत हुनुभयो भन्ने मलाई लागेको छ । उहाँहरुले त्यसो नगरेको भए हुन्थ्यो । उहाँहरु सहभागी हुनुहोस् भन्ने हाम्रो चाहाना थियो । तर उहाँहरुको बहिस्कारले वस्तुतः खासै अर्थ राख्छ भन्ने मलाई लाग्दैन । उहाँहरुले मनोगतरुपमा बहिस्कार गर्ने भनेदेखि केन्द्रीय समितिदेखि विभिन्नस्तरका उहाँहरुका इमान्दार क्रान्तिकारीहरु मूल घरमा फर्किने प्रक्रिया निकै तीब्र गतिले अगाडि बढेको छ । यो सबैले देखेकै कुरा हो । महेन्द्र पासवानदेखि केन्द्रीय र जिल्लास्तरीय नेता–कार्यकर्ता पार्टीमा फर्किइसकेका छन् । हिजोमात्र २ सय युवाहरु आउनु भयो । असाध्यै इमान्दार क्रान्तिकारी, जो हिजो पीएलएमा ठूलो जिम्मेवारी लिएर काम गरेका अढाई सय युवाहरु एकीकृत माओवादीमा फर्किदैछन् । त्यसकारण उहाँहरु अरु १ महिनासम्म बहिस्कार भनिरहनुभयो भने उहाँहरुसँग केही नेतृत्वका बाहेक कोही पनि रहँदैनन् । जनता र कार्यकर्ता कोही पनि रहँदैनन् । यसो भनिरहँदा मलाई उहाँहरु चुनावमा सहभागी नभएको दुःख छ, सहभागी हुनु पथ्र्यो । हामी मिलेरै चुनाव गर्नुपथ्र्यो । यो देशको आवश्यकता थियो । यो युगको आवश्यकता थियो । चुनाव प्रतिक्रियावादीलाई पराजित गर्ने र जनताको संविधान बनाउने राम्रो अवसर हो । त्यसमा उहाँहरु चुक्नुभयो । हामीलाई दुःख लागेको छ ।

पार्टी हेडक्वार्टरमा त रिपोर्ट आइरहेको होला, अब चुनावी परिणाम कस्तो होला ?
पहिले प्रतिक्रियावादी यथास्थितिवादी शक्तिहरुले यसपटक माओवादीलाई कमजोर पार्ने भनेर सोचेका थिए । तर उम्मेद्वारी मनोनयन र उम्मेदवारी फिर्ता लिनेक्रमसम्म आइपुग्दा जनतामा एकीकृत माओवादीप्रति जुन लहर देखा परिरहेको छ, त्यो हेर्दा काँग्रेस एमालेसमेत पनि अब माओवादीको विजयलाई रोक्न सकिन्न भन्ने निश्कर्षमा पुगेको मैले विभिन्न सुत्रमार्फत् थाहापाएको छु । हाम्रा प्रतिद्वन्द्वीहरुले एक खालले हार स्वीकार गरिसकेको स्थिति छ । मैले थाहा पाएसम्म अन्तराष्ट्रिय शक्तिहरुका आ–आफ्ना बिश्लेषणहरु पनि माओवादी सबैभन्दा ठूलो पार्टी हुनबाट कसैले रोक्न सक्दैन भन्ने निश्कर्षमा पुगेको देखिन्छ । तर म चाँहि नेपाली जनताको मनस्थिति, हाम्रो पार्टी र मैले बुझेसम्म अहिले हाम्रो बहुमतलाई कसैले रोक्नै सक्दैन । हाम्रो प्रष्ट बहुमत आउँछ । हामी प्रत्यक्षमा १ सय ३०देखि १ सय ५० भित्र पुग्छौं भन्ने मोटामोटी अनुमान गरेको छु । अब त्यस्तो ठूलो कुनै दुर्घटना भएन भने हाम्रो बहुमत आउने र बिजय हुने कुरालाई कसैले रोक्नै सक्दैन ।

चुनावपछि एमाओवादीको एकलौटी सरकार भयो भने देशलाई अघि बढाउने कस्तो योजना छ ?
हामीले आम जनतालाई अहिले भनेको कुरा नै त्यही छ कि नेपालमा राजनीतिक स्थिरता र आर्थिक समृद्धिको दिशामा बाधा भनेको स्थिर सरकार नहुनु हो । बलियो र बहुमतको सरकार नहुनु हो । त्यसकारण यसपटक नेपाली जनताले राजनीतिक स्थिरताको निम्ति र आर्थिक समृद्धिका साथै संविधान निर्माणको कामको नेतृत्वका लागि पनि एकीकृत माओवादीलाई पूर्ण बहुमत दिनुपर्छ, अहिले हाम्रो अपील यही छ । यो कुरा आम नेपाली जनताले त्यसमा पनि मजदूर, किसान, उत्पीडित वर्ग, जाति, जनजाति, दलित, मुस्लिम, महिला उत्पीडित क्षेत्रका जनता त्यसमा पनि विभिन्न जाति, जनजातिले माओवादीलाई पूर्ण बहुमत दिएर मात्रै बलियो सरकार हुन्छ र आर्थिक समृद्धितिर देश जान्छ । अनि संविधान बन्छ, जसवाट हाम्रो पहिचान र अधिकार सुनिश्चित हुन्छ भन्ने निश्कर्षमा पुगिसकेका छन् । हामीले बहुमतबाट सरकार बनाइसकेपछि हाम्रो ध्यान एकातिर संविधान निर्माण गर्नेमा हुन्छ भने अर्कोतिर आर्थिक समृद्धितिर हुन्छ । हामीले उत्पादन, विकास र निर्माणलाई अभियानको रुपमा लैजाने निर्णय गरिसकेका छौं । हाम्रो नेतृत्वको सरकारको मुख्य ध्यान यिनै दुईटा कुरामा केन्द्रित हुन्छ ।

यहाँले केही समयदेखि एउटै कम्युनिष्ट केन्द्र निर्माणको प्रयत्न गर्दै आउनुभएको छ । यो अभियान अव कसरी अगाडि बढला ?
यो अभियान निरन्तर अगाडि बढ्छ । अहिले खास गरी हेटोंडा महाधिवेशन पछि निकै तीब्र गतिमा विभिन्न राजनीतिक दलमा भएका इमान्दार कम्युनिष्टहरु, क्रान्तिकारीहरु, प्रगतिशील र देशभक्त व्यक्ति, व्यक्तित्वहरु हाम्रो पार्टीमा प्रवेश गर्ने एउटा गुणात्मक प्रक्रिया नै अघि बढिरहेको छ । अहिले जतिजति चुनाव नजिकिँदैछ त्यतित्यति ठूलो संख्यामा त्यसखालको ध्र्रुवीकरण भइरहेको छ । यो धु्रवीकरण चुनावसम्म पुग्दा अझ उत्कर्षतिर जान्छ । निर्वाचन पछि पनि त्यो निरन्तर अघि बढ्छ । हामीले देखेको नेपालमा रहेको दुईतिहाई वामपन्थी जनमत एक ठाउँमा केन्द्रीत हुनुपर्छ र एउटा शक्तिशाली कम्युनिष्ट केन्द्र बन्नुपर्छ भन्ने जो भिजन लिएर अघि बढेका छौं । त्यो रणनीति पुरै सफल नहुँदासम्म यो प्रक्रिया अघि बढिरहन्छ ।

एमाओवादीको हेटौडा महाधिवेशनले जुन कार्यदिशा पारित ग¥यो, त्यसलाई नेपाली कम्युनिष्ट आन्दोलनमै मौलिक कार्यदिशा भनिन्छ, यसलाई कसरी पुष्टि गर्नुहुन्छ ?
यो कार्यदिशा नेपालको कम्युनिष्ट आन्दोलन र क्रान्तिकारी आन्दोलनमा त मौलिक र नयाँ त हो नै अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनमा पनि नयाँ हो । किनभने पूँजीवादी जनवादी क्रान्तिका बाँकी कार्यभार नयाँ तरिकाले पूरा गर्ने र समाजवादी क्रान्तिको रणनीतिमा जाने भन्ने कार्यदिशा आफैंमा नयाँ हो । यो नेपालको सन्दर्भमा मात्रै नयाँ होइन, अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलन र विश्व क्रान्तिका सन्दर्भमा पनि विगतका अनुभवहरुको एउटा समग्र संश्लेषणसहित ल्याइएको नयाँ कार्यदिशा हो । किनकी चीनमा माओत्सेतुङले दोस्रो विश्व युद्धको सन्दर्भमा विकास गरेको नयाँ जनवादको रणनीति र त्यसलाई प्राप्त गर्ने बाटोको बारेमा विश्वव्यापी बहस थियो, त्यही बाटो हो भन्ने मान्यता स्थापित पनि थियो । त्यसबाट शिक्षा लिएर हामीले समग्र अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनमा बहस छेड्ने ढंगले यो संश्लेषण गरेका छौं । त्यसकारण यो नेपालको सन्दर्भमा मात्र होइन विश्व क्रान्तिका सन्दर्भमा पनि एउटा नयाँ कार्यदिशा हो । आउने दिनमा अन्तर्राष्ट्रिय स्तरमा यसको बहस बढेर जाने छ । नेपालमा त यसको कार्यान्वयनको प्रक्रिया सुरु नै भइसकेको छ । हामीले अहिले पहिचानसहितको संघीयता, संघीयतासहितको संविधान, संविधानसभाबाट संविधान त्यसमा टेकेर तल र माथिको हस्तक्षेप मिलाएर क्रान्तिलाई पूर्णता दिने र उत्पादन, विकास र निर्माणको अभियानसहित समाजवादको आधार निर्माण गर्ने जो भनेका छौं, यो मौलिक छ, वैज्ञानिक छ, क्रान्तिकारी, बस्तुसंगत र समयसापेक्ष पनि छ ।

फेरी संविधानसभाको चुनावमै आऊँ, पहिले भएको संविधानसभाको चुनाव र अहिलेको चुनावमा केही भिन्नता छ ?
पहिलो संविधानसभाको निर्वाचनले ८० प्रतिशत काम सकेर पनि संविधान दिन सकेन । अब अहिलेको संविधानसभाको निर्वाचन हाम्रो पार्टी र नेपाली जनताका लागि अवसर र चुनौती हो । पहिलो निर्वाचन त्यति गम्भीर थिएन । यो दोस्रो हुनुका कारणले यसलाई सफल पार्ने र संविधान बनाई छाड्ने जिम्मेवारी हाम्रा अगाडि छ । त्यसकारण मैले भन्ने गरेको छु नेपालका लागि यो अन्तिम संविधानसभा हो । त्यो पहिलो र यो अन्तिम संविधानसभाको चुनाव हो, यसमा यही नै फरक छ । नेपाली जनताका सामु  खास गरीकन सबै उत्पीडित जाति, क्षेत्र, लिङ्गको पहिचान र अधिकार संस्थागत गर्ने र अग्रगामी ढंगले राज्यको पुनर्संरचना गर्ने, शासकीय स्वरुप पनि प्रत्यक्ष जनताबाट निर्वाचित राष्ट्रपतीय प्रणालीमा जाने भन्ने मान्यताबाट आएका छन् । ती सबै शक्ति र समुदायको पनि एउटा ऐतिहासिक जिम्मेवारी छ कि यो संविधानसभाबाट संविधान बनाऔं । त्यसको निम्ति अहिले एकीकृत नेकपा माओवादीलाई बहुमत दिलाउनुको विकल्प छँदै छैन । यो कुरा नेपाली जनताले राम्रोसँग आत्मासात गरेका छन् । हामी जनताप्रतिको त्यही विश्वासका साथ पहिलो संविधानसभामा आएको हो अरु कुनै शक्तिलाई विश्वास गरेर आएकै होइन । हामीले लडेर जनताको मन जितेर जनताका एजेण्डाहरुलाई स्थापित गरेर आएका हौं । अहिले पनि हामी सरकार छाडेर भएपनि जनतामा जान्छौं भन्नुको तात्पर्य जनताप्रतिको विश्वास नै हो । यो अन्तिम संविधानसभाको निर्वाचन असफल हुने छैन, नेपाली जनताले यसलाई पूर्णरुपमा सफल पार्नको निम्ति एकीकृत नेकपा माओवादीलाई एउटा बलियो शक्तिको रुपमा अगाडि ल्याउछन् ।

जनताले तपाईहरुलाई बिजयी गराएपछि संविधान बनाउने ग्यारेन्टी कसरी गर्नुहुन्छ ?
हामी दलहरुले एउटा समझदारी गरि नै सकेका छौं कि पहिलो संविधानसभाबाट जे जति काम भएको छ, त्यसको स्वामित्व ग्रहण गरिने छ । त्यो भनेको त्यसलाई मान्यता दिएर र सम्पत्तिका रुपमा लिएर अगाडि बढ्ने भन्ने एउटा कुरा गरिएको छ । दोस्रो हामीले राजनीतिक ढंगले अब संविधान बनाउन धेरै समय लिनुहुँदैन, त्यसकारण ६ महिनाभित्र संविधानसभाबाट ड्राफ्ट तयार गरिसक्ने र एक वर्षभित्र नयाँ संविधान घोषणा गरिसक्ने प्रतिबद्धता प्रमुख राजनीतिक शक्तिहरुको बीचमा भइनै सकेको छ । त्यो काम मैले आफैंले प्रस्ताव राखेर र विगतको तितो अनुभववाट शिक्षा लिएर उच्च स्तरीय राजनीतिक समितिमा प्रस्ताव राखेको थिए । ६ महिनाभित्र सहमति भयो भने भयो र सहमति भएन भने भोटिङ प्रक्रियाद्वारा संविधान ड्राफ्ट गर्ने भन्ने प्रतिवद्धता भइसकेको भएकाले यो एउटा ग्यारेन्टी छ । दोस्रो नेपाली जनताले देखेका छन् कि कसैलाई पनि बहुमत नदिँदा संविधान बन्दोरहेनछ । त्यसकारण एमाओवादीलाई ठूलोमात्र बनाएर पुग्दो रहेनछ, बहुमत नै दिनुपर्ने रहेछ भन्ने जनताले बुझिसकेका छन् । यी दुई कुरा नै संविधान बन्ने ग्यारेन्टी हुन् ।

एमाओवादीका विरोधीहरुले यहाँलाई तारो बनाउँदै विभिन्न किसिमका झुठ र अनर्गल प्रचार गरिरहेका छन् । सबैतिरबाट अध्यक्षमाथि लगातार भ्रमपूर्ण प्रचार भइरहँदा पनि यहाँ स्वयंले भने खासै प्रतिक्रिया दिने गर्नुहुन्न ? राष्ट्रिय राजनीतिको मुख्य केन्द्र तथा एमाओवादीको प्रमुख नेता रहनुभएका यहाँविरुद्ध किन यसरी अर्नगल प्रहार भइरहेको होला ? 
यसमा त्यति जटिल र बुझ्न गाह्रो कुरा छ जस्तो मलाई लाग्दैन । इतिहासका कुनै पनि परिवर्तन, क्रान्ति र रुपान्तरणको क्रममा जनताले आफ्नो वर्गको एउटा नेतृत्व तयार पार्छ । जनताको त्यो नेतृत्वलाई प्रतिक्रियावादी, प्रतिक्रान्तिकारी, सामन्तवादी र साम्राज्यवादी शक्तिहरुले जहिले पनि आँखाको तारो बनाएकै हुन्छन् । किनकी जनताले तयार पारेको त्यो नेतृत्वलाई खतम नपारेसम्म र बदनाम नगरेसम्म उनीहरुको वर्गको हित नहुने भएकाले त्यो वर्गका मान्छेहरु एक ठाउँमा केन्द्रित हुन्छन् र जनताले तयार पारेको नेतृत्वलाई जसरी पनि सखाप पार्ने षडयन्त्र गर्छन् । यो सोझो कुरा हो । नेपाली जनताले १० बर्षको महान् जनयुद्ध, १९ दिनको जनआन्दोलन, मधेश आन्दोलन, विभिन्न जनजातिका, महिलाका दलितका, पीछडिएका क्षेत्रका आन्दोलनका बीचबाट एकीकृत नेकपा माओवादीका रुपमा एउटा नेतृत्व तयार पारेको हो । त्यो पार्टीको अध्यक्षका नाताले मैले जनयुद्धको तयारीमा, जनयुद्धको प्रक्रियामा र शान्ति प्रक्रियामा जे भूमिका खेलें जनताले आफ्नो नेतृत्वको रुपमा स्वीकारेको, माया गरेको त प्रष्ट छ । त्यो प्रतिक्रियावादीका लागि असैह्य भएको छ । उनीहरु रातदिन प्रचण्डलाई कसरी सिध्याउने भनेर लागिरहेका छन् । अरुलाई गाली गरेर, अरुलाई झुटो कुरा गरेर केही अर्थ हुँदैन, प्रचण्डलाई नै गर्नुपर्छ भन्ने उनीहरुले राम्रो बुझेका छन् । त्यसकारण कसरी आफ्नो नेतृत्वको रक्षा गर्ने भन्ने जनताको र जनपक्षीय शक्तिहरुको पनि दायित्व हुन्छ ।
जनयुद्धमा उनीहरुले किन हाम्रो टाउकाको मूल्य तोकेका थिए ? त्यतिखेर आफ्नो नेतृत्वलाई बचाउने कतिधेरै जनताले त्याग र बलिदान गर्नुप¥यो ? नेतृत्वलाई सिध्याउन पाए बिरुवा मै निमोठ्न पाइन्थ्यो भन्ने थियो । यिनै मान्छेहरु होइनन् टाउको झोलामा ल्याउ पैसा लैजाउ भन्ने ? अहिले विभिन्न मिडियामा जसले हाम्रा विरुद्ध झुठ्ठा र अनर्गल प्रचार गरेका छन्, जसको सिता खाई उसको गीता गाई भने जस्तो त हो । उनीहरुका सिता खाएका मान्छेहरुले त्यही गर्नु पर्छ ।
त्यसकारण म त्यसमा व्यक्तिगतरुपले उत्तेजित हुनुपर्ने, हरेक पटक प्रतिक्रिया दिनुपर्ने आवश्यकता देख्दिन । यो इतिहासको नियम अनुसार क्रान्तिको नियम अनुसार भइरहेको छ । जनताको तागत पुग्यो भने जनताले आफ्नो नेतृत्वको रक्षा गर्छन् । जनताको तागत पुगेन भने प्रतिक्रियावादीले सिध्याइदिन पनि सक्छन् । यो भिन्न रुपमा जनयुद्ध हो । माओत्सेतुङले भनेको कुरा म यहाँ सम्झन्छु– युद्ध रक्तपातपूर्ण राजनीति हो, राजनीति रक्तापातहीन युद्ध हो । त्यसकारण हामी अहिले शान्तिपूर्ण राजनीतिमा छौं, यो रक्तपातहीन युद्ध नै हो । म हाम्रा कार्यकर्ता र जनतामा के भन्न चाहान्छु भने– हिजो युद्धमा हामीलाई सखाप पार्न चाहान्थे, अहिले पनि सखाप पार्न चाहेका छन्, हिजो नेतृत्वको रक्षा गरेर नै अहिले संघीय गणतन्त्रमा हामी आइपुगेका छौं । अहिले पनि नेतृत्व रक्षा गरेर जनवादी क्रान्तिका कार्यभार पूरा गर्ने र समाजवादतर्फ जाने दायित्व हाम्रो अगाडि छ । मलाई जनताप्रति विश्वास छ, पार्टीका नेता–कार्यकर्ताप्रति विश्वास छ, हामी विजयी हुन्छौं ।

अन्त्यमा केही भन्न चाहनुहुन्छ ?
हामी संविधानसभाको अन्तिम अथवा दोस्रो निर्वाचनको संघारमा पनि छौं । त्योभन्दा अगाडि नेपालीहरुको ठूलो चाड विजया दशमी, दिपावली, छठलगायतका ठूल्ठूला चाडहरु पनि हाम्रो अगाडि छन् । म यो निर्वाचनको सफलताका निम्ति आम जनतासँग हार्दिक शुभकामना व्यक्त गर्न चाहान्छु । यी सबै चाडहरुको उपलक्ष्यमा पनि हाम्रो पार्टीको तर्फबाट र मेरो तर्फबाट देशभित्र र बाहिर रहेका सम्पूर्ण नेपाली जनतामा हार्दिक शुभकामना तथा बधाई दिन चाहान्छु ।