• १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
  •   Unicode
Logo
Latest
★   विज्ञान र प्रविधिको क्षेत्रमा पहुँच पुर्‍याउने शिक्षा अध्यापन गराउनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी ★   चैत २३ र २४ गते लुम्बिनीमा अन्तर्राष्ट्रिय शान्ति मेला ★   नेविसंघद्वारा सरकारविरुद्ध सडकमै हवन गरेर बिरोध ★   सीमा क्षेत्रका बासिन्दाले भोग्नुपरेका समस्या समाधान गर्न उपप्रधानमन्त्री श्रेष्ठको आग्रह ★   एकीकृत समाजवादीः बागमती प्रदेशका पाँच जिल्ला अधिवेशन सम्पन्न ★   राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण ★   अर्थराजनीतिक दृष्टिकोणमा आधारित परराष्ट्र नीति नेपालको प्राथमिकताः डा सापकोटा ★   बङ्गलादेशी नागरिकलाई नेपाल ल्याई बन्धक बनाउने पक्राउ ★   अर्थमन्त्री वर्षमान पुनले गरे बजेट लेखन समिति गठन ★   मन्त्रिपरिषद् बैठकः सरकारद्वारा तथ्यांक नियमावली २०८० लाई स्वीकृत, यस्ता छन् अन्य निर्णयहरु

जनता एमाओवादीलाई भारी मतले विजयी गराउन आतुर छन् – विशाल खड्का




० चुनावी गतिविधि कसरी अगाडि बढिरहेको छ ?
–संविधानसभा निर्वाचनको मिति जति नजिकिँदै छ, त्यति नै चुनाव प्रचार–प्रसारका गतिविधिहरु अत्यन्तै तीव्रतम गतिमा अगाडि बढिरहेको छ । दोलखामा हाम्रो पार्टीले सुरु गरेको पहिलो चरणको अभियान सम्पन्न भइसकेको छ । प्रत्येक गाविसमा जनसभा गर्ने, घरदैलो र भेटघाट गर्ने कार्यक्रमहरु सम्पन्न भएका छन् । अध्यक्ष क. प्रचण्डको प्रमुख आतिथ्यतामा जिल्लास्तरीय केन्द्रिकृत जनसभा पनि सम्पन्न भएको छ । त्यस अवसरमा बीस हजार जनताको सहभागिता रहेको थियो । अरु पार्टी पनि आफ्नो साइजअनुसार कछुवाको गतिमा हिँडदै गरेको देखिन्छ । सबैजसो राजनीतिक दलहरुले चुनावी गतिविधिलाई अगाडि बढाएको भए पनि एमाओवादीले जस्तो चुस्त, व्यवस्थित, सभ्य र भव्य चुनावी कार्यक्रम गर्न सकेका छैनन् । हामीले सञ्चालन गरेको चुनावी गतिविधि भव्यतापूर्वक भइरहेका छन् ।
० चुनाव प्रचारका क्रममा जनताको सद्भाव कस्तो पाउनुभएको छ ?
–हामी गाउँ–गाउँमा र आम जनताको घर–घरमा पुग्दा जनताको हामीप्रतिको आकर्षण एकदमै बढेको छ । जनताले हामीलाई अत्यन्तै आदर र सम्मान गरेका छन् । जनताको हामीप्रतिको आकर्षण हेर्दा हामीले चुनाव जितिसकेको अवस्था छ । अघिल्लो संविधानसभाबाट संविधान जारी हुन नदिने एमाले र कांग्रेसप्रति जनताको आक्रोश छ । जनताले गत संविधानसभा निर्वाचनमा एमाओवादीलाई ठूलो पार्टी त बनायौं तर बहुमत दिन नसकेकोमा थकथकी लागेको बताएका छन् । गत संविधानसभामै एमाओवादीलाई बहुमत दिन पाएको भए मुलुकमा संविधान पनि जारी हुन्थ्यो र आर्थिक समृद्धिको दिशामा मुलुक अगाडि पनि बढ्थ्यो भनिरहेका छन् । यसपटक विगतको परिस्थिति दोहो¥याउन नदिन र एमाओवादीको पक्षमा स्पष्ट बहुमत दिन जनता आतुर भएका छन् ।
० प्रचारप्रसारका क्रममा हालसम्म कति वटा गाविसमा प्रचारप्रसार गरिसक्नु भयो ?
–पहिलो चरणमा हामी २८ वटा गाविसमा पुग्यौं । कार्तिक १३ गतेसम्म पहिलो चरणको कार्यक्रम सम्पन्न गरेर दोस्रो चरणको कार्यक्रम भइरहेको छ । हामी अहिले जनताको घरदैलोमा प्रत्यक्ष भेटघाटमा गइरहेका छौं । गाविसस्तरीय र इलाकास्तरीय कार्यक्रम भइरहेको छ । हामी यतिबेला सबै गाविसहरुमा एउटै खालका कार्यक्रम लिएर गइरहेका छौं । सबै गाविसका कार्यकर्ताहरु एकैचोटी फिल्डमा उत्रेका छन् । हजारौं कार्यकर्ता प्रत्येक दिन गाउँगाउँमा जनताको घरघरमा पुगिरहेको हुँदा यतिबेला दोलखा निर्वाचन क्षेत्र नं. १ एमाओवादीमय भएको छ ।
० दोलखा निर्वाचन क्षेत्र नं. १ मा तपाईको मुख्य प्रतिस्पर्धा कुन दलसँग हुने अनुमान गर्नुभएको छ ?
–गत संविधानसभाको निर्वाचनमा हाम्रो प्रतिस्पर्धा एमालेसँग थियो । त्यतिबेला हामी दोब्बर बढी मतले विजयी भएका थियौं । यसपटक हाम्रो स्थिति अझ बलियो भएको छ । गाउँगाउँमा एमाले र कांग्रेसका कार्यकर्ताहरु दिनदिनै एमाओवादीमा प्रवेश गरिरहेका छन् । त्यसैले हाम्रो प्रतिस्पर्धामा आउन सक्ने अवस्थामा एमाले र कांग्रेस दुवै छैनन् । उनीहरु निकै पछाडि रहेर दोस्रो र तेस्रो हुन प्रतिस्पर्धा गरिरहेका छन् ।
० त्यसो हो भने एमाओवादीको जितलाई अब कसैले रोक्न सक्दैन त ?
–हो, जनताको अपार समर्थन पाएको एमाओवादीलाई दोलखाका दुईवटै निर्वाचन क्षेत्रमा भारी मतले विजयी गराउन जनता आतुर भइसकेका छन् । हाम्रो जितलाई कसैले पनि रोक्न सक्ने अवस्था छैन् ।
० दोलखाका खास समस्याहरु के छन् ?
–देशका अरु भू–भागका जनताको जस्तै यहाँका जनताका पनि मूल रुपमा विकास निर्माणकै समस्या हो । देशको राजधानी काठमाडौंबाट नजिकै (१३० किमी) रहेर पनि यस जिल्लाको विकास जति हुनुपर्ने हो, त्यो हुन सकेको छैन । प्राकृतिक रुपमा समेत अपार धनी जिल्ला दोलखा पर्यटन र उर्जाको विकासमा अत्यन्तै सम्भावना बोकेको जिल्ला हो । पर्यटन प्रवद्र्धन गर्नसक्दा यहाँको जनताको जीवनस्तर माथि उठाउन निकै सहज हुन्छ । उर्जाको क्षेत्रमा कुरा गर्ने हो भने आठ हजार मेघावाट विद्युत उत्पादन हुने सम्भावना रहेको छ । तत्कालै पाँच हजार मेघावाट विद्युत उत्पादन गर्न सकिन्छ । राष्ट्रिय गौरवको योजना माथिल्लो तामाकोशीको निर्माण कार्य चलिरहेको छ । अरु प्रोजेक्टहरु पनि छन् । कतिपय काम हुन थालेका छन् । त्यसलाई पूरा गर्ने काम गर्नु अहिलेको मुख्य आवश्यकता हो । त्यसैमा जनताको भविष्य अडिएको छ । हामीले यसलाई चुनावी एजेन्डा बनाएका छौं ।
० एमाओवादीमा प्रवेशको लहरचाहिँ कस्तो छ ?
–मैले अघि नै भनिसकें नि दोलखामा एमाओवादीप्रतिको आकर्षण एकदमै उत्साहजनक छ । कांग्रेस र एमालेका संगठनहरुमा दिनदिनै पहिरो चलेको छ । जुन पहिरोलाई कुनै पनि जाली भरेर र बार लगाएर रोक्न सकिने छैन । जुनसुकै गाविसमा पनि १०० भन्दा बढी स्थानीय तहका नेता कार्यकर्ता एमाओवादीमा प्रवेश गरिरहेका छन् ।
० जनताका गुनासाहरु के छन्, भावी दिनमा उनीहरुको गुनासाहरुलाई कसरी सम्बोधन गर्नुहुन्छ ?
–जनताको गुनासो हिजोदेखि आजसम्म यो छ कि जुनसुकै नेतालाई जिताएर पठाए पनि निर्वाचनपछि गाउँ फर्कदैनन् भन्ने । यो गुनासोलाई मेटाउनका लागि मैले जनसम्पर्क कार्यालय खोल्ने, त्यसलाई व्यवस्थित गर्ने र गाउँस्तरसम्म त्यसलाई विस्तार गरेर लैजानेछु । त्यो सँगसँगै विकास निर्माणका सवालमा पनि मेरा आफ्नै केही योजनाहरु छन् तिनलाई पूरा गर्न विशेष पहल गर्नेछु । चाइनासँग जोड्ने लामाबगरको बाटो निर्माण गर्ने, जिरीबाट किर्नेटार, मन्थली हुँदै सोलु सल्लेरी र चाइनासँग जोडने बाटो निर्माण (उत्तर दक्षिण जोड्ने बाटो निर्माण गर्दा भारत र चाइना जोड्न २०० किमी हुन्छ ।) त्यसलाई मूल एजेन्डा बनाएको छु । अर्को कुरा एउटा क्षेत्रको जनप्रतिनिधि हुने र अर्को क्षेत्रमा पार्टी काम गर्ने जुन परम्परा छ, त्यसलाई छाडेर म त्यही क्षेत्रका जनताको काम गर्नेछु । अर्को कुरा म युवा पनि भएकोले खेलकुदको क्षेत्रमा युवाहरुको लागि एक गाविस एक व्यवसाययिक क्लव बनाउने उद्देश्य लिएको छु । हाम्रो निर्वाचन क्षेत्रको जिरीमा एसियास्तरको रंगशाला बनाइने छ । जिरीमा त्यस किसिमको खेल मैदान बनाउन सकियो भने त्यो क्षेत्रको खेलकुद विकासमा महत्वपूर्ण योगदान पुग्नेछ । समग्रमा यिनै विषयहरुलाई पूरा गर्ने कोशिस गर्नेछु ।
० जनयुद्धका शहीद वेपत्ता परिवारका समस्या पनि छन्, उनीहरुका समस्या समाधानका लागि चाहिँ के गर्नुहुन्छ नि ?
– हो, शहीद, बेपत्ता परिवारलाई राज्यका तर्फबाट जुन रुपमा सम्मान गर्नुपर्ने हो त्यसअनुसारको सम्मान गर्न सकेको छैन । म आफू स्वयम् पनि शहीद परिवारकै व्यक्ति भएकोले मैले आफूलाई उनीहरुको समस्या समाधान गर्ने अवसरका रुपमा लिएको छु । वर्गसङ्घर्षको हिसावले पनि हिजो जनयुद्ध सुरु हुनुभन्दा अगाडि नै युद्ध सुरुवात भएको र पार्टी भूमिगत गएको जिल्ला दोलखा हो । त्यस हिसावले पनि हामीलाई जनताले अपार माया गरेका छन् । म जनप्रतिनिधि भएर गएपछि जनताको यो अपार मायाको सम्मान मैले त्यो जिल्लाको विकास निर्माणदेखि हरेक तहको काम गरेर पूरा गर्नेछु ।
० अन्त्यमा थप के भन्नु हुन्छ ?
–हामी संविधानसभाको निर्वाचनको संघारमा छौं, यसअघि पनि कयौंपटक निर्वाचन भएका छन् । पञ्चायतकालमा हुनेजस्तो निर्वाचन जसरी अहिले पनि केही पार्टी र तिनका उम्मेद्वारहरु जनतालाई अनेक भ्रमजालमा पारेर पैसाको चलखेल गर्न थालेका छन् । यसपटक दोलखाली जनताले त्यो परिपाटी बोकेका पार्टीहरुलाई पराजित गर्न सचेततापूर्वक लागेका छन् । हामी पनि उनीहरुको षड्यन्त्र चकनाचुर पार्न गम्भीरतापूर्वक लागेका छौं । सचेत जनता कसैको खेतालो बन्न सक्दैन । दोलखाली जनताले जुन माया र सद्भाव एमाओवादी पार्टी र हामीलाई गर्नुभएको छ । मंसिर ४ पछि हाम्रो पार्टीले बहुमत प्राप्त गरेर स्थायी सरकार निर्माण गर्ने र जनताको अधिकार स्थापित हुनेखालको संविधान हामी दिनेछौं । भावी पुस्ताको लागि समुन्नत नेपाल निर्माणको अभियान हामी सुरु गर्नेछौं । यो अभियानमा तपाईहरु सबैको साथ रहोस् यही आग्रह गर्दछु ।