• १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
  •   Unicode
Logo
Latest
★   उत्तरपुस्तिका हराएको विषयमा छानबिन गर्न उच्चस्तरीय समिति गठन ★   शिक्षा मन्त्रालयका बीस कर्मचारीलाई स्पष्टीकरण ★   मन्त्रिपरिषद्को बैठक: सचिव पदमा लम्सालको बढुवा,चैते धानको मूल्य निर्धारण  ★   नेपालको पर्यटकीय सम्भावनालाई विश्वमा प्रचार गर्नसके चार गुणा पर्यटक आउँछन्: सांसद राणा ★   इलाम २ मा रास्वपाका उम्मेदवार मिलन लिम्बू ★   एमडीएमएस खरिदमा अनियमितता गरेको अभियोगमा २० जनाबिरुद्ध मुद्दा दर्ता ★   कर्णाली नदीमा हाम फालेर बेपत्ता भएका युवक मृत फेला ★   सवारी दुर्घटनाबाट दैनिक ७ जनाको मृत्यु हुने प्रहरीको तथ्यांक ★   सादा पोशाकमा जनशक्ति परिचालन नगर्न गृहको निर्देशन ★   चीनमा आँधीको चेतावनी

नक्कली मतपरिणाम स्वीकार गर्दैनौं, जनतामा जान्छौं




पहिला संविधानसभा निर्वाचन अभूतपूर्व रुपमा सफल भयो भनेर विज्ञप्ति जारी गर्नुभयो, फेरि अहिले षड्यन्त्र भयो भन्नु भएको छ ? यसले आममानिसमा भ्रम सिर्जना 
गराएन र ?

पहिलो संविधानसभाबाट संविधान बन्न नसकेपछि हाम्रै पहल र अग्रसतामा दोस्रो संविधानसभा निर्वाचन सम्भव भएको हो । संविधानसभा निर्वाचनमा नेपाली जनताले देशभर विवेकपूर्ण मतदान गरेका हुन् । निर्वाचन स्वच्छ र निष्पक्ष रुपमा सम्पन्न भएकामा कसैको शंका छैन । तर, जब मतदान सकियो र मतपेटिकाहरु जिल्ला सदरमुकामहरुमा लैजाने क्रम सुरु भयो त्यसपछि हामीले षड्यन्त्रको गन्ध पाएका थियौं ।

धेरै ठाउँहरुबाट सुरक्षाकर्मीले मतपेटिकासँग हाम्रा प्रतिनिधिहरुलाई तोकिएको मतगणना केन्द्रसम्म आउन नदिएको र मतपत्र भएको ठाउँमा पस्न नदिएको खबर आएको थियो । तर, हामीले त्यसलाई षड्यन्त्रका रुपमा बुझ्न सकेनौं र राज्यको संयन्त्रको नियन्त्रणमा मतपेटिकाहरु भएकाले स्वाभाविक रुपमा विश्वासमा पर्‍यौं ।

तर देशभरबाट एकै प्रकारका रिपोर्टहरु आउन थाले र मतगणना सुरु भएका केही स्थानमा त्यसका संकेतहरु देखिन थाले त्यसपछि षड्यन्त्र भएको निष्कर्षमा पुग्यौं र त्यसविरुद्ध उत्रन बाध्य भयौं ।

यत्तिकै कारणले तपाईंहरु निर्वाचन प्रक्रियाबाट बाहिरिन खोज्नुभएको हो भने यो त्यति तर्कसंगत नहोला फेरि तपाईंहरुले यस्ता विषयमा पूर्वसतर्कता अपनाएको पनि देखिएन नि ?

त्यतिमात्र होइन । धेरै ठाउँहरुमा मतपेटिकाको सिल तोडिएको छ । बाहिर मतदानकेन्द्रहरुमा जनताले मतदान गरिरहेका बेला अमुक स्थानहरुमा नक्कली भोटिङका कामहरु भएका थिए भन्ने सूचना आइरहेका छन् । अर्को कुरा निर्वाचन आयोगले सिल तोडिएका मतपेटिकाबाट पनि मतगणना गर्न निर्देशन दिइएको छ । यसले पनि डिजाइनमै सबै काम भएको हो भन्ने छर्लङ्ग हुन्छ ।

पूर्वसावधानी अपनाउन नसक्नुमा हाम्रा तर्फबाट पनि केही कमजोरी भएका छन् । हामीले देशभरका पार्टीपंक्तिलाई ‘अलर्ट’ राख्नमा ध्यान दिएनौं । पहिल्यैदेखिको डिजाइन रहेछ । त्यो हामीलाई थाहा भएन । मत खसालिसकेपछि त्यसको सुरक्षा गर्न सकिएन ।

यति सबै कुरा थाहा रहेछ तर पहिल्यै किन सार्वजनिक नगरेर मतगणना गर्न सहमत हुनुभएको त ?

मैले अघि पनि भनें, पहिला केही नगन्य सूचनाहरु आएका थिए । निर्वाचनका क्रममा एकाध यस्ता घटना हुनुलाई ठूलो मानिँदैन । हामीले पनि यसलाई सामान्य रुपमा लियौं । तर, जब मतगणनाकार्य सुरु भयो देशभरबाट षड्यन्त्र भएका खबरहरु आउन थाले । त्यसबारेमा तथ्यहरुसमेत फेला परे । त्यसपछि हामी मतगणनाकेन्द्रबाट बाहिरियौं ।

त्यस्ता तथ्यहरु के के हुन् ? जनतालाई भनिदिनुस न ?

मैले माथि उल्लेख गरेका तथ्यहरु नै काफी छन् । यसअघि निर्वाचन सकिएपछि मतपेटिका संकलन सकिएलगत्तै मतगणनाको काम सुरु गरिन्थ्यो । प्रमुख निर्वाचन आयुक्तले निर्वाचन सम्पन्न भएलगत्तै गरेको पत्रकार सम्मेलनमा मतपेटिका संकलन भइसकेका सुगम जिल्लाहरुमा सोही दिन र दुर्गम जिल्लाहरुमा भोलिपल्टबाट मतगणना सुरु गर्ने बताएका थिए ।

यो कुरा मैले भनेको होइन । प्रमुख निर्वाचन आयुक्तका मुखबाट धेरैले सुनेका थिए । अधिकांश टिभी च्यानलहरुले पत्रकार सम्मेलनको प्रत्यक्ष प्रसारण गरेका थिए । तर, किन सोही दिन मतगणना सुरु गरिएन र त्यसबारे हामीलाई थाहा दिइएन ? डिजाइन थियो भन्ने कुरा यही घटनाबाट पनि पुष्टि हुँदैन र ?
अर्को कुरा सिल तोडिएको मतपेटिकाका मत गन्न निर्वाचन आयोगबाट निर्देशन हुनुले पनि डिजाइनको संकेत गर्छ ।

तपाईंको विचारमा त्यो डिजाइनको अगुवाई कसले गरेको थियो ?

यसबारेमा हामीले भनिरहनु नै पर्दैन । मैले अगाडि नै केही संकेतहरु गरिसकेको छु । जसले समग्र निर्वाचन प्रक्रियाको नेतृत्व गरेको छ षड्यन्त्रको नेतृत्व पनि उसैले गरेको प्रष्ट छ ।

अब के गर्नुहुन्छ ?

हामीले निर्वाचन प्रक्रिया पुनरावलोकन गर्न आग्रह गरेका छौं । पुनरावलोकन भएन भने हामी नक्कली परिणाम स्वीकार्दैनौं र संविधानसभामा पनि जाँदैनौं । केन्द्रीय समितिको बैठक बोलाइएको छ । त्यतिखेरसम्म षड्यन्त्रका बारेमा धेरै तथ्यहरु संकलन भइसक्छन् होला । केन्द्रीय समितिको बैठकमा छलफल हुन्छ । अनि कसरी अगाडि बढ्ने भन्ने निर्णय गर्छौं ।

संविधानसभाको एजेण्डा आफ्नै भएको दाबी गर्नुहुन्छ । अनि संविधानसभामा पनि जान्नौं भन्नुहुन्छ । यो कुरा त मिलेन नि ?

संविधानसभाका लागि हामीले धेरै ठूलो कुर्बानी गरेका छौं । शान्तिपूर्ण तरिकाले मुलुकको आर्थिक, सामाजिक, साँस्कृतिक रुपान्तरण सम्भव तुल्याउनका लागि हामीले संविधानसभाको एजेण्डा अघि सारेका हौं । त्यसैका लागि हामी १० वषजनयुद्ध थाति राखेर संविधानसभामा आएका हौं । हामीले संविधानसभाबाट वर्षे जनताको संविधान दिने बाचा गरेका छौं ।

तर, अहिले जसरी षड्यन्त्र गरियो र जुन परिणाम देखाउन खोजिएको छ त्यस्तो संविधानसभाले जनपक्षीय संविधान दिन सक्दैन । संविधानसभा पश्चगामी र यथास्थितिवादीहरुको हतियार बन्नसक्ने खतरा देखियो । त्यसैले यस्तो अवस्थामा हामी संविधानसभामा जानुको औचित्य छैन ।

तपाईंहरुले भने जसरी पुनरावलोकन गर्न अर्को पक्ष तयार भएन भने के गर्नुहुन्छ ?

मैले अघि नै भनिसकें नि यस्तो कृत्रिम परिणाम हाम्रा लागि स्वीकार्य छैन । आमजनता हाम्रा पक्षमा छन् । हामीसँग जनयुद्धबाट आएका लाखौं कार्यकर्ताको संगठित शक्ति छ । त्यहीमार्फत जनपरिचालन गर्छौं । तर, झुटो परिणाम कुनै हालतमा स्वीकार्न सक्दैनौं ।

सामाजिक सञ्जालमा तपाईंहरुले पछिल्लो चार/पाँच वर्षमा जनताका पक्षमा केही पनि नगरेकाले पराजय भोग्नुभयो भन्नेहरु धेरै देखिए । के भन्नुहुन्छ ?

यो विलकुल गलत कुरा हो । राजनीतिक रुपमा गाइडेड विपक्षी पार्टीका केही कार्यकर्ताले यस्ता कुरा गरिरहेका छन् । म आफैं पनि फेसबुक चलाउँछु । जसले तपाईंले भनेजस्ता प्रतिक्रिया आफ्ना वालमा लेखिरहेका छन् ति सबैलाई प्रत्यक्ष/अप्रत्यक्ष रुपमा म चिन्दछु । यदि हाम्रो पार्टीले जितेको भए माओवादीले धाँधली गर्‍यो भन्ने उनीहरु नै हुने थिए ।

नेपालमा कति मानिस फेसबुक र ट्वीटर चलाउँछन् ? के उनीहरुले सबै जनताको प्रतिनिधित्व गर्न सक्छन् ? हामी हिजो र आज पनि के विश्वास गर्छौं भने नेपाली जनता परिवर्तनको पक्षमा छ । नेपाली जनताले हाम्रो नेतृत्वमा नेपालको भाग्य र भविष्य फैसला गर्न सकिन्छ भन्ने विश्वास राख्दछन् । निर्वाचनमा जनताले भारी मत दिएर पठाएका पनि हुन् ।

तर, जनताले दिएको भन्दा फरक परिणाम आयो । सारा संसारले देखेको छ निर्वाचन तयारीका क्रममा हाम्रो पार्टीका पक्षमा देशभर कस्तो लहर थियो । मेचीकाली अभियानका क्रममा लाखौं मान्छे सडकमा आएका थिए । यो सबैले देखेका छन् । के अरु कुनै पार्टीका पक्षमा देशभर यस्तो लहर आएको देख्नुभएको थियो ?

तर, मानिसहरु के भन्छन् भने तपाईंहरुका आमसभामा भाषण सुन्न आउनेहरुको मतदाता सूचीमा नामै थिएन ।

लाखौं मान्छेमा केही त्यस्ता मानिसहरु पनि थिए होलान् । तर, हामी त निर्वाचनका क्रममा जनताका घर–घरमा पुगेका छौं । मतदाता सूचीमा नाम लेखाएकाहरुसँगै साक्षात्कार गरेका छौं । त्यति मात्र होइन देशभर कसले हाम्रा पक्षमा मतदान गर्‍यो भन्ने एक/एक हिसाब हामीसँग छ । देशभरका जनतालाई सोध्नुस् उनीहरु आफूले जिताएर पठाएका उम्मेदवारले पराजय भोगेको खबरहरु सुनेर चकित र आक्रोशित भएका छन् ।

तपाईंहरु निर्वाचन प्रक्रिया पुनरावलोकन नगरेसम्म प्रक्रियामै सहभागी नहुने र संविधानसभामा पनि नजाने भनिरहनुभएको छ । तर, कांग्रेस सभापति सुशील कोइरालाले तपाईंहरुले त्यसो गर्नुभयो भने परिणाम घातक आउने चेतावनी दिएछन् ?

हामी कसैका धम्कीसँग डराउँदैनौं । यस्ता धम्की र चेतावनीका भाषा उहाँहरुले धेरै वर्षदेखि बोल्दै आउनुभएको हो । देश र जनताविरुद्ध भएका भयानक षड्यन्त्र कसैको आग्रह वा चेतावनीका कारण हामी स्वीकार्न सक्दैनौं । हामी जनताको शक्तिमा विश्वास गर्छौं । त्यसैले जनताको अभिमतविरुद्ध भएको यति ठूलो अपमान कुनै हालतमा स्वीकार्न सक्दैनौं र अरु कसैले दिएको नक्कली हैसियत स्वीकारेर संविधानसभामा पनि जाँदैनौं । तर, त्यसबारे संस्थागत निर्णय भने केन्द्रीय समितिको बैठकले गर्छ ।

तपाईंले जनपरिचालन गर्ने भन्नुभएको छ । यो जनपरिचालन भनेको के हो ?

त्यसको स्वरुपका बारेमा केन्द्रीय समितिको बैठकमा छलफल हुन्छ ।

तपाईंहरु अब के गर्नुहुन्छ ?

दृष्य अदृष्य हर्कत र षड्यन्त्रहरु निर्वाचनका क्रममा भएका छन् । त्यसको आम जनतामाझ भण्डाफोर गर्छौं । अहिले हामी तथ्यहरु संकलनका क्रममा छौं । एकपछि अर्का नयाँनयाँ र रहस्यमय तथ्यहरु आइरहेका छन् । देशभर मतपेटिका फेरिएको छ । मतपेटिकाबाट हाम्रो मत झिकिएको छ । परिवर्तन, अग्रगमन, नेपाली जनताको इच्छा र भावनाविपरित जे गतिविधि भए त्यसको गम्भीर समीक्षा गर्छौं र जनतामा जान्र्छौं । जनतामा जानुको विकल्प हामीसँग छैन ।

मतपेटिका सुरक्षाको जिम्मा नेपाली सेनाले लिएको थियो । सैनिक क्याम्पभित्र राखिएको मतपेटिका कसरी परिवर्तन हुन सक्छ ?

अघिल्लो संविधानसभा निर्वाचनमा पनि पृष्ठभागमा रहेर नेपाली सेनाले सुरक्षाको जिम्मेवारी लिएको थियो । यसपटक पनि गर्ने भनेको त्यही हो । सेना परिचालन भनेर जे अफवाह फैलाइयो खासमा सेना परिचालन गरिएको होइन । खाली अन्य सुरक्षा निकायको समन्वयमा ‘ब्याकअप’का रुपमा काम गर्ने मात्र भनिएको हो । तर, त्यसो भएन ।

२०६४ सालमा भएको संविधानसभा निर्वाचनमा मतपत्रसँगै पार्टीका प्रतिनिधिहरु आएका थिए । उनीहरु मतपेटिका कुरेर रातभर बसेका थिए । तर, यसपटक त्यसो गर्न दिइएन । सेनाको ब्यारेकमा वा उनीहरुको नियन्त्रित स्थानमा मतपत्र राखियो । कतिपय स्थानमा त मतपत्र राखिएका ठाउँमा जिल्लास्थित प्रहरी प्रमुखलाई समेत जान दिइएको छैन । यो सबै डिजाइनमा भएको हो ।

त्यसो भए यो कुरा पहिल्यै भन्नुपर्नेमा हार्ने पक्का भएपछि मात्र किन भन्नुभयो त ?

हामीले सबैको विश्वास गर्‍र्यौं । तर, हामीमाथि विश्वासघात भयो । म तपाईंलाई एउटा उदाहरण भनौं । टाढा जानै पर्दैन काठमाडौंको त्रिपुरेश्वरमा नौ नम्बर क्षेत्रको मतपेटिका बोकेको गाडी दुर्घटना भयो भनेर गलत हल्ला चलाइयो । त्यहाँ कुनै मतपेटिका बोकेको गाडी दुर्घटना भएकै छैन । तर, दुर्घटना भएको बहनामा त्यसको सात घण्टापछि मात्र मतपेटिका अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा पुर्‍याइयो । अब आफैं कल्पना गर्नुस् यो बीचमा केके गडबढी भयो होला ?

एक छिनका लागि तपाईंले भनेका सबै कुरा सही नै मानिदिउँ तर, यो कुरा समयमै नभनेर किन पछि भन्नुभयो क्या ?

दुर्घटना भएको भनियो । हामीले होला भन्ने ठान्यौं । तर, त्यहाँ मतपत्र बोकेको सेनाको गाडि नभई प्रहरी र कर्मचारी बोकेको प्रहरीको भ्यान दुर्घटना भएको रहेछ । यो कुरा पछि मात्रै थाहा भयो । यो त एउटा प्रतिनिधि घटना मात्र हो ।

जब देशभरबाट एकपछि अर्को तथ्यहरु आउन थाले त्यसपछि मैले हेर्डक्वार्टरको निर्देशनमा प्रवक्ताको हैसियतले राति नै विज्ञप्ति जारी गरेको हुँ । पछि भनेकै होइन । जनतामाथि घात भयो, अपमान भयो । त्यसलाई स्वीकार्न हुन्न भन्ने ठहर केन्द्रीय कार्यालयको बैठकले राति नै गरिसकेको हो त्यसपछि मतगणना केन्द्रमा रहेका सबै प्रतिनिधिलाई बाहिर आउन भनियो ।

यो सबै किन भयो होला त ?

यी सबै षड्यन्त्र पश्चगमन तथा नेपाली जनताको भाग्य र भविष्यको फैसलाप्रति परिलक्षित छ । पुनरावलोकन भएन भने जनपरिचालन गर्नुको विकल्प छैन । जनतामा गएर तपाईंहरुले हामीलाई जिताएर पठाउनुभएको हो तर, षड्यन्त्रपूर्वक हारेको देखाइयो भन्छौं ।

पुनरावलोकन भनेको के हो ?

निर्वाचन प्रक्रिया, खासगरी मतगणना प्रक्रियाको छानबिन गरिनुपर्‍यो । भएका त्रुटिहरु सच्याउनुपर्‍यो । यस्तो बेलामा चुप लागेर बस्नुजस्तो लाजमर्दो अरु के हुन्छ ?

अब के सडक आन्दोलनमा जानुहुन्छ ?

देशलाई पछाडि धकेल्ने षड्यन्त्र भएपछि आवश्यकताअनुसार जे पनि गर्न सकिन्छ । त्यसबारे केन्द्रीय समितिले निर्णय लिन्छ ।

शान्तिप्रक्रियाको भविष्य अब के हुन्छ ?

हामी शान्तिप्रक्रियाबाट पछि हट्दैनौं । परिवर्तन, अग्रगमन र पहिचानसहितको संघीयता ग्यारेण्टीका लागि दलहरुसँग वार्ता जारी राख्छौं । सँगसँगै जनपरिचालन पनि गर्छौं । यो प्रक्रिया सच्याउनतिर गइएन भने चुप लागेर बस्दैनौं । हामीलाई योजनावद्ध रुपमा हारेको देखाइएको हो । परिवर्तनको प्रक्रिया तोड्न हराएको नाटक गरिएको हो । हामी हार स्वीकार गर्दैनौं ।

तपाईंहरुको अनुपस्थितिमा संविधानसभाबाट संविधान जारी भयो भने के गर्नुहुन्छ ?

षड्यन्त्रकारीहरुले २०४७ सालको फोटोकपी संविधान जारी गर्न चाहेका छन् । त्यसलाई कदापि सफल हुन दिँदैनौं । नेपाली जनताले पहिचान र परिवर्तन खोजेका छन् । फोटोकपी संविधान जनताले स्वीकार गर्दैनन् ।

संविधानसभा छोड्दा त जनतालाई नयाँ संविधान दिने अवसरबाट विमुख बन्ने हुनुभयो नि होइन र ?

जुन लक्ष्य र उद्देश्यका लागि संविधानसभाको एजेण्डा उठाइयो त्यो नहुने भएपछि संविधानसभाको औचित्य के रह्यो र ? हाम्रै पार्टीको पहलमा संविधानसभा सम्भव भएकाले त्यसलाई असफल पार्न यो षड्यन्त्र भएको हो । षड्यन्त्र स्वीकारेर बस्नेजस्तो नामर्दपन के हुन्छ ? संविधानसभा जनताको हितविपरित प्रयोग गराउने डिजाइन आइसक्यो । त्यसैले सुतुरमुर्ग जसरी चुप लागेर बस्न कुरा आउँदैन ।