• १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
  •   Unicode
Logo
Latest
★   नेपालको पर्यटकीय सम्भावनालाई विश्वमा प्रचार गर्नसके चार गुणा पर्यटक आउँछन्: सांसद राणा ★   इलाम २ मा रास्वपाका उम्मेदवार मिलन लिम्बू ★   एमडीएमएस खरिदमा अनियमितता गरेको अभियोगमा २० जनाबिरुद्ध मुद्दा दर्ता ★   कर्णाली नदीमा हाम फालेर बेपत्ता भएका युवक मृत फेला ★   सवारी दुर्घटनाबाट दैनिक ७ जनाको मृत्यु हुने प्रहरीको तथ्यांक ★   सादा पोशाकमा जनशक्ति परिचालन नगर्न गृहको निर्देशन ★   चीनमा आँधीको चेतावनी ★   चैते धानमा किसानको आकर्षण बढ्दै ★   खेतालालाई दिने ज्याला नपुग्ने भएपछि बगानमै छाडियो कुचो ★   हवाई टिकटमा १३ प्रतिशत अतिरिक्त कर व्यवस्थाले पर्यटन क्षेत्र निरुत्साहित भयो: अध्यक्ष ढकाल

खुल्दैछन् एचआइभी सङ्क्रमितहरु



चितवन, ५ पुस –

चितवनका विभिन्न क्षेत्रमा थप १५ जना एचआइभी सङ्क्रमित फेला परेका छन् । आठ दिन गाउँगाउँमा गरिएको परीक्षणबाट यी नयाँ सङ्क्रमित फेला परेको हो । दुई हजार १२० जनाको रक्त परीक्षण गरिएकामा १५ जनालाई एचआइभी सङ्क्रमण भएको पुष्टि भएको एचआइभीसम्बन्धी काम गर्दै आएको संस्था एएचएफका कार्यक्रम संयोजक कृष्णहरि सापकोटाले जानकारी दिए । सङ्क्रमितहरुलाई समाजमा खुल्ने वातावरण निर्माण गरी समयमै स्वास्थ्य सेवा दिने उद्देश्यले परीक्षण शिविर चलाइएको थियो ।

 

गएको हप्ता यहाँ आठ दिनसम्म विभिन्न गाविस र भरतपुर नगरपालिकामा परीक्षण शिविर सञ्चालन गरिएको थियो । यसअघि चितवनमा ९८१ जना एचआइभी सङ्क्रमित भेटिएकामा अब थपिएर सङ्क्रमितको सङ्ख्या ९९६ जना पुगेका छन् । यहाँका आठ गाविस र भरतपुर अस्पतालमा रक्त परीक्षण गरिएको थियो । गाउँगाउँमा सङ्क्रमित देखिनुले अझै मानिसहरु खुल्न नचाहेको पुष्टि भएको जानकारहरु बताउँछन् । मङ्सिर अन्तिमदेखि पुसको पहिलो सातासम्म घुम्ती रक्त परीक्षण शिविर सञ्चालन गरिएको थियो । विशेष प्रकारको किटको सहायताले एचआइभीको परीक्षण गरिएको संयोजक सापकोटाले बताउनुभयो । जिल्ला जनस्वास्थ्य कार्यालय, भरतपुर अस्पताल र एएचएफ संस्थाको संयुक्त आयोजनामा यहाँ कार्यक्रम सञ्चालन गरिएको हो ।

 

माडी, बछौली, शक्तिखोर, दारेचोक, मङ्गलपुरलगायत क्षेत्रमा गरिएको परीक्षणमा सङ्क्रमितहरु फेला परेका हुन् । भरतपुर अस्पतालमा गरिएको परीक्षणमा चार जना सङ्क्रमित फेला परेका छन् । केही जिल्ला बाहिरका समेत छन् । सङ्क्रमितमध्ये अहिले चितवनमा कुल ५४१ जनाले भरतपुर अस्पतालबाट एआरटी सेवा पाउँदै आएका छन् । फेला परेका नयाँ सङ्क्रमितहरुलाई अब भरतपुर अस्पतालमा ल्याएर एआरटी सेवा उपलब्ध गराउने सापकोटाले बताए । सो क्रममा पेट, छाती र पाठेघरको स्वास्थ्य परीक्षणसँगै औषधिसमेत वितरण गरिएको सापकोटाले बताए ।

 

चितवनमा अहिले करिब दुई हजारको हाराहारीमा एचआइभी सङ्क्रमितहरु रहेको अनुमान गरिएको छ ।