• १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
  •   Unicode
Logo
Latest
★   इलाम २ मा रास्वपाका उम्मेदवार मिलन लिम्बू ★   एमडीएमएस खरिदमा अनियमितता गरेको अभियोगमा २० जनाबिरुद्ध मुद्दा दर्ता ★   कर्णाली नदीमा हाम फालेर बेपत्ता भएका युवक मृत फेला ★   सवारी दुर्घटनाबाट दैनिक ७ जनाको मृत्यु हुने प्रहरीको तथ्यांक ★   सादा पोशाकमा जनशक्ति परिचालन नगर्न गृहको निर्देशन ★   चीनमा आँधीको चेतावनी ★   चैते धानमा किसानको आकर्षण बढ्दै ★   खेतालालाई दिने ज्याला नपुग्ने भएपछि बगानमै छाडियो कुचो ★   हवाई टिकटमा १३ प्रतिशत अतिरिक्त कर व्यवस्थाले पर्यटन क्षेत्र निरुत्साहित भयो: अध्यक्ष ढकाल ★   मुम्बई लगातार दुई खेलमा पराजित भएपछि कप्तान पाण्ड्याको आलोचना

‘जन्मभूमिमा नै केही गर्न सकिन्छ’



सात वर्ष देखि अष्ट्रेलियामा बस्दै आएका चिनारी नेपालका गंगा नेम्कुल नेपाल फर्किएका छन् । अष्ट्रेलियामा रहेर विभिन्न सामाजिक गतिविधिमा सक्रिय रहेका नेम्कुल अब नेपालमै रहने गरी फर्किएका हुन् । नेम्कुलकै सक्रियतामा चिनारी नेपालको प्रस्तुतीमा नेपाल भाषाको चलचित्र मसिका (चिनारी) पनि तयार गरिएको छ । अब भने नेम्कुलले नेपालमा नै रहेर समाजसेवामा सक्रिय हुने बताएका छन् । नेपाल फर्किनुको उद्देश्य तथा अबको योजना लगायतका विषयमा अनलाइन चौतारीले नेमकुलसँग गरेको कुराकानीः


लामो समय अष्ट्र्लिया बसेर फर्किनुभयो नी, किन ?
मेरो विचारमा कर्मभूमिमा केही समय बसेपनि जन्मभूमि जस्तो हुँदैन । नेपाल भनेको आफ्नो घर नै हो । र आफ्नो घर त आउनै पर्छ । त्यहाँ रहेर मैले जे जस्तो काम गरेको थिएँ, अब नेपालमा रहेर पनि गर्न सक्छु भन्ने विश्वासका साथ म नेपाल फर्किएको छु । र अब म अन्य देशमा रहनुभएका साथीहरुलाई पनि नेपाल फर्किन र त्यहाँको सिपको प्रयोग नेपालमा नै गर्न आग्रह गर्छु ।
तपाई अष्ट्रेलिया जानुको कारण के थियो ?
मैले पहिल्यै पनि जहाँ गएपनि केही सिक्नुपर्छ र नेपालमा नै केही गर्न सकिन्छ भन्ने सोच राखेको थिएँ । यसै सिलसिलामा लायन्स क्लबमा रहेर समाजसेवामा सक्रिय भएको थिएँ । त्यस्तै अध्ययनका लागि पनि म त्यहाँ गएको हो । विदेशमा विकास भयो, भनिन्छ, कसरी भयो, नेपालमा के गर्न सकिन्छ, यस्तै कुराहरु मनमा लाग्थ्यो र केही सिकौं अनि नेपाल फर्किएर त्यसको प्रयोग गरौं भन्ने उद्देश्यका साथ अष्ट्रेलिया गएको थिएँ । अब नेपालमै रहेर केही गर्ने सोच बनाएको छु ।
धेरै युवाहरु अष्ट्रेलिया जस्ता विकसित मुलुकहरु जानका लागि निकै प्रयास गर्छन् ? तपाई उल्टै फर्कनुभयो नी ?
एक समय केही कुरा सिक्न केही गर्नका लागि जानु आफ्नो ठाउँमा ठिकै छ । तर जहाँसम्म विकसित देशहरुको कुरा छ, त्यहाँ गरेका दुःख नेपालमा गर्ने र त्यहाँ जानेका सिप नेपालमा प्रयोग गर्ने हो भने हामीले नेपालमा पनि केही गर्न सक्छौं । यसले देशलाई पनि योगदान हुन्छ । हामीले यहीं नै अष्ट्रेलिया वा अमेरिका बनाउन सकिन्छ ।
तपाईले अष्ट्रेलियाबाट के लिएर आउनुभयो ?
मैले सात वर्ष अष्ट्रेलिया बसेर अष्ट्रेलियाबाट नगद तथा जिन्सी त केही पनि ल्याइन तर त्यहाँको माया लिएर आएको छु । त्यस्तै केही गर्ने उत्साह र त्यहाँबाट सिकेको सिप लिएर आएको छु । खासमा त्यहाँको सरकारका निकायहरुले पनि नेपाल र नेपालको संस्कृतिलाई निकै माया गरेका हुन्छन् । नेपालको संस्कृतिसँग सम्बन्धित रहेर मैले गरेका क्रियाकलापलाई उनिहरुले निकै मन पराएका थिए । बहुसंस्कृति भएको अष्ट्रेलियामा नेपाली संस्कृतिको पनि उत्तिकै सम्मान हुने गरेको छ । त्यहाँ रहेका अष्ट्रेलियनबासी तथा नेपालीहरुसँगको ठूलो माया लिएर म नेपाल आएको छु ।
अब नेपालमा बसेर के गर्ने योजना बनाउनुभएको छ ?
म यसअघि पनि लायन्स क्लबको आयोजनामा रक्तदान सहितका समाजसेवाका कामहरुमा सक्रिय भएको थिएँ । अब पनि मैले नेपालमै रहेर निस्वार्थ ढंगले समाजसेवाको काम गर्नेछु । अष्ट्रेलियामा सिकेको सम्पूर्ण भाषाभाषीलाई समान र सम्मानपूर्ण व्यवहार गर्नुपर्छ भन्ने कुरालाई यहाँ पनि जोड दिन चाहान्छु । म अष्ट्रेलियामा हुँदा पनि नेपाली कला संस्कृतिको जोगाउन र प्रबर्दन गर्ने बारेमा सक्दो काम गरेको थिएँ । अब अहिले नेपालमा आएर अझै बढि गर्न चाहान्छु ।
तपाईले त्यहाँ रहँदा नेपाल भाषाको चलचित्र पनि बनाउनुभयो नी ?
हो । अष्ट्रेलियामा बसेर हामीले विभिन्न स्टेज कार्यक्रम गरेर नेपालको संस्कृतिलाई चिनाउने काम ग¥यौं । विभिन्न गोष्ठीहरु पनि भए । अब चलचित्रको माध्यमबाट पनि नेपाल कसरी चिनाउन सकिन्छ भन्ने अभियानको सिलसिलामा नेपाल भाषाको चलचित्र मसिका बनाइएको हो । यसको रकडेल काउन्सिलले म्यानेजमेन्ट गरेको हो ।
इन्द्रजात्रामा नेपालमा पनि यसको प्रदर्शन भएको थियो । अष्ट्रेलियामा पनि सेप्टेम्बर ११ मा यसको प्रदर्शन भएको थियो । अष्ट्रेलियाको सरकारले अन्य भाषालाई पनि समान सम्मान दिएको छ । त्यहाँको सरकारले नेपालीको संस्कृति सम्बोधन होस भन्ने चाहेको छ । अब नेपालमा पनि हामीले नेपालका सबै भाषा संस्कृतिहरुलाई समान व्यवहार गर्नुपर्ने आवश्यकता छ । त्यसका लागि पनि म अब क्रियाशिल हुनेछु ।

केही समय अघि सिड्नीमा भएको नेपाल फेष्टिबलमा प्रस्तुती गर्दै गंगाबहादुर नेम्कुल

नेपाली झाँक्रीको रुपमा प्रस्तुत हुँदै गंगाबहादुर नेम्कुल