• १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
  •   Unicode
Logo
Latest
★   उत्तरपुस्तिका हराएको विषयमा छानबिन गर्न उच्चस्तरीय समिति गठन ★   शिक्षा मन्त्रालयका बीस कर्मचारीलाई स्पष्टीकरण ★   मन्त्रिपरिषद्को बैठक: सचिव पदमा लम्सालको बढुवा,चैते धानको मूल्य निर्धारण  ★   नेपालको पर्यटकीय सम्भावनालाई विश्वमा प्रचार गर्नसके चार गुणा पर्यटक आउँछन्: सांसद राणा ★   इलाम २ मा रास्वपाका उम्मेदवार मिलन लिम्बू ★   एमडीएमएस खरिदमा अनियमितता गरेको अभियोगमा २० जनाबिरुद्ध मुद्दा दर्ता ★   कर्णाली नदीमा हाम फालेर बेपत्ता भएका युवक मृत फेला ★   सवारी दुर्घटनाबाट दैनिक ७ जनाको मृत्यु हुने प्रहरीको तथ्यांक ★   सादा पोशाकमा जनशक्ति परिचालन नगर्न गृहको निर्देशन ★   चीनमा आँधीको चेतावनी

स्वास्थ्य क्षेत्र जनमुखी बनाउँछु : स्वास्थ्य मन्त्री



काठमाडौँ, भदौ ६ । स्रोत र साधनका आधारमा प्राथमिकता निर्धारण गरेर स्वास्थ्य क्षेत्रका समस्या समाधानमा सरकार प्रतिबद्ध भएर लागेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री खगराज अधिकारीले सदनलाई जानकारी गराउनुभएको छ ।

व्यवस्थापिका–संसद्मा सांसदहरुले उठाउनुभएको प्रश्नको जवाफ दिँदै उहाँले गुणस्तरीय स्वास्थ्य सेवामा जनताको पहुँच पु-याउन सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।
वीर अस्पतालको क्षमता विस्तार गरिएको, गरिब जनतालाई सरल र सहज रुपमा स्वास्थ्य सेवा पु-याइएको र मुलुकभित्रै गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराइएकाले उपचारका लागि विदेश जानुपर्ने अवस्थाको अन्त्य गर्ने प्रयास भइरहेको उहाँले उल्लेख गर्नुभयो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई पर्याप्त बजेट विनियोजन नभएका कारण सबै क्षेत्रमा उल्लेख्य कार्यक्रम राख्न नसकिएको स्वीकार गर्दै मन्त्री अधिकारीले प्राप्त बजेटका आधारमा सकेसम्म सुविधा उपलब्ध गराइने जानकारी गराउनुभयो ।
चालु आवमा भरतपुर र बागलुङमा ट्रमा केन्द्र स्थापना गरिने र त्यसका लागि पर्याप्त जनशक्तिको व्यवस्था भइरहेको, सामाजिक स्वास्थ्य बिमाका कार्यक्रम क्रमशः कार्यान्वयन गर्दै लैजाने, प्राकृतिक चिकित्सा, युनानी चिकित्सा पद्धतिको विकास गरिने र आधारभूत स्वास्थ्य सेवालाई परिभाषित गरी योजनाबद्ध रुपमा अगाडि बढाइने उहाँले बताउनुभयो ।
जिल्ला जनस्वास्थ्य कार्यालयबाटै २५० श्ययाको अस्पतालको स्वीकृति गर्ने व्यवस्था गरिएको उल्लेख गर्दै मन्त्री अधिकारीले सुर्तीजन्य पदार्थमा ९० प्रतिशतभन्दा बढी चेतावनीमूलक सन्देश राख्ने प्रक्रियाको सुरु भएको र त्यसलाई अस्वीकार गर्ने उद्योगी तथा व्यवसायीलाई कानुनी कारबाही गरिने उल्लेख गर्नुभयो ।
मुलुकका केही स्थानमा हैजा रोग प्रकोपका रुपमा देखिएको भन्ने गुनासोलाई सम्बोधन गर्न सरकार प्रतिबद्ध रहेको जानकारी गराउँदै उहाँले सो रोगको नियन्त्रणका लागि सरकारसँग पर्याप्त साधन र स्रोत मौज्दात रहेको बताउनुभयो ।
उहाँले भूकम्प प्रभावित क्षेत्रमा आधारभूत स्वास्थ्य सेवा प्रदान गर्न सरकार तत्पर रहेको र प्रकोपजन्य रोगको नियन्त्रणका लागि प्रभावकारी नियन्त्रण गर्न प्रयास गरिएको सदनलाई जानकारी गराउनुभयो ।
मन्त्री अधिकारीको स्पष्टीकरण सन्तोषजनक नभएको भन्दै सांसदहरु रामहरि सुवेदी, डिल्लीप्रसाद काफ्ले, अनुराधा थापामगर, रेखा शर्मा, डा सुवोधकुमार पोखरेलले प्रतिप्रश्न गर्नुभएको थियो । रासस