• १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
  •   Unicode
Logo
Latest
★   उत्तरपुस्तिका हराएको विषयमा छानबिन गर्न उच्चस्तरीय समिति गठन ★   शिक्षा मन्त्रालयका बीस कर्मचारीलाई स्पष्टीकरण ★   मन्त्रिपरिषद्को बैठक: सचिव पदमा लम्सालको बढुवा,चैते धानको मूल्य निर्धारण  ★   नेपालको पर्यटकीय सम्भावनालाई विश्वमा प्रचार गर्नसके चार गुणा पर्यटक आउँछन्: सांसद राणा ★   इलाम २ मा रास्वपाका उम्मेदवार मिलन लिम्बू ★   एमडीएमएस खरिदमा अनियमितता गरेको अभियोगमा २० जनाबिरुद्ध मुद्दा दर्ता ★   कर्णाली नदीमा हाम फालेर बेपत्ता भएका युवक मृत फेला ★   सवारी दुर्घटनाबाट दैनिक ७ जनाको मृत्यु हुने प्रहरीको तथ्यांक ★   सादा पोशाकमा जनशक्ति परिचालन नगर्न गृहको निर्देशन ★   चीनमा आँधीको चेतावनी

प्रधानमन्त्रीको देशवासीका नाममा सन्देशः संविधानसभामार्फत संविधान निर्माणमा सरीक हुन आव्हान



काठमाडौं,  भदौ  ७ । प्रधानमन्त्री सुशील कोइरालाले वार्ताबाट समस्याको हल खोज्न दलहरुलाई आव्हान गरेका छन् । प्रधानमन्त्री कोइरालाले आइतवार साँझ देशवासीका नाममा सम्बोधन गर्दै आव्हान गरेका हुन् ।

राष्ट्रिय एकता र मेलमिलापको जगमा आपसी वार्ता, सहमति, सहकार्यका माध्यमबाट हालसम्म प्राप्त लोकतान्त्रिक उपलब्धिहरुलाई संस्थागत गर्दैै सविधानसभामार्फत संविधान निर्माणको महाअभियानमा सरिक हुन संविधानसभा भित्र र बाहिर रहनु भएका समस्त राजनीतिक दल, नागरिक समाज लगायत सबैलाई आव्हान गरेका हुन् ।

“राष्ट्र हामी सबैको साझा हो, राष्ट्रको कुनै अंग दुख्दा राष्ट्रिय पीडा बन्दछ, यो मर्मलाई आत्मसात गरी सम्पुर्ण नेपाली जनता शान्तिपूर्ण रुपमा मिलेर संविधान निर्माण र देश विकासको कार्यमा एकजुट भएमा मात्रै हामीले भावी सन्ततिका लागि शान्तिपूर्ण, सुस्थिर, लोकतान्त्रिक, समुन्नत र समृद्ध नेपालको सुन्दर भविष्यको निर्माण गर्न सक्दछौं”, प्रधानमन्त्री कोइरालाले भने,  “हामी अहिले यस्तो जटील र संवेदनशील अवस्थामा छौँ कि एकातिर आफ्ना सबै मागहरु संविधानमा नै समेटिन पर्ने अडान छ भने अर्कोतिर नेपाल जस्तो बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र भौगोलिक विविधता भएको मुलुकमा आपसी एकता, सद्भाव र सौहार्दताको संस्कृतिको जगेर्ना गर्नु पनि उत्तिकै जरुरी छ । ”

प्रधानमन्त्रीले संविधान निर्माण प्रक्रिया जारी रहेकोले अझै पनि उपयुक्त सुझावहरुलाई प्रक्रियागत रुपमा नै क्रमशः संविधानमा समेट्ने संभावना नटरेकोले संवैधानिक हक अधिकारका लागि बहस गर्ने स्थल संविधानसभामा उपस्थित भएर आफ्ना मागहरु राख्न संविधानसभामा प्रतिनिधित्व गर्ने दलहरुलाई आग्रह  गरे । उनले संविधानसभा बाहिर रहेका दलहरुलाई पनि आफ्ना मागहरु वार्ताका माध्यमबाट संविधानसभामा शान्तिपूर्ण रुपमा अपिल गरे ।

प्रधानमन्त्रीले दिएको सन्देशको पूर्णपाठ यसप्रकार छः 

आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू,

आज हामी नेपाली जनताकोे बलिदानीपूर्ण आन्दोलनहरुको परिणाम स्वरुप गठित दोस्रो संविधानसभाबाट शासनको सम्पुर्ण अधिकार जनतामा निहित हुने संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान जारी गर्ने ऐतिहासिक घडीमा आइपुगेका छौ ।

संविधान बनाउन पहिलो संविधान सभा असफल भए तापनि जनता आफैले आफ्ना अधिकार स्थापित गर्ने अभिलाषाको अन्त्य भएको थिएन । दोस्रो संविधान सभाको निर्वाचनमा जनताद्वारा देखाइएको अभूतपूर्व उत्साह र संलग्नताले यही सत्यलाई प्रकट गरेको थियो । यसर्थ संविधान निर्माणको यो ऐतिहासिक दायित्वबाट यो संविधान सभा विचलिन हुन सक्दैन । यसलाई विचलित हुन नदिन म दृढ संकल्पित छु ।

देशको राष्ट्रिय स्वतन्त्रता, अखण्डता, सार्वभौमिकताको रक्षाका लागि यस्तो संवेदनशील घडीमा राष्ट्रिय एकता र मेलमिलापको भावना निरन्तर अभिबृद्धि गर्नु अहिलेको अपरिहार्य आवश्यकता हो ।

संविधान निर्माणका विभिन्न वैधानिक र प्रक्रियागत चरण पार गरेको अवस्थामा संविधान निर्माण प्रक्रियाबाट बाहिरिदा समग्र नेपालको शान्ति,स्थायित्व र समृद्धिलाई समेत असर पर्दछ । यसलाई देश र जनताको हितका लागि समर्पित हामी सबैले आत्मसात गर्नैपर्दछ ।

संघीयता, समावेशिता र समानुपातिक निर्वाचन प्रणाली सहितको लोकतान्त्रिक गणतन्त्रात्मक संविधान हाम्रो प्रतिबद्धता हो । संविधानमा आफ्नो सम्पुर्ण चाहना र ईच्छा प्रतिविम्बित होस भन्ने अभिलाषा सबैमा चुलिनु स्वभाविकै पनि हो । नेपाली जनताको सही भावनालाई संविधानमा प्रतिबिम्बित गर्नेे राष्ट्रिय दायित्व र कर्तव्य पूरा गर्न हामी शतत् प्रयत्नशील छौ ।

नेपाली जनताको आस्थापुञ्ज संविधान सभालाई सफल बनाउनु हामी सबैको राष्ट्रिय जिम्मेवारी हो । संविधानको निर्माण पश्चात मुलुकको विकास तथा जनताको सुख, शान्ति र समृद्धिका लागि हामीले गर्नु पर्ने कार्यको सूची लामो छ । यसर्थ मुलुकमा शान्ति र स्थिरता कायम गर्दै विकासलाई गति दिन पनि हामीले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान यथाशीघ्र जारी गरी विधिको शासन,प्रेस स्वतन्त्रता, जनताको मौलिक अधिकारको प्रत्याभूतिलाई संस्थागत गर्नु परेको छ ।

संविधान आफैमा एक गतिशील दस्तावेज हो । जनताले चाहेको अवस्थामा र समयले मागेको बेलामा जनताका मूलभूत मौलिक अधिकार, राष्ट्रिय स्वतन्त्रता,अखण्डता, सार्वभौमसत्ता अकाट्य रहनेगरी संविधानमा समयानुकूल संशोधन गर्ने प्रकृया खुला रहन्छ ।

यो मान्यतालाई आत्मसात गरी मुलुकको भूराजनीतिक संवेदशीलता र धरातलीय यथार्थतालाई मनन गर्दै हामी सबै संयमित र एकताबद्ध हुन आवश्यक छ । शान्तिपूर्ण,सुस्थिर र समृद्ध नेपाल नै क्षेत्रीय र विश्व शान्तिको लागि सहयोगी हुने हामी सबैको अटल विश्वास छ ।

संविधान सबैको साझा दस्तावेज हो । यसले सबैको आस्था र विचारलाई प्रतिबिम्बित गर्नुपर्दछ । संविधान निर्माणका क्रममा पहिलो मस्यौदामा देशभरबाट प्राप्त सुझावहरुलाई संशोधित मस्यौदामा समेटिएको छ । संविधान सभा, संवाद समिति र मस्यौदा समितिमा आएका सुझावहरुलाई समेट्दै संविधानलाई पूर्णता दिन संविधानसभा कार्यरत छ । संविधान निर्माण प्रकृया जारी रहेकोले अझै पनि उपयुक्त सुझावहरुलाई प्रकृयागत रुपमा नै क्रमशः संविधानमा समेट्ने संभावना टरेको छैन । यसर्थ संवैधानिक हक अधिकारका लागि वहस गर्ने स्थल संविधान सभामा उपस्थित भएर आफ्ना मागहरु राख्न संविधानसभामा प्रतिनिधित्व गर्ने दलहरुलाई म हार्दिक आग्रह गर्दछु । त्यस्तै संविधानसभा बाहिर रहनु भएका दलहरुलाई आफ्ना मागहरु वार्ताका माध्यमबाट संविधानसभामा शान्तिपूर्ण रुपमा पु¥याउन हार्दिक अपील गर्दछु । हामी अहिले यस्तो जटील र संवेदनशील अवस्थामा छौ कि एकातिर आफ्ना सबै मागहरु संविधानमा नै समेटिन पर्ने अडान छ भने अर्कोतिर नेपाल जस्तो बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र भौगोलिक विविधता भएको मुलुकमा आपसी एकता, सद्भाव र सौहार्दताको संस्कृतिको जगेर्ना गर्नु पनि उत्तिकै जरुरी छ । परिस्थितिको गाम्भिर्यतालाई सबैले बुझिदिनु हुने मैले विश्वास लिएको छु ।
विशाल विविधतामा अनुपम एकता हाम्रो राष्ट्रिय पहिचान हो । आपसी सहयोग र सद्भावबाट नेपाली समाजमा शदियौंदेखि सामाजिक सामञ्जस्यता र सहिष्णुता कायम हुँदै आएको छ । सहमति,सहकार्य ,एकता र मेलमिलापका माध्यमबाटै हामीले मुलुकका सामु उपस्थित जटील समस्याहरुको सामना र समाधान गर्दै पनि आएका छौ ।

यसै सन्दर्भमा हामी सबैले आफ्ना अधिकार र विचार अगाडि राख्दा अरुको अधिकारको पनि संरक्षण र सम्मानको ख्याल गर्नुपर्ने अनिवार्यता छ ।

यसै परिप्रेक्ष्यमा महिला, मधेशी, दलित,आदिवासी,थारु,जनजाति, मुस्लिम, पिछडावर्ग, अल्पसंख्यक र सीमान्तकृत समुदाय सहित संविधानमा आफ्नो हकहित संरक्षणको लागि आन्दोलनरत समस्त राजनीतिक दल, समुदाय र सबै पक्षलाई देश र जनताको बृहत्तर हकहितका लागि संविधान निर्माण प्रक्रियामा सहभागी हुन र आफ्ना मागहरूको शान्तिपूर्ण तरिकाबाट समाधानका लागि वार्तामा संलग्न हुन म हार्दिक आग्रह गर्दछु । संवाद र वार्ताका माध्यमबाट समाधान नहुने कुनै पनि समस्या छैन भन्ने कुरामा म विश्वस्त छु ।

राष्ट्रिय एकता र मेलमिलापको जगमा आपसी वार्ता,सहमति,सहकार्यका माध्यमबाट हालसम्म प्राप्त लोकतान्त्रिक उपलब्धिहरुलाई संस्थागत गर्दैै जनताका मौलिक अधिकार स्थापित गरी आफ्नो भाग्य आफै निर्धारण गर्न निर्वाचित सविधान सभा मार्फत संविधान निर्माणको यस महाअभियानमा सरिक हुन म संविधानसभा भित्र र बाहिर रहनु भएका समस्त राजनीतिक दल, जागरुक नागरिक समाज,विद्वत् समुदाय,पेशाकर्मी,व्यपारिक समुदाय सहित समस्त नेपाली दिदीबहिनी तथा दाजुभाइमा हार्दिक आह्वान गर्दछु ।

अन्त्यमा, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान राष्ट्रिय एकताको गाँठो बलियो पार्ने,लोकतन्त्रलाई सुदृढीकरण गर्ने र आर्थिक रुपमा समृद्ध नेपालको निर्माण गर्ने ऐतिहासिक र महत्वपूर्ण दस्तावेज हुनेमा म दृढ विश्वस्त छु ।

राष्ट्र हामी सबैको साझा हो । राष्ट्रको कुनै अंग दुख्दा राष्ट्रिय पीडा बन्दछ । यो मर्मलाई आत्मसात गरी सम्पुर्ण नेपाली जनता शान्तिपूर्ण रुपमा मिलेर संविधान निर्माण र देश विकासको कार्यमा एकजुट भएमा मात्रै हामीले भावी सन्ततिका लागि शान्तिपूर्ण, सुस्थिर, लोकतान्त्रिक, समुन्नत र समृद्ध नेपालको सुन्दर भविष्यको निर्माण गर्न सक्दछौं ।

धन्यवाद !