• १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
  •   Unicode
Logo
Latest
★   उत्तरपुस्तिका हराएको विषयमा छानबिन गर्न उच्चस्तरीय समिति गठन ★   शिक्षा मन्त्रालयका बीस कर्मचारीलाई स्पष्टीकरण ★   मन्त्रिपरिषद्को बैठक: सचिव पदमा लम्सालको बढुवा,चैते धानको मूल्य निर्धारण  ★   नेपालको पर्यटकीय सम्भावनालाई विश्वमा प्रचार गर्नसके चार गुणा पर्यटक आउँछन्: सांसद राणा ★   इलाम २ मा रास्वपाका उम्मेदवार मिलन लिम्बू ★   एमडीएमएस खरिदमा अनियमितता गरेको अभियोगमा २० जनाबिरुद्ध मुद्दा दर्ता ★   कर्णाली नदीमा हाम फालेर बेपत्ता भएका युवक मृत फेला ★   सवारी दुर्घटनाबाट दैनिक ७ जनाको मृत्यु हुने प्रहरीको तथ्यांक ★   सादा पोशाकमा जनशक्ति परिचालन नगर्न गृहको निर्देशन ★   चीनमा आँधीको चेतावनी

‘टीकापुर घटना राजनीतिक घटना हुनै सक्दैन’



काठमाडौँ, ७ भदौ । प्रमुख तीन राजनीतिक दलले कैलालीको टीकापुरमा आज भएको घटनालाई राजनीतिक घटनाका रुपमा लिनै नसक्ने निष्कर्ष निकालेका छन् । 

टीकापुरमा भएको घटनाको समीक्षा गर्न संविधानसभा भवन नयाँ बानेश्वरमा आज साँझ बसेको तीन दलका शीर्ष नेताको बैठकले जनताको बाँच्न पाउने अधिकारको सुनिश्चितता हुने गरी सुरक्षाको प्रत्याभूति गराउन सरकारलाई सुझाव दिएको छ । उहाँहरुले परिस्थितिलाई उत्तेजित तुल्याउने बोली र व्यवहार पनि कसैबाट पनि नगर्न आग्रहसमेत गर्नुभएको छ । यसैबीच यसअघि सत्तारुढ दल नेपाली काँग्रेस संसदीय दल र नेकपा (एमाले) स्थायी समितिको संविधानसभा भवनमै बसेको बैठकले कैलाली घटनालाई प्रायोजित रुपमा गराइएको निर्मम र निन्दनीय घटना बताएका छन् । ती दुवै दलले नेपाल सरकारलाई सुरक्षाको दायित्वलाई कुशलतापूर्वक सम्पादन गरी जनताको जिउधनको सुरक्षाको आवश्यक प्रबन्ध मिलाउन आग्रह गरेका छन् । काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले टीकापुर घटनालाई दुःखद र भत्सर्नायोग्य ठहर गर्दै संसदीय दलले त्यसप्रति खेद व्यक्त गरेको बताउनुभयो । काँग्रेस संसदीय दलले टीकापुरलगायत देशका विभिन्न ठाउँमा भएका हिंसात्मक घटनाप्रति अत्यन्त दुःख र खेद व्यक्त गर्दै त्यस्ता अप्रिय र अवाच्छित हिंसात्मक घटनाबाट पार्टीलाई मर्माहत र स्तब्ध तुल्याएको जनाएको छ । “राष्ट्रमा शान्ति, सुव्यवस्था कायम गर्न आफ्नो कर्तव्यपालन गर्दागर्दै वीरगति प्राप्त गर्ने वरिष्ठ सुरक्षा अधिकारी, सुरक्षाकर्मीलगायत निर्दोष नागरिकप्रति उच्च सम्मान व्यक्त गर्दै हार्दिक श्रद्धाञ्जलि र परिवारजनमा समवेदना प्रकट गर्नुका साथै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछ”–मुख्य सचेतक चीनकाजी श्रेष्ठले जारी गरेको संसदीय दलको विज्ञप्तिमा भनिएको छ । एमाले संसदीय दलका प्रमुख सचेतक अग्नि खरेलले स्थायी समितिको बैठकले घटनालाई गम्भीरतापूर्वक लिँदै छानबिनका लागि समिति गठन गर्न माग गर्ने निर्णय गरेको बताउनुभयो । एकीकृत नेकपा (माओवादी) संसदीय दलले पनि उक्त घटनालाई सूक्ष्म विश्लेषण गरी जनताका मागलाई सम्बोधन गरेर अघि बढ्नुपर्ने निष्कर्ष निकालेको पार्टीका नेता एवम् सभासद् अग्नि सापकोटाले जानकारी दिनुभयो । प्रमुख दलका शीर्ष नेताको मङ्गलबार बिहान बालुवाटारमा बस्ने बैठकले कैलाली घटनाबारेमा थप प्रस्ट पार्दै औपचारिक धारणा सार्वजनिक गर्ने तयारी गरिएको छ । रासस