• १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
  •   Unicode
Logo
Latest
★   इलाम २ मा रास्वपाका उम्मेदवार मिलन लिम्बू ★   एमडीएमएस खरिदमा अनियमितता गरेको अभियोगमा २० जनाबिरुद्ध मुद्दा दर्ता ★   कर्णाली नदीमा हाम फालेर बेपत्ता भएका युवक मृत फेला ★   सवारी दुर्घटनाबाट दैनिक ७ जनाको मृत्यु हुने प्रहरीको तथ्यांक ★   सादा पोशाकमा जनशक्ति परिचालन नगर्न गृहको निर्देशन ★   चीनमा आँधीको चेतावनी ★   चैते धानमा किसानको आकर्षण बढ्दै ★   खेतालालाई दिने ज्याला नपुग्ने भएपछि बगानमै छाडियो कुचो ★   हवाई टिकटमा १३ प्रतिशत अतिरिक्त कर व्यवस्थाले पर्यटन क्षेत्र निरुत्साहित भयो: अध्यक्ष ढकाल ★   मुम्बई लगातार दुई खेलमा पराजित भएपछि कप्तान पाण्ड्याको आलोचना

काम नथाल्दै पुनर्निर्माण प्राधिकरण खारेज



काठमाडौं, भदौ १८ । विनाशकारी भूकम्प गएको एक सय ३२ दिन पुगेको छ । तर, सरकारले पुनर्निर्माणको काम अगाडि नबढाउँदा सयौँ भूकम्पपीडित बर्खामा पनि जोखिमयुक्त जीवन बिताउन बाध्य छन् ।

सरकारको गैरजिम्मेवारीले पुनर्निर्माण प्राधिकरण भने निष्क्रिय भएको छ । सरकारले भूकम्प गएको करिब दुई महिनापछि ७ असारमा अध्यादेशमार्फत भूकम्पबाट प्रभावित संरचना पुनर्निर्माण अगाडि बढाउन प्रधानमन्त्री अध्यक्ष रहेको पुनर्निर्माण प्राधिकरण स्थापना गरेको थियो ।

सत्तासाझेदार दल कांग्रेस र एमालेबीचको विवादका कारण प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत (सिइओ) २८ साउनमा मात्रै नियुक्त गरिएको थियो । तर, सरकारले चासो नदिँदा अध्यादेश निष्क्रिय भएको समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।

सरकारले अध्यादेशको प्रतिस्थापन विधेयक संसद्मा पेस नगर्दा पुनर्निर्माण प्राधिकरणको अस्तित्व नै समाप्त भएको छ । यससँगै प्राधिकरणले अहिलेसम्म गरेका सबै काम स्वतस् खारेज भएका छन् । प्राधिकरणको ८ भदौको पहिलो बैठकले भूकम्प प्रभावित ३१ जिल्लामा प्राधिकरणको कार्यक्षेत्र तोकिदिन सरकारलाई सिफारिस गर्ने निर्णय गरेको थियो । १३ भदौमा अध्यादेश निष्क्रिय भएको हो ।

प्रधानमन्त्री सुशील कोइरालासहित मन्त्री, सत्तारुढ दल कांग्रेस र एमालेका प्रमुख सचेतक तथा सभासद्ले समेत अध्यादेश संसद्बाट पारित नगराउँदा पुनर्निर्माण प्राधिकरणको अस्तित्व समाप्त हुनेबारे चासो नै दिएनन् ।

प्रशासनिक नेतृत्वमा रहेका मुख्य सचिव डा. सोमलाल सुवेदीले पनि यो विषयमा चासो नदिँदा प्राधिकरण निष्क्रिय भएको छ ।

‘भूकम्पपीडित कैयौँ पीडितले अझै पनि राहत पाएका छैनन् । विद्यालय भवन ध्वस्त भएकाले विद्यार्थीले अध्ययन गर्न पाएका छैनन् । प्रधानमन्त्री, मन्त्रीलगायतको संवेदनहीनताले गर्दा पुनर्निर्माण नै अन्योलमा परेको छ’–अर्थ मन्त्रालयका एक सहसचिवले भने–‘जननिर्वा्चित सरकारको योभन्दा जनताप्रतिको गैरजिम्मेवारीपन के हुन सक्छ र ?’

संसद् बैठक नभएको वेला जारी गरिएको अध्यादेश संसद् बैठक सुरु भएको ६० दिनभित्र पारित गरिसक्नुपर्ने संवैधानिक व्यवस्था छ । संसद्को चालू बजेट अधिवेशन १५ वैशाखबाट सुरु भएको हो । संसद्को १९ असारको बैठकको बहुमतले अध्यादेशलाई स्वीकृत गरेको थियो ।

सरकारले ७ साउनमा अध्यादेशको प्रतिस्थापन विधेयक संसद् सचिवालयमा दर्ता गराएको थियो । तर, विधेयक संसद्को बैठकमा पेस गर्न सरकारले कुनै चासो नदिएकाले अध्यादेश स्वतस् निष्क्रिय भएको हो ।

कांग्रेसका मुख्य सचेतक चिनकाजी श्रेष्ठले अध्यादेश निष्क्रिय भएकोबारे केही थाहा नभएको बताए ।

‘अध्यादेशलाई संसद्ले स्वीकृत गरेको हो, प्रतिस्थापन विधेयकबारे मन्त्रीहरूले छलफल गरिरहनुभएको जानकारी पाएको छु’–श्रेष्ठले भने–‘यसभन्दा बढी थाहा पनि छैन, बोल्न पनि चाहन्न ।’