• १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
  •   Unicode
Logo
Latest
★   सर्लाहीबाट १० निरीक्षक निष्काशित, एक परीक्षार्थीले हिरासतबाटै परीक्षा दिए ★   यशराजको आगामी फिल्ममा विशेष लुकमा देखिदै बबी देओल ★   चार्जिङ स्टेशनमा लगानी बढाउन लगानी कर्ताहरुलाई कुलमानको आह्वान ★   बजेट मागिरहने तर पुँजीगत खर्च गर्न नसक्ने अवस्थाको अन्त्य हुनुपर्छ: प्रधानमन्त्री ★   लोकमार्ग छेउछाउमा बढ्दै बस्ती ★   राष्ट्रिय सभाका उपाध्यक्ष उर्मिला अर्यालबाट राजीनामा ★   स्वास्थ्य क्षेत्रको सुधार गर्न भन्दै रास्वपाले स्वास्थ्यमन्त्री यादवलाई बुझायो २६ बुँदे सुझाव ★   महिलामैत्री बजेट ल्याउन सम्बन्धित मन्त्रालयसँग छलफल जारी छ: मन्त्री चौधरी ★   कोभिड निगरानीका लागि विश्व स्वास्थ्य संगठनद्वारा विश्वव्यापी सञ्जाल सुरु ★   वीरगञ्ज भन्सारद्वारा आठ महिनामा एक अर्ब राजस्व सङ्कलन

आज श्रीकृष्ण जन्माष्टमी



काठमाडौं, भदौ १९ । आज भाद्र कृष्णाष्टमी, भगवान कृष्णको जन्म भएको सम्झना कृष्ण जन्माष्टमी पर्व मनाइँदै छ । ज्ञानयोग, भक्तियोग र कर्मयोगका प्रणेता कृष्णको पूजाआज गरी यो पर्व मनाउने गरिन्छ ।

द्वापरयुगको अन्त्यतिर भाद्रकृष्ण अष्टमीको मध्यरातमा कृष्णको जन्म भएको सम्झनामा यो पर्व मनाउने गरिएको जनविश्वास छ । मामा कंस लगायतको अत्याचारबाट मानवजातिलाई मुक्ति दिनका लागि वासुदेव र देवकीको आठौं गर्भबाट विष्णुको आठौं अवतारका रुपमा श्रीकृष्णको जन्म भएको धार्मिक विश्वास छ ।

धार्मिक ग्रन्थमा उल्लेख भएअनुसार कृष्णले पापका पर्याय बनेका कंसको बध गरी हजुरबुबा उग्रसेन, मातापिता देवकी एवं वासुदेवलाई कारागारमुक्त गराएका थिए ।

बाल्यकालदेखि नै विचित्रलीला देखाएका कृष्णले गोपिनी र राधासँग गरेको प्रेमप्रसंगका कारण यो महिना प्रेमोत्सव अर्थात् झुलनोत्सवका रुपमा पनि मनाउने गरिन्छ ।

अन्याय, अत्याचार र दानवी प्रवृत्तिबाट मानव जातिलाई सुरक्षित बनाउने उद्देश्यले विष्णुले मानिसका अवतारका रुपमा श्रीकृष्ण भई धरतीमा अवतरण गरेको मानिन्छ । कृष्णले आजीवन सत्यका पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गरेका थिए ।

कौरव र पाण्डवकाबीचमा कुरुक्षेत्रमा भएको धर्मयुद्धमा सत्यका पक्षमा रहेका पाँच पाण्डवमध्येका अर्जुनको सारथीका रुपमा कृष्णले युद्धको शिक्षा थिए ।

मानव जातिलाई सुरक्षित पारी धर्मको रक्षाका लागि धरतीमा अवतरित कृष्णले कंस, जरासन्ध र शिशुपाल आदि दानवी प्रवृत्तिलाई अन्त्य गरेका थिए ।

पर्वको अवसरमा ललितपुर पाटनको मंगलबजारस्थित श्रीकृष्ण मन्दिर, काठमाडौं गोठाटारमा रहेको नवतनधाम, बूढानीलकण्ठस्थित कृष्ण भावनामृत संघको मन्दिर, हाँडीगाउँस्थित पीपलबोटभित्र रहेको कृष्णमन्दिर लगायत देशभरका कृष्ण मन्दिरमा पूजा आराधना गर्नेको बिहानैदेखि भिड लागेको छ । विभिन्न स्थानमा रथयात्रा तथा शोभायात्रा गरी श्रीकृष्ण जन्माष्टमी पर्व मनाउने गरिन्छ ।

आजको दिन महिलाहरू व्रत बसी राति कृष्ण जन्मिएको सम्झनामा पूजाआजा गर्ने र रातभर जाग्राम बसेर नाचगान तथा कृष्णको भक्ति संगीत गाउँछन् । यसो गरेमा श्रीकृष्ण प्रसन्न भई मनोवाञ्छित फल प्राप्त हुने धार्मिक विश्वास छ । रासस