• ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
  •   Unicode
Logo
Latest
★   रोटरी क्लब अफ डामे बेल्जियमले नेपाल अपांग संघ अर्थोपेडिक अस्पताललाई सहयोग गर्ने ★   आर्सनललाई हराउँदै बायर्न च्याम्पियन्स लिगको सेमिफाइनलमा ★   इलाम-२ उपनिर्वाचन : मिशन ८४ को ट्रेलर, प्रत्येकलाई चुनौती ★   कानुन समाजका अध्यक्ष तीर्थमान शाक्यको निधन ★   सुहाङलाई मत माग्दै ओलीले भन्नुभयोः देश बनाउने युवा हुन्, जिताउनुस् ★   नेकपा (एकीकृत समाजवादी) को महाधिवेशनको मिति सर्यो, अब असार १६ देखि २० गतेसम्म काठमाडौंमा ★   नासाले मंगल ग्रहका नमूनाहरू फिर्ता गर्न नयाँ डिजाइन खोज्ने ★   वेदान्तका प्रखरवक्ता रिसाललाई पाणिनी पुरस्कार ★   सुदूरपश्चिमकै सबैभन्दा ठूलो चिस्यान केन्द्र बन्द हुने अवस्थामा ★   पश्मिना उद्योगको प्रवर्द्धनमा सरकार प्रतिबद्ध छः मन्त्री भण्डारी

ताप्लेजुङ–पाँचथर सडकखण्ड फेरि अवरुद्ध, पहिरो पन्छाउन समस्या



ताप्लेजुङ, भदौ १९ । दुई दिनदेखिको निरन्तरको वर्षाका कारण शनिबार राति झरेको पहिराले मेची राजमार्गको ताप्लेजुङ–पाँचथर सडकखण्ड फेरि अवरुद्ध बनेको छ ।

ताप्लेजुङ–८ दोखुमा पर्ने खोक्सेखोला छेउमा पहिरो अझै निरन्तर झरिरहेको छ । ताप्लेजुङ–कावेली सडक खण्डका विभिन्न ठाउँमा सानातिना दर्जनौँ पहिरो झरेका छन् ।

खोक्सेखोला नजिकै सडकमाथिबाट झरेको ठूलो पहिराले करिब ३० मिटर सडक पुर्दा बाटो अवरुद्ध भएको सडक डिभिजन कार्यालय इलामका सुपरभाइजर नवीन उप्रेतीले बताए ।

उप्रेतीका अनुसार पहिरो शनिबार बिहानसम्म झरिरहेको र सडकको पूरै भाग पुरिएर तलसम्म पुगेको छ । दुई दिनअघि सोही ठाउँमै झरेको पहिरो करिब सात घन्टा लगाएर पन्छाइएको थियो ।

पहिरो निरन्तर झरिरहेकाले तत्काल यन्त्र लगाएर पन्छाउन नसकिने उप्रेतीले बताए ।

संघीय लिम्बुवान पार्टी नेपालले आह्वान गरेको बन्दका कारण राजमार्गमा यातायातका साधन नचलेकाले यात्रु भने अलपत्र छैनन् । निजी सवारी साधन, मोटरसाइकलमा यात्रा गर्ने र पैदल यात्रुका लागि समस्या भएको छ ।

ताप्लेजुङ–पाँचथर सडकखण्डअन्तर्गत ताप्लेजुङदेखि कावेलीसम्म विभिन्न ठाउँमा वर्षातका समयमा बर्सेनी पहिरो खस्ने भए पनि सडक डिभिजन कार्यालय इलामले यो क्षेत्रमा पहिरो पन्छाउन आवश्यक जनशक्ति नखटाउँदा र यन्त्रको समेत प्रयोग नगर्ने भएकाले सानातिना पहिरो झर्दा समेत लामो समयसम्म बाटो अवरुद्ध हुने गरेको छ ।

जिल्लाका विभिन्न ग्रामीण सडकखण्डसमेत पहिरोकै कारण अवरुद्ध बनेका छन् । सिनाम, आम्वेगुदिन, फुरुम्वोलगायत ठाउँमा जाने कच्ची सडकका विभिन्न ठाउँमा पहिरो झरेको स्थानीयवासीले बताएका छन् । रासस