• ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
  •   Unicode
Logo
Latest
★   चिमखोलामा टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते ★   शिक्षाध्यक्ष प्रा डा खड्ग केसीलाई सम्मान ★   भुर्तेल लगातार दोस्रो खेलमा डक आउट ★   गण्डकीमा मन्त्री चुमानलाई आर्थिक र मनाङेलाई भौतिक मन्त्रालयको जिम्मेवारी ★   एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकमा पेस भएको ६ प्रतिवेदनमा के–के छ ? (पूर्णपाठ) ★   हिमाल हेर्न नेपाल आएका पिटर शैक्षिक उन्नयनमा सक्रिय ★   राजतन्त्रलाई फर्काउन खोज्ने प्रयास सफल हुने कुनै सम्भावना छैनः ओली ★   गगन थापाको दाबीः अहिलेको गठबन्धन माघ कट्दैन ★   आईपीएलमा आजः दिल्ली र हैदराबाद भिड्दै ★   मुलुकको राष्ट्रिय राजनीति २९ महिना निक्कै कष्टकर – अध्यक्ष ओली

आन्दोलन चर्काउन मधेसी नेताले भारतसँग मागे गुहार



काठमाडौं, भदौ २२ । मधेस केन्द्रित दलका नेताहरुले मधेस आन्दोलन चर्काउन भारतीयहरुसँग गुहार मागेका छन् । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका दोस्रो तहका नेताहरुले सोमबार रक्सौल पुगेर आन्दोलन चर्काउन भारतीयसँग गुहार मागेका हुन् ।

फाइल फोटो

आन्दोलनका क्रममा वीरगन्जमा प्रहरीको गोलीबाट मारिएका पाँच जनाको शोकमा सीमावर्ती रक्सौलमा सोमबार आयोजित श्रद्धान्जलीसभामा मधेसी मोर्चाका नेताहरुले नेपाल सरकारले सेना र प्रहरीको आडमा आन्दोलन दबाउने हर्कत गरेको भन्दै आन्दोलनमा सहयोग गरिदिन आग्रह गरेको समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छापिएको छ ।

सदभावना पार्टीका अध्यक्ष लक्ष्मणलाल कर्णले नेपाल सरकारले मधेसीलाई अधिकार दिन नचाहेकाले मधेसमा आन्दोलन चर्काउन सहयोग पुर्‍याउन भारतीयलाई आग्रह गरे ।

सङ्घीय समाजवादी फोरम नेपालका पर्सा अध्यक्ष प्रदीप यादवले नेपाल र भारतबीच ‘रोटीबेटी’को सम्बन्ध भएकाले मधेसको आन्दोलनमा भारतीयले सहयोग गर्नुपर्ने बताए ।

‘हामीले मधेसबन्द गराएका छौं’–अध्यक्ष यादवले भने–‘तपाईंहरुले रक्सौलबाट पेट्रोलियम र अन्य आवश्यक वस्तुको आपूर्तिमा रोक लगाइदिनुहोस् ।’

मधेसीले अधिकार माग्दा सरकारले सेना परिचालन गरेर दमन गरेको भन्दै उनले आन्दोलनमा अब भारतको सहयोग आवश्यक रहेको जिकिर गरे ।

मधेस ठप्प पारी आन्दोलनमा उत्रिँदा पनि सरकारले सेना परिचालन गरी आपूर्ति सहज बनाइरहेकाले रक्सौलबासीले त्यसको विरोध गर्नुपर्ने उनको भनाइ थियो ।

श्रद्धान्जली सभामा तमलोपाका पर्सा जिल्ला अध्यक्ष पुरुषोत्तमलाल झा, सदभावना पार्टीका केन्द्रीय सदस्य निजामुदिन समानी, तराई मधेस सदभावना पार्टीका प्रेमचन्द कुशवाहा लगायतकाले मधेस आन्दोलन सफल बनाउन भारतीयको सहयोग अब अपरिहार्य भएको बताए ।

सभामा रक्सौलका समाजसेवी एवं प्रोफेसर डा. अनिल सिन्हाले मधेस आन्दोलन सफल बनाउन आफूहरुले तन, मन र धनले सहयोग गर्ने प्रतिबद्धता जनाए ।

उनले मधेसीसँग आफूहरुको रगतको सम्बन्ध रहेको भन्दै मधेसीले अधिकार पाएमा मात्र आफूहरुको पनि अधिकार सुनिश्चित हुने बताए । उनले नेपाल सरकारले पाँच दिनभित्र मधेसीको माग सम्बोधन नगरे भारतबाट नेपालतर्फ हुने माल–सामानको आपूर्ति ठप्प पार्ने उद्घोष गरे ।

सत्तारुढ भारतीय जना पार्टीका सांसद र नेताहरुसँग मधेस आन्दोलनबारे आफूहरुको कुरा भइरहेको भन्दै उनले भने–‘यदि बिजेपीले मधेस आन्दोलनमा सहयोग गरेन भने रक्सौलका जनता बिजेपीविरुद्ध सडक आन्दोलनमा उत्रिन्छन् ।’

श्रद्धान्जली सभामा सहभागी रक्सौलका व्यपारी, बुद्धिजीवी र स्थानीयले मधेस आन्दोलनमा वीरगन्जमा मारिएका पाँच मृतकका परिवारलाई एक लाख रुपैयाँ सहयोग गरेका छन् । संकलित रकम उनीहरुले मोर्चाका नेताहरुलाई हस्तान्तरण गरे ।