• १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
  •   Unicode
Logo
Latest
★   एमाले अध्यक्ष ओली आज इलाम जाँदै, चुलाचुलीमा हुने चुनावी सभालाई सम्बोधन गर्ने ★   स्वास्थ्य क्षेत्रमा आउनसक्ने चुनौतीको सामना गर्न सक्नुपर्छ : प्रधानमन्त्री ★   ९२ हजार विस्थापितका घर बन्नै बाँकी ★   बोलेरो गाडी र मोटरसाइकल जुध्दा झापामा तीन जनाको मृत्यु ★   हिमाल पारीको जिल्ला मुस्ताङको सौन्दर्य (फोटो फिचर) ★   लगानी सम्मेलनमा ५२ देशका ६३४ जना आउने निश्चित ★   डढेलोले म्याग्दीमा सात सय हेक्टर वन सखाप, वन्यजन्तु गाउँ पसे ★   दुई देशका प्रतिनिधिमण्डलको भेटवार्ता हुँदै ★   चेम्बर सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ ★   स्टोइनिसको आईपीएल करिअरको पहिलो शतकमा लखनउले चेन्नईलाई ६ विकेटले हरायो

नेपाली महिला तस्करीमा साउदी कूटनीतिक अधिकारी संलग्न



फोटो: एजेन्सी

काठमाडौं, भदौ २२ । दुई नेपाली महिला दिल्लीस्थित साउदी अरेबियाको दूतावासका कूटनीतिक कर्मचारीको प्रत्यक्ष संलग्नतामा दुई नेपाली महिला पाँच महिनायता शारीरिक शोषण बेहोर्न बाध्य भएको उजुरीका आधारमा भिसा सेक्सनका काउन्सेलर तहका कर्मचारी छानबिनमा परेका छन् ।

हरियाणा, गुडगाउँको कैट्रोना कम्प्लेक्समा बस्ने ती कर्मचारीले आफूहरूलाई घरमा बन्दीसरह राख्दै अतिथिलाई जबर्जस्ती यौनकर्ममा लगाउने गरेको बागलुङ र मोरङका पीडित महिलाले बयान दिएका छन् ।

माइती इन्डियामार्फत स्थानीय प्रहरीमा दर्ता भएको उजुरीका आधारमा प्रहरीले सोमबार दिउँसो दुवै महिलालाई कैट्रोना कम्प्लेक्स, ई–ब्लकबाट उद्धार गर्दै गुडगाउँ, फेज ३ को चौकीमा ल्याएको थियो ।

यो घटनाबारे नेपाली दूतावासमा जानकारी गराउने माइती इन्डियाका संस्थापक बालकृष्ण पाण्डेका अनुसार साउदी अरेबिया दूतावासका भिसा मामला हेर्ने काउन्सेलरमाथिको उजुरीमा कूटनीतिक र राजनीतिक तवरमा छानबिन हुने भएकाले तत्काल कारबाहीकै तहमा यो मामिला अघि बढिहाल्ने स्थिति भने छैन ।

‘प्रहरीमा काउन्सेलरसहितको नाममा प्रथम सूचनापत्र (एफआईआर) दर्ता गर्ने काम भइसकेको छ’–नेपाली कांग्रेसको भ्रातृ संगठन जनसम्पर्क समितिका अध्यक्षसमेत रहेका पाण्डेले भने–‘तर कूटनीतिक तहमा पुगेको संवेदनशील विषय भएकाले यौन दुष्कर्म, मानव तस्करी वा कुन शीर्षकमा मुद्दा चलाउने भन्ने विषयमा अहिले परामर्श भइरहेको छ ।’

मानव तस्करीको सन्जालबाट बर्दिया–राजापुर हँुदै गाडीको बाटोबाट ५ महिनाअघि दिल्ली ल्याइएकी मोरङकी महिलाले आफूसहित बागलुङकी महिलालाई दिल्लीबाट एक महिनाका लागि साउदी अरेबिया लगिएको जानकारी दिएका समाचार आजको कान्तिपुर दैनिकमा छापिएको छ ।

उनका अनुसार, साउदीमा पनि घरभित्र थुनेर यौन दुष्कर्म गर्न लगाएको र अत्यास लागेर रुवाबासी गर्दा गुडगाउँ ल्याएर फेरि कैदीसरह घरमा राखिएको थियो । माइती इन्डियाले नेपाली दूतावासमा दिएको सूचनाअनुसार यी नेपाली महिलाको नामथरसँग उनीहरूको पासपोर्ट विवरण पनि नमिल्दो छ ।

‘मेरा घरमा शारीरिक अशक्त श्रीमान् छन्, स–साना २ छोराछोरी छन् । काठमाडौंकी एकजना चिनारु एजेन्ट दिदीले घरेलु काममा महिनाको १ हजार साउदी रियाल तलब दिने भनेपछि घर सल्लाहमै विदेश हिँडेकी हुँ’–बागलुङकी महिलाले भनिन् । उनले दिल्ली आउने क्रममा एजेन्टलाई दिन र अरू पासपोर्टको काममा मात्रै १ लाख रुपैयाँ खर्च भइसकेको बताइन् ।

तर, बितेको ५ महिनामा एक रुपैयाँ पनि तलब नपाएको उनले सुनाइन् । उनका अनुसार काठमाडौंकी कल्पना नामकी एजेन्टले आफूहरूलाई दिल्लीसम्म आउने प्रबन्ध मिलाएको र दिल्लीमा अनवर नामका एजेन्टले साउदी अरेबियाका मालिकको घरमा पु¥याएका थिए ।

मोरङकी ५० वर्षीया महिलाका चार छोराछोरी र २ नाति–नातिना गाउँमा छन् । श्रीमानले अर्कै विवाह गरेर हिँडेपछि आफूखुसी विदेशमा कमाइमा हिँडेकी उनले यस्तो विपत्ति आइपर्ला भन्ने सपनामा पनि नसोचेको बताइन् ।

‘न दिनमा खान पाइन्थ्यो, न रातमै सुत्न पाइन्थ्यो’–उनले रुँदै सुनाइन्– ‘त्यही भएर त्यहीं साउदीको घरमा काम गर्ने एकजना दार्जिलिङकी बहिनीलाई सबै कुरा सुनाएर उनैमार्फत आज प्रहरीमा आएका हौं ।’

पाण्डेका अनुसार, गुडगाउँ प्रहरीको बयान र प्रारम्भिक कानुनी कामकारबाही पूरा गर्नासाथै सोमबार रातिबाटै माइती इन्डियाको जिम्मेवारीमा दुवै महिला आश्रयस्थलमा रहनेछन् ।

दिल्ली ट्रान्जिट हुँदै भइरहेको मानव तस्करी र नेपाली महिला बेचबिखनको पछिल्लो घटनाका रूपमा दर्ता भएको कूटनीतिक संलग्नताको यो घटनाबारे नेपाली दूतावासले विदेश मन्त्रालयलाई पत्राचार गरिसकेको काउन्सेलर राजेन्द्रमान श्रेष्ठले बताए ।