• १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
  •   Unicode
Logo
Latest
★   उत्तरपुस्तिका हराएको विषयमा छानबिन गर्न उच्चस्तरीय समिति गठन ★   शिक्षा मन्त्रालयका बीस कर्मचारीलाई स्पष्टीकरण ★   मन्त्रिपरिषद्को बैठक: सचिव पदमा लम्सालको बढुवा,चैते धानको मूल्य निर्धारण  ★   नेपालको पर्यटकीय सम्भावनालाई विश्वमा प्रचार गर्नसके चार गुणा पर्यटक आउँछन्: सांसद राणा ★   इलाम २ मा रास्वपाका उम्मेदवार मिलन लिम्बू ★   एमडीएमएस खरिदमा अनियमितता गरेको अभियोगमा २० जनाबिरुद्ध मुद्दा दर्ता ★   कर्णाली नदीमा हाम फालेर बेपत्ता भएका युवक मृत फेला ★   सवारी दुर्घटनाबाट दैनिक ७ जनाको मृत्यु हुने प्रहरीको तथ्यांक ★   सादा पोशाकमा जनशक्ति परिचालन नगर्न गृहको निर्देशन ★   चीनमा आँधीको चेतावनी

भारतको ’सन्देश’ पछि प्रक्रिया स्थगित



काठमाडौं, भदौ २६ । भारतीय राजदूत रन्जित रेले आफ्नो सरकारको औपचारिक ‘सन्देश’ प्रमुख तीन दलका शीर्ष नेतालाई दिएपछि संविधान निर्माण प्रक्रिया दुई दिनका लागि स्थागित भएको छ ।

राजदूत रेले प्रधानमन्त्री सुशील कोइराला, एमाले अध्यक्ष केपी शर्मा ओली र एमाओवादी अध्यक्ष पुष्पकमल दाहाललाई शुक्रबार अलग–अलग भेटेर खुला सीमा क्षेत्रमा भएको अशान्तिले भारतलाई पनि चिन्ता भएको सन्देश दिएका थिए । समस्या समाधान राजनीतिक ढंगले गर्नुपर्ने सन्देश दिँदै उनले त्यस्तो समाधान खोज्न नेपाल आफैं स्वतन्त्र भएको बताएका थिए ।

तीन–तीनपटक आह्वान गर्दा पनि मधेसी दल वार्तामा नआएपछि संविधान निर्माण प्रक्रियालाई निरन्तरता दिइरहेका प्रमुख तीन दलको बैठक शुक्रबार बस्नुअघि रेले उनीहरूलाई भेटेका थिए । उनी बिहीबार बेलुकादेखि नै राजनीतिक भेटघाटमा सक्रिय थिए ।

यही दुई दिनभित्र संविधानका दफा पारित गरी यसै महिनाको अन्त्यसम्म जारी गर्ने तयारी संविधानसभाको थियो । संविधान लेखन प्रक्रिया नरोकिने बुझेपछि भारतले प्रधानमन्त्री नरेन्द्र मोदी सरकारको औपचारिक सन्देश राजदूतमार्फत पठाएको समाचार आजको नागरिक दैनिकमा छापिएको छ ।

बिहान ८ बजे प्रमुख तीन दलको बैठक बस्नुअघि नै राजदूत रे बालकोटस्थित एमाले अध्यक्ष ओली निवास पुगेका थिए । ‘सहमतिबाट संविधान बनाउनुहोस् भन्ने भारतीय दूतको सन्देश थियो,’ ओलीका निजी सचिव रमेश आचार्यले भने, ‘अध्यक्षज्यूले आन्दोलनरत दललाई वार्तामा ल्याउने प्रयास भएको र संविधान छिट्टै आउनेमा विश्वस्त हुनुहोस् भन्नुभयो ।’

ओलीनिकट स्रोतका अनुसार ’सहमतिका लागि’ भारतीय राजदूत रेले ओलीसमक्ष प्रस्ट रूपमा तीनवटा प्रस्ताव गरेका छन् । ‘पहिलो, जारी संविधान निर्माण प्रक्रिया स्थगित गरेर सहमति खोज्नुहोस्,’ रेलाई उद्धृत गर्दै स्रोतले भन्यो, ‘पश्चिममा कैलालीका १, २, ३ र ४ निर्वाचन क्षेत्र नवलपरासी–बर्दिया प्रदेशमा र पूर्वको मोरङ र सुनसरीलाई २ नम्बर प्रदेशमा समावेश गराए समाधान हुन्छ, नत्र गाह्रो देखिन्छ ।’

यसो गरे समस्या समाधान हुने तर्क पनि रेको थियो । यो विषयलाई संविधान निर्माण क्रममा सम्बोधन गरे आन्दोलन गरिरहेका तराई–मधेसकेन्द्रित दल र समूह वार्तामा आए वा नआए पनि केही फरक नपर्ने उनको सन्देश थियो ।

राजदूत रेको सन्देशबारे ओलीसँग केही चर्काचर्कीसमेत भएको थियो । त्यसपछि ओली प्रमुख तीन दलको बैठकका लागि बालुवाटार प्रस्थान गरे । अन्य दुई दलका शीर्षनेता डेढ घन्टादेखि उनको प्रतीक्षामा थिए ।

ओलीसँग भेटेलगत्तै रे एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल निवास लाजिम्पाट पुगे । भारतीय दूत लाजिम्पाट पुग्दा दाहाल भने बालुवाटारस्थित प्रधानमन्त्री निवासमा प्रमुख तीन दलको बैठकमा व्यस्त थिए ।

निवासमा भारतीय राजदूत आएको खबर पाउनेबित्तिकै दाहाल जारी बैठक छाडेर नेता बाबुराम भट्टराईसहित लाजिम्पाट गए । रेले भेटघाटका लागि बिहान ७ बजेको समय मागेका थिए तर बिहान प्रमुख तीन नेता दाहाल, भट्टराई र नारायणकाजी श्रेष्ठको आन्तरिक बैठक पहिल्यै निर्धारित भएकाले उनले त्यो समय पाउन सकेका थिएनन् ।

१० बजेका लागि समय पाएका भारतीय राजदूतले लाजिम्पाट निवासमा भारतीय सरकारको लिखित सन्देश पढेर सुनाए जहाँ दाहाल–भट्टराई उपस्थित थिए । उपाध्यक्ष श्रेष्ठ भने लाजिम्पाट गएनन्, बालुवाटारै बसे । ‘भारत सरकार नेपालमा चाँडै संविधान निर्माण भएको देख्न चाहन्छ भन्ने सन्देश बोकेर आउनुभएको थियो,’ जिज्ञासामा दाहालका प्रमुख सचिव चूडामणि खड्काले भने, ’तराई–मधेसका आन्दोलनलाई सम्बोधन गरेर सहमतिमा संविधान बनाउन शुभकामना दिनुभएको छ ।’ उनका अनुसार नेपालको आन्तरिक समस्या नेपाली राजनीतिक दलले हल गरेको हेर्न चाहेको सुनाएर राजदूत रे फर्केका थिए ।

दाहाल–भट्टराई पुनः बालुवाटार फर्केलगत्तै प्रमुख तीन दलको बैठक पुनः सुरु भयो । प्रधानमन्त्री कोइरालाले राजदूत रेले १५ दिन संविधानसभा स्थगित गरी असन्तुष्ट पक्षसँग वार्ता गर्न दबाब दिएको सुनाए । ओली, दाहाल र कांग्रेस नेता शेरबहादुर देउवाले समस्या आउनसक्ने भन्दै प्रक्रिया स्थगन गर्न नहुने बताएका थिए ।

बैठकमा प्रधानमन्त्री कोइरालाले पाँच दिन बैठक स्थगित गर्न सहमति गरौं भन्ने प्रस्ताव गरे पनि दुई दिन समय दिने निर्णय भयो । बालुवाटारमा नेताहरूले भारतीय दबाबपछि यो निर्णय गरिरहेका बेला संविधानसभामा सभासदले धारणा राख्ने क्रम जारी थियो ।

परिमार्जित विधेयकमाथि सभासदले धारणा राखिरहेकै बेला प्रमुख दलबीच आकस्मिक निर्णय भएपछि सभाध्यक्ष सुवासचन्द्र नेम्वाङले आइतबार बिहान ११ः३० बजेसम्मका लागि बैठक स्थगित भएको घोषणा गरे ।

राजदूत रेले दिनभरजसो विभिन्न राजनीतिक नेतासँग भेटघाट तथा टेलिफोन सम्पर्क गरेको जानकारी नेताहरूले दिए । दिनभरिको सक्रियतापछि साँझ उनले नेपाली सेनाका नवनियुक्त प्रधानसेनापति राजेन्द्र क्षत्रीलाई जंगीअंड्डा, भद्रकालीमा भेटेका थिए ।