• १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
  •   Unicode
Logo
Latest
★   आयरल्यान्ड ‘ए’ विरुद्ध लोकेश बमको अर्धशतक ★   विश्वकै लामो फिल्म, जसलाई हेर्न ३ दिन बढी समय लाग्ने ★   धैरे पटक चुनाव हारेर रेकर्डः २३८ पटक चुनाव लडेर हारेका नेताजी फेरि चुनाव लड्दै ★   झापा पुगेर गृहमन्त्रीले भने- पीडकसँग प्रशासन-प्रहरीको हिमचिम अन्त्य हुनैपर्छ ★   देशको अर्थतन्त्र गत वर्षजस्तो सङ्कटमा छैन: प्रधानमन्त्री दाहाल ★   आयरल्याण्ड ‘ए’ ले नेपाल ‘ए’ लाई दियो २२३ रनको विशाल लक्ष्य ★   प्रेस सेन्टरले गर्यो मिलन लिम्बूलाई बर्खास्त ★   कपनबाट पेस्तोलसहित एकजना पक्राउ ★   लगानी सम्मेलनमा प्रदेशका आयोजनाको छुट्टै स्टल ★   कोहली भर्सेस स्टार्कः दुबैलाई एक–अर्काको चिन्ता

बाग्लुङमा गर्भावस्था, प्रसूति समय, सुत्केरी अवस्थाका लागि मोबाइल प्रविधिको प्रयोग



बाग्लुङ, भदौ २६ । मातृ तथा नवजात शिशुको मृत्युदर घटाउन मोबाइल प्रविधिको परियोजना जिल्लाभर विस्तार गर्ने कार्य सुरु भएको छ ।

देशमै पहिलो पटक यहाँका चार गाविसमा लागू गरिएको ‘नमूना परियोजना’ सफल भएपछि सबै गाविसमा पुर्‍याउन लागिएको हो ।

‘मेडिक’ मोबाइलको आर्थिक तथा प्राविधिक सहयोगमा नेपाल सरकारले परियोजना सञ्चालन गरेको हो । पैंयूपाटा, नारायणस्थान, अमलाचौर, पाला, मालिका, भकुण्डे, सिगाना, बिहुँ, भीमापोखरा, तंगाम, लहरेपिपल र मूलपानीमा परियोजना लागू भइसकेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

गर्भवती भएदेखि सुत्केरी भएको २८ दिनसम्मका महिला र नवजात शिशुको स्याहार र स्वास्थ्य जाँचमा सघाउ पु¥याउन ‘मेडिक मोबाइल’ परियोजना ल्याइएको हो । सुरक्षित मातृत्वका लागि सूचनाको सही व्यवस्थापन र अभिलेखन प्रणाली प्रभावकारी देखिएको वरिष्ठ जनस्वास्थ्य प्रशासक महेश्वर श्रेष्ठले बताए ।

५९ गाविसमा रहेका ९५० महिला स्वयंसेविका र ६१ वटा स्वास्थ्य संस्थालाई स्वतः सन्देश लेनदेन गर्ने ‘सफ्टवेयर’ जडित मोबाइल वितरण गर्न लागिएको छ । परियोजना चलेको गाविस र स्वास्थ्य संस्थामा मोबाइल वितरण भइसकेको परियोजनाका अधिकृत मनोज खड्काले जानकारी दिए ।

वितरण भएका मोबाइलमा गर्भवती महिलाको नाम र विवरण भित्र्याउने काम सकिएको छ । ‘मोबाइलबाट गर्भवती, सुत्केरी र शिशुको निगरानी गर्ने यो प्रविधि सफल भएको छ, यसको प्रभावकारिता राम्रो देखिएपछि जिल्लाभर विस्तार गर्न लागेका हौं’–अधिकृत खड्काले भने ।

महिला स्वयंसेविकाले मोबाइलमा गराएको गर्भवती दर्ताको आधारमा ‘सफ्टवेयर’ले गर्भ जाँचको समय, प्रसूति हुने समय, सुत्केरी अवस्थामा आमा र शिशुको स्याहार तथा स्वास्थ्य जाँचको लागि सन्देश दिने गरेको छ । महिला स्वयंसेविकाले मोबाइलमा प्राप्त सन्देश गर्भवती तथा सुत्केरी महिला कहाँ पुर्‍याउने गरेका छन् ।

मोबाइलले दिएको सन्देशकै आधारमा महिला समयमै गर्भ जाँच गराउने, प्रसूतिका लागि स्वास्थ्यसंस्थामै जाने क्रम बढेको पाइएको छ । प्रसूति हुने समयभन्दा दुईहप्ता पहिलेदेखि नै प्रसूतिका लागि निर्धारित समयमा स्वास्थ्य संस्था जान गर्भवती महिलालाई मोबाइलमा सन्देश प्राप्त हुने गरेको छ ।

मातृ तथा शिशु मृत्युदर घटाउन र स्वास्थ्य संस्थामा हुने प्रसूतिको दर बढाउन परियोजना सहयोगी बनेको छ । मोबाइल सन्देशकै आधारमा स्वयंसेविकाले गर्भवती तथा सुत्केरी महिलालाई खबर गर्ने, स्वास्थ्य संस्थामा जानका लागि आग्रह र सहयोग गर्ने गरेका छन् । गर्भवती जाँच, शिशुको स्वास्थ्य अवस्था, खतराजन्य अवस्थाको सूचनाजस्ता महत्वपूर्ण सूचना मोबाइलबाटै स्वयंसेविका कहाँ पुग्ने गरेका छन् ।

परियोजना चलेका गाविसमा स्वास्थ्य संस्थामा हुने प्रसूतिमा उल्लेख्य वृद्धि आएको छ । केही महिनाभित्र जिल्लाभर परियोजना विस्तार भइसक्ने जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । रासस