• १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
  •   Unicode
Logo
Latest
★   शिक्षा मन्त्रालयका बीस कर्मचारीलाई स्पष्टीकरण ★   मन्त्रिपरिषद्को बैठक: सचिव पदमा लम्सालको बढुवा,चैते धानको मूल्य निर्धारण  ★   नेपालको पर्यटकीय सम्भावनालाई विश्वमा प्रचार गर्नसके चार गुणा पर्यटक आउँछन्: सांसद राणा ★   इलाम २ मा रास्वपाका उम्मेदवार मिलन लिम्बू ★   एमडीएमएस खरिदमा अनियमितता गरेको अभियोगमा २० जनाबिरुद्ध मुद्दा दर्ता ★   कर्णाली नदीमा हाम फालेर बेपत्ता भएका युवक मृत फेला ★   सवारी दुर्घटनाबाट दैनिक ७ जनाको मृत्यु हुने प्रहरीको तथ्यांक ★   सादा पोशाकमा जनशक्ति परिचालन नगर्न गृहको निर्देशन ★   चीनमा आँधीको चेतावनी ★   चैते धानमा किसानको आकर्षण बढ्दै

भारत र अमेरिकाबाट संविधान लेखन प्रक्रियाको स्वागत



काठमाडौं, भदौ २९ । भारतले नेपालमा संविधानसभाले संविधान निर्माण प्रक्रियामा हासिल गरेको प्रगतिको स्वागत गरेको छ । यस क्रममा धेरै विवादित विषय समाधान भइसकेको भन्दै त्यसका लागि नेपाली नेताहरूले प्रदर्शन गरेको एकताको उसले सराहना गरेको छ ।

नयाँ संविधान मुलुकका सबै क्षेत्र, भाग र समाजले ग्रहण गर्न सक्ने र अपेक्षा पूरा गर्ने हुनुपर्छ भन्ने आफ्नो चाहना रहेको पनि भारतले जनाएको छ ।

‘भारतले सधैं नेपालमा शान्ति, स्थायित्व, एकता र विकासमा सहयोग गर्दै आएको छ,’ भारतीय विदेश मन्त्रालयले सोमबार प्रकाशित गरेको विज्ञप्तिमा भनिएको छ, ‘दुई दशकयता नेपालमा हिंसा, अस्थिरता, आन्तरिक द्वन्द्व र राजनीतिक विवादको पनि हामी साक्षी हौं, जसले नकारात्मक परिणामहरू समेत दिँदै आएका छन् ।’

नेपाल अझै यो संकटबाट माथि उठ्न नसकेको औंल्याउँदै गत वैशाखको महाभूकम्पले पु¥याएको ठूलो क्षतिका सन्दर्भमा यो पीडादायी रहेको विज्ञप्तिमा उल्लेख छ ।

‘संकट राजनीतिक होस् या प्राकृतिक, भारत सधैं नेपालको समृद्धि र हित चाहन्छ । नेपाल सधैं आफ्नै ताकतमा खडा हुन सकोस् भन्ने पनि भारतको चाहना हो,’ विज्ञप्तिमा भनिएको छ, ‘केही सातायता नेपालको नेतृत्ववर्ग गहन रूपमा साझा परामर्श र संवादमार्फत संविधान निर्माणको महत्वपूर्ण कार्यभारमा व्यस्त छ । प्रगतिशील, आधुनिक र एकीकृत नेपाललाई केन्द्रविन्दु बनाएर सबै क्षेत्र र भागका लागि स्वीकार्य संविधान निर्माणका निम्ति नेपाली नेताहरूबाट उत्साहजनक अभिव्यक्तिहरू आएका छन् । यसबाट हामीलाई समेत खुसीको सञ्चार भएको छ ।’

पछिल्ला केही वर्षयता नेपालको राजनीतिक नेतृत्वले धेरै चुनौतीको सामना गर्न परिपक्वता र विवेक प्रयोग गरेको विज्ञप्तिमा उल्लेख रहेको समाचार आजको कान्तिपुर दैनिकमा छापिएको छ ।

‘यसबीचमा सम्पन्न दुई निर्वाचनले शान्तिप्रक्रिया र बहुदलीय संवैधानिक लोकतन्त्रको विकासलाई टेवा र्पुयाएको छ,’ सोमबार अबेर जारी विज्ञप्तिमा भनिएको छ, ‘नेपालले शान्तिप्रक्रियामा प्राप्त गरेका उपलब्धि प्रशंसनीय छन् ।’

नेपालमा विभिन्न भागमा भइरहेका प्रदर्शन र हिंसाबारे भारतको चासो रहँदै आएको बताउँदै विज्ञप्तिमा नेपाललाई भयावह हिंसाले एकपटक फेरि विचलित बनाएको उल्लेख छ । ‘त्यसबाट पीडित हुने सुरक्षाकर्मी वा नागरिक जो भए पनि ती सबै नेपाली हुन्,’ विज्ञप्तिमा भनिएको छ ।

विज्ञप्तिमा महाभूकम्पले तहसनहस बनाएको नेपालमा यी पछिल्ला घटनाक्रमले ल्याएका विपत्तिले संसारका जुनसुकै मुलुकलाई दुःखी बनाउने उल्लेख छ । ‘यस परिप्रेक्ष्यमा हामीले सबै राजनीतिक शक्तिलाई मुख्य मुद्दाहरूमा संवाद र सम्भावित सम्झौतामा हिंसारहित वातावरणका लागि जोड दिँदै आएका छौं,’ विज्ञप्तिमा छ ।

नेपालका राजनीतिक दल, संगठन र प्राज्ञिकवर्गले सधैं परिपक्वता र संकटबाट निकासको मार्ग पहिल्याउँदै आएको बताउँदै विदेश मन्त्रालयले भनेको छ, ‘नेपाली नेताहरूको निरन्तर नेतृत्व र इच्छाशक्तिका कारण यो सम्भव भएको छ । स्थिर र टिकाउ संविधानबाट मात्र आधुनिक नेपालको निर्माण सम्भव छ । यसमा नेताहरूले कुनै कसर छाड्ने छैनन् भन्नेमा हामी आशावादी छौं ।’

भारत सरकार नेपाल र नेपाली जनतासँगको सौहार्दपूर्ण सम्बन्ध चाहने तथा शान्ति, स्थायित्व र सामाजिक आर्थिक विकासका लागि सधैं समर्थन र सहयोग गर्न तयार रहेको पनि उसले जनाएको छ ।

त्यसैगरी अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता जोन किर्बीले विज्ञप्ति जारी गरी नेपालमा बन्न लागेको नयाँ संविधानले शान्त र समृद्ध नेपाल निर्माण गर्ने आशा व्यक्त गरेका छन् । नेपालको आर्थिक विकासका लागि आधारशिला बनाउन पनि संविधान महत्वपूर्ण रहेको विज्ञप्तीमा जनाइएको छ ।