• १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
  •   Unicode
Logo
Latest
★   राष्ट्रिय सभाका उपाध्यक्ष उर्मिला अर्यालबाट राजीनामा ★   स्वास्थ्य क्षेत्रको सुधार गर्न भन्दै रास्वपाले स्वास्थ्यमन्त्री यादवलाई बुझायो २६ बुँदे सुझाव ★   महिलामैत्री बजेट ल्याउन सम्बन्धित मन्त्रालयसँग छलफल जारी छ: मन्त्री चौधरी ★   कोभिड निगरानीका लागि विश्व स्वास्थ्य संगठनद्वारा विश्वव्यापी सञ्जाल सुरु ★   वीरगञ्ज भन्सारद्वारा आठ महिनामा एक अर्ब राजस्व सङ्कलन ★   सौराहाको रोजगारी र आयको मुख्य स्रोत पर्यापर्यटन ★   पहिलो दिनको एसइई परीक्षा शान्तिपूर्ण रूपमा सम्पन्न ★   नयाँ दिल्लीको म्याक्स अस्पतालमा आरजु देउवाको शल्यक्रिया ★   टरवाइनको परीक्षण अन्तिम चरणमा ★   विश्वकपको यात्रा गर्नु खुशीको क्षण: प्रशिक्षक मोन्टी देसाई

पूर्वी नाका हुँदै सुन तस्करी हुने गरेको खुलासा



झापा, भदौ ३० । भारतको पश्चिम बङ्गालको सिलगढीबाट झापाको पूर्वी नाका काँकरभिट्टा हुँदै नेपालमा सुन तस्करी हुने गरेको रहस्य सार्वजनिक भएको छ ।

झापाको भद्रपुर विमानस्थलबाट एक तिब्बती नागरिक मंगलबार पक्राउ परेसँगै यस्तो रहस्य खुलेको हो । आफू चिनियाँ भएको बताउने उनले ललितपुरबाट नागरिकता लिएको प्रहरी समक्ष स्वीकारेका छन् ।

१० किलो सुनसहित पक्राउ परेका तेञ्जिङ सिरुप नाम बताउने १९ वर्षीय युवकलाई बुधबार जिप्रका झापाले सार्वजनिक गरेको हो ।

उसबाट बरामद गरिएको सुनको मूल्य रु चार करोड ८१ लाख रहेको प्रहरीले आज पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएको छ ।

यसअघि पनि उनले यही नाका भएर सुन ओसारेको बताएका छन् । ठूलो परिमाणमा सुनसहित पक्राउ परेका उनी सुन बोक्ने भरिया मात्र भएको प्रहरीको भनाइ छ ।

तिब्बती नागरिक भएपनि उनले ताप्लेजुङ जिल्ला हाङदेबा गाविस–१ आफ्नो जन्मस्थान उल्लेख गरेर ललितपुरबाट २०७१ वैशाख ३ गते २८–०१–०७१–०००२ नम्बरको सोनाम गुरुङ्गको नाममा नेपाली नागरिकता लिएका छन् ।

प्रहरीले उनको नागरिकतासमेत सार्वजनिक गरेको छ । उसबाट एक÷एक केजीका १० टुक्रा सुन, २० हजार नेपाली रुपैयाँ र भारतीय रुपैयाँ १ हजार ४० रुपैयाँ बरामद गरिएको प्रहरी उपरीक्षक ठाकुरप्रसाद ज्ञवालीले जानकारी दिनुभयो ।

उनी हिन्दी र अङ्ग्रेजी भाषा मात्र बोल्न सक्छन्, नेपाली भाषा बोल्न जान्दैनन् । भारतको सिलगढीका राजेश भनिने व्यक्तिले उनलाई काठमाडाँै बस्ने उनकै भाइलाई सुन पुर्‍याउन पठाएको तेञ्जिङले सञ्चारकर्मीसँगको कुराकानीमा बताए ।

काठमाडौँमा सुन पुर्‍याए बापत प्रतिकिलो भारतीय रुपैयाँ पाँच हजार दिने सर्तमा उनी लामो समयदेखि सुन ओसारपसारमा संलग्न रहँदै आएको र अहिले तराईमा यातायात बन्द भएकाले हवाइजहाजबाट काठमाडौँ जाने तयारीमा भएको उनले बताए ।

मङगलबार दिउँसो २ः०५ बजे बुद्ध एयरलाइन्सबाट काठमाडाँै हिडेका तेन्जिङलाई भद्रपुर विमानस्थलका सुरक्षाकर्मीले नियमित जाँच क्रममा पक्राउ गरेको थियो । उनले लगाएको जुत्ताभित्र कालो प्लाष्टिकमा बेरी टेप लगाएर सुन राखिएको थियो ।

नेपाली नागरिकता भएकाले प्रहरीले उनको विषयमा थप अनुसन्धान गरिरहेको र  उनलाई क्षेत्रीय राजस्व कार्यालय इटहरी पठाउने तयारी भइरहेको प्रहरी उपरीक्षक ज्ञवालीले जानकारी दिनुभएको छ ।

बाल्यकालदेखि नै भारतको विभिन्न स्थानमा शरणार्थी भएर जीवन बिताउदै आएका तेञ्जिङ्गको भेट राजेश भन्ने व्यक्तिसँग दिल्लीमा भएको उनले बताएका छन् ।

झापाको पूर्वी नाका काँकरभिट्टाको बाटो हुँदै तीन भारतीय नागरिकलाई अपहरण गरी झापामा एक महिनासम्म बन्धक बनाएको घटना सेलाउन नपाउँदै सोही नाका भएर सुन तस्करी गर्न खोजिएको यो नयाँ घटनाले सीमाक्षेत्रमा खटिएका प्रहरीलाई चुनौती थपिदिएको छ ।

केही दिनअघि झापाको बिर्तामोडबाट अपहरणमा संलग्न पाँच जनालाई पक्राउ गरिएको थियो भने अपहरणमा परेका तीन भारतीय युवकको सकुशल उद्धार गरिएको थियो । रासस