• १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
  •   Unicode
Logo
Latest
★   दिक्तेल–चखेवाभञ्ज्याङ सडकखण्डका तीन पुल निर्माणको अन्तिम चरणमा ★   पञ्चकोटमा रहेको गरुड शिला र पृष्ठभूमिका हिमशृङ्खला ★   अझै तीन दिन पानी पर्ने, आज चट्याङको सम्भावना ★   शुक्रबार सन्तोषी माता, वैभवलक्ष्मी र शुक्र भगवानको पूजा–आराधना गर्नुहोस् ★   सत्ताका गाँठागुठीमा साना दलको च्याँखे दाउ ★   राजस्थानको लगातार दोस्रोे जित, दिल्लीलाई १२ रनले हरायो ★   उत्तरपुस्तिका हराएको विषयमा छानबिन गर्न उच्चस्तरीय समिति गठन ★   शिक्षा मन्त्रालयका बीस कर्मचारीलाई स्पष्टीकरण ★   मन्त्रिपरिषद्को बैठक: सचिव पदमा लम्सालको बढुवा,चैते धानको मूल्य निर्धारण  ★   नेपालको पर्यटकीय सम्भावनालाई विश्वमा प्रचार गर्नसके चार गुणा पर्यटक आउँछन्: सांसद राणा

वीरगन्जमा रचियो सभ्य र भब्य कन्सर्टको इतिहास– तस्बिरहरु



वीरगन्ज । अघिल्लो दिन मात्र वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंह र पर्साका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले एउटै मञ्चबाट ‘भोलीको कार्यक्रममा हुलदंगा हुनदिने छैनौं’ भनेर आश्वस्त पारेका थिए । नभन्दै वीरगन्जमा संभवत पहिलोपटक हजारौं दर्शकको उपस्थिती रहेको रक कन्सर्ट सभ्य र भब्य तवरबाट सम्पन्न भएको छ । यसरी ‘मानवताका लागि संगीत’ अभियानका साथ देशभरको दौडाहामा निस्केको लोकरक ब्याण्ड नेपथ्यको दोश्रो कन्सर्टले साँगीतिक प्रस्तुतीका साथसाथै मुलुककै एक प्रमुख सहरमा नयाँ मानक स्थापित गरेको छ ।

नेपथ्य वीरगन्जमा यसअघि १८ वर्ष पहिले ‘शान्तिको लागि शिक्षा’ अभियान बोकेर उपस्थित भएको थियो । ‘यसपटक वीरगन्ज आउन हामीले झण्डै दुइ दसक कुर्नुपर्यो,’ कार्यक्रमको सुरुदेखि अन्तिमसम्मै दर्शकहरुबाट अपार साथ पाएका गायक अमृत गुरुङ भनिरहेका थिए, ‘अब वीरगन्ज र नेपथ्यको भेट छिटो छिटो हुने विश्वास दिलाउँछु ।’ जवाफमा अघिल्तिर उफ्रिँदै गरेका दर्शकले लामो तालीका साथ उनको भनाइलाई स्वागत गरेका थिए ।

अघिल्लो कार्यक्रमजस्तै यसपटक पनि नेपथ्यले पहिलो गीत ‘भेँडाको ऊनजस्तो’ प्रस्तुत ग¥यो । रेकर्डमा भन्दा थोरै परिमार्जन गरिएको यस गीतको झलक पाउनासाथ ठूलो उत्साहका साथ भीड नाच्न सुरुगरेको थियो । दर्शकहरुबीच त्यो तीब्र तापक्रम कन्सर्टको अन्तिमसम्मै जारी देखिन्थ्यो । त्यसपछि क्रमशः ‘छेक्यो छेक्यो’, ‘लामपाते सुरती’, ‘चरि मर्यो’, ‘जोमसोमे बजारमा’ हुँदै ‘शिरफूल’ जस्ता गीतहरुले निरन्तरता पाए । अन्यत्रभन्दा अलिक बेग्लै वीरगन्जमा भने अधिकांश दर्शकले नेपथ्यका बहुसंख्यक गीतमा गाएर साथ दिएको कमै देखिन्थ्यो । तर, सुरुदेखि अन्तिमसम्म रमाएर उफ्रिएको दृश्य चाहिँ अरु ठाउँभन्दा अझ रोचक थियो ।

कार्यक्रम अवधिभर गायक अमृत गुरुङले मानवसेवा आश्रमको उद्देश्यबारे बोलेका थिए । ‘अर्को जुनी छ कि छैन थाहा छैन,’ उनी भनिरहेका थिए, ‘पुण्य कमाउने हो भने यसै जुनीमा र आजैबाट दान गर्न सुरु गरौं ।’ त्यसैगरि नेपाल र नेपालीत्वको जगेर्ना गर्न युवा पुस्ता अगाडि आउनुपर्ने आव्हान पनि गरेका थिए ।

‘के पहाड, के हिमाल, के मधेस– सबैभन्दा पहिले हामी नेपाली हइइइ..,’ आव्हान गर्ने आफ्नै मौलिक आवाज र शैलीमा अमृतले भनेका थिए, ‘हामी को हौं भन्ने कसैले पनि कहिल्यै पनि नभूलौं ।’ जवाफमा राष्ट्रिय झण्डा बोकेका तन्नेरीहरुको हुलले चर्को आवाजका साथ उनका भनाइलाई स्वागत गरेका थिए ।

मानवसेवा आश्रमका मनछुने तस्बिरहरु प्रस्तुत गर्दै ‘यो जिन्दगानी’ गाएपछि अमृतले आधुनिक नेपाली गायनका नायक नारायणगोपालको पनि सम्झना गरे । ‘आज मंसिर १९ अर्थात् नारायण दाइको पुण्य तिथि,’ उनले थपे, ‘नेपाली संगीतलाई असाध्यै धेरै गुन लगाउनुभएको उहाँको आत्माको शान्तिको कामना गर्छु ।’

कन्सर्ट अघि बढ्दै जाँदा ‘गाउँ गाउँबाट उठ’ को पालो आइपुग्यो । यो गीत गाउन सुरुगरेपछि सिंगो मैदान नृत्य गर्नेहरुले उडाएको धुलोले भरिएको देखिन्थ्यो । त्यो उत्साहलाई समात्दै गीतको बीचैमा गायक अमृतले बोल्न पनि थालेः ‘तिमीले पाएको शिक्षा के देशभर सबैले पाएरु के तिमी आफूले पाएको अधिकार प्रयोग गर्दा अरुका अधिकारहरु सुरक्षित भए रु के तिमीले उपभोग गरेकोजस्तै स्वास्थ्य सेवा देशका प्रत्येक नागरिकले उपभोग गर्नसक्ने अवस्था बनायौ ?’

धुनकै क्रममा गायकबाट आएको यो तिखो प्रश्नले अगाडि उफ्रिरहेका दर्शकलाई थप उत्तेजित बनाएको थियो । कार्यक्रमको अन्त्यतिर सधैँजस्तै नेपथ्यको सर्वकालीक हिट गीतहरु ‘रेशम’ र ‘तालको पानी’ गाइएको थियो भने अन्तिममा ‘रातो र चन्द्रसूर्जे’ बाट बिट मारिएको थियो ।

‘वीरगन्जमा आजसम्मै यति भब्य कार्यक्रम यस रुपमा सम्पन्न भएको मलाइ सम्झना छैन,’ कार्यक्रममा रमाइरहेका विनोद परियार भनिरहेका थिए, ‘यसले संगीतको माध्यमबाट मनोरञ्जन मात्र नभइ समाजमा हार्दिकता पनि बढाउन सकिन्छ भन्ने प्रमाणित गरेको छ ।’
उद्योग वाणिज्य संघका मधेस प्रदेश अध्यक्ष एवं लेखक गणेश लाठले नेपथ्यको कार्यक्रमबाटै यो सहरमा स्तरिय दर्शकको उदय भएको र त्यो निकै उत्साहजनक रहेको बताउँदै खुशी ब्यक्त गरे ।

मञ्चमा गायक अमृतलाई ड्रमसेटमा ध्रुव लामा, किबोर्डमा सुरज थापा, बेसमा सुविन शाक्य, गितारमा निरज गुरुङ र मादलमा शान्ति रायमाझीले सघाएका थिए ।

संगीतका साथै मानवता प्रवद्र्धनकालागि नेपथ्यको यो कन्सर्ट वीरगन्जमा चिताएको भन्दा बढी सफलताका साथ सम्पन्न भएको मानवसेवा आश्रमका अध्यक्ष रामजी अधिकारीले बताएका छन् । यसका निम्ति उनले सबै सहयोगीलाई धन्यवाद ब्यक्त गरे । ‘वीरगन्जमा नेपथ्यको कन्सर्ट यति सभ्य र भब्य रुपमा सम्पन्न हुनुले दुइवटा सन्देश दिएको छ,’ अधिकारीले थपे, ‘यो सहर परोपकारीहरुको सहर हो र यहाँ संगीत मनपराउने नयाँ पुस्ताको भब्य उदय भइरहेको छ ।’ वीरगन्जवासीको यो चाहनालाई आगामी दिनमा पनि मानवसेवा आश्रमले जिम्मेवारीका साथ पुरा गर्दै अघि बढ्ने विश्वास उनले दिलाए ।

वीरगन्जको कन्सर्ट सम्पन्न भएपछि ७० सदस्यीय नेपथ्य टोली पाँचवटा ट्रक र दुइवटा बस मार्फत् मंगलबार हेटौंडातर्फ प्रस्थान गरेको छ। मानवसेवा आश्रमकै आयोजनामा त्यहाँस्थित भुटनदेवी स्कुल मैदानमा नेपथ्य मंसिर २२ गते बिहीबार प्रस्तुत हुँदैछ ।