• १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
  •   Unicode
Logo
Latest
★   चैत २३ र २४ गते लुम्बिनीमा अन्तर्राष्ट्रिय शान्ति मेला ★   नेविसंघद्वारा सरकारविरुद्ध सडकमै हवन गरेर बिरोध ★   सीमा क्षेत्रका बासिन्दाले भोग्नुपरेका समस्या समाधान गर्न उपप्रधानमन्त्री श्रेष्ठको आग्रह ★   एकीकृत समाजवादीः बागमती प्रदेशका पाँच जिल्ला अधिवेशन सम्पन्न ★   राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण ★   अर्थराजनीतिक दृष्टिकोणमा आधारित परराष्ट्र नीति नेपालको प्राथमिकताः डा सापकोटा ★   बङ्गलादेशी नागरिकलाई नेपाल ल्याई बन्धक बनाउने पक्राउ ★   अर्थमन्त्री वर्षमान पुनले गरे बजेट लेखन समिति गठन ★   मन्त्रिपरिषद् बैठकः सरकारद्वारा तथ्यांक नियमावली २०८० लाई स्वीकृत, यस्ता छन् अन्य निर्णयहरु ★   विज्ञान र प्रविधिको क्षेत्रमा पहुँच पुर्‍याउने शिक्षा अध्यापन गराउनुपर्छः पूर्वराष्ट्रपति भण्डारी

फेरियो अल्पसङ्ख्यक सुनाहा जातिको जीवनशैली



दोधारा चाँदनी । कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ ऐरीका युवा कालुसिंह सुनाहालाई आफ्ना अग्रजले नदीमा सुन छानेको स्मरण छैन ।

महाकाली नदी छेउको सुनाहा बस्तीमा हुर्केका कालुसिंह आफ्ना अग्रजले महाकाली नदीमा न सुन छानेको देख्नुभयो न त माछा मारेर घरपरिवार चलाएको सम्झना छ । महाकाली नदीमा सुन छान्ने र माछा मारेर जीविकोपार्जन गर्ने यो समुदायको जीवनशैली पछिल्लो समय फेरिँदै गएको छ ।

अल्पसङ्ख्यक जातिका रुपमा रहेको सुनाहा समुदायले पछिल्लो समय नदीमा गिट्टी, बालुवा छानेर परिवारको जोहो गर्ने गरेका छन् । भीमदत्त नगरपालिकाको वाड नं. १२ र १३ मा ७५ परिवार अल्पसङ्ख्यक सुनाहा जाति बसोबास गर्दै आएका छन् ।

पछिल्लो समय पुख्र्यौली पेसा लोप हुँदै गएपछि विकल्पका रुपमा यो समुदायले महाकाली नदीमा गिट्टी, बालुवा छानेर जीविकोपार्जन गरिरहेको स्थानीय युवा कालुसिंह बताउनुभयो । “अग्रजको जस्तो नदीमा गएर सुन छान्न आउँदै त्यो सीप हामीले सिकेका छैनौँ”, उहाँले भन्नुभयो, “अहिले महाकाली नदीमा गिट्टी, बालुवा छानेर गुजारा गरिरहेका छौँ ।” उहाँले सुनाहा जाति अल्पसङ्ख्यक भएकाले अरू जातिको जस्तै कोटा हुनुपर्ने बताउनुभयो ।

“आर्थिक समस्याका कारण शिक्षा, स्वास्थ्य लगायतका सेवासुविधाबाट समेत वञ्चित हुनुपरेको छ”, उहाँले भन्नुभयो, “हाम्रा छोराछोरीलाई पठनपाठन निःशुल्क हुनुपर्छ अरू जाति जस्तै हाम्रो जातिको पनि कोटा हुनुपर्छ ।” उहाँले दलित, राउटे रानाथारू जातिका लागि राज्यले सबै क्षेत्रमा कोटा र सुविधा दिएको तर आफ्नो अल्पसङ्ख्यकका लागि कुनै सेवासुविधा नभएको गुनासो गर्नुभयो ।

सोनाहा जातिको पुख्र्यौली पेसा पछिल्लो पुस्ताले अनुसरण नगरेपछि नदीमा सुन छान्ने पेसा हराउँदै गएको ७० वर्षीया उमरेसी सुनाहाले बताउनुभयो । “उति बेलाका पुर्खाहरुले नदीमा सुन छान्ने र माछा मारेर दैनिकी चलाउँथे”, उहाँले भन्नुभयो, “त्यसपछिको पुस्ताले नदीमा सुन छान्न सिकेन अहिले नदीमा गिट्टी, बालुवा छानेर परिवारको जोहो गरिरहेका छन ।” उहाँले अहिलेको पुस्ताले सुन छान्ने पेसाको विकल्प खोजिरहेको बताउनुभयो ।

अर्का स्थानीय घनश्याम सुनाहा घर बनाउने काम गर्नुहुन्छ । उहाँले पुख्र्यौली पेसाको विकल्पका रुपमा घर निर्माण गर्ने गरेको बताउनुभयो । “हाम्रा पुर्खाले नदीमा सुन छानेको देखेका पनि छैनौँ ।” उहाँले भन्नुभयो, “अहिले दैनिक मजदुरी खेतीपाती गरेर जीवन निर्वाह गरिराखेका छौँ ।” उहाँले सरकारले सुनाहा जातिलाई अन्य लोपोन्मुख जातिका रुपमा पहिचान दिनुपर्ने बताउनुभयो ।

बर्दिया र कञ्चनपुरमा मात्रै बसोबास रहेको यो समुदायले पटक पकट जातीय पहिचानका लागि सरकारसँग आग्रह गरे पनि सुनुवाइ नभएको बताउँछन् । “सुनाहा जातिको समूह बनाएर काठमाडौँसम्म पुगेका छौँ सुनुवाइ भएन”, घनश्यामले भन्नुभयो, “काठमाडौँ जान पैसा नभएर सबै प्रतिपरिवार दुई हजार उठाएर काठमाडौँ पुगेर आफ्ना माग राख्यौँ ।”

सुनाहा समुदायका बालबच्चाको शिक्षाका लागि सरकारले व्यवस्था गरिदिनुपर्ने मेघादेवी सुनाहाले बताउनुभयो । “आर्थिक समस्याका कारण हाम्रा छोराछोरीले विद्यालय जान पाएका छैनन्”, उहाँले भन्नुभयो, “विद्यालयमा कक्षा ९ सम्म मात्रै निःशुल्क छ त्यसभन्दा माथि शुल्क लिने गरेका छन ।” उहाँले उच्च शिक्षा अध्ययनका लागि आर्थिक समस्या हुँदा विद्यालय छोडेर रोजगारीका लागि भारतर्फ जाने गरेको बताउनुभयो ।

यो समुदायको प्रमुख आय स्रोतका रुपमा महाकाली नदी रहेको छ । असोज महिनादेखि असारको महिनासम्म नदीमा गिट्टी, बालुवा छानेर परिवारको जोहो गर्ने गरेका छन् ।