• १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
  •   Unicode
Logo
Latest
★   उत्तरपुस्तिका हराएको विषयमा छानबिन गर्न उच्चस्तरीय समिति गठन ★   शिक्षा मन्त्रालयका बीस कर्मचारीलाई स्पष्टीकरण ★   मन्त्रिपरिषद्को बैठक: सचिव पदमा लम्सालको बढुवा,चैते धानको मूल्य निर्धारण  ★   नेपालको पर्यटकीय सम्भावनालाई विश्वमा प्रचार गर्नसके चार गुणा पर्यटक आउँछन्: सांसद राणा ★   इलाम २ मा रास्वपाका उम्मेदवार मिलन लिम्बू ★   एमडीएमएस खरिदमा अनियमितता गरेको अभियोगमा २० जनाबिरुद्ध मुद्दा दर्ता ★   कर्णाली नदीमा हाम फालेर बेपत्ता भएका युवक मृत फेला ★   सवारी दुर्घटनाबाट दैनिक ७ जनाको मृत्यु हुने प्रहरीको तथ्यांक ★   सादा पोशाकमा जनशक्ति परिचालन नगर्न गृहको निर्देशन ★   चीनमा आँधीको चेतावनी

‘भिलेन बन्ने रहर छ’: अभिनेता धीरज मगर



काठमाडौँ । धीरज मगर नेपाली चलचित्रमा स्टारडम भएको अभिनेताका रूपमा परिचित हुनहुन्छ । बेलायत बसोबास गर्ने अभिनेता मगरले चार वर्ष अगाडि प्रदर्शन भएको चलचित्र ‘इन्टु मिन्टु लन्डनमा’ मार्फत डेब्यु गर्नुभएको थियो । कोरियोग्राफर रेनाशा बान्तवा राईको निर्देशनमै उहाँले दोस्रो चलचित्र ‘आइ एम ट्वान्टी वान’ मा अभिनय गरेको भएता पनि प्रदर्शनको टुङ्गो लागेको छैन । यद्यपि उहाँले अभिनय गर्नुभएको तेस्रो चलचित्र ‘बाबरी’ दसैँमा प्रदर्शन हुँदैछ । यसैकारण अहिले उहाँको दिनचर्या फेरिएको छ ।

पहिलो चलचित्रले नै राम्रो व्यापार गरेपछि उहाँ सर्वाधिक खोजिने अभिनेतामा पर्नुभयो । उहाँको उपस्थितिले दर्शक हलसम्म आउनुहुन्छ भन्ने विश्वास छ । तर उहाँ आफूलाई अभिनय क्षमताले अगाडि बढाउने सोचमा हुनहुन्छ । “स्टारडम त केही समयको हुन्छ । म अभिनेता बन्न चाहन्छु । मेरो अभिनयका कारण दर्शक हलसम्म आउनुहोस् भन्ने म चाहन्छु”, उहाँले भन्नुभयो । उहाँ सुन्दरता आवरण भन्दा पनि अभिनयमा देखाउने तयारीमा हुनहुन्छ । तेस्रो चलचित्रमा काम गरिसकेपछि उहाँमा देखिएको परिवर्तन हो यो ।

बेलायतबाट नेपाल आउँदा देखेको सपना विस्तारै साकार हुँदै गर्दा उहाँलाई आगामी दिनको यात्रा गर्न सहज पनि बनाएको छ । “मैले पाएको मायाले दायित्वबोध गराएको छ । किनकी म यहाँ कलाकार बन्न आएको थिएँ । मैले पाएको दर्शकको साथलाई शब्दमा व्यक्त गर्न सक्दिन”, अभिनेता मगरले भन्नुभयो ।

उहाँ मात्र नभई ‘पपुलर’ अभिनेतामा पर्ने अनमोल केसी, प्रदीप खड्का पनि स्टारडमको छायाँबाट बाहिर निस्किने चलचित्रमा काम गरिरहनुभएको छ । प्रदीप अभिनित ‘प्रकाश’ प्रदर्शन भइसक्यो भने अनमोलले ‘छड्के २’ मा अभिनय गरिरहनुभएको छ ।

प्रदीपलाई ‘प्रकाश’ को भूमिकामा देखिँदा सहजै चिन्न नसकिएको प्रतिक्रिया दर्शकमार्फत प्राप्त भएको थियो । अनमोलले पनि आफूलाई फरक देखाउन ‘धुपौरे’ नामक चलचित्रमा अभिनय गर्ने तयारी गर्नुभएको थियो । त्यो नबन्ने भएपछि त्यस्तै चलचित्रको खोजीमा रहेको अनमोलले ‘छड्के’ को सिक्वेल रोज्नुभएको हो । उहाँ यसको छायाङ्कनमै हुनहुन्छ । पपुलर अभिनेतामै पर्ने सलिनमान बानियाँले पनि दोस्रो चलचित्र ‘यात्रा ः द म्युजिकल भ्लग’ मा स्टारडमबाट बाहिर निस्किने प्रयास गर्नुभएको थियो ।

पछिल्लो समय देखिएको यसकिसिमको परिवर्तनलाई धीरज सकारात्मकरूपमा लिनुहुन्छ । “हामीभित्र बढेको चलचित्रको चेतनाले यस किसिमको परिवर्तन देखिएको हो । आफ्नो अनुहार मात्र नभई अभिनय देखाउनु पर्छ भन्ने चेतना बढ्नु सुखद हो । हामी प्रयास गरिरहेका छौँ”, अभिनेता मगरले भन्नुभयो । त्यसो त धीरज आफू देखिएकै कारण चलचित्र चल्नेमा सहमत हुनहुन्न । “स्टारडम त सकिन पनि सक्छ । तर म कलाकार भएपछि त्यो कलाकारिता रहिरहन्छ । मलाई व्यक्तिगतरूपमा स्टारडमप्रति विश्वास पनि लाग्दैन । किनकि, यो मेरो दोस्रो चलचित्र हो । मैले अझै धेरै कुरा सिक्न बाँकी छ । म कलाकारका रूपमा चाहिँ बढी जिम्मेवारी महसुस गर्छु”, उहाँले भन्नुभयो ।

डेब्यु चलचित्रमा सफ्ट लभरब्वाईको चरित्र निर्वाह गर्नुभएका उहाँले ‘बाबरी’ मा आफूलाई पूर्णरूपमा परिवर्तन गर्नुभएको छ । प्रचारप्रसार सामग्री सार्वजनिक हुँदा दर्शक मात्र नभई चलचित्रकर्मीलाई समेत उहाँको स्वर होइन कि भन्ने लागेको थियो । ‘सानो राजा साहेब’ का रूपमा उहाँ फरक देखिनुभएको छ । यो चरित्रमा पूर्वयुवराज पारस शाहबाट पनि प्रभावित छ । बाहिरी हाउभाउ जस्तै बोल्ने, हिँड्ने शैली मिल्न सक्छ ।

“सम्पन्न ठकुरी परिवारको छोराको भूमिकामा देखिन लाग्दा मैले उहाँहरुको बारेमा बुझेँ । मैले साथीहरुलाई सोधेर उहाँहरुको शैली र स्वभावलाई पनि नियालेँ । साथै छायाङ्कन हुनु केही दिन अगाडि म पूर्व पुगेर त्यहाँको जीवनशैलीलाई नियालेँ । स्थानीय युवालाई हेरेर नै चरित्रलाई पूर्णरूपमा तयार गरेको हुँ”, अभिनेता मगरले भन्नुभयो । यो परिवर्तन निर्देशक सुरेन्द्र पौडेलकै कारण सम्भव भएको उहाँ बताउनुहुन्छ ।

निर्देशक पौडेलले फरक गेटअपसँगै भूमिका प्रस्ताव गर्नुभएको थियो । पहिलोपटक सुन्दा स्वाभाविक नसुनिएता पनि अहिले दर्शकले यसलाई स्वीकार्नुभएको छ । धीरजले बोल्नुभएको संवाद सामाजिक सञ्जालमा पपुलर भएको पाइन्छ । उहाँ भन्नुहुन्छ, “सफ्ट भ्वाइसलाई यसमा फरक बनाएँ । किनकी विज्ञानमा सबैलाई थर्काउने, अलि होच्याउने स्वभाव छ । निर्देशकले गर्नुभएको विश्वासमा मैले मेहनत गरेको हुँ ।” दर्शकले रुचाइरहनु भएको भूमिकाभन्दा फरक देखिँदा पाइरहेको प्रतिक्रियाले धीरज खुसी हुनुहुन्छ । चार वर्षपछि पर्दामा आउँदै गर्दा पाइरहेको प्रतिक्रिया सकारात्मक छ ।

लभरब्वाईकै चरित्रमा प्रस्ताव आइरहेता पनि उहाँ सुन्दरताभन्दा पनि अभिनयको चर्चा होस् भन्ने चाहनुहुन्छ । “म फरक गर्ने प्रयासमा छु । किनकी एउटा अभिनेतामा लुक्ससँगै राम्रो अभिनय चाहिन्छ । म दुवैलाई हुने अभिनेता बन्न चाहन्छु”, उहाँले भन्नुभयो । उहाँ आफूलाई कलात्मक अभिनेताका रूपमा कमर्सियल भ्यालुसँग पनि बलियो बनाउन चाहनुहुन्छ ।

हिरोको रूपमा दर्शकको प्रिय बनिसक्नुभएका धीरजमा भिलेन बन्ने रहर छ । सकारात्मक भूमिकाभन्दा अभिनय क्षमतालाई देखाउन नकारात्मक भूमिका प्रभावकारी हुने उहाँ बताउनुहुन्छ । “मलाई सस्पेन्स र थ्रीलर चलचित्र मन पर्छ । त्यसैले पनि भिलेन बन्दा अझै कलाकारिता प्रस्तुत गर्न सक्छु जस्तो लाग्छ । मलाई सुहाउँदो अफर आयो भने म भिलेन बनेर प्रस्तुत हुन तयार छु”, उहाँले भन्नुभयो ।

‘बाबरी’ मा धीरजसँगै अदिति बुढाथोकी, धीरज नाडकर मुख्य भूमिकामा हुनहुन्छ । उहाँहरुको त्रिकोणात्मक प्रेम कथा चलचित्रमा देखाइएको छ । यसको छायाङ्कन नेपालसँगै सिक्किममा गरिएको छ ।