• ४ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 16 2024
  •   Unicode
Logo
Latest
★   एक खेल अगावै नेपाल समूह विजेता, सेमिफाइनलमा युएईसँग खेल्ने सम्भावना ★   जरिवाना तिर्न ट्राफिक कार्यालय जानुपर्ने बाध्यता हट्दै ★   राजनीतिक स्थितिको प्रभाव कानुन निर्माणमा छ: अध्यक्ष दाहाल ★   काश्मिरमा डुङ्गा डुब्दा छ को मृत्यु, अझै धेरै बेपत्ता ★   १५ महिना भित्र तीन पटक विश्वासको मत लिनु बिडम्वना: प्रधानमन्त्री ★   बरिष्ठ गजलकार प्रकट पंगेनी ‘शिव’ को निधन ★   आईपीएलको बीचमा ब्रेक लिँदै म्याक्सवेलले भने: मानसिक रूपमा तयार भएर फर्किन्छु ★   धार्मिक पर्यटन प्रवर्द्धनमा निजी क्षेत्रले सहकार्य गर्छ: अध्यक्ष ढकाल ★   गणेशको राष्ट्रिय कीर्तिमान ★   सरकारी प्रकरण- गृहमन्त्री लामिछानेलाई प्रतिवादी नबनाइनु कानुनी राज्यको उपहास: रमेश खरेल

बागलुङमा बढ्दो डेङ्गु सङ्क्रमण, परीक्षणका लागि किट अभाव



बागलुङ । बागलुङमा डेङ्गु रोगको सङ्क्रमण बढ्दै गएको छ । जिल्लामा डेङ्गुका लक्षण भएका बिरामीको समेत धवलागिरि अस्पतालमा चाप बढिरहेको पाइएको छ । स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा गत भदौमा मात्रै २९ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ । पर्याप्तरूपमा डेङ्गु परीक्षणका लागि किटको अभावले गर्दा धेरै शङ्कास्पद बिरामीको परीक्षणमा भने समस्या भएको छ ।

जिल्लामा हालसम्म यो वर्षमा ३५ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएकामा नौ जनाको अस्पताल भर्ना गरेर उपचार गर्नुपर्ने र एक जनाको जटिल अवस्थाका बीच थप उपचारका लागि पोखरा पठाइएको स्वास्थ्य कार्यालय बागलुङका जनस्वास्थ्य निरीक्षक तथा निमित्त कार्यालय प्रमुख लक्ष्मी शर्माले जानकारी दिनुभयो ।

“सुरुमा किट अभाव भएको थियो, अहिले केही मात्रमा किट आएको छ भने थप आउने क्रम जारी छ । तर डेङ्गुका बिरामी दिनानुदिन बढ्दै जाँदा पर्याप्त किट आवश्यक हुन्छ”, उहाँले भन्नुभयो, “अहिले डेङ्गु लक्षण देखिएका बिरामीको रगत परीक्षण गर्ने र रगतमा शङ्कास्पद देखिएमा मात्रै किटको प्रयोगमार्फत परीक्षण गर्ने गरिएको छ ।”

स्वास्थ्य कार्यालयमा अहिले जम्मा ३० थानमात्रै किट रहेको छ भने थप दुई सय किट आउने क्रममा रहेको छ । जिल्लामा डेङ्गु रोगको लक्षणसहितका बिरामीको सङ्ख्या ह्वात्तै बढेको धवलागिरि अस्पताल बागलुङका मेडिकल सुपरिटेण्डेन्ट डा शैलेन्द्र विक पोखरेलले जानकारी दिनुभयो ।

“अहिले अस्पतालमा ज्वरो, वाकवाकी आउने तथा रिङ्गाटा लाग्ने बिरामीको सङ्ख्यामा वृद्धि भएको छ, तर सबैमा डेङ्गु सङ्क्रमण भने देखिएको छैन, हामीले रगतका माध्यमबाट र अत्यधिक शङ्कास्पदको किटको माध्यमबाट डेङ्गु परीक्षण गरेका छौँ”, उहाँले भन्नुभयो, “अस्पतालले पछिल्लो भदौ महिनासम्म डेङ्गुका जटिल प्रकारका नौ बिरामीको अस्पताल भर्ना गरेर उपचार गरिसकेको छ ।

डेङ्गु नियन्त्रणका लागि स्वास्थ्य कार्यालय बागलुङले खोज र नष्ट गर अभियानलाई जारी राखेको छ । लामट्टेको लार्भा नष्ट गर्नका लागि पानीको खाल्डा पुर्ने, पानी जम्ने र लामखुट्टे उत्पादन हुने क्षेत्रमा विशेष ध्यान अपनाएको स्वास्थ्य कार्यालय बागलुङले जनाएको छ । निरन्तरको वर्षाले खोज र नष्ट गर अभियान प्रभावित भए पनि घाम लागेपछि निरन्तरता दिने तयारीमा स्वास्थ्य कार्यालय रहेको छ । यस्तै पालिका स्तरबाट भने खोज र नष्ट गर अभियानलाई तीव्रता दिन थालिएको छ ।

डेङ्गु रोग रोकथामका लागि विभिन्न सचेतनामूलक कार्यक्रम गर्न थालिएको छ । अहिले सहरी क्षेत्रमा डेङ्गु सचेतनाका लागि माइकिङ गर्ने, पोष्टर तथा पम्पलेट टाँस्नेलगायतका काम गरिएको छ । रासस