• ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
  •   Unicode
Logo
Latest
★   अवैध औषधि बेच्ने दुई मेडिकल बन्द ★   एमाले प्रतिनिधि परिषद् बैठकको तयारी पूरा ★   अस्ट्रेलियामा पुरुष हिंसाको सङ्कट छ– महान्यायाधिवक्ता ★   फास्ट ट्रयाक तोकिएकै समयमा बनिसक्छ, हालसम्म लागत बढेको छैनः प्रधान सेनापति शर्मा ★   काठमाडौँ–तराई–मधेश द्रूतमार्गको भौतिक प्रगति ३३ प्रतिशत ★   प्रतिपक्षीको बहिष्कारपछि गण्डकी प्रदेशसभाको बैठक स्थगन ★   दाहाल नेतृत्वको वर्तमान सरकारलाई निरन्तरता दिन एमाले तयार छः शंकर पोखरेल ★   स्याङ्जामा आगो निभाउने क्रममा जलेर महिलाको मृत्यु ★   ‘पुजार सार्की’को पहिलो गीत ‘दर्शन गरेँ’ सार्वजनिक, प्रमुख कलाकारले गरे कौडा नृत्य ★   धरौटी जम्मा गर्न नसकेपछि दीपेश पुन जेल चलान

आजीवन बहन गरेको उत्तरदायित्व’ प्रति कृतज्ञता व्यक्त गर्दै महारानी एलिजाबेथको अन्तिम संस्कार सम्पन्न



लण्डन । बेलायतको राजधानी लण्डनमा रहेको प्रसिद्ध गिर्जाघर वेस्टमिन्स्टर एबेमा बेलायतमा सबैभन्दा लामो समय शासन गर्ने महारानी एलिजाबेथ द्वितीयाको अन्तिम संस्कारसँग सम्बन्धित कार्यहरु सम्पन्न भएका छन् ।

त्यहाँ अमेरिकी राष्ट्रपति जो बाइडेन, भारतीय राष्ट्रपति द्रोपदी मुर्मूसहित सयौँ गन्यमान्य विदेशी पाहुनाहरू उपस्थित भएका थिए ।

द डिन अफ वेस्टमिन्स्टरले ड्याभिड होइलले उक्त समारोहको नेतृत्व गर्ने क्रममा ‘आजीवन बहन गरेको उत्तरदायित्व’ प्रति कृतज्ञता व्यक्त गरेका थिए ।

राजा चाल्र्स तृतीयले मलिन भावमा आफ्नी आमाको शवपेटिका पछाडि रहेर वेस्टमिन्स्टर हलदेखि एबेसम्मको शवयात्राको नेतृत्व गर्नुभएको थियो भने राजपरिवारका अन्य सदस्यले उनलाई साथ दिएका थिए ।

डीन होइलले समारोह सुरु गर्ने क्रममा एलिजाबेथ द्वितीयाले ‘महारानी र राष्ट्रमण्डलको प्रमुखका रूपमा कैयौँ वर्षसम्म उच्च जिम्मेवारीका लागि अटल प्रतिबद्धता’ प्रस्तुत गरेको बताएका थिए ।

उनले भने, “सम्मानसाथ हामीले उहाँको जीवनभरको जिम्मेवारी बोध र आफ्ना नागरिकप्रतिको प्रतिबद्धताको स्मरण गर्छौँ ।”

महारानीको शव पेटिका वेस्टमिन्स्टर एबेमा प्रवेश गर्दा भजन मण्डलीले सङ्गीतबद्ध ढङ्गले श्लोकहरू गाएका थिए जुन परम्परा १८औँ शताब्दीयताका राजकीय अन्तिम संस्कारका कार्यमा चलेको छ ।

त्यस्तै, प्रधानमन्त्री लिज ट्रसले धार्मिक ग्रन्थका श्लोकहरू पाठ गरेका थिए । एक वरिष्ठ धर्मगुरु (आर्चविशप अफ क्यान्टरबरी) जस्टिन वेल्बीले उपदेश दिँदै र गायिका डेम भेरा लिनलाई उद्धृत गर्दै हामी फेरी भेट्नेछौँ भनेका थिए । उक्त वाक्यांश कोभिड महामारी सुरु भएपछि राष्ट्रलाई गरेका दुर्लभ सम्बोधनमा महारानीले पनि प्रयोग गरेकी थिइन् ।

आर्चविशप वेल्बीले भने, “यस दिनको शोक– दिवङ्गत महारानीका परिवारले मात्र अनुभव गरेको छैन पूरा देश, राष्ट्रमण्डल र विश्वभर महसुस भएको छ । उनको दीर्घ जीवन र प्रेममय सेवा अब हामीबाट अन्त्य भएको छ ।”

उक्त समारोहको अन्त्यतिर देशभर दुई मिनेटको मौन धारण गरिनुअघि द लास्ट पोस्ट धुन बजाइएको थियो ।

शवयात्रा मार्गमा जम्मा भएका मानिसहरू अन्तिम संस्कार समारोहका लागि मौन भएका थिए ।

त्यहाँ झण्डै ८०० जना पाहुनाको उपस्थितिमा डीन अफ विन्डसर डेभिड कोनरले त्यस्तो धार्मिक कार्य सम्पन्न गर्नेछन् र आर्चविशप अफ क्यान्टरबरीले प्रार्थना र आशीर्वाद दिनेछन् ।

त्यसपछि एक नितान्त निजी समारोहका माझ सेन्ट जोर्जेज् च्यापलभित्र रहेको किङ जोर्ज छैटौँ स्मृति च्यापलमा महारानीको शवलाई उनका श्रीमान् ड्युक अफ एडिनबराको समाधि रहेको स्थानसँगै समाधिस्थ गरिनेछ ।